सीमानाकामा चीनको एकतर्फी नियन्त्रणले नेपाली व्यवसायी हैरान, छैन सहजीकणको पहल | Khabarhub Khabarhub

सीमानाकामा चीनको एकतर्फी नियन्त्रणले नेपाली व्यवसायी हैरान, छैन सहजीकणको पहल



रसुवागढी- उत्तरी छिमेकी चीनले सीमानाका पूर्णरूपमा र दुईतर्फी चालु नगर्दा नेपाली व्यवसायीले दशैँका लागि आयात गरेको ठूलो परिमाणको सामान चीनतर्फ रोकिएको छ । रसुवागढी नाकाबाट चीनले अहिले पनि दैनिक बढीमा ९ वटा कन्टेनरमात्र नेपाल प्रवेश गर्न दिएको छ ।

दैनिक नेपाल प्रवेश गर्ने कन्टेनरको संख्या बढाउन केही महिनादेखि प्रयत्न भए पनि चिनियाँ प्रशासनले नाका एकतर्फीरूपमा नियन्त्रणमा राखेको छ । परिणामस्वरूप व्यवसायीहरूले दशैँका लागि मगाएको सामान तिहारपछिमात्र आउन सक्ने अवस्था छ ।

२०७२ साल वैशाखको भूकम्पपछि अवरुद्ध तातोपानी–खासा नाकाको विकल्पको रूपमा रसुवागढी–केरुङ नाकालाई नेपालले उच्च प्राथमिकता दिएको थियो । रसुवागढी–केरुङ नाका २०७१ मंसिर १५ देखि नेपाल र चीनले प्रमुख नाकाको रूपमा सञ्चालनमा ल्याएका थिए ।

रसुवागढी नाकालाई नेपाल र चीनले २०७४ भदौ १४ मा अन्तर्राष्ट्रिय नाका घोषणा गरेका थिए । यस्तो घोषणासँगै दुई देशबीच व्यापार, पर्यटन तथा जनसम्पर्क अभिवृद्धि हुने भनिए पनि चीनले एकतर्फीरूपमा नाका नियन्त्रणमा राखेको छ ।

नियन्त्रितरूपमा थोरै कन्टेर नेपाल पठाउने गरे पनि नेपालबाट चीन प्रवेशमा पूर्ण रूपमा रोक लागेको छ । नेपालबाट हुने निर्यात शून्य छ ।

अन्तर्राष्ट्रिय नाकामा रूपान्तरण गरेपछि तेस्रो मुलुकका नागरिकसमेत आवतजावत गर्न सक्ने भनिए पनि चीनले नाका सहज गरेको छैन । पर्यटन आवागमन बन्द छ ।

कोरोना भाइरस संक्रमण सुरु हुनुअघिसम्म रसुवागढी नाकाबाट दैनिक सय वटाभन्दा बढी कन्टेनर सामान नेपाल प्रवेश गर्ने गरेको थियो । रसुवागढी नाकामा चीनको गोन्जाओबाट २० दिनभित्र सामान आइपुग्ने भए पनि अहिले अहिले तीन महिनाभन्दा बढी लाग्ने गरेको छ ।

नाका सहज बनाउन नेपाल सरकारले पहल नगरेको स्थानीय व्यवसायीको भनाइ छ ।

स्थानीय होटल व्यवसायी तेन्जेन तामाङका अनुसार चीनले नाका सहज नबनाउँदा नेपाली व्यवसायी दुःखित छन् । गाडी व्यवसायीले पनि दुःख पाएका छन् । बैंकको ब्याज तिर्न नसक्ने अवस्था भएको छ ।

तामाङका अनुसार कोरोना संक्रमणअघि होटल व्यवसाय राम्रो थियो । कोरोना सुरु भएपछि पर्यटन शून्य अवस्थामा छ । बैंकबाट ऋण लिएर गरेको लगानी जोखिममा परेको छ । उनी भन्छन्, ‘यस्तै अवस्था हो भने होटल व्यवसायीहरू मर्ने कि बाँच्ने अवस्थामा पुगेका छौँ ।’

नेपाल सरकारले केही पनि सुनुवाइ नगरेको उनको गुनासो छ । बाटो मर्मत सम्भारमा पनि नेपाल सरकारले ध्यान दिएको छतैन । वाह्य पर्यटनमात्रै होइन आन्तरिक पर्यटन पनि ठप्प छ ।

चीन सरकारसँग समन्वय गरेर नाका पूर्णरूपमा सञ्चालन गर्न सरकारलाई तामाङको आग्रह छ ।

सीमा क्षेत्रमा पार्किङ अभावका कारण कन्टेनहरू सडक छेउ र जोखीमपूर्ण रूपले लामबद्ध देखिन्छन् । भौगौलिकरूपले निर्माणमा निकै कठिन र जोखीमपूर्ण ठाउँमा सडकको अवस्था खराब छ ।

नेपाली व्यवसायी चीन प्रवेश गर्न नपाएपछि सामानको मूल्य र ढुवानी समेत महँगो पर्ने गरेको छ । चिनियाँ व्यापारीले नेपाली व्यवसायीलाई अस्वाभाविक ढुवानी भाडा लिने गरेको व्यवसायीहरूको गुनासो छ । नेपाली व्यवसायीहरूले नाका सहजीकरणका लागि दुई वर्षदेखि पहल गरे पनि चिनियाँ अधिकारीहरूले बेवास्ता गरेका छन् ।

