हनुमानढोकास्थित दशैं घरलगायत घर-घरमा जमरा राखियो « Khabarhub

हनुमानढोकास्थित दशैं घरलगायत घर-घरमा जमरा राखियो


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । हरेक वर्षजस्तै यसवर्ष पनि राजधानीको हनुमानढोकास्थित दशैं घरमा विधिपूर्वक घटस्थापना गरिएको छ । हनुमान ढोकाको दशैं घरमा बिहान ११ बजेर ४६ मिनेटको शुभ साइतमा विधिपूर्वक घटस्थापना गरिएको हो । घटस्थापनाको बेला नेपाली सेनाको एक टुकडीले मंगल धुन बजाएको थियो ।

बडादशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई विधिपूर्वक जमरा राखिन्छ ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

नवरात्रको पहिलो दिन आज घरघरमा बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैंघरमा जौ रोपिन्छ । जौको पहेँलो अंकुरण अर्थात् जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले त्यसलाई विजयादशमीको दिन टीका प्रसादसितै ग्रहण गरिन्छ । पहेंलो जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ ।

आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । यद्यपी, कुल परम्परा र स्थान विशेषअनुसार जौसँगै अन्य रोप्ने पनि चलन छ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ ।

विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ

दुर्गा देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा हुन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य एवं महासरस्वतीलाई विद्या तथा वुद्धिको प्रतीकको रुपमा लिइ पूजा गर्ने चलन रही आएको छ ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा हुन्छ । बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फुलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम दर्शनार्थीको भीड लाग्छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  २ : ३१ बजे

पहिरोमा परेर दुई जनाको मृत्यु

मान्म– कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । जिल्लाको

झापाका पाँच सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण

काठमाडौं- भूमि समस्या समाधान समिति आयोगले झापाका पाँच जग्गाविहीन सुकुम्वासी

मुलुकलाई केन्द्रमा राखेर प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्छौँ : आङ्देम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकलाई केन्द्रमा

महिलाको चरित्र हत्या गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या अश्लील

बुटवलमा ई-रिक्साको धर्ना (तस्बिरहरू)

काठमाडौं– बुटवलमा दर्ता भएका मात्र रिक्सा सञ्चालन हुनुपर्ने माग गर्दै