आज असोज ११, सेप्टेम्बर २७, विश्व पर्यटन दिवस मनाइन्छ । दशै आउँदैछ । दशैँ आउन थाल्दा धेरैको मन घुन्साको हेलिकोप्टर दुर्घटनाले चिमोट्छ ।
कोरोना संक्रमणको त्रासले भ्रमण वर्ष २०२० पछिका पर्यटन दिवसलगायत हरेक दिनहरू खल्ला छन् । पर्यटनमन्त्री रवीन्द्र अधिकारी ताप्लेजुङमै अर्को हेलिकप्टर दुर्घटनामा बिते । जहाज दुर्घटनामा नेपाल अगाडि नै छ, एमानका जहाजहरू पनि नेपालमा खसेका छन् । आखिर जीवन भन्नु जन्म र मृत्युको दोसाँध रहेछ तैपनि मानिस घुम्छ, घुम्न डराउँदैन ।
त्यसो त भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामै हामी समस्यामा परेका हौँ । आन्तरिक र वाह्य पर्यटन लथालिङ्ग भएको अवस्थामा जसोतसो उडानहरू खुल्दा साससम्म भर्ने काम भएको थियो । खोप लगाउने काम भइरहे पनि स्वदेशी र विदेशी दुबैलाई बेस्सरी सताएको कोरोनाको समस्या अझै हल भएको छैन । हाम्रो कमजोर पर्यटन व्यवसायको ढाडमा कोरोनाले दीर्घकालीन घाउ लाग्ने चोट दिएको छ ।
कोरोनाकै कारण व्यापार व्यवसाय चौपट भएको छ । भ्रमण वर्षमा चीनबाट धेरै पर्यटकहरू आउने अपेक्षा थियो । त्यहीँबाट कोरोनाको मुस्लो उठेर र संसार घुमेको लप्काले अर्को छिमेकी देश भारतलाई दोस्रो श्रेणीमा पुर्याउँदा हामी प्रभावित नहुने कुरै थिएन ।
हाल पानी भरेर रानी पोखरी सजाइएको छ । धरहरा उठेको छ तर पर्यटकका लागि खुला भएको छैन । घण्टाघर र त्रिचन्द्र कलेज उद्धारको पर्खाइमा छन् । भूकम्प प्रभावित राजधानी काठमाडौँ बिस्तारै उठ्न लाग्दा धेरै पर्यटक आउने चीन र भारत दुबै देश कोरोनाको जोखिममा छन् । बीस लाख पर्यटक आउनु त हाम्रो लागि कोरा कल्पनाजस्तो भइसक्यो । यता पर्यटनमै सरकारले ९ लाख मानिसका लागि रोजगारी देखेको छ ।
आधुनिक युग पर्यटकीय युग हो । संसारभर पर्यटन क्षेत्रमा १० करोडले रोजगारी पाएका छन् । वर्ल्ड टुरिजम अर्गनाइजेसनका अनुसार संसारमा पर्यटकको आतिथ्यमा २२ खर्ब अमेरिकी डलरको लगानी छ । घुमफिर गर्ने, बिदा मनाउने, मनोरञ्जन गर्ने बानी राम्रो आर्थिक हैसियत भएका सबैलाई बसेको छ ।
नेपाल पर्यटकीय गन्तव्यको बलियो पहिचान भएको देश हो तर पर्यटनक्षेत्रमा गुणस्तरीय जनशक्तिको अभाव छ । यस क्षेत्रमा सक्षम जनशक्ति तयार गर्न सरकारीस्तरमा पर्र्यटन मन्त्रालय मातहत पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान छ, २०२९ सालमा स्थापना भएको हो । थप ४० भन्दा बढी कलेज र अन्य शैक्षिक संस्थाहरूले पर्यटन जनशक्ति निर्माण गर्छन्, गुणस्तरमा बढोत्तरी भएको छैन । तालिमप्राप्त जनशक्तिको ठूलो हिस्सा विदेश जाने गरेको छ ।
टुर गाइडको अभाव छ । प्रतिष्ठानले तयार गरेका टुर गाइड पाँच हजार जतिमात्र छन् । हामीकहाँ पर्यटनक्षेत्रमा तालिमप्राप्त व्यक्तिहरू हाल समग्रमा ५२ हजार जति छन् र आगामी ५ वर्षभित्र यस्तो जनशक्ति दोब्बर गराउने सरकारी लक्ष्य छ ।
पर्यटकलाई कुन विशेष क्षेत्रमा केन्द्रित गराउने, अधिकांशको रुचि के हो, हाम्रो प्राथमिकता के हो, बजार कुन हो; यस विषयमा खासै चासो देखिँदैन । पर्यटकको बसाइ लम्ब्याउने र उनीहरूको खर्च बढाउने तरिकाहरू के हुन् भन्ने पहिचान हुन जरुरी छ ।
