काठमाडौँ– सडकमाथि फोहोर, फोहोरमाथि गाडी र गाडीमाथि पनि फोहोर !
यो दृश्य हो सिसडोल ल्यान्डफिल साइटको । पन्ध्र दिनभन्दा बढी भयो संघीय राजधानी काठमाडौँको फोहोर उठ्न नसकेको । आइतबार काठमाडौँ महानगरपालिकाको संयोजनमा केही पत्रकारहरू सिसडोड ल्यान्डफिल साइट पुर्याइए ।
काठमाडौँबाट करिब २ घण्टामा ल्यान्डफिल साइट पुग्दा त्यहाँको कन्तबिजोक देखियो । सिसडोलको शुरू हुने बिन्दुबाट फोहोर विर्सजन गर्न झण्डै चार सय मिटर माथि पुग्नुपर्छ । शुरू बिन्दुबाटै सडकमा खुट्टा टेक्ने ठाउँ थिएन ।
साना–ठूला कुनै पनि किसिमका गाडी गुड्न सक्ने स्थिति थिएन । फोहोर बोकेको ट्रक सडकको हिलो र फोहोरमै फसेका थिए ।
ती गाडीको बिजोग देख्दा फोहोर फ्याक्ने ठाउँसम्म पुग्न सकिने हो कि होइन भन्ने शंका थियो । कहाँ खाल्डो छ र कहाँ खुट्टा टेक्न मिल्छ भनेर थाहा पाउने थिएन ।
हामी काठमाडौँ उपत्यकाको फोहोर विर्सजन हुने सिसडोल ल्याडफिल साइट पुग्नु नै थियो । अगाडि हिँड्नेलाई पछ्याउँदै गयौँ ।
हिलोमा लड्यौँ, खुट्टा भासिए, फेरि उठ्यौँ र जुत्ता हातमा बोकेर मुश्किलले हिँड्यौँ । जति अघि बढ्यो उति खुट्टा हिलोमा भासिन्थ्यो ।
फोहोरमाथि सडक, जति माथि गयो उति हिलो । कहीँकतै घुँडासम्म भासिने फोहोर ।
सडक सडकजस्तो देखिदैँन । चार सय मिटर छिचोल्न झन्डै एक घण्टा लाग्यो जहाँ फोहोरको पहाड थियो । फोहरमा हुने चरा र झिँगाले फोहोर छपक्कै छोपिएको थियो ।
फोहोरको चाङबाट कुलोमा पानी बगेझैँ लिचेड (फोहोर कुहिएर बनेको बाक्लो तरल) झरिरहेको थियो ।
यस्तो लिचेडकै गाउँघरका खेतबारीमा पुग्ने र पानीमा मिसिने समस्या रहेको र यसकै कारण बिरामी पर्ने गरेको स्थानीयवासीको गुनासो छ ।
स्थानीयवासी सुकुमाया तामाङले भनिन्, ‘फोहोरको लिचेड पिउने पानीको कुवामा पुग्छ, त्यही पानी पिउँदा बारम्बार बिरामी पर्छौं ।’
सिसडोलको डाँडाबाट वरपर हेर्दा जङ्गल र हराभरा फाँट देखिन्छ । फाँटका खेतमा धानको बोटले हरियाली छाएको छ । आँखाले देख्ने प्राकृतिक दृश्य फोहरको दुर्गन्धले फिका बनाइदिएको जस्तो लाग्थ्यो ।
यही गत भदौ ६ गते स्थानीयवासी ७० वर्षिया एक महिलाको मृत्यु भएछ । उनको मृत्यु हैँजाले भएको स्थानीयवासीको अनुमान छ । यही अनुमानका आधारमा उनीहरूले गत १० गतेदेखि फोहोर बोक्ने गाडीको बाटो बन्द गरदिएका छन् ।
महानगरले नमुना संकलन गरेर परीक्षण गरायो । परीक्षण रिपोर्टमा हैँजा प्रमाणित भएन तर स्थानीयवासीको अवरोध यथावत छ ।
