यी उपाय उच्च रक्तचापमा औषधिको विकल्प बन्न सक्छ– डा अनिल | Khabarhub Khabarhub

यी उपाय उच्च रक्तचापमा औषधिको विकल्प बन्न सक्छ– डा अनिल


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उच्च रक्तचापमा औषधिको प्रयोग जुनसुकै व्यक्तिका लागि पनि सहजै स्वीकार्य हुँदैन । यसका कारणहरूमध्ये औषधिको साइड इफेक्टको डर, लामो समयसम्म निरन्तर प्रयोग गर्ने झन्झट, आर्थिक भार, बानी पर्ने डर, अरूले के भन्ला भन्ने पीर आदि प्रमुख मानिन्छन् ।

औषधि खाने वा नखाने निर्णय गर्नुभन्दा पहिला दुइटा कुरामा होश पुर्‍याउन जरुरी हुन्छ । पहिलो, अहिले नै औषधि खानुपर्ने भइसकेको हो कि होइन ? दोस्रो, के म जीवनशैली र अन्य माध्यमले रक्तचापलाई निरन्तर नियन्त्रणमा राख्न सक्छु ? पहिलो प्रश्नको उत्तर डाक्टरले विभिन्न जाँचको आधारमा दिन सक्छ भने दोस्रो बिरामीको अनुशासन र आत्मविश्वासमा भर पर्छ ।

डाक्टरसंँगको पहिलो भेटमै औषधि खानुपर्ने अवस्था (जस्तै : मुटु/मृगौला/मस्तिष्कमा असर देखिनु, अत्यधिक रक्तचाप, कुनै अंगबाट रक्तस्राव) भइसकेको छैन भने जुनसकै व्यक्तिले ३–६ महिनासम्ममा जीवनशैलीमा सुधार ल्याएर रक्तचापको नियन्त्रण गर्ने प्रयास गर्न सक्छन् ।

तैपनि नियन्त्रण नभएमा औषधि खानु राम्रो हुन्छ । संसारभरिमा १०० करोडभन्दा बढी व्यक्तिको रक्तचाप नियन्त्रणमा नभएको कारणले नै हो, सबभन्दा बढी मानिसको मृत्युको कारण उच्च रक्तचाप बनेको हो । उच्च रक्तचाप आफैंमा प्राणघातक रोग होइन, तर यसको समयमै पहिचान, उचित उपचार र रोकथाम नभएर मात्र यो ठूलो जनस्वास्थ्य समस्या बनेको हो ।

रक्तचाप उमेरसँगै बढ्नु एउटा सामान्य प्रक्रिया हो । ५० वर्ष माथिका अधिकांशको रक्तचाप सामान्य हुँदैन । अस्वस्थ जीवनशैली, बढ्दो मानसिक तनाव, मदिरा, चुरोटको सेवन, प्रदूषण आदिको कारणले उच्च रक्तचाप सबैलाई हुनु आजको परिवेशमा सामान्य प्रक्रिया भैसक्यो । त्यसैले रक्तचापलाई नियन्त्रण गर्न औषधिको प्रयोग गर्नु आजको आवश्यकता हो । औषधि नखाएर असामयिक मुटु/मस्तिष्क/मृगौला रोगी बन्नुभन्दा औषधि खानुमा दोस्रो राय नहुन सक्छ । तर प्रत्येकले औषधि बाहेकका उपायहरूमा जोड दिएर औषधि खानै नपर्ने, सुरु गरिसकेपछि मात्रा घटाउने वा बन्दै गर्न सक्षम पनि हुनसक्छन् । सामान्य रक्तचाप, उच्च रक्तचाप र औषधिको सेवन गर्ने सबैले यी ५ उपायहरू अवलम्बन गरेमा फाइदा निश्चित हुन्छ ।

१. दैनिक १ घन्टा हिँड्नु

सामान्य व्यक्तिले पनि प्रतिदिन आधा घन्टा (३ किलोमिटर) हिँड्नुपर्छ भने रक्तचापलाई थप नियन्त्रणमा राख्न १ घन्टा हिंड्नु जरुरी हुन्छ । दैनिक प्रशस्त गतिविधिले रक्तचापलाई ५–१० मि.मि. अफ मर्करीसम्म घटाउन मद्दत गर्छ, जुन १–२ चक्की

औषधि सेवनको बराबर हुन्छ । रक्तचाप जति बढी छ, उति नै बढी हिँड्नु फाइदाजनक मानिन्छ । गाह्रो व्यायामले रक्तचाप बढाउन सक्छ ।

