विदेशी कूटनीतिज्ञ भन्छन् : पोखराको सुन्दरता लोभ्यायो (फोटोफिचर) | Khabarhub Khabarhub

विदेशी कूटनीतिज्ञ भन्छन् : पोखराको सुन्दरता लोभ्यायो (फोटोफिचर)


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व पर्यटन दिवसको दिन सोमबार बिहानै पोखराको मौसम खुलेको थियो ।

लामो समय कोरोना कहरले थलिएको यहाँको पर्यटनलाई टेवा पुगोस् भन्ने हेतुले पर्यटन बजारमा सकारात्मक सन्देश प्रवाह गर्न गण्डकी प्रदेश सरकारको निमन्त्रणामा आइतबार नै नेपालका लागि विभिन्न ११ देशका राजदूतसहित विशिष्ट कूटनीतिज्ञ पोखरा पुगेका थिए ।

आइतबार पोखरा विमानस्थलमा गरिएको स्वागतसँगै साँझ गण्डकी प्रदेश सरकारद्वारा आयोजित रात्रिभोजमा सरिक विशिष्ट पाहुनाका लागि विश्व पर्यटन दिवसका अवसरमा सोमबार प्रकृति र संस्कृतिका विभिन्न पक्षहरू दृश्यावलोकन गराउन अन्नपूर्ण गाउँपालिकाको नागडाँडादेखि कास्कीकोटसम्मका लागि करिब तीन घण्टा दूरीको हाइकिङ आयोजना गरिएको थियो ।

खुलेको मौसमका कारण बिहानै टलक्क टल्किएका माछापुच्छ्रेसहितका हिमाल भने कुटनीतिज्ञहरू ९ः०० बजे नागडाँडामा पुग्दा बादलसँग लुकामारी गर्न थालिसकेका थिए । कतै बादलले छेकेको त कतै देखिएका हिमाली दृश्यले त्यहाँ पुग्ने जो कोही मक्ख देखिन्थे ।

कुटनीतिज्ञको टोलीमा सहभागी नेपालस्थित युनेस्कोका प्रतिनिधि माइकल क्रफ्टका लागि यो पोखराको पहिलो भ्रमण थियो । पोखराको बारेमा सुने पनि उहाँलाई आउने अवसर भने मिलेको थिएन । विश्व पर्यटन दिवसका अवसरमा हाइकिङमा सहभागी बन्दै माइकल कास्कीकोटबाट बादलभित्रबाट लुकामारी गरिरहेका हिमशृङ्खलालाई कैद गर्न व्यस्त देखिन्थे ।

पोखराको बारेमा सुने पनि आउने अवसर बल्ल मिलेको भन्दै खुसी देखिएका उनले भने, “म प्राकृतिक सम्पदासँगै संस्कृतिमा रमाउन मन पराउँछु, नेपालमा यो सबै छ, अझ पोखराको प्राकृतिक सुन्दरता त निकै लोभलाग्दो रहेछ ।”

माइकलले यहाँबाट फर्किएपछि आफ्ना दुई सन्तान र श्रीमतीलाई लिएर छिट्टै पोखरा आउने वाचा गरे । “मलाई निकै सुन्दर लाग्यो, परिवारसहित छिट्टै आउँछु, कोभिड १९ ले धेरैलाई घुम्न डुल्नबाट वञ्चित गरायो, अब सावधानी अपनाएर घुमघाम गर्नुपर्छ”, उनले भने ।

सम्बन्धित क्षेत्रले दीगो पर्यटनको विकासका लागि जोड दिन आवश्यक रहेको औँल्याउँदै उनले कोभिडका कारणले चुनौतीका साथै अवसर पनि थपेको उल्लेख गरे ।

नेपालका लागि फिनल्याण्डका राजदूत पर्टी एन्टीनेनले बिहान उठ्ने बित्तिकै माछापुच्छ्रेको हिमशृङ्खलाले आफूलाई निकै लोभ्याएको बताए । उनले नाम जस्तै पोखरा निकै सुन्दर रहेको प्रतिक्रिया दिए ।

तीन वर्षअघि सेप्टेम्बरमा पोखरा आएको अनुभव सुनाउँदै उनले जति आए पनि पोखरा आइरहन मन लाग्ने शहर भएको उल्लेख गरे । उनले भने, “नेपालको अरु ठाउँभन्दा पोखरा विशेष लाग्छ, तिहारपछि फेरि पोखरा आउने योजना छ, म अन्नपूर्ण रेञ्जको पदमार्गमा जानेछु ।”

