एनआरएनएको निर्वाचन स्थगित | Khabarhub Khabarhub

एनआरएनएको निर्वाचन स्थगित


२८ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन प्रक्रिया स्थगन भएका छन् ।

परराष्ट्र मन्त्रालयले पत्रमार्फत विभिन्न देशमा प्रतिनिधिसम्बन्धी समस्या रहेको भनी मन्त्रालयमा उजुरी परेकाले त्यस सम्बन्धमा छानविन नभएसम्म निर्वाचन प्रक्रिया स्थगन गर्न निर्देशन दिएको हो । मन्त्रालयको सो निर्देशनपछि सङ्घको आगामी अक्टोबर २३–२५ मा हुने १० औँ महाधिवेशन अनिश्चित बनेको छ ।

विभिन्न देशबाट महाधिवेशनमा भाग लिने प्रतिनिधि विधानविपरीत सिफारिस गरेको भनी सङ्घका तीन सदस्यले मन्त्रालयमा निवेदन दिएपछि त्यसको अनुगमन गर्न मन्त्रालयको नीति योजना विकास कुटनीतिक तथा विदेशमा रहेका नेपालीसम्बन्धी महाशाखा प्रमुखको संयोजकत्वमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि सदस्य रहेको अनुगमन समिति गठन गरिएको छ ।

परराष्ट्र मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीले हस्ताक्षर गर्नुभएको पत्रमा महाधिवेशन प्रतिनिधि चयन सम्बन्धमा छानबिन गर्न नेपाल सरकारले गठन गरेको सो समितिले आफ्नो प्रतिवेदन पेश नगरेसम्म अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचनसम्बन्धी बाँकी प्रक्रिया स्थगन गरिएको जनाइएको छ ।

पत्रमा राष्ट्रिय समन्वय परिषद्को प्रतिनिधि छनोट प्रक्रियामा अस्ट्रेलिया, जर्मनी, डेनमार्क, पोर्चुगललगायत मुलुकमा समस्या रहेको जनाउँदै यही भदौ २४ गते मन्त्रालयमा निवेदन दिइएको जनाइएको छ ।

सङ्घको उद्देश्य, सङ्गठनात्मक प्रतिष्ठा र साखजस्ता विषयलाई ध्यानमा राखी दशौँ महाधिवेशनमा हुने अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन र सोभन्दा अगाडि भएका राष्ट्रिय समन्वय परिषद्का निर्वाचनलाई स्वतन्त्र, निस्पक्ष, धाँधलीरहित र विश्वसनीय बनाउन आवश्यक रहेकाले यी विषय समयमै निरुपण हुनु जरुरी रहेको पत्रमा उल्लेख छ ।

निर्वाचनको अन्तिम तयारी रहेको अवस्थामा एक्कासी निर्वाचन स्थगनको सूचना आउनु विडम्बनापूर्ण रहेकले विशुद्ध सामाजिक सेवामा समर्पित संस्थालाई राजनीतिकरण गर्न खोजिनु दुःखदायी रहेको सङ्घका उपाध्यक्ष रविना थापाले बताए ।

परराष्ट्रको पत्र आएपछि आइतबार नै सङ्घका पदाधिकारी (आइइएस) को बैठक बसी यस विषयमा सरकारसँग संवाद गर्ने निर्णय गरेको उनले जानकारी दिए । सङ्घका संस्थापक तथा संरक्षक रामप्रताप थापा पनि अन्य विकल्प हुँदाहुँदै मन्त्रालयमा निवेदन दिनु गलत भएको बताउँछन्।

संस्थाभित्रै वार्ता र छलफलद्वारा समस्याको समाधान गर्नुपर्नेमा मन्त्रालयमा निवेदन दिनु गलत अभ्यास भएको र यसमा सरकारले पनि हस्ताक्षेप गर्न नहुने उनको भनाइ छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १२ : २४ बजे

दुर्गा प्रसाईं अस्पताल भर्ना

काठमाडौं – प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अस्पताल

‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’

काठमाडौं । लेखक तथा अनुवादक मञ्जुश्री थापाले नेपाली साहित्यमा महिलाको

सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव

मोरङ – खानेपानीमन्त्री प्रदीप यादवले वर्तमान सरकार नेपाली जनतालाई स्वच्छ

धितोपत्र बोर्ड अध्यक्षमा तीन जनाको नाम सिफारिस

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिका लागि सिफारिस

बुद्धको सन्देश विश्वभर फैलाउनु आवश्क छ : मन्त्री पाण्डे

भक्तपुर – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्धको