रक्तचाप नियन्त्रणमा नभएका व्यक्तिलाई हिँड्नु नै सर्वोत्तम उपाय मानिन्छ । हिँड्दा अलि छिटो—छिटो, स्वाँस्वाँ हुनेगरी र हल्का पसिना आउनेगरी हिँड्नु राम्रो मानिन्छ । विस्तारै हिँडेमा पनि फाइदा अवश्य नै हुन्छ । तपाईंले हिँडेको प्रत्येक पाइलाले रक्तचापमा सकारात्मक असर गर्ने कुरालाई सम्झी आफ्नो फुर्सतको समयलाई हिँड्नमा सदुपयोग गर्नुपर्छ । हिँड्ने बेलामा शरीरमा उत्पन्न हुने हार्मोन/रसायन आदिले मुटु र रक्तनलीमा सकारात्मक असर गरेर रक्तचाप घटाउन मद्दत गर्छ ।

२. स्वस्थ आहारको सेवन

खानामा फलफूल, सागसब्जी, सलाद आदिको प्रयोग बढी गर्नु र चिल्लो/गुलियो र नुनिलो खानाको प्रयोग कम गर्नाले ५ देखि १० मि.मि. अफ मर्करीसम्म रक्तचाप घट्न सक्छ । मासुको प्रयोग कम र माछाको प्रयोग बढी गर्नु र रेसादार खानाको प्रयोग बढी गरेमा रक्तचाप नियन्त्रण गर्न सहयोग पुग्छ ।

खानामा नुनको प्रयोग कम गर्नु रक्तचाप घटाउने प्रभावकारी उपाय मानिन्छ । तर नुनको अत्यन्तै कम प्रयोग गर्नु वा खाँदै नखानु उल्टै हानिकारक हुन सक्छ । जीवनका लागि नुन (सोडियम) अत्यन्तै आवश्यक मानिन्छ । एउटा व्यक्तिमा रक्तचाप बढ्ने धेरै कारण हुन सक्छन्, तर नुन मात्रै कम गरेर रक्तचाप नियन्त्रण गर्नु पक्कै बुद्धिमानी होइन । नुनको कम प्रयोग हुनु अनिवार्य हो ।

यसका लागि खानामा नुन कम प्रयोग गर्नु, नुन नथप्नु र रेडिमेड खानाहरूको प्रयोग नगर्नु आवश्यक हुन्छ । डब्बामा प्याक गरिएका अधिकांश खानामा नुनको मात्रा बढी हुन्छ । नुनको कम प्रयोगले रक्तचाप नियन्त्रणसँगै मुटुका अन्य समस्याबाट पनि बचाउँछ । कुनै—कुनै खाना नुनिलो नभईकन पनि सोडियम बढी भएको हुन्छ । त्यसैले घरबाहिरको खाना कम खानु र वनस्पतिबाट प्राप्त हुने प्राकृतिक खानामा नुन कम हाली खानु नै सर्वोत्तम उपाय हुन सक्छ ।

३. मोटोपना घटाउने

मोटो व्यक्तिलाई उच्च रक्तचापको सम्भावना बढी हुन्छ । मोटो व्यक्तिको रक्तचापलाई नियन्त्रण गर्न पनि कठिन हुन्छ । व्यक्तिको तौल र रक्तचापको सिधा सम्बन्ध भएको रिसर्चले पुष्टि गरिसकेको छ । १० किलोग्राम तौल घटाएमा रक्तचाप पनि औसतमा १० मि.मि. अफ मर्करीले घट्छ, जुन २ वटा औषधिको प्रयोग बराबर हुनसक्छ ।

तपाईंको तौल बढी छ भने चिकित्सकको सल्लाहअनुसार ६ देखि १२ महिनामा ५–१० किलोग्राम वा अहिलेको तौलको १० प्रतिशतले घटाउनु अत्यन्तै उपयोगी हुनसक्छ । २–४ किलोग्राम तौल घटाएमा पनि रक्तचापको राम्रो नियन्त्रण हुनसक्छ । तौल घटाउन कम क्यालोरी भएको खाना खानु र शारीरिक गतिविधि बढी गर्नु जरुरी हुन्छ, जसले फेरि रक्तचाप घटाउन मद्दत गर्छ ।