पर्यटनका पूर्वधार विकासमा पनि हामी पछाडि छौँ । राम्रो सडक, खानेपानी, सरसफाइ, शौचालय, धुवाँधुलोरहित र भरपर्दो यात्रा न्यूनतम आवश्यकताहरू हुन् । नेपाल आउने पर्यटकहरू धेरैमा आध्यात्मिक शान्तिको उद्देश्य हुन्छ । प्राचीनकालदेखि नै नेपाल देवभूमि, वैदिक भूमि र पवित्र भूमि हो ।
भैरहवा विमानस्थल निर्माण मात्रैले यो अभियान पूरा हुँदैन । पशुपतिनाथ मन्दिर सुनसान छ । हाम्रो मुलुकमा अधिकांश पर्यटकीय तीर्थ क्षेत्र हिन्दू धर्म, दर्शन, संस्कृतिमा आधारित छ ।
भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा भारतका ख्यातिप्राप्त धर्मगुरुलाई सद्भावना राजदूतका रूपमा आत्मसात् गरेको हो । धार्मिक मुलुक भारतमा मुम्बई, चेन्नई, दिल्ली जस्ता विभिन्न शहरहरूमा यसको प्रचार–प्रसार गरिएकै हो । चीन, हङकङ, अमेरिका, युरोपसम्म नाराको पहुँच पुगेको हो ।
नेपाल आउने पर्यटकको बसाइ अवधि अपेक्षाभन्दा छोटो हुने गरेको छ । बसाइ नबढेसम्म उनीहरूको औसत खर्च वृद्धि हुँदैन । नेपाल पर्यटन बोर्डका अनुसार एक पर्यटकले सन् २०१७ मा प्रतिदिन ५४ डलर खर्च गर्ने गरेको थियो । सन् २०१८ मा १२ दशमलव ६ दिन बसेको थियो भने सन् २०१९ मा घटेर १२ दमलव ४ दिन भयो । यसरी समयावधि र खर्चको औसत रकम घट्नु राम्रो संकेत होइन ।
हाम्रा लागि पर्यटकहरूको मुख्य स्रोत मुलुक भारत र चीन नै हुन् । प्राचीन नेपाल लिच्छवीकालमा चिनियाँ यात्री फाइयानले हाम्रो कपिलवस्तुमा सन् ३९९ देखि सन् ४१४ सम्म भ्रमण गरेको इतिहास छ ।
पछि सन् ६२९ देखि ६४५ सम्म चिनियाँ यात्री हुङ साङले नेपाल भ्रमण गरी नेपालबारे भन्ने लेखेको इतिहास छ । भोट र चीन व्यापारिक सम्बन्ध पनि धेरै पुरानो हो । नेपालका अरनिको र भृकुटीको कथा हामीले विद्यालय कक्षामै पढेका हौँ । त्रेतायुगमै रामजानकी विवाह, द्वापरयुगमा श्रीकृष्णको नेपाल यात्रा जस्ता धेरै युगीन कुराहरू छन् ।
वि.सं. १९०६ मा श्री ३ जङ्गबहादुर राणा बेलायत यात्रामा गए, उनको टिम निकै ठूलो थियो । नेपाल वि.सं. २००८ मा विश्व पर्यटन संघको सदस्य बनेको हो, २०१४ सालमा पर्यटन बोर्ड, २०१६ सालमा पर्यटन निर्देशनालय, २०१८ सालमा पर्यटन विभाग, २०२८ सालमा पर्यटन विकास समिति, २०३३ सालमा पर्यटन मन्त्रालय बने । वि.सं. २०३५ सालमा पर्यटन ऐन बन्यो, २०५२ मा पर्यटन नीति आयो । यसरी पर्यटनको साङ्गठनिक स्वरूप बन्दै आयो ।
पर्यटनको सम्भावना र विकासबारे नेपालले धरै कुरा गरे पनि तदनुकूल काम गर्न सकेको छैन । दक्ष जनशक्ति र भौतिक पूर्वाधार पर्याप्त छैन । आन्तरिक पर्यटन प्रवर्द्धन कागजमै सीमित छ । कोरोना भाइरस त झन खलनायक नै भइदियो ।
सन् २०११ मा पनि पर्यटन वर्ष मनाइयो जसबाट नेपालप्रतिको विश्वको हेराइमा बढोत्तरी भयो । पछिल्लो दक्षिण एसियाली खेलकुद (साग) मा प्राप्त सफलताले नेपालबारे झन बढी सकारात्मक सन्देश प्रवाह गर्यो ।
पर्यटन बोर्डको तथ्यांकअनुसार सन् १९९७ मा ४ लाख २१ हजार ८५७ जना, सन् १९९८ मा ९ प्रतिशतले बढेर ४ लाख ६२ हजार ६८४ जना, भ्रमण वर्ष ९८ मनाउने क्रममा ५ लाखको लक्ष्य लिएकोमा लक्ष्यभन्दा बढी पर्यटक आए ।
