मेलम्ची खानेपानी आयोजनासम्म पुग्न सडक खुलाउन सुरु « Khabarhub

मेलम्ची खानेपानी आयोजनासम्म पुग्न सडक खुलाउन सुरु


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- असार र साउनमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने पहुँच सडक खोल्न थालिएको छ ।

बाढीले झण्डै तीन महिना सडक अवरुद्ध थियो । सडक खुलेपछि एकातिर स्थानीयवासीलाई आवतजावत सजिलो हुनेछ भने आयोजनास्थलसम्म पुग्न सकेमा त्यहाँका संरचनाको मर्मत अघि बढ्नेछ ।

मेलम्ची पुलबजारबाट अम्बाथानसम्म २२ किमी सडकमध्ये १४ किमीमा ‘ट्र्याक’ खुलिसकेको छ । अब चनौटेबाट अघि आठ किमी सडक खुलाउन बाँकी रहेको छ । चनौटेमा रातो पुल बगाएपछि त्योभन्दा अगाडिको सडक खुलाउन नसकिएको हो ।

पुलबजारबाट ट्र्याक खोल्दै जाँदा चनौटेबाट अम्बाथानसम्म थप दुई पुल बगाएको छ । त्यहाँ बेलिब्रिज नबनाएसम्म यातायात चालू नहुने देखिएको छ । केही दिन पहिलेदेखि चनौटेसम्म सवारीसाधन चल्न थालेको छ । त्यहाँको न्वार खोलामा सडक कटान भएकाले अहिले साना गाडी मात्रै चलिरहेका छन् । त्यो मर्मत भएपछि ठूलो गाडी जान सक्नेछ । न्वार खोला क्षेत्रमा मर्मत गरिएपछि चनौटेसम्म नै ठूलो गाडी चल्नसक्ने बताइएको छ ।

चनौटेसम्म यात्रुबाहक बस चल्न थालेमा हेलम्बुका गाउँपालिकाका–४, ५, ६ र ७ का बासिन्दालाई सजिलो हुनेछ । केही समय पहिलेसम्म आवतजावत नै अवरुद्ध भएकामा अहिले काठको पुल राखेर चालू गराइएको छ ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा ठूलो क्षति भएको भनिए पनि त्यसको यकीन हुन सकिरहेको छैन । आयोजनास्थलसम्म पहुँच सडक सम्पन्न नभएकाले क्षति यकीन हुन नसकेको खानेपानी मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले बताए ।

उनका अनुसार पहिलेको पहुँच सडक पूरै पुरिएकाले नयाँ ट्र्याक खुलाउन लागिएको छ । पहिले सडक भएको ठाउँको नजिकै नै हुने गरी सडक खुलाइने उनले बताए । उनले भने, ‘सबै पुरिएकाले पहिले र अहिले भन्ने देखिएको छैन, त्यसैको हाराहारीमा खुलाइरहेको छौ ।’

पहिलो पटक असार १ गते आएको बाढीले आयोजनामा क्षति पुर्‍याएको थियो । त्यतिबेला झण्डै रु एक अर्बको क्षति भएको अनुमान गरिएको थियो । साउन महिनामा पटकपटक बाढी जाँदा झण्डै रु दुई अर्ब ४० करोडको क्षति भएको आयोजनाले जनाएको छ ।

प्रारम्भिक अनुमानका आधारमा क्षतिको अनुमान गरिएको भए पनि प्राविधिक आयोजनास्थलसम्म जान नसकेकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रवक्ता न्यौपानेले बताए । पहुँच सडक बनेर त्यहाँसम्म पुगेपछि नै केके क्षति भएको हो र त्यसको मर्मतमा कति खर्च लाग्छ भन्ने थाहा हुने उनले बताए ।

आयोजनास्थलमा मर्मतको काम अघि बढाउन सुरु गरिए पनि त्यसमा सरकारको आफ्नै लगानी हुने कि दातृ निकायसँग सहयोग मागिने भनी टुङ्गो लाग्न सकेको छैन ।

आयोजनामा बैंकको सहयोग भएकाले पनि उसको सहयोग लिने कि सरकारको खर्च छलफल भइरहेको प्रवक्ता न्यौपानेले बताए । पहिले कति खर्च लाग्छ भनी आयोजनाले अध्ययन गर्नेछ । उनले भने, ‘त्यहाँ पुगेर समय र रकम थाहा भएपछि नै स्रोत कसरी व्यवस्थापन गर्ने भन्ने थाहा हुन्छ ।’

आयोजनामा मात्रै नभएर त्यहाँका अरु पूर्वाधारमा क्षति पुगेकाले मन्त्रालयले सरोकार राख्ने निकायसँग छलफल अघि बढाएको छ । फरकफरक पूर्वाधारको काम फरक मन्त्रालय र निकायले गर्नुपर्ने प्रवक्ता न्यौपानेले बताए ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  २ : ५९ बजे

सय दिनमा नीतिगत र संस्थागत सुधारमा उल्लेखनीय प्रगति : मुख्यसचिव अर्याल

काठमाडौं– नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले कार्यकालको पहिलो

अमेरिका भ्रमणमा जाने तयारीमा नेतन्याहु, ट्रम्पसँग भेट हुने

तेल अभिभ– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं– सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी प्रबन्धलाई

बागमती प्रदेशसभा : दुई विधेयक बहुमतले पारित

मकवानपुर–  बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश विनियोजन विधेयक २०८३ र

सरकारका १०० दिन : विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार

काठमाडौं- सरकारले आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा ऊर्जा क्षेत्रलाई