४. मदिरा र चुरोटको सेवनमा रोक

अत्यधिक मदिराको सेवनले रक्तचाप बढाउँछ र यसको नियन्त्रणमा प्रतिकूल असर पार्छ । रक्तचाप र मदिरा सेवनको सिधा सम्बन्ध देखिन्छ । जति बढी मदिरा (जुनसुकै प्रकारको) त्यति नै धेरै रक्तचाप । अर्को डरलाग्दो सम्बन्ध मदिराको सेवन, उच्च रक्तचाप र मस्तिष्कघात (ब्रेन हेमोरेज) बीच देखिन्छ ।

नेपालमा उच्च रक्तचाप र मदिरा सेवन गर्नेहरूको संख्या बढी छ । रक्तचाप नियन्त्रणमा नभएका व्यक्तिले अत्यधिक मदिराको सेवन गरेमा मस्तिष्कमा रक्तस्रावको खतरा अत्यन्तै बढी हुन्छ । त्यसैले उच्च रक्तचाप भएकाले मदिरा सेवन नगर्नु उचित हुन्छ । नियन्त्रणमा भएकाले पनि कहिलेकाँही मात्रै ५० एम.एल. ह्विस्की, १०० एम.एल. वाइन वा २०० एम.एल. बियरभन्दा बढी प्रयोग गर्न मिल्दैन । अत्यधिक मदिरा सेवन गर्नेहरूले यसको प्रयोग बन्द गरेमा रक्तचाप घट्छ र औषधिको प्रयोगबाट पनि बच्न सकिन्छ ।

चुरोटको सेवनले रक्तचाप बढाउँछ, प्रत्येक खिल्ली चुरोटले १ मि.मि. अफ मर्करी रक्तचाप बढाउँछ । चुरोटको सेवनले रक्तचापको औषधिको प्रभावलाई पनि निस्क्रिय पार्छ । सामान्य व्यक्तिले पनि एउटामात्र भए पनि चुरोटको सेवन गर्न मिल्दैन । उच्च रक्तचाप भएका र औषधि सेवन गर्नेहरूले त झन् यथाशीघ्र पूर्णरूपमा चुरोट त्याग्नु बुद्धिमानी हो । अन्यथा कुनै दिन त्यही चुरोट ह्दयाघातको कारण बन्न सक्छ । चुरोट/मदिराको सेवन बन्द गर्ने बित्तिकै रक्तचाप नियन्त्रण हुनथाल्छ र औषधिको प्रयोगबाट पनि बच्न सकिन्छ ।

५. मानसिक तनावमा कमी

आजभोलि प्राय: युवाहरूमा (४० वर्षमुनि) रक्तचाप अचानक बढ्ने गरेको देखिन्छ र यसको सबभन्दा प्रमुख कारण नै मानसिक तनाव मानिएको छ । देशमा व्याप्त राजनीतिक र सामाजिक परिस्थितिले युवाहरूको स्वास्थ्यमा प्रतिकूल असर पारेको देखिन्छ । यस्तो अवस्थामा प्रत्येक व्यक्ति, परिवार संस्थाका जिम्मेबार व्यक्तिहरूले तनावको वातावरणलाई न्युन गर्न प्रयासरत हुनुपर्छ ।

व्यक्तिले सर्वप्रथम आफैंबाट सुरुवात गर्नुपर्छ । स्वभाव र काम गर्ने शैलीमा परिवर्तन गर्न जरुरी छ । आफूलाई परिस्थिति अनुकूल बनाउनु जरुरी हुन्छ । रिसलाई कम गर्न सिक्नुपर्छ । तनाव कम गर्न आफूलाई उपयुक्त हुने तरिका अपनाउन सकिन्छ । तनावको कारणले बढेको रक्तचापका लागि प्राय: औषधि खानु पर्दैन, कहिलेकाहीं छोटो अवधिका लागि औषधि प्रयोग गरे पनि तनाव घटेपछि औषधि पनि बन्द गर्न मिल्छ ।

उच्च रक्तचाप त कुनै न कुनै दिन हामी सबैलाई हुन्छ नै, उमेरसँग रक्तचाप बढ्नु एउटा स्वाभाविक प्रक्रिया हो । जीवनशैलीमा आवश्यक परिवर्तन ल्याएमा रक्तचापलाई नियन्त्रण गर्न सकिन्छ । औषधिको प्रयोग समयमै गरेर, माथि उल्लेखित उपायहरू अपनाएमा औषधिको मात्रा घटाउन सजिलो हुन्छ । पछि रक्तचापमा राम्रो सुधार देखिएमा चिकित्सकको सल्लाहअनुसार औषधि बन्दसमेत गर्न मिल्छ ।

डाक्टरओममूर्तिअनिल डटकमबाट

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ९ : १७ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर