दोहा- नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य रहेको कतारमा कोरोना संक्रमितको संख्या घट्दो देखिएको छ ।
कतारमा सोमबार २०५ जनामा संक्रमण पुष्टी भएको थियो भने पछिल्लो २४ घण्टामा १७३ जनामा नयाँ संक्रमण भेटिएको छ ।
योसँगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख ३२ हजार ७४४ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस अवधिमा २७७ जना उपचारपछि निको भएर घर फर्किएसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या पनि २ लाख २९ हजार ५२३ पुगेको छ भने संक्रमणबाट अहिलेसम्म ६०२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यो समाचार तयार पार्दासम्म कतारमा २ हजार ६१९ वटा ‘एक्टिभ’ केस रहेका छन् भने ८४ जना यहाँको विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका छन् । तीमध्ये २४ जनाको आईसीयूमा उपचार भइरहेको छ ।
अहिलेसम्म कोरोनाबाट कतारमा २४ नेपाली श्रमिकले ज्यान गुमाएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।
अहिलेसम्म कतारमा ४४ लाख ३८ हजार २१० डोज खोप वितरण गरिसकिएको मन्त्रालयले जनाएको छ । कतारले आफ्ना नागरिकसहित अन्य आप्रवासी श्रमिकहरुलाई पनि नि:शुल्क रुपमा खोप लगाउँदै आएको छ ।
२५४ जनालाई कारबाही
कोभिड–१९ सम्बन्धि सरकारले जारी गरेको सावधानीका उपायहरू उल्लंघन गर्ने २५४ जनालाई कारबाही गरिएको जनाएको छ ।
यहाँको आन्तरिक मन्त्रालयका अनुसार २११ जनालाई सार्वजनिक रूपमा मास्क नलगाएकोमा, १ जनालाई मोबाइलमा एहतेराज एप्स प्रयोग नगरेकोमा, ४२ जनालाई सामाजिक दूरी कायम नगरेकोमा कारबाही गरिएको जनाएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म सावधानीका उपायहरू उलङ्घन गर्ने हजारौं व्यक्तिलाई कारबाही गरिसकिएको जनाएको छ । नियम उल्लंघन गरेको पाइएमा दुई लाख कतारी रियाल जरिवाना र तीन वर्षसम्म कैद सजाय तोकिएको छ ।
प्रतिक्रिया