क्वाडको प्राथमिकता चार वटा प्रजातान्त्रिक देशको सुरक्षित, नैतिक र रणनीतिक क्षेत्र स्थापना हो | Khabarhub Khabarhub

क्वाडको प्राथमिकता चार वटा प्रजातान्त्रिक देशको सुरक्षित, नैतिक र रणनीतिक क्षेत्र स्थापना हो



क्वाड सदस्यहरूले रणनीतिक अभिशरण वृद्धि गरेसँगै इन्डो प्यासिफिक क्षेत्रमा जापानको महत्व बढ्दै गएको प्रस्ट छ । यसै पृष्ठभूमिमा खबर हबका स्ट्राटेजिक सम्पादक डा. प्रमोद जायसवालले केइयो विश्व विद्यालयका प्राध्यापक तथा पूर्वप्रधानमन्त्री सिन्जी आबे का विशेष सल्लाहकार प्रोफेसर तोमोहीको तानीगुचीसँग विशेष संवाद गरेका छन् ।

डा. तोमोहीको तानीगुची केइयो विश्व विद्यालयका प्राध्यापक हुन् । उनी सन् २०१३ फेब्रुअरीदेखि २०१४ मार्चसम्म पूर्वप्रधानमन्त्री सिन्जो आबेका विशेष सल्लाहकार थिए । उनी प्रधानमन्त्री कार्यालयका काउन्सलर थिए । बीस वर्ष निकेइको व्यवसायमा बिताएपछि उनी निमित्त सञ्चार सचिव र सामुदायिक कूटनीतिका लागि निमित्त जनरल निर्देशकको रूपमा परराष्ट्र मन्त्रालयमा आबद्ध भए । स्न १९९९ मा लन्डनमा वैदेशिक प्रेस एसोसिएसनले उनलाई अध्यक्षको निर्वाचित गरेको थियो । ‘इस्ट अफ सुवेज’ बाट यो जिम्मेवारी पाउने उनी पहिलो थिए ।

पत्रकारिता करियरमा फुर्सदको समयमा उनले उड्रो विल्सन स्कुल, प्रिन्सटन विश्वविद्यालय र सघाइ विश्वविद्यालयमा फलुब्राइट छात्रवृत्तिमा अन्तर्राष्ट्रिय अध्ययन गरेर बिताएका थिए । एके ब्रकिङ इन्स्टिच्युटमा ‘पेइड फेलो’ का रूपमा अध्ययन गरेका थिए । काइटो एसडीएम र मेइजी युनिभर्सिटी स्कुल अफ ग्लोबल जापानी स्टडिजमा भिजिटर प्रोफेसरको रहँदै केन्द्रीय जापान रेल्वे कम्पनीका अध्यक्ष कासाकाइ योसुयुकीका कार्यकारी सल्लाहकारको रूपमा पनि उहनले सेवा गरे । इन्टरनेसनल अफेयरको विषयका १० वटाभन्दा बढी पुस्तकमा उनी लेखक वा सहलेखक छन् ।

उनीसँग जापानको वैदेशिक नीति, जापानको ‘डिफेन्स ह्वाइट पेपर, २०२१,’ ताइवान मामला, बि थ्री डब्ल्यु, क्वाड समिट, अफगानिस्तान मामला र नेपाल–जापान सम्बन्धका विषय संवाद भएको छ ।

सिन्जो आबेदेखि यासुहिदे सुगासम्म जापानले मूल्यउन्मुख विदेश नीतिलाई निरन्तरता दियो । वास्तविक राजनीतिमा यो मूल्यउन्मुख नीतिले कस्तो प्रभाव पार्छ ?

पक्कै प्रभाव पार्छ । सुगाले क्याबिनेटको प्रमुख सचिवको रूपमा आठ वर्ष आबेसँगै बिताए । जापानको राजनीतिक परिप्रेक्ष्यमा प्रमुख क्याबिनेट सचिव प्रधानमन्त्रीको दाहिने हात नै हो । सुगा र अवेका बीचमा प्रत्येक दिन तीन पटकभन्दा बढी भेट हुन्थ्यो । साँझको चिया या कफीका लागि हुने ती हरेक भेटमा घरेलु मुद्दादेखि राष्ट्रिय सुरक्षाका विषयसम्मका कुरा हुन्थे ।

यो प्रमाणित भएको छ कि प्रधानमन्त्री आबेको कार्यकालमा नीति र निर्णयका बारे सबैभन्दा बढी जानकार सुगा नै थिए ।

दोस्रो कुरा, यो भन्न उपयुक्त हुन्छ कि जापानको मूल्य उन्मुख नीति सापेक्षमा परिपक्व छ, यो केही नयाँ होइन । वास्तवमा २००६ देखि २००७ को एक वर्षमा प्रधानमन्त्री आबेले छोटो समयका लागि कार्यकाल सम्हाल्दा मूल्यउन्मुख नीति स्थापित गराए । त्यो समयमा त्यही आवश्यक थियो र अहिले पनि प्रजातन्त्रको झन्डा फहराउन, मानव अधिकारको सम्मान गर्न र कानुनी राज्यको स्थापना गर्न यो आवश्यक छ । जापानका विशाल छिमेकीहरूले यसमा चासो नदिइरहेको सन्दर्भमा यसको महत्व अझ बढी छ ।

तेस्रो, यसै प्रणाली रहेका अन्य देशहरूलाई सँगै जान यो झन्डा फहराउन पनि जापानका लागि आवश्यक छ । इन्डो प्यासिफिक क्षेत्रमा सुरक्षा र कानुनमा आधारित अन्तर्राष्ट्रिय अर्डरको अवस्था उपलब्ध गराउन पनि यो आवश्यक छ । अन्य देशलाई जापानसँग हातेमालोका लागि आह्वान गर्न अन्तर्राष्ट्रिय नियमलाई कायम राख्ने यो एउटा उपाय हो ।

‘डिफेन्स अफ जापान, २०२१’ को रूपमा जापानले नयाँ सुरक्षा स्वेतपत्र प्रकाशित ग¥यो जसले क्षेत्रीय सुरक्षाका चुनौतीलाई एक्लो देशले मात्र पार गर्न नसक्ने उल्लेख गरिएको छ । यसको मतलब के संसारले नै यस क्षेत्रमा जापानको बढी सक्रिय भूमिका देखेको हो ?

 यो अहिले पनि भइरहेको छ र अत्यन्त आवश्यक पनि छ । यो क्षेत्र र यसका अतिरिक्त अन्यत्र पनि शान्ति र सुरक्षा स्थापना गर्न जापानको सक्रिय भूमिका हुनुपर्छ । यसका धेरै कारणहरू छन् । पहिलो र अग्रणी कुरा चीनले प्रत्येक दिन क्षेत्रीय अखण्डताको विषयमा उत्तेजित बनाइरहेको छ । यसकारण चीनबाट जापानी भूभागमा आक्रामक हुने दिन टाढा नरहन सक्छ । तर यो ‘कत्ति चाडै’ भन्नेमात्र प्रश्न हो । साथै जापानको क्षमताको र जापानले संयुक्त राज्य अमेरिकासँग मिलेर गरेको कुरा नजर अन्दाज नगर्न पनि चीनलाई देखाउनुपरेको छ ।

अर्को कारण, चीन अमेरिकाका लागि नयाँ किसिमको चुनौती भएकोमा अमेरिका पूर्ण सचेत छ । नयाँ यस अर्थमा भनिएको हो कि चीनले दिने चुनौती बहुरूपी हुने छन् । पहिला शीत युद्धको समयमा सोभियत संघ र अमेरिका बीचको टकराब तनावपूर्ण थियो ।

यो सबै सकिएपछि दुई देशका बीचको प्रतिस्पर्धा आणविक हतियार र अन्तर्राष्ट्रिय बेलयाटिक मिसाइलको संख्यामा यिनीहरूको प्रतिस्पर्धा हुन्थ्यो । प्रतिस्पर्धा सरल रेखामा सिधा र प्रस्ट थियो । तर, २०२० मा यी दुई महाशक्तिको बीचको टकराब र प्रतिस्पर्धाको दायरा परम्परागत सैन्य शक्तिबाट प्रविधि, कृत्रिम इन्टेलिजेन्स र अन्तरिक्ष उडानसम्म पुगेको छ । उसले विश्वास गर्न सक्ने देशसँग अमेरिका जोडी नै पर्छ ।

साथमा दोस्रो शक्तिशाली अर्थतन्त्र र यसको प्राविधिक समझदारीको स्टक पनि बेजोड छ । यो नै कारण हो कि जापानलाई अमेरिका चाहिन्छ र अमेरिकालाई जापान । यसकारण अमेरिका र जापानको शक्ति एक ठाउँमा हुने र निर्बाध रूपमा जोडिने कुरा बाध्यकारी र तर्कसङ्गत छ ।

जापानले भर्खरै यस क्षेत्रको रणनीतिक स्थायित्वका लागि सुरक्षा संयन्त्रलाई बलियो बनाउने निर्णय गर्नुको तात्पर्य के हो ? के जापानको सुरक्षा वातावरण बिग्रँदो अवस्थामा छ ?

जापानका छिमेकीहरू चाहेजति सुरक्षित छैनन् । एक छिनलाई रुसलाई हेरौँ, यो अझ भयानक आणविक शक्ति हो । यसले आर्कटिक समुद्र र पश्चिमी प्रशान्त क्षेत्रलाई शस्त्रागार बनाइरहेको छ । जहाँसम्म उत्तर कोरियाको कुरा छ, यसले आणविक महत्वाकांक्षालाई छाड्ने छैन भन्ने थाहा भएकै हो ।

अहिलेकै समयमा चीनले पनि आणविक हतियार निर्माण गर्ने क्रम बढाएको छ, घटाएको छैन । अहिलेको उन्नत प्रविधि प्रयोग गर्दै चीनले द्रुत गतिमा विकास गरिरहेको छ । साथमा उत्कृष्ट औद्योगिक जासुसीकै क्रममा बलियो सैन्य प्रणाली पनि बनाएको छ ।

यसकारण तपाईंले ओईसीडी राष्ट्रले ती तीन आणविक शक्तिको सामना गरेको देख्नुहुन्छ । आफ्ना छिमेकीहरू आणविक शक्तिसम्पन्न हुँदै र उनीहरूले सैन्य शस्त्रागार निर्माण गरिरहेको समयमा जापान प्रतिष्ठित देश बनेर उभिएको छ ।

पछिल्लो समय टोकियोले ताइवानलाई बल पुग्ने गरी बलियो अभिव्यक्ति दिएको मुद्दा उठिरहेको छ । भविष्यमा आक्रामक हुने अवस्था आएमा सैन्य शक्ति पनि सहयोग गर्ने संकेत पनि गरेको छ । ताइवानलाई सुरक्षा दिने जापानको नयाँ इच्छालाई तपाईंले कसरी हेर्नुभएको छ ?

दुई क्षेत्रको अन्तरसम्बन्ध हेर्ने हो भने यो त्यति रामो देखिँदैन । एउटा ताइवानलाई कभर गर्ने कुरा र अर्को जापानका प्रायद्विपमा कभर गर्ने कुरा । यदि यो महादेशमा चीनले आफ्नो हवाई क्षमता र समुद्री सतहको प्रयोग गर्दै ताइवानलाई आक्रमण गर्न चाहन्छ भने जापानको ओनिनावा प्रायद्विप त्यो क्षेत्र हो, जहाँ चीनले जापानी शक्तिलाई निष्क्रिय बनाउन सक्नुपर्छ ।

यदि ताइवानमा आक्रमण भयो भने यसले निश्चितरूपमा जापान र अमेरिकालाई पनि संलग्न गराउँछ । यसकारण ताइवानमाथि आक्रमण हुनु या जापानलाई धम्क्याउने कुराको आकस्मिक परिदृश्यमा कुनै भिन्नता छैन । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का नेताहरूले यो कुरा पूर्णरूपमा मनन गर्न जरुरी छ ।

फेरि पनि गलत बुझाइ र अवमूल्यनका कारण अवस्था उत्तेजक हुनसक्छ र सीसीपीले कुनै गलत कुरा बुझ्नु हुँदैन । जापानको अमेरिकासँग सहकार्य गर्ने नियत र इच्छाले ताइवानमा स्थायित्व कायम गर्न सहयोग गर्छ ।

अहिले अफगानिस्तानमा देखिँदै आएको सुरक्षासम्बन्धी विकास क्रमलाई जापानले कसरी हेरेको छ ? काबुलमा टोकियोको पोजिसन के हुन्छ ?

 पछिल्ला २० वर्षको संक्रमण कालमा सेनाबाट नागरिकमा अधिकार हस्तान्तरणको सवालमा टोकियो अग्रगामी रहेको छ । त्यसता शक्तिसँग लड्नकै लागि विगतमा जापान सरकार र नागरिक समुदायबाट सहयोग उपलब्ध गराइएको हो । तर, यसमा लामो समयको प्रतिबद्धता थियो र टोकियोको पोजिसन अटल छ ।

सरकारी स्रोत र नागरिक समुदायको उपस्थितिमा त्यस खालको मानवीय शिक्षामा सहयोग गर्ने र अन्य सहयोग उपलब्ध गराउने इच्छा रहँदै आएको हो । लामो समय जापानका विशिष्ट नेताले शान्ति प्रक्रियाको नेतृत्व गरे जसले संयुक्त राष्ट्र संघको महासचिव अन्तर्गत काम गर्ने कुरा रोजेको थियो । यसकारण जापानमा शान्ति र स्थायित्व हुने या नहुनेमा जापान एउटा प्रमुख स्टेक होल्डर हो ।

जापानको उपस्थिति प्रमुख भए पनि विशेष गरेर दक्षिण पूर्वी एसियाको भौतिक संरचनामा चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) शुरू गरेपछि परिवर्तन देखिएको छ । ‘बिल्ड ब्याक बेटर वल्र्ड’ पार्टनरसिपबाट जापानले के आशा गरेको छ ? साथै, चीनको नेतृत्वमा भइरहेको बेल्ट एन्ड रोड इनिसिएटिभको विकल्पमा के दिन सक्छ ?

पछिल्ला वर्षहरूमा जी २० को बैठक र जी सेभेनेको बैठक लगायत थुप्रै बहुपक्षीय बैठकमा यो विषयमा सहमति जुटेको छ । यो भन्नुपर्ने हुन्छ कि विकासशील देशमा त्यस खालको संरचना निर्माण गर्दा ती परियोजना भरपर्दो, पारदर्शी र सुविधा पाउने देशलाई गहिरो अप्ठेरोमा नपार्ने हुनुपर्छ । यसैले जापानले गुणस्तरीय संरचनाका लागि ‘बिल्ड ब्याक बेटर परियोजना’ शुरु गरेको हो । बेइजिङले समेत स्वीकारेको गुणस्तरीय भौतिक संरचनाको कुरा फराकिलो बनाएको छ । यो उपाय स्वीकार गर्दा चाइनिजहरू खुसी भएका छन् किनभने त्यस्तो परियोजनाको खोजी लाभदायक हुनु पर्छ भन्ने कुरा नकार्न सकिँदैन, यो पारदर्शी हुनुपर्छ र सुविधा पाउने देशमा रोजगारीको अवसर वृद्धि हुने कुरामा सकारात्मक योगदान रहनुपर्छ ।

जब भौतिक संरचना निर्माणको कुरा महत्वपूर्ण बन्छ, चीनको पहल पनि यसै दिशामा पछ्याउने हुनसक्छ र यो महान् हो । जापान, अमेरिका र जी सेभेनका अन्य देशहरूले अफ्रिका, मध्य एसिया र दक्षिण पूर्वी एसियामा यसै गर्ने चाहना राखेका छन् । यसकारण सुविधा पाउने देशले लामो समयका लागि कुन लाभदायक हुन सक्छ भनेर छान्न सक्छन् ।

वासिङ्टन डिसीमा हुने सम्भावना रहेको क्वाड समिटमा जापानको आशा के हुन सक्छ ? यो सम्मेलनले के उपलब्धि दिने अपेक्षा गर्न सक्छौँ ?