सन् १९९९ मा ६ प्रतिशतले बढेर यो संख्या ४ लाख ९१ हजार ५०४ जना पर्यटक नेपाल आए । बीचमा देश अशान्तिको भुमरीमा फस्यो । सन् २०१६ देखि केही सुधार भयो । सन् २०१९ मा ९ लाख ७५ हजार ५७५ जनाभन्दा बढी र सन् २०१८ मा ११ लाख ७२ हजार पर्यटक आए ।
मुलुकको चौधौँ योजनाको अन्तसम्म विदेशी पर्यटकको संख्या १२ लाख पुर्याउने, विदेशी पर्यटकको बसाइ अवधि सरदर १५ दिन पुर्याउने, सरदर दैनिक खर्च ६० अमेरिकी डलर पुर्याउने लक्ष्य थियो । भौगोलिक विविधता, वन्यजन्तु, धेरै प्रजातिका चरा, जीवित देवी कुमारी, असंख्य चाडपर्व, र जात्राहरूले सम्पन्न नेपालको छुट्टै चिनारी पर्यटनमा उपयोग गर्ने लक्ष्य पनि थियो ।
पर्यटकीय गन्तव्यको विविधीकरणबाट नयाँ पर्यटकीय स्थलको चिनारी दिँदै पर्यटन उद्योग विकास गर्ने र समृद्धिको यात्रा तय गर्ने प्रसस्त सम्भावनाहरू छन् । पर्यटकीय पूर्वाधारको विकासबाट रोजगारीको सिर्जना, गरिबी न्यूनीकरण, राष्ट्रिय अर्थतन्त्रको विकास, जीवनस्तरमा सुधार हाम्रो आवश्यकता हो । विगतमा राजनीतिक संक्रमणमा पर्यटन विकासमा गम्भीर चोट लाग्यो । विनाशकारी भूकम्पले अर्को क्षति पुर्यायो ।
‘आर्थिक समृद्धिका लागि पर्यटन विकास’ भन्ने राज्यको सोच छ । पर्यटन क्षेत्रको विकास मार्फत् आर्थिक वृद्धि र रोजगारीको अवसर सिर्जना गर्ने सरकारी लक्ष्य छ । देशलाई आकर्षक तथा थप सुरक्षित गन्तव्यको रूपमा विकास गर्दै पर्यटक आगमन वृद्धि गर्ने र जनताको आयस्तरमा बढोत्तरी गर्ने सरकारी लक्ष्य छ ।
पर्यटकीय गन्तव्यस्थल र उपजमा विविधीकरण र विकास गर्ने, नेपालमा प्रमुख पर्यटकीय उपजहरूको बजारीकरण गर्ने, प्रबद्र्धन गर्ने, सरकारी उद्देश्य देखिन्छ । पर्यटन विकासका लागि सार्वजनिक, निजी, सरकारी एवं सामुदायिक क्षेत्रमा साझेदारी र सहकार्य आवश्यक पर्छ । ग्रामीण पर्यटनमार्फत यस क्षेत्रलाई जनस्तरसम्म पुर्याउनुपर्छ ।
मुलुकका सबै मौसममा पर्यटकीय क्रियाकलाप सञ्चालन गर्न आन्तरिक पर्यटन लागि वैदेशिक लगानी आकर्षित गर्नुपर्छ । पूर्वाधारको विकास, संस्थागत सुधार र पर्यटन प्रवर्द्धन सम्बन्धी कार्यक्रम आवश्यक पर्छ ।
यता जात्रैजात्राको देशमा घोडे जात्रा, इन्द्रजात्रा, कुमारी जात्रा, विस्केट जात्रा, भोटोजात्रामा विदेशीहरूको उपस्थिति देखिन्छ । अनि भक्तपुर, काठमाडौँ, पाटन क्षेत्रमा स्मारक, स्तुप, मन्दिर, चैत्यहरूमा देखिने विदेशीहरूको घुइँचोले पनि नेपालको मौलिक कला, संस्कृतितर्फ विदेशीहरू झुम्मिने गरेका छन् ।
वातावरणीय समस्या, प्रदूषण जस्ता विषयहरूमा राम्रो ध्यान दिन सकिएको छैन । स्थानीय साधनको प्रयोग गर्दै होमस्टेको अवधारणाका लागि पर्यटक स्तरीय कोठा, शौचालय, वातानुकुलित अवस्था सिर्जना गर्न सकिएको छैन । विश्वभर लोकप्रिय पर्यावरणीय पर्यटनमा हामीले ध्यान पुर्याउन सकेका छैनौँ ।
यूएनडीपीको प्रतिवेदनमा मानव विकास सूचकांकमा दुई अंक सुधार देखिए पनि काठमाडौँको धूवाँ, धूलो, ट्राफिक जाम, ढल निकासको समस्या, पिउने पानीको अभाव र उपत्यकाका प्रमुख नदीहरूको अवस्था हेर्दा जो कोहीलाई पीडा हुन्छ ।
यसर्थ पर्यटकअनुकूल वातावरण सिर्जना गर्न लगानीसँगै र उन्नत चेतना पनि आवश्यक छ ।
प्रतिक्रिया