कोरोना त्रासले राति नाचेरै नीलबाराही नाच सम्पन्न « Khabarhub

कोरोना त्रासले राति नाचेरै नीलबाराही नाच सम्पन्न


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- मध्यपुरथिमि नगरपालिका वडा ८ र ९ बोडेमा प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयादेखि पञ्चमीसम्म तीनदिन चार रातसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध लिच्छवीकालीन परम्परागत द्यो प्याँख अर्थात् नीलबाराही नाच सम्पन्न भएको छ ।

दैवी शक्तिमा विश्वास राख्दै नाचिने यो नाच यही भदौ ८ गतेदेखि सुरु भई शुक्रबार सम्पन्न भएको हो । कोरोना सङ्क्रमणको त्रासका कारण यस वर्ष प्रसिद्ध नीलबाराही नाच राति मात्रै सञ्चालन भएको हो ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम रहेकाले वडा नं ८ र ९ का वडाध्यक्षसहित स्थानीयवासीको बैठकले नाचलाई यसवर्ष राति मात्रै सञ्चालन गर्ने निर्णय गरेअनुसार राति मात्रै नाच सञ्चालन गरी सम्पन्न भएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

विगतका वर्षमा राति र दिउँसो टोलटोलमा नाच देखाउने र स्थानीयले पूजा पनि चढाउने परम्परा रहे पनि यस वर्ष भने मूल पूजा गर्दै, टोलटोलमा राति नाच देखाइएको थियो ।

स्थानीयले पूजा नचढाउने र नाच राति मात्रै सञ्चालन गर्ने निर्णय भएअनुसार सञ्चालन गरिएको हो । वर्षौंदेखि जस्तोसुकै अवस्थामा पनि नरोकिएको यो नाच यस वर्ष पनि नरोक्ने तर दिउँसो सञ्चालन नगर्ने निर्णय गरिएको थियो ।

राति सञ्चालन गर्दा जात्रामा भीडभाड कम हुने भएकाले देवगणदेखि नाच सञ्चालनमा जोडिने व्यक्ति र स्थानीयलाई पनि सङ्क्रमणबाट जोगिन तथा जोगाउन सचेतना अपनाउन राति सञ्चालन गरिएको हो ।

बोडेको अखाः द्यो छेँबाट सुरु भएको यो नाच तीन रातसम्म नारायणथान लाछी, लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खासी टोल, नीलबाराही स्थान हुँदै पुन : अखाः द्यो छेँमा पुगेर समापन गरिएको थियो । नाच प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय र पाँगा बाजाको तालमा नीलबाराही देवीको नाच देखाउने परम्परा रहेको स्थानीयवासी बताउँछन् ।

देवगणमा भैरव एक, बाराही चार, कुमारी चार, सिंह चार द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगण रहेको यो नाचमा छ गुरु, १९ देवताका सहयोगी, धाँ, भुस्याहा, का, बौचा बाजा बजाउने नौलगायतका विभिन्न सहयोगी गरी ११५ धाँ बाजा बजाउने गरिन्छ ।

नाच अवधिभर देवगणले खान नहुने, बस्न नहुने, बोल्न नहुने, घामपानीमा छाता ओड्न नहुने, दिशा पिसाब गर्न नहुने र जुत्तासमेत लगाउन नहुने नियम रहेको छ ।

नाचमा देवगणले मुकुण्डो लगाएर घण्टौँसम्म टोलटोल घुमेर नियमित नाच्नुपर्छ, गाह्रो भए पनि काँही बस्न पाइँदैन, बस्नै परे पनि ज्वकालुअर्थात् सहयोगीको काखमा या जिउमा अडेसलगाएर बस्नुपर्छ ।  नाचका अगाडि र पछाडि बाल्ने चिरागअर्थात् बत्ती पनि निभ्नु हुँदैन भन्ने मान्यता छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  १० : ४० बजे

शिक्षा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

विश्वकप फुटबल : बोस्निया हर्जगोभिनालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका अन्तिम

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक

प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक