घरघरै खानेपानीको धारा पुग्दै « Khabarhub

घरघरै खानेपानीको धारा पुग्दै


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- ‘एक घर, एक धारा’को लक्ष्यसहित सञ्चालित गलकोट बृहत् खानेपानी आयोजनाको काम धमाधम भइरहेको छ ।

गलकोट नगरपालिका वडा नं ३, ५ र ७ का १२ सय घरधुरीमा खानेपानीको सहज पहुँच पुर्‍याउन डेढ वर्षअघि आयोजना शुरु गरिएको थियो ।

सङ्घ सरकारअन्तर्गत खानेपानी मन्त्रालयको रु १७ करोड बजेटमा बन्न लागेको आयोजना आगामी दुई वर्षभित्र सक्ने लक्ष्य छ । सुरुमा वडा नं ७ मल्मको गगनपानी (क) बाट निर्माण थालिएकामा अहिले सबै ‘स्किम’मा कामले गति लिएको छ ।

आयोजनामा १० साना ‘स्किम’ छन् । आयोजनाका अध्यक्ष छुमबहादुर थापाका अनुसार गगनपानी (क) मा मुहान, इन्टेकसहित ३० हजारका तीन र ५० हजार लिटरको एउटा ट्याङ्की निर्माण भइसकेको छ ।

यस्तै दुई किमिमा पाइप बिछ्याउने काम पूरा भएको छ । गगनपानी (ख) मा ३० हजारका दुई र ५० हजारको एउटा ट्याङ्की बनेको छ । मुहान र इन्टेकसहित दुई हजार ५०० मिटरमा पाइप बिछ्याइ सकिएको अध्यक्ष थापाले बताए ।

गगनपानी (क) बाट मल्मका अर्बेदी, कोल, गहते र सिरबारे बस्तीका बासिन्दा लाभान्वित हुनेछन् भने (ख) बाट खोलापारी, साहनीडाँडा र बतासेडाँडामा खानेपानी पुग्नेछ ।

वडा नं ७ मा गगनपानी (क), (ख) सहित खाल्टेपानी–टोक्री–निलापानी, खाल्टेपानी–पौडेपानी, डुन्डुरा–मल्मडाँडा, सिद्धथान–सिरबारे र चिसापानी–आँगाखेत गरी सात साना ‘स्किम’ छन् ।

अरु ‘स्किम’मा पनि मुहान, ट्याङ्की र पाइपलाइनको काम भइरहेको हो । वडा नं ३ मा पनि चार ट्याङ्की निर्माण भइसकेका छन् । सो वडामा नयाँ पँधेरा र भुके मुहानको पानीलाई आयोजनामार्फत घरघरमा वितरण गर्न लागिएको हो । त्यहाँका खसगाउँ, कोतमैदान, स्याँला, लमाइलगायतका बस्ती आयोजनाबाट लाभान्वित हुनेछन् ।

यस्तै वडा नं ५ को रुस्ती ‘स्किम’बाट हरिचौर बजारलगायत आसपासका बस्तीमा खानेपानी पुर्‍याइँदैछ । कोरोना महामारी र वर्षायामका बाबजुद पनि निर्माणको काम भने नरोकिएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय, बेनी, म्याग्दीका सुपरभाइजर मणी कँडेलले बताए ।

उनले पूर्वाधार तयारीसँगै खानेपानी वितरणको काम छिट्टै शुरु हुने बताए । “सत्तरी घरधुरी जतिलाई खानेपानी वितरणका लागि सामग्री पनि आइपुगेको छ”, सुपरभाइजर कँडेलले भने, “वडा कार्यालय र जनप्रतिनिधिसँग समन्वय गरेर वितरणको काम अघि बढाउँछौँ ।”

आयोजना कार्यालयले उपभोक्तालाई मिटर, धाराको टुटी, ‘स्ट्याण्ड’ मात्र उपलब्ध गराउने उनको भनाइ छ । खानेपानीको मुहान पुरानै प्रयोग गरे पनि अन्य संरचना भने पूरै नयाँ बन्ने आयोजनाका अध्यक्ष थापाले बताए ।

गाउँभरिका मुहानलाई एकीकृत गरेर घरघरै खानेपानीका धारा पुर्‍याउने लक्ष्य आयोजनाले लिएको छ । रोल्पा, रुकुमदेखि आएका श्रमिक अहिले आयोजना निर्माणमा खटिएका छन् । पूर्वाधार निर्माण र खानेपानी वितरणको काम सँगसँगै हुने जनाइएको छ ।

बहुवर्षीय कार्यक्रम भएकाले बजेटको अभाव नहुने आयोजना कार्यालयले जनाएको छ । हालसम्म भौतिक निर्माणका काममा रु दुई करोड बढी खर्च भइसकेको छ । आयोजनामा ‘ट्रान्समिसन पाइपलाइन’ १७ किमी र वितरण ‘पाइपलाइन’ ३२ किमी छ । यस्तै १० देखि १५० घनमिटरसम्मका ट्याङ्की, इन्टेकलगायतका संरचना बन्नेछन् ।

घरघरै खानेपानीको सहज पहुँच विस्तार गर्ने राज्यको नीतिअनुसार तीनै तहका सरकारले ‘एक घर, एक धारा’ अभियान चलाएका छन् । गण्डकी प्रदेश सरकारले आगामी वर्षभित्रमा प्रदेशका सबै घरधुरीमा आधारभूत खानेपानी सुविधा पुर्‍याउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ११ : २५ बजे

पाँच वर्षदेखि प्रयोगविहीन नापी कार्यालयको भवन, किन बनेन क्यान्टिन ?

तेह्रथुम– सदरमुकाम म्याङलुङ बजारको केउरेनी लाइन भएर हिँड्ने धेरैको नजरमा

‘वास्तविक सुकुम्वासीलाई छिट्टै जग्गा दिएको राम्रो, नत्र खत्तम होला’

काठमाडौं- ५७ वर्षीय वसन्त माझीको तन कीर्तिपुरको राधास्वामी सत्संग आश्रमको

वडा सीमा विवाद सुल्झाउने मापदण्डको  सुझावमाथि अध्ययन जारी

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कतिपय स्थानीय तहका

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

काठमाडौं– नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

विश्व श्रमिक दिवसका दिन ओपीडी सञ्चालन गर्न दिएको मन्त्रालयको विज्ञप्तिप्रति हेपोनको आपत्ति 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विश्व श्रमिक दिवसका दिन जारी