चीनले सीमा क्षेत्रमा निकै चर्को कडाइ गरेको छ । नेपाली ट्रक सीमानाकाबाट करिब एक किलोमिटर यतै रोकिने गरेका छन् । नेपालीहरू चिनियाँ अधिकारीले देख्ने स्थानसम्म पीपीई नलगाई जान पाउँदैनन् ।

नेपालको सडकको अवस्था खराब भएकाले धेरै गाडी बिग्रेर बाटोमै थन्केका छन् । सडक मर्मतसम्भार र स्तरोन्नतिमा सरकारले चासो नदिएको गुनासो ढुवानी व्यवसायीहरूको छ ।

‘चीनबाट एक दिनमा सय–दुई सय वटा गाडी लोड भएर आउँथे, अहिले सात–आठ वटा आउँछन् । नेपाली गाडीमा पल्टी गर्दा दिनमाा १०–१५ वटामा मात्रै हुन्छ । यहाँ हजार–पन्ध्र सय गाडी छन् । एक महिनामा एउटा पालो आउँछ,’ ढुवानी व्यवसायी अर्जुन पौडेल भन्छन्, ‘हामीले नाकाकै भर गरेर गाडी किन्यौँ, लगानी ग¥यौँ । अहिले किस्ता तिर्न नसकिने अवस्था भएको छ ।’

उनका अनुसार ड्राइपोर्ट नहुँदा समान भिज्ने, बिग्रिने समस्या छ । भन्सारले राम्रोसँग चेकजाँच गर्नसक्ने अवस्था छैन ।

रसुवागढी नाकाबाट चीनको केरुङ २४ किलोमिटर टाढा छ । सम्झौताअनुसार चीनले सीमा क्षेत्रका बासिन्दालाई सहजै केरुङसम्म आवजावत गर्न दिनुपर्ने भए पनि चीनले रोक लगाएको छ ।

स्थानीय होटल तथा आयात निर्यात व्यवसायी छेतेन ग्याल्पो लामा कोरोना संक्रमणपछि होटल लगायत सबै व्यवसायमा असर परेको बताउँछन् ।

‘पर्यटक आउन ठप्प भयो, पर्यटन जिरो छ । चीनबाट समान पठाउनमा कडाइ गरेको छ । नाका खुलाउन आनाकानी गरेको छ,’ लामा भन्छन्, ‘नेपालले पहल गरेर टुरिजम गेट वे हरू खोल्नु पर्‍यो । हामीले सरकारलाई ट्याक्स तिरेका छौँ तर तिरेअनुसार आधारभूत सुविधा छैन ।’

उनका मुख्य समस्या सडक, बत्ती र पानी हो ।

नेपालतर्फको रसुवागढीमा एकीकृत भन्सार भवन निर्माणाधीन रहे पनि काम सुस्त छ । रसुवागढी नजिकैको टिमुरेमा सुख्खा बन्दरगाह निर्माणाधीन छ तर चीनतर्फबाट आयात सहज नहुँदा काम सुस्त छ । नेपाल सरकारले २०७५ भदौसम्ममा निर्माण सक्ने भने काममा अपेक्षित प्रगति हुन सकेको छैन ।

रसुवागढी–गल्छी सडक चितवनको ठोरी नाकासम्म लैजाने सरकारी योजना छ । चीनले यो नाकालाई हिमाली सिल्क रोडका रूपमा चर्चा गर्ने गरेको छ ।

अहिले काठमाडौँबाट ८ घण्टामा रसुवागढीसम्म पुग्न कठिन छ । सरकारी योजना अनुसार काठमाडौँबाट ३ घण्टामा केरुङ पुग्नुपर्ने थियो । रसुवागढी नाका जोड्ने सडक निर्माणमा करिब ३० अर्ब रूपैया लाग्ने प्रारम्भिक अनुमान गरिएकोमा अहिले दोब्बर पारिएको छ ।

नेपाल सरकारले तीन खण्डमध्ये दुई खण्ड ४६ किमिको गल्छी–मैलुङ र १९ किमीको मैलुङ– याफ्रुबेँसीको सडकखण्ड निर्माण गरेको हो । रसुवागढीसम्म जोडिने अन्तिम खण्ड १७ किमीको स्याफ्रुबेँशी–रसुवागढी चिनियाँले बनाएका हुन् । पूरै सडक गुणस्तरहीन छ ।

रसुवागढीसम्म पुग्ने सडकमा दुईवटा सुरुङ निर्माणको समेत योजना छ । सुरुङमार्ग टोखा–छहरे खण्ड र वेत्रावती–स्याफ्रुबेँसीमा टनेलबाट यात्रा सहज बनाउने सरकारी योजना छ ।

केरुङ–काठमाडौँ रेलमार्गबारे काठमाडौँमा लामो समयदेखि राजनीतिक बहस चलेको छ तर फिल्डमा कुनै प्रगति छैन ।

 

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ८ : ०२ बजे

बागलुङमा जिप दुर्घटना हुँदा १६ जना घाइते

बागलुङ – बागलुङमा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका

जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो रुपैयाँ १६ अर्ब लगानी

काठमाडौं । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला

स्पेसएक्सद्वारा अन्तरिक्षमा थप २० स्टारलिङ्क इन्टरनेट उपग्रह प्रक्षेपण

लस एन्जलस – अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले मङ्गलबार थप

हज यात्रीको पहिलो समूह साउदी प्रस्थान गर्दै

काठमाडौं – साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने मुस्लिम

टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट

काठमाडौं – टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक, २०२४