जब सिन्जो आबे २०१२ को डिसेम्बरमा दोस्रो पटक प्रधानमन्त्री हुनुभयो, त्यसपछि कार्यभार सम्हाल्ने बित्तिकै प्रोजेक्ट क्यान्डिकेट नामको अनलाइन मिडियामा आफ्नो विचार प्रकाशित गर्नुभएको थियो । त्यसको शीर्षक ‘एसिया डेमोक्रेटिक सेक्युरिटी डायमन्ड’ थियो । यो शीर्षकले आयतनको कुरा गरेको थियो । किनभने यो हवाई, टोकियो, क्यानबेरा र दिल्लीका बिन्दुमा सम्बन्ध स्थापित गर्नु थियो । यदि तपाईंले यी चार बिन्दुको सम्बन्ध बनाउन सक्नुभयो भने क्रमबद्ध रूपमा हिराको उदय हुन्छ र आबेले यसलाई ‘एसिया डेमोक्रेटिक सेक्युरिटी डायमन्ड’ को रूपमा चयन गरे ।

पछि यसै स्वरूपको क्वाडको कुरा भयो । यसरी क्वाडको उदय भएको थियो । यस क्षेत्रका चार वटा प्रजातान्त्रिक देश अमेरिका, भारत, अस्ट्रेलिया र जापानको संयुक्त शक्तिको माध्यमबाट इन्डो प्यासिफिक क्षेत्रमा फराकिलो, सुरक्षित र नैतिक तथा रणनीतिक ठाउँ स्थापना गर्ने नै यसको प्राथमिकता हो ।

भविष्यमा यी चार देशका नेताहरूले त्यहाँका सान्दर्भिक विषयमा निरन्तर सल्लाह गर्नु नै पहिलो र अति आवश्यक कुरा हो । दोस्रो, त्यहाँ प्रचलन हुनुपर्छ बैठकमा बस्ने आदतमा, एक आपसमा बोल्ने कुरामा, जति सम्भव हुन्छ त्यत्ति निरन्तर पनि ।

यी चार देशका नेताको बीचमा मात्र होइन, सेना, कूटनीति वातावरण, वित्तीय र त्योभन्दा अगाडिको भिन्न विषयका निर्णायक व्यक्तिहरू बीचको वार्ताले सम्बन्धलाई अझ मजबुत बनाउँछ जबकि प्राविधिक समन्वय पनि महत्वपूर्ण हो ।

क्वाडलाई तीव्र रूपमा संस्थागत गर्ने कुरामा यीमध्येका कोही पनि इच्छुक देखिएका छैनन् । उनीहरूमध्ये कोही पनि क्वाडलाई इन्डो प्यासिफिक क्षेत्रको नाटो (उत्तर एटलान्टिक सन्धि सङ्गठन) कै बराबरीको बनाउने कुरामा पनि इच्छुक हुनुहुँदैन । अबको कमसेकम दुई वर्षमा क्वाड यो अवस्थामा पुग्ने छ जसले त्यहाँका नेताहरूलाई एक आपसमा नियमित संवाद गर्ने र सहकार्यको हरेक सम्भावनाको खोजी गर्ने आदत बसाउँछ ।

अन्टार्टिकामा ‘ठूला–शक्ति’ को द्वन्द्व चलिरहेको छ, अन्टार्टिकाको स्रोतमा त्यसको तल्लो लहरमा रहेका देशहरूको सहभागिता हुनु हुनुपर्छ भन्ने जापानको मागलाई मस्कोमा भएको बैठका रसियाले आफ्नो अधिकारमाथिको चुनौती ठान्यो । मस्कोको यस्तो प्रतिक्रियामाथि जापानको दृष्टिकोण के छ, दक्षिणी ध्रुवीय क्षेत्रमा दाबी कस्तो कस्तो छ ?

यी सबै दाबीहरू अन्तर्राष्ट्रिय समुदायको निगरानी अन्तर्गत हुनुपर्छ, खासगरी संयुक्त राष्ट्र संघ अन्तर्गत । अन्तर्राष्ट्रिय मान्यता र नियमहरू बन्न बाँकी रहेको यस्ता क्षेत्रहरूका विषयमा राष्ट्र संघले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ, यसले एक्लै गृहकार्य गरोस् । यसरी यस्ता क्षेत्रहरूमा एउटा दिशानिर्देश हुन सक्छ ।

यसकारण जापानको लागि मात्रै हुनुपर्छ भन्ने होइन, साझा दृष्टिकोण भएका प्रजातान्त्रिक शक्तिहरूले साझा लाभका लागि अन्टार्टिका जस्ता क्षेत्रहरूमा सम्भावना खोज्नुपर्छ ।

 नेपाल र जापान बीचको सम्बन्धलाई तपाईं कसरी परिभाषित गर्नुहुन्छ ? जापानी विदेश नीतिमा नेपाल कहाँ रहेको छ ?

