रुख कटान प्रक्रियाले रोकियो कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण | Khabarhub Khabarhub

रुख कटान प्रक्रियाले रोकियो कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – रुख कटानको प्रक्रिया अघि नबढ्दा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम प्रभावित भएको छ । आयोजना निर्माणका लागि बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रका रुख कटान नहुँदा टावर निर्माणको कार्य प्रभावित भएको हो ।

आयोजनाले बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रअन्तर्गतका १३ हजार ११९ रुख कटान गर्न प्रस्ताव गरेको छ । आयोजना प्रमुख रविकुमार चौधरीले रुख कटानसम्बन्धी प्रस्ताव स्वीकृतिमा भएको ढिलाइले निर्माण प्रभावित हुने बताए । ‘आयोजना र नेपाल विद्युत् प्राधिकरणबाट सबै तयारी पूरा भइसकेको छ, मन्त्रिपरिषद्मा रुख कटानसम्बन्धी प्रस्ताव लैजाने काम वन तथा वातावरण मन्त्रालयको हो’, उनले भने । निकुञ्ज क्षेत्रका रुख कटान गर्नुपर्ने भएकाले वन मन्त्रालयलाई समय लागेको हुनसक्ने उनको भनाइ थियो ।

आयोजना र भारतीय ठेकेदार कम्पनी आरएस इन्फ्राप्रोजेक्टबीच भएको सम्झौताअनुसार २०७९ भदौसम्म निर्माण पूरा गर्नुपर्नेछ । हालसम्म रुख कटान सुरु भएको छैन । रुख कटान नहुँदा टावर निर्माणको काम प्रभावित भएको छ । विसं २०७७ असारमा ठेक्का सम्झौता भए पनि कम्पनीले यही भदौ तेस्रो सातादेखि निर्माणको काम थालेको हो ।

रुख कटानको अनुमति पाउन ढिलाइ हुँदा आयोजनाले जहाँ जङ्गल क्षेत्र छैन त्यस्