के हो मिप्वाः लाखे ? « Khabarhub

के हो मिप्वाः लाखे ?

गथामुँगः चह्रेदेखि सुरु हुने मिप्वाः लाखेको सांस्कृतिक कथा र किंवदन्ती



श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल एउटा पर्व होइन, विभिन्न सांस्कृतिक परम्परा र लोककथासँग जोडिएको विशेष दिन हो। यस दिन राक्षसको आकृति बनाएर दोबाटोमा लगेर जलाउनेदेखि विभिन्न स्थानमा लाखे नाच निकाल्नेसम्मका परम्परा देख्न पाइन्छ। यही दिनदेखि सुरु हुने लाखे नाच इन्द्रजात्राको अन्तिम दिनसम्म चल्ने गर्छ।

नेपाल मण्डलका काठमाडौं, पाटन, भक्तपुर, बनेपा, दोलखा, नाला, धुलिखेल, पनौती, साँगा, देवपत्तनलगायत विभिन्न क्षेत्रमा गथामुँगको दिन लाखे नाच निकाल्ने चलन छ। उपत्यकाबाहिर नेवार समुदायको बसोबास रहेका स्थानमा पनि यो परम्परा देखिन्छ। तर पछिल्ला वर्षहरूमा कतिपय ठाउँमा यो चलन क्रमशः कमजोर हुँदै गएको संस्कृतिकर्मी बताउँछन्। यही परम्पराको एउटा रोचक रूप हो, पाटनको मिप्वाः लाखे।

हराइसकेको नाच फेरि कसरी बिउँतियो ?
पाटनमा कुनै समय निकै चर्चित रहेको मिप्वाः लाखे बीचमा हराएको थियो। लामो समयसम्म नदेखिएको यो परम्परा २०७५ सालदेखि पुनः बिउँताइएको हो। पहिले मिप्वाः लाखे नाचमा शाक्य, नापित र कपाली समुदायका व्यक्तिले मात्र सहभागी हुन पाउने परम्परा थियो। धिमे र भुस्या बाजाको तालमा उनीहरू लाखेको भेषमा नाच्ने गर्थे। तर अहिले समयअनुसार यो परम्परामा केही परिवर्तन आएको छ। जात वा थरको सीमाभन्दा माथि उठेर इच्छुक जोसुकैले नाचमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ। तर मिप्वाः लाखेको विशेषता यतिमै सीमित छैन। यसको सबैभन्दा रोचक पक्ष हो, लाखेसँगै नाच्ने हरियो भ्यागुतो।

लाखेसँग किन नाच्छ ‘भ्यागुतो’ ?
काठमाडौं उपत्यकाका धेरै ठाउँमा लाखेसँगै नाच्ने सानो पात्रलाई ‘झ्यालिचा’ भनिन्छ। तर पाटनको मिप्वाः लाखेको कथा भने अलि फरक छ। यहाँ लाखेसँगै देखिने हरियो भेषधारी पात्रलाई ‘तिन्पाकुचा’ भनिन्छ, जसको अर्थ भ्यागुतो हो। लोककथाअनुसार एकपटक रोपाइँ सकेर किसानहरू आराम गरिरहेका बेला मिप्वाः लाखे खेतमा पस्यो र धानबाली बिगार्न थाल्यो। खेतमा रहेको एउटा भ्यागुताले किसानले दुःख गरेर रोपेको बाली नष्ट नगर्न लाखेलाई सम्झायो। तर लाखे रिसाएर भ्यागुतोलाई लखेट्न थाल्यो।

भ्यागुतो उफ्रँदै एउटा ठूलो खाल्डोमा पुग्यो। लाखे पनि त्यसलाई समात्न खाल्डोमा हामफाल्यो। तर भ्यागुतो समयमै बाहिर निस्कियो र लाखे भने खाल्डोमै फस्यो। यसरी भ्यागुतोले किसानको बाली जोगाएको जनविश्वास छ। यही कथासँग जोडिएर जनैपूर्णिमाका दिन भ्यागुतोलाई भात, रोटी र गेडागुडी खुवाउने चलनसमेत रहेको बताइन्छ। भ्यागुताले खेतमा लाग्ने किरा, फट्याङ्ग्रा खाने भएकाले यसलाई बालीको रक्षकका रूपमा हेर्ने गरिन्छ।

‘मिप्वाः’ नामको अर्थ पनि रोचक
नेपाल भाषामा ‘मि’को अर्थ आगो र ‘प्वाः’को अर्थ वाला भन्ने बुझिन्छ। त्यसैले ‘मिप्वाः लाखे’लाई ‘आगोवाला लाखे’का रूपमा बुझिन्छ। यसको नाचमा लाखेले आगोको मुस्लो निकाल्ने विशेष प्रस्तुति देखाउने भएकाले पनि यसको नामसँग आगो जोडिएको मानिन्छ। मिप्वाः लाखेको उत्पत्तिबारे अर्को किंवदन्ती पनि छ। राति आगो बालेर आफ्नी प्रेमिकालाई भेट्न आउने लाखेलाई मिप्वाः लाखे भनिन्थ्यो भन्ने जनश्रुति छ। कतिपय कथामा लाखेलाई तलेजु भवानीको रक्षकका रूपमा समेत व्याख्या गरिएको पाइन्छ।

लाखे नामकै विषयमा पनि रोचक लोककथा छ। खेतमा काम गर्न आउने एक युवकले किसानले दिएको खाजा नखाई आफ्नो झोलाबाट ‘ला’ अर्थात् मासु र ‘खेंय’ अर्थात् अण्डा निकालेर खाने गर्थे रे। मासु र अण्डा मात्र खाने भएकाले उनलाई ‘लाखे’ भन्न थालिएको किंवदन्ती छ।

पाटनका टोल–टोलमा गुञ्जिन्छ धिमे र भुस्याको ताल
गथामुँगको दिन सुरु हुने मिप्वाः लाखे नाच पाटनका विभिन्न टोल हुँदै अघि बढ्छ। सौगलस्थित नात्येश्वर मन्दिर परिसरबाट सुरु हुने नाच सुन्धारा, ओकुबहाः, थैना, चक्रबहिः, हौगः, तच्छिुगल्ली, ईखालखु, बालुखा, पूर्णचण्डी, गाबहाः, पिम्बहाः, सुलिम, नकबहिः, धलायुचा, क्वाल्खु, झातापोल, कोबहाः, स्वंठ, मङ्गलबाजाः र हःखा टोल हुँदै पुनः सौगल नात्येश्वर मन्दिर परिसरमै पुगेर सम्पन्न हुने गर्छ।

यसरी आगोको मुस्लो निकाल्ने लाखे, उसलाई जिस्काउँदै नाच्ने हरियो तिन्पाकुचा र धिमे–भुस्याको गुञ्जायमान तालले पाटनका गल्लीलाई जीवन्त बनाउँछ। मिप्वाः लाखे केवल मनोरञ्जनका लागि गरिने नाच मात्र होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको पाटनको लोककथा, कृषि संस्कृति, धार्मिक विश्वास र सामुदायिक परम्परालाई एउटै मञ्चमा प्रस्तुत गर्ने जीवित सांस्कृतिक सम्पदा पनि हो।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ९ : १९ बजे

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री