गण्डकी सरकारले पूर्णता पाउँदै, जसपा असन्तुष्ट « Khabarhub

गण्डकी सरकारले पूर्णता पाउँदै, जसपा असन्तुष्ट

६ मन्त्रीलाई शपथ खुवाउने तयारी



पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार गठन भएको ४२ दिनपछि आज मन्त्रिपरिषद्लाई पूर्णता दिँदैछन् ।

जेठ २९ गते मुख्यमन्त्रीको शपथ लिएका पोखरेलले मन्त्रिपरिषद्मा सामेल गरेका चार मन्त्रीलाई ३० दिनपछि मन्त्रालयको जिम्मेवारी दिएका थिए । आज थप ६ जनालाई मन्त्रिपरिषद्मा सामेल गरी मन्त्रालयलाई पूर्णता दिन लागेका हुन् ।

सत्ता साझेदार प्रमुख दल माओवादी केन्द्रले बिहीबार ३ जनाको नाम टुंग्याएपछि मुख्यमन्त्री पोखरेलले आफ्नो पार्टीबाट पनि थप ३ जनालाई समेटेर मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका छन् ।

माओवादी केन्द्रले कास्कीका रामजी बराल ‘जीवन’, बाग्लुङ्का चन्द्रबहादुर बुढा र स्याङ्जाका दीपक चर्तीमगरको नाम सिफारिस गरेको छ ।

माओवादीबाट सिफारिस पार्टी संसदीय दलका उपनेता बराललाई अर्थ, बुढालाई भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण र चर्तीमगरलाई वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयको जिम्मेवारी दिइने भएको सरकारका प्रवक्ता एवम् शिक्षा तथा सामाजिक विकास मन्त्री कुमार खड्काले जानकारी दिए । माओवादी केन्द्रकी मधु अधिकारी गुरुङलाई भने यसअघि नै स्वास्थ्यमन्त्री बनाइसकिएको छ ।

जसपालाई एउटा मन्त्रालय

अर्थसहित दुई मन्त्रालय दिने सहमति गरेको जनता समाजवादी पार्टीले भने एउटा मन्त्रालयमै चित्त बुझाउनुपर्ने भएको छ । जसपाका हरिशरण आचार्यलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनाइसकिएको छ ।

यसअघि अर्थमन्त्रालय नपाएको भन्दै असन्तुष्टी जनाएको जसपाले अर्को मन्त्रालयसमेत नपाएपछि रुष्ट बनेको छ । जसपालाई दुई मन्त्रालय दिनु हुँदैन भनी माओवादील षड्यन्त्र गरेको जसपा गण्डकी प्रदेश अध्यक्ष मोती रिजालले बताए । अहिलेसम्म छलफल टुंगिनसकेकोले आफूहरु अन्तिम पर्खाइमा रहेको उनले बताए ।

मुख्यमन्त्रीमा विश्वासको मत लिनुअघि पोखरेलले असार ४ गते २ सदस्य मात्रै रहेको जसपालाई अर्थसहित २ मन्त्रालय नै दिने भनी लिखित समझदारी गरेर असन्तुष्टी टालटुल गरेका थिए ।

११ सदस्यीय मन्त्रिपरिषद्मा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका कुमार खड्काले सम्हालिसकेका छन् । खड्का सरकारका प्रवक्तासमेत छन् ।

कांग्रेसबाट बाग्लुङ्का सांसद मणिभद्र शर्मा कडेल र तनहुँका डोबाटे बिकलाई मन्त्री बनाउने तयारी गरिएको छ । ३ वटै मन्त्रीको टुंगो लगाउने जिम्मा मुख्यमन्त्रीको भएको प्रवक्ता खड्काले बताए ।

महिलाको प्रतिनिधित्व गरिएमा कांग्रेसबाट नवलपुरकी समानुपातिक सांसद ओमकला गौतमले पाउने सम्भावना रहेको स्रोतले बताएको छ । गोर्खाकी मनकुमारी गुरुङले पनि दावी छाडेकी छैनन् ।

कांग्रेस नेतृत्वको गठबन्धन सरकार गठनमा निर्णायक भूमिका खेलेका स्वतन्त्र सांसद दीपक मनाङेलाई यसअघि नै खेलकुद मन्त्रालयको जिम्मा पाइसकेका छन् । पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारको अन्तिम अवस्थामा खेलकुद मन्त्री बनाइएका मनाङेले भौतिक मन्त्रालयको दाबी गर्दै आएका थिए ।

कांग्रेसबाट मन्त्रालय टुंग्याउन मुख्यमन्त्री पोखरेल बिहानैदेखि आन्तरिक छलफलमा छन् । आज दिउँसो १ बजे ६ जना मन्त्रीलाई शपथ खुवाउने कार्यक्रम तय गरिएको गण्डकी सरकारका प्रवक्ता खड्काले बताए ।

गण्डकीका मुख्यमन्त्री पोखरेलले जेठ २९ गते शपथ लिएसँगै सोही दिन अन्य ३ जनाले विनाविभागीय मन्त्रीको शपथ लिएका थिए । गठबन्धनमा किचलो भएकै कारण उनले असार ४ गते नै विश्वासको मत लिएका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ११ : १३ बजे

पाँच वर्ष देश बनाउने स्पष्ट भिजनका साथ अगाडि बढेका छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष देश

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्रीको आग्रह

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका

चितवनमा रविले भने : अरू दललाई एक सीट पनि नदिनू, सबैलाई सडकमा पुर्‍याइदिनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गतेको

कुनै हालतमा निर्वाचनमा धाँधली भयो भनेर प्रश्न उठाउने ठाउँ राख्न हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न निर्वाचनलाई

काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा पाँचौँ स्थानमा (तस्बिरहरू)

काठमाडौं– राजधानी काठमाडौं आज शुक्रबार विश्वको सबैभन्दा प्रदूषित सहरहरू मध्ये