तनहुँको थानीमाईमा १८ फूलको डोली भित्र्याइयो | Khabarhub Khabarhub

तनहुँको थानीमाईमा १८ फूलको डोली भित्र्याइयो


३ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्लाको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिरमा १८ फूलको डोली भित्र्याइएको छ । प्रत्येक वर्ष कात्तिक महिनाको मङ्गलबार सो मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् ।

थानीमाई मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापामगरले मङ्गलबार दुई हजारभन्दा बढी भक्तजनले थानीमाईको दर्शन गरेको जानकारी दिए । “सोमबार राति ५५ भक्तजनले रातभर जागाराम बसेर बत्ती बाल्नुभएको छ”, उनले भने ।

कात्तिकको प्रत्येक मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको अध्यक्ष थापाले बताए । सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ ।

मन्दिरमा कात्तिकसँगै मङ्सिर र माघ महिनामा समेत भक्तजनको भीड लाग्ने गरेको छ । मन्दिरमा फूलको डोली चढाउन छिमेकी जिल्ला गोरखा, लमजुङ, कास्कीका अलवा चितवन, नवलपरासी र काठमाडौँबाट भक्तजन आउने गरेका छन् । मन्दिरमा साउन महिना, एकादशी र औँशीबाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।

पछिल्ला वर्षहरूमा थानीमाई जाने नयाँ सडकसमेत खुलेका छन् । सडक खुलेपछि भक्तजनको सङ्ख्या बढ्न थालेको जनाइएको छ । भक्तजन फूलको डोली र पञ्चेबाजासहित मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ ।

यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको जनाउँदै पूजाअर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले वसन्तपुर क्षेत्र गुञ्जिने गरेको छ । समुन्द्र सतहबाट एक हजार २०० मिटर उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोट लगायत हिमश्रृङ्खलाका दृश्य देख्न सकिन्छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु छ लाख गरी रु २० लाखको लागतमा मन्दिरको पुनःनिर्माण गरिएको थियो ।

विसं १८२५ बाट यस मन्दिरमा पूजाअर्चना सुरुआत भएको बताइएको छ । सोही विसंमा मन्दिर भएका ठाउँमा भोटिनी आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अन्र्तध्यान भएको किंवदन्ती रहेको र सोही समयदेखि नै उक्त स्थानमा पूजाअर्चना सुरु भएको स्थानीयवासीको भनाइ छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ६ : ५० बजे

एक वर्षमा एउटै फार्मबाट ११ करोड अण्डा उत्पादन

चितवन – आइपिओ जारी गर्ने तयारीमा रहेको दाउन्ने एग्रो फार्म

सामान्य बन्दै कैलाली कारागारको अवस्था

सुदूरपश्चिम – कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थिति क्रमशः

चिनियाँ कम्युनिष्ट पार्टीसँग गहिरो सम्बन्ध रहेको पाइएपछि हार्वर्ड विश्वविद्यालयको आलोचना बढ्दो

काठमाडौं- अमेरिकाको प्रतिष्ठित हार्वर्ड विश्वविद्यालय र चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)

प्रधानमन्त्री भन्छन् : मलको अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष खेतीपातीको समयमा

ससुरासँग तीन हजार लिएर हिँडेकी श्यामकला देवघाटसम्म खोज्दा पनि भेटिइनन् 

काठमाडौं– साउन ११ गते ससुराबुवासँग अस्पताल ‘फलोअप’ मा जान्छु भनेर