उनले पोखरा पर्यटकीय गन्तव्य भएको जनाउँदै बिहान उठ्नासाथ हिमाल माथिमाथि बादलहरू उडिरहेको दृश्य हेर्न, लेकसाइड घुम्न र बारहरू जान पनि आफूलाई मन पर्ने अनुभव सुनाए ।

“नेपाल र यहाँको सन्दर्भमा पर्यटन महत्वपूर्ण छ, यसलाई अझै विकास गर्न जरुरी छ”, उनले भने, “कोरोना हराइसकेको छैन तसर्थ अझै सावधानी अपनाउन जरुरी छ, कोरोनाको महामारीमा नेपाललाई मेरो देशले पनि सहयोग गरेको छ ।”

(सार्क) का महासचिव इसाला रुवान विराकुनले आफ्नो देश श्रीलङ्काका कूटनीतिक नियोगका पदाधिकारीसहितको यो भ्रमण निकै फलदायी लागेको बताइन् । “पोखरा मलाई निकै मन पर्ने ठाउँ हो, परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डले यो अवसर हामीलाई जुराइदिएकामा आभारी छौँ”, उनले भनिन् ।

श्रीलङ्का र नेपालका धेरै सांस्कृतिक एवं धार्मिक कुरा मिल्ने जनाउँदै उनले कोभिड–१९ ले दक्षिण एशियाली देशहरुको अर्थतन्त्रमा निकै प्रभाव पार्नुका साथै पर्यटन क्षेत्र झनै प्रभावित भएको बताइन् । श्रीलङ्काका नागरिकले पनि नेपाल मन पराउने र बुद्धको देश भनेर चिन्ने गरेको उल्लेख गर्दै उनले आफू पनि बुद्ध धर्मावलम्बी भएको बताइन् । नेपालमा सांस्कृतिक र धार्मिक पर्यटकलाई जोडेर पर्यटन विकास गर्न सकिने बताउँदै विराकुनले यही अक्टोबरबाट प्रत्येक मङ्गलबार र शनिबार काठमाडौँ–कोलम्बो उडान हुने जानकारी दिइन् ।

विदेशी राजदूतसहितका विशिष्ट कूटनीतिज्ञको पोखराको भ्रमण यहाँको पर्यटकीय विकासका लागि महत्वपूर्ण हुने गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेलले बताए । कोरोनाले प्रभावित पर्यटनलाई पुरानै लयमा फर्काउन यो भ्रमण फलदायी हुने विश्वास लिइएको उनको भनाइ छ ।

यस भ्रमणले पोखरा घुम्नका लागि खुल्ला तथा सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । विश्व पर्यटन दिवसका अवसरमा गरिएको यो कार्यक्रमले विश्व पर्यटन बजारमा महत्वपूर्ण प्रभाव पार्ने बताउँदै उनले यसले सम्पूर्ण पोखरेली पर्यटन व्यवसायीलाई उत्साही बनाएको बताए ।

कोरोना कहरले थलिएको पर्यटनलाई अघि बढाउनु अहिलेको आवश्यकता भएको भन्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारीले यो उच्चस्तरीय भ्रमण यहाँका लागि महत्वपूर्ण अवसर भएको बताए ।  विदेशी कूटनीतिज्ञको भ्रमणले पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने उनको भनाइ छ । –रासस

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ७ : १९ बजे

‘विमल गुरुङ कृति पुरस्कार’ का लागि १० कृति सार्वजनिक

सुनसरी– धरान–१८ बुद्धचोकस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘विमल गुरुङ

डेंगुको संक्रमण बढेसँगै देशभर रगतको कमी, रक्तदान गर्न रेडक्रसको आह्वान 

काठमाडौं – डेंगुको संक्रमण बढेसँगै देशभर रगतको कमी हुन थालेको

पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला राई प्रथम

सिन्धुपाल्चोक– ‘पाँचपोखरी महिला ट्रेल रेस’मा खोटाङकी निर्मला राईले दुई घण्टा

सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० अमेरिकी डलरभन्दा माथि

हङकङ– व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको स्रोतको रूपमा लिएपछि एसियाली बजारमा

रविलाई पक्रने हल्लापछि रास्वपा नेता भन्छन्, ‘सत्ता साझेदार दल सभापति पक्रन एकमुख छन्’ 

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की प्रहरीले पक्राउ गर्ने