हिमालय क्षेत्रमा भूमि कब्जा गर्दैछ चीन | Khabarhub Khabarhub

हिमालय क्षेत्रमा भूमि कब्जा गर्दैछ चीन



सन् १९९८ को अप्रिलमा हिमालयको खोँच क्षेत्रमा करिब ६ फिट गहिरो हिउँको बाटो हुँदै २२ वर्षीय पेन्पा छिरिङ हाम्रो घरबाट दक्षिणतर्फ रहेको नामागुङ ला क्षेत्रतर्फ गइरहेका थिए । एक तिब्बती गोठाला छिरिङ १५ हजार ७०० फिट अग्लो नामागुङ ला क्षेत्रमा गहुँ, चामललगायतका खाद्य सामग्री बोकेको चौरीको बथान लिएर गइरहेका थिए । गाउँले नेता लागयबले पेन्पालाई नामागुङबाट सात माइल उत्तरपूर्वमा रहेको लोदरक काउन्टीमा उक्त खाद्यान्न पुर्‍याउनका लागि पठाएका थिए ।

लादरक काउन्टीमा हिउँद गुजारिरहेका गोठालाहरूलाई खाद्यान्न अभाव भएपछि पेन्पालाई पठाइएको थियो । खाद्यान्न लिएर चौँरीसहित पेन्पा त्यहाँ नपुगेका भए गोठालाहरू त्यो जाडोमा भोकले मर्ने स्थिति थियो । एक दिन र एक रात हिँडेपछि पेन्पा त्यहाँ पुगेका थिए र उनले आफ्ना साथीहरूको जीवन जोगाएका थिए । फर्किने क्रममा हिउँको खोँचमा खसेर पेन्पाको मृत्यु भएको थियो । चिनियाँ सञ्चार माध्यमहरूका अनुसार पेन्पा शहीद घोषणा गरिएका थिए ।

उच्च हिमाली क्षेत्रमा भोकले छटपटाइरहेका गोठालाहरूको जीवन जोगाएका पेन्पाले आफूलाई जोगाउन सकेनन् । वास्तवमा उच्च हिमाली क्षेत्रमा रहेका गोठालाहरूको जीवन जोगाउनेमात्र नभई बेइजिङको योजना अनुसार राजनीतिक उद्देश्य प्राप्तिका लागि पेन्पा त्यहाँ पठाइएका थिए । हाल उक्त चिनियाँ परियोजना विस्तार गर्दै अर्धसैन्य शक्तिमा रूपान्तरण गरिएको छ । उनीहरू चीनसँग सीमा जोडिएका हिमाली मुलुकहरूमा भूराजनीतिक अवस्थितिमा परिवर्तन गर्न प्रयोग गरिएका छन् ।

करिब १४ हजार २०० फिटको उचाइमा हिउँदको मौसममा बिनाकारण कुनै पनि गोठालाहरू बस्न सक्दैनन् । लगातार आँधी र हिउँ खसिरहने त्यस्तो खतरानाक ठाउँमा ६ महिना कुनै सञ्चार सम्पर्क बिना किन बसे भन्ने प्रश्नहरू उठ्छन् ।

चिनियाँ अधिकारीहरूले २३ सय फिटको तल रहेको क्याम्पमा १२ महिना नै मानिसहरू बस्नु निकै महत्वपूर्ण छ भन्ने निष्कर्ष निकाले । उक्त निर्णय त्यस क्षेत्रमा भौगोलिक दाबी गर्न सहज हुन्छ भन्ने योजनाअनुसार गरिएको थियो ।

सन् १९५० मा चीनले तिब्बत कब्जा गरेको ३० वर्षपछि सीमा क्षेत्रका अवस्थिति परिवर्तन गर्दै भूटानसँग २३२ वर्ग माइलको सीमा जोडिएको घोषणा गर्‍यो

विदेश नीतिसम्बन्धी गरिएको अनुसन्धानको भाग १ मा नामागुङ ला तिब्बत र भूटानको परम्परागत सीमा क्षेत्र मानिन्छ । सन् १९५० मा चीनले तिब्बत कब्जा गरेको ३० वर्षपछि सीमा क्षेत्रका अवस्थिति परिवर्तन गर्दै भूटानसँग २३२ वर्ग माइलको सीमा जोडिएको घोषणा गर्‍यो ।

दुई सय वर्ष पुरानो एक प्रतिवेदनका अनुसार तीब्बतका गुम्बा, लाहालुङ क्षेत्रमा बस्ने मानिसहरूले सीमा वारपार भेडा तथा वस्तुभाउ चराउन लैजाने गरेका थिए । त्यस समय सीमा वारपारको चौँरी, भेडा चराउने छुट दिइएको थियो ।

तर, सन् १९९५ मा ६२ चौँरीसहित चार जना तिब्बतीहरूलाई उक्त क्षेत्रमा स्थायी बसोबासका लागि पठाइएपछि सीमा क्षेत्रमा प्रवेश निषेध गरिएको थियो । उनीहरूको उद्देश्य भुटानी गोठालाहरूलाई उक्त क्षेत्रमा प्रवेशमा रोक लगाउनु रहेको थियो । चीनले विस्तारै उक्त क्षेत्र कब्जा गर्दै गएको विभिन्न प्रमाणहरूले देखाएको छ ।

सन् १९५० पछि बेइजिङको विस्तारवादी नीति

लामो समय आन्तरिक द्वन्द्वमा फसेको चीन विस्तारै कम्युनिस्ट पार्टीले सत्ता कब्जा गरेपछि स्थिर बन्दै जाँदा सन् १९५० मा तिब्बत कब्जा गर्‍यो । सन् १९५० पछि तिब्बतमार्फत विभिन्न हिमालयन मुलुकहरूमो सीमा क्षेत्रमा भूमि कब्जा गर्ने रणनीतिलाई पनि विस्तार गर्दै लगेको पाइन्छ ।

चीनले स्थानीय तिब्बती इतिहास प्रतिस्थापन गर्दै, गुम्बा बिहार बनाउँदै, परिवार परम्परालाई विस्तार गर्दै सीमा क्षेत्र विस्तार तीव्रताका साथ अघि बढाउन थालेको हो ।

तिब्बतियनहरूलाई चीनले सीमा क्षेत्र बियुलमा मिङगुर तासी, सोनाम चोइफेल, सेवाङ तेन्जिन, हन्टसोग नोर्बुलगायतलाई स्थायी बसोबासका लागि पठाइएका थिए । करिब २० वर्ष जति चारैजना बियुलमा बसे । सुरुमा टेन्टमा बसेका उनीहरू केही वर्षपछि टिनको छाप्रो बनाएर बसेका थिए ।

हाल ६३ वर्ष पुगेका मिङगुर तासीले एक अन्तर्वार्ताका क्रममा शुरूमा चार जनामात्रै उक्त क्षेत्रमा बसेको बताए । उनले भने, ‘सुरुमा दिनहरूमा निकै दुःख गरेका थियौँ । बिजुली थिएन, खोनकुराको अभाव थियो, समयमा पिउने पानीसमेत थिएन । हामी एक अर्कामा टाँसिएर सुत्थ्यौँ, जाडो कम होस् भनेर । अहिले त निकै राम्रो बस्ती बनेको छ ।’

उनीहरूले त्यहाँ बिस्तारै भुटानी गोठालाहरू आएमा कर उठाउन थालेको थिए । बिस्तारै चिनियाँ झण्डा फहराइयो र पत्थरहरूमा चीन भनेर लेखियो । सन् २००५ तिर भुटानीहरूको प्रवेशमा नै पूर्णरूपमा प्रतिबन्ध लगाइएको थियो ।

गर्मी मौसममा मात्र बियुलमा केही भुटानी सैनिकहरू बस्ने गरेका थिए । त्यहाँ भुटानी गोठालाहरूको सुरक्षाका लागि ती भुटानी सैनिक उक्त क्षेत्रमा बस्ने गर्थे । पछि चीनले बस्ती निर्माण गर्दै चीनको झण्डा राखेर प्रवेशमा नै रोक लगाएपछि सैनिक बस्न पनि छोडेका थिए ।