पहिलो र मुख्य कुरा, नेपाल र जापानका बीच कुनै किसिमको पनि दुश्मनी छैन, यो खुसीको कुरा हो । अर्को राम्रो कुरा जानमा नेपालीहरूको संख्या बढ्दैछ । ठट्टामै पनि म के भन्छु भने जापानबाट नेपाली अर्थतन्त्र विकास गर्न टोकियो र अन्त जहाँ भए पनि परिश्रमी नेपालीले चलाएका र नेपालीहरूले काम गरेका रेस्टुरेन्टमा जानुपर्छ । यसबाट उनीहरूले घरमा पैसा पठाउँछन् ।

तेस्रो, नेपाली अर्थतन्त्र वातावरणको कमभन्दा कम क्षतिमा विकास हुन आवश्यक छ । नेपालको हिमालय क्षेत्र मानवका लागि र सबै किसिमको विकासको महत्वपूर्ण सम्पदा हो । हिमालय क्षेत्रसहित प्राकृतिक स्रोत विकासका लागि हातेमालो गर्न आवश्यक छ । पर्यटन र सेवा उद्योगबाट नेपालको अर्थतन्त्र विकासका लागि दिगो पारिस्थितिक प्रणाली विकास गर्नुपर्छ । नेपालको दीर्घकालीन र दिगो समृद्धि छिमेकी मुलुकहरू चीन र भारतका लागि पनि उत्तिकै महत्वपूर्ण छ । दिगो विकासका लागि नेपाल एउटा रणनीतिक क्षेत्र हो ।
यसकारण नेपालको दिगो विकासमा विश्व समुदायले पनि सद्भाव राख्नुपर्छ । यसमा जापान पनि स्वच्छ मनले सहभागी हुनुपर्छ ।

कोभिड–१९ विरुद्धको लडाइँमा नेपालजस्ता देशहरूका लागि जापानले के योजना बनाइरहेको छ ?

जापानले कोभिड–१९ विरुद्धको लडाइँमा अल्पकालीनरूपमा देशहरूलाई ठूलो संख्यामा भ्याक्सिन उपलव्ध गराइहरेको छ । यसमा अस्ट्राजेनेका भ्याक्सिन छ, यो अल्पकालीन हो । दीर्घकालीनरूपमा विकासशील देश र जापान जस्ता देशहरूले ‘युनिभर्सल हेल्थ केयर’ का लागि सहकार्य गर्नुपर्छ । जापानले सब–साहरान अफ्रिकी मुलुकहरू विकास बजेटका लागि छनौट गरेको छ र यसलाई निरन्तरता दिनुपर्छ । टोकियो यो महामारीको समयमा सहकार्यका लागि तयार भएर बसेको छ ।

हेरौँ भिडियो 

https://www.facebook.com/watch/?v=3088023268084108

 

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ९ : २५ बजे

फ्रान्सको ‘स्ट्याचु अफ लिबर्टी’ कसरी पुग्यो अमेरिका ?

सन् १८५१ डिसेम्बर २ को रात १७ वर्षीय फ्रेडरिक अगस्ट

सागसब्जीका बेर्ना बेचेर एकै याममा दुई लाख आम्दानी

म्याग्दी– विगत ४१ वर्षदेखि व्यावसायिक रूपमा सागसब्जीका बेर्ना उत्पादन गर्दै

पूर्वगृहमन्त्री लामिछानेलाई चौथोपटक म्याद थपका लागि कास्की अदालत लगिँदै

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गोर्खा मिडिया नेटवर्कका

अस्ट्रेलियाविरुद्ध भारतका ओपनर जैसवालको शतक : केएल राहुलसँग २०१ रनको साझेदारी

काठमाडौं – अस्ट्रेलियाको घरेलु मैदानमा भारतका ओपनर यशस्वी जैसवालले शतक

धरहरा व्यवसायिक रुपमा खुला, प्रतिव्यक्ति दुईसय रुपैयाँ, विद्यार्थी र ज्येष्ठ नागरिकलाई छुट

काठमाडौं– काठमाडौंको सुन्धारास्थित धरहरा आजदेखि व्यवसायिक रुपमा खुला भएको छ