साँच्चै सिसडोलमा फोहोरको पहाड रहेछ । असीमित दुर्गन्ध रहेछ । नहोस् पनि कसरी ! काठमाडौँ महानगरले २०६२ सालदेखि उपत्यकाको फोहोर ल्यान्डफिल साइटमा थुपार्दै आएको छ । ल्यान्डफिल साइट शुरू गर्दा तीन वर्षका लागि भनिएको थियो तर १७ वर्ष भयो ।
काठमाडौँ उपत्यकामा दैनिक लगभग ११ सय मेट्रिक टन फोहोर उत्पादन हुन्छ । यसमध्ये ७५ प्रतिशत फोहोर सिसडोलमै विर्सजन गरिन्छ ।
फोहोर सिसडोल पु¥याउन नपाएको भदौ १० देखि मात्रै होइन । मनसुन शुरू भएदेखि नै हिलोका कारणले सडकमा समस्या छ र अवरुद्ध भइरहन्छ । यसैकारण दुई साताभन्दा लामो समयदेखि फोहोर उठेको छैन ।
आखिर कहिलेसम्म यस्तो !
सडकको समस्याले अझै केही दिन फोहोर सिसडोलमा पुग्न नसक्ने बताउँछन् महानगरका वातावरण विभाग प्रमुख हरि श्रेष्ठ ।
स्थलगत अनुगमनका लागि सिसडोल पुगेका श्रेष्ठले सडक मर्मत गरेर ठिक पार्नुबाहेक अर्को कुनै विकल्प नरहेको उनको भनाइ छ ।
उनका अनुसार घाम लागेपछि मात्रै बाटो बनाउने काम शुरू हुन्छ । तत्कालै काठमाडौँको सबै फोहोर उठ्न सम्भव छैन । अहिले घरमै फोहोर व्यवस्थापन गर्न उनको आग्रह छ ।
श्रेष्ठका अनुसार काठमाडौँको फोहोर उठ्दै नउठेको भने होइन । सामान्य अवस्थामा दिनमा दैनिक डेढ सयदेखि दुई सय गाडी फोहोर उठ्थ्यो, अहिले ५० गाडीमा सीमित छ । करिब दुई सय मिटर उकालोमा फोहोरका गाडी स्काभेटरले धकेल्नु पर्छ ।
कुरा बन्चरे डाँडाँको
उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि दीर्घकालीन समाधान भनेर सिसडोलबाट दुई किलोमिटर टाढा बन्चरे डाँडामा अर्को ल्यान्डफिल साइट निर्माणाधीन छ । दुई सय मिटर बाटो अझै कच्ची छ ।
बन्चरे डाँडामा ल्यान्डफिल साइटको काम एक वर्षमा सक्ने गरी २०७६ वैशाख तेस्रो साता ‘लुम्बिनी कोशी एन्ड न्यौपाने जेभी’ सँग शहरी विकास मन्त्रालयले ठेक्का सम्झौता गरेको थियो । यसको लागत भ्याटबाहेक ३४ करोड ६८ लाख रुपैयाँ छ ।
दुई वर्षभन्दा बढी भयो तर काम सकिएको छैन । कुल १ हजार ७ सय ९२ रोपनी क्षेत्रफल ओगटेको बन्चरेडाँडा ल्यान्डफिल साइट पहाडको फेदमा छ । यहाँ २५ वर्ष लागि फोहोर बिर्सजन गर्न सकिने अनुमान छ ।
आइबार करिब १० जना श्रमिकहरू काम गरिरहेका थिए । उनीहरूले काम अन्तिम चरणमा रहेको बताए ।
बन्चरेडाँडा ल्यान्डफिल साइटमा लिचड ट्यांक तयार भएको छैन । पानी पम्पिङ गर्ने ट्यांकी बनिरहेको छ ।
प्रतिक्रिया