चिनियाँ सञ्चारमाध्यमहरूले बियुललाई पुरातन समयदेखि नै आफ्नो भूमि भएको दाबी गर्ने गरेका छन् । चिनियाँ सञ्चारमाध्यमहरूले उक्त भूमि कसरी कब्जा गरिएको थियो भनेर कहिल्यै लेखेका छैनन् । चीनले भुटानको पश्चिमी सीमा क्षेत्रमा कब्जा गरेर भारतीय सेनालाई काउन्टर गर्न सहज होस् भन्ने उद्देश्य राखेको थियो ।

सन् १९९० मा चीनले भूटानलाई पश्चिमी सीमा क्षेत्रमा प्रदान गरेमा बियुलमा भूभागको दाबीलाई पुनरावलोकलन गर्न सकिने समेत बताएको थियो ।

सन् २००७ मा भूटान र भारतबीच गरिएको सन्धिमा भुटानले भारतको राष्ट्रिय सुरक्षा चासोको सम्मान गर्ने उल्लेख गरिएको छ । भारतको सुरक्षामा कुनै किसिमको आँच आउने गरी भूटानले चीनसँग कुनै पनि सम्झौता नगर्ने उल्लेख गरिएको छ ।

यससँगै चीनसँग २१ सय माइलको सीमा जोडिएको भारतसँगको तनाब बढ्दै गयो । सन् २०१५ तिर भुटानले चीनमाथि दबाब सिर्जना गरिरहेको थियो । बियुलमा ठूला संरचनाहरू निर्माण गर्न थाल्यो । यससँगै भुटानी भूभागसम्म राजमार्ग विस्तार गर्‍यो । सन् २०१८ मा बियुलको पहिलो गाउँ ग्यालाफुगको निर्माण कार्य सम्पन्न भएको थियो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१३ सत्ता सम्हालेसँगै तिब्बतसँग सीमा जोडिएका क्षेत्रहरूको तत्काल स्पष्ट पार्न चासो व्यक्त गरेका थिए । उनले तिब्बतका लागि नयाँ नीति बनाउन पनि आदेश दिएका थिए । जसको मुख्य कुरा मुलुकको सञ्चालनका लागि सीमाको सुरक्षा निकै महत्वपूर्ण हुने उल्लेख गरिएको थियो ।

भूटानको भूभागमा चीनको दाबी

चीनले भूटानका पश्चिम क्षेत्रका चारवटा क्षेत्रमा आफ्नो दाबी गरेको छ भने उत्तरतर्फका तीनवटा क्षेत्रमा पूर्वमा एक क्षेत्रमा दाबी गरेको छ ।

सन् १९९० मा चीनले भूटानलाई पश्चिमा १०४ वर्ग माइलको भूभाग दिएमा उत्तरमा १९१ वर्ग माइलको क्षेत्र भूटानलाई दिने प्रस्ताव गरेको थियो । सन् १९८० को दशमा भूटानले खुलाखारी क्षेत्र गुमाएको थियो । रोबर्ट बर्नेटले गरेको एक अनुसन्धान अनुसार चीनले पूर्वको साकेतेङलाई भने आफ्नो नक्सामा समावेश गरेको छैन ।

चिनियाँ बस्ती विस्तार र संरचना निर्माण

चिनियाँ प्रतिवेदनका अनुसार चीनले सन् २०१५ यता उत्तरी भुटानमा आफूले दाबी गरेको क्षेत्र बियुल र मेचुमा उपत्यकामा तीनवटा गाउँ बसाएको छ भने सातवटा सडकहरू निर्माण गरेको छ । करिब पाँच वटा सैन्य चौकी र प्रहरी चौकी स्थापना गरेको छ ।

सन् १९८० को चीनको नक्साअनुसार नामागुङ ला क्षेत्रलाई सीमा मानिएको छ । भूटानको नक्सा अनुसार अन्तर्राष्ट्रियरूपमा मानिएको सीमा नामागुङ ला क्षेत्रभन्दा दुई माइल उत्तरतर्फ रहेको छ ।

सन् २०१५ देखि नै सीमा क्षेत्रमा गाउँ बसाउने र संरचना निर्माण गर्ने कार्यलाई तिव्रता दिइएको हो । नयाँ बस्तीमा बसोबास गर्ने स्थानीयहरूलाई नै सीमा रक्षाको जिम्मेवारी दिइएको छ । सीमा सुरक्षाकर्मीहरूलाई स्थानीय गाउँबासीहरूले पनि सहयोग गर्ने गरेका छन् । गाउँका नागरिकहरूलाई नै सीमा सुरक्षामा पनि भर्ती गरिएको पाइएको छ ।

चीनले तिब्बतीहरूलाई एजेन्टको रूपमा प्रयोग गरेर सीमा क्षेत्रमा पठाउने, भुटानीहरूलाई प्रवेश निषेध गर्ने, संरचनाहरू निर्माण गर्ने, बस्ती बसाउने र आफ्नो भूभाग हो भन्ने दाबी गर्ने गरेको छ ।

सीमा क्षेत्र रक्षा र विस्तारका लागि संयुक्त सुरक्षा टोलीसमेत गठन गरिएको छ । जसमा स्थानीय युवाहरू, बर्दीधारी सुरक्षा फौज, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू रहेका छन् ।

पछिल्लो समय सी जिनपिङ आफैँले पनि तिब्बतको भ्रमण गरेका छन् । उनले भारतीय सीमा क्षेत्रको अवलोकन गर्दै तिब्बत सीमा क्षेत्रको अवस्थाबारे जानकारी लिएका हुन् ।

सन् २०११ मा नै तिब्बतको ग्यालाफुग गाउँका बासिन्दाहरूको नै ‘गाउँबासी कार्यकर्ता समूह’ गठन गरिएको थियो । उनीहरूको काम स्थानीय सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूलाई सघाउने र सीमा क्षेत्रको विस्तामा सहयोग पुर्‍याउने रहेको थियो ।

सन् २०२० मा सोही कार्यकर्ता समूहबाट नै प्रहरी सङ्गठन बनाएको पाइएको छ । उक्त टोलीलाई ‘आतंकवादविरुद्धको विशेष अनुसन्धान टोली’ नाम दिइएको थियो । उनीहरूलाई विपक्षीहरूको षड्यन्त्रविरुद्ध कसरी लड्ने भन्ने कुरा सिकाइएको थियो । उनीहरूका लागि पछिल्लो समय भवन पनि बनाइएको छ । उक्त भवनका लागि आवश्यक फर्निचरहरू चीन सरकारले उपलब्ध गराएको छ ।

यसरी चीनले विस्तारै बस्ती बसाउने र भूमि कब्जा गर्ने रणनीति अघि बढाउँदै लगेको छ । भूटानको जस्तै गरी यसअघि हुम्लामा पनि संरचनाहरू बनाइएका थिए । हाल उक्त भूमि नै आफ्नो दाबी गरिरहेको छ । चीनले भारतका विभिन्न सीमा क्षेत्रमा पनि दाबी गरिरहेको छ । भारतीय प्रधानमन्त्री मोदीले यसअघि चीनतर्फ संकेत गर्दै आधुनिक युगमा विस्तारवादी प्रवृत्ति परास्त हुने चेतावनी दिएका थिए ।

(रोबर्ट बर्नेट आधुनिक तिब्बती इतिहास र राजनीतिका अनुसन्धाता तथा लेखक हुन् । उनी न्यु योर्कको कोलम्बिया युनिभर्सिटीमा मोडर्न तिबेतन स्टडिजका संस्थापक निर्देशक हुन् । अंग्रेजी भाषाको उनको यो लेख सारांशमा नेपाली भाषामा भावानुवाद गरिएको हो ।)

 

 

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ८ : ४० बजे

बैतडीका दुई विद्यालयमा नेपाली सेनाको एनसीसी तालिम

बैतडी– बैतडीका दुई सामुदायिक विद्यालयमा नेपाली सेनाले राष्ट्रिय सेवा दल

भूमिगत विद्युतीकरणको काम तीन महिनालाई स्थगित

चितवन– चितवनको भरतपुर महानगरपालिकामा जारी भूमिगत विद्युतीकरणको काम रोकिएको छ

क्लब विश्वकप : पिएसजी समूहको विजेता बन्दै दोस्रो चरणमा

काठमाडौं – पेरिस सेन्ट जर्मन (पिएसजी) फिफा क्लब विश्वकपको दोस्रो

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

म्याग्दी- म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार

काँकडभिट्टा नाकाबाट १८ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष २०८१–०८२ को ११ महिनामा पूर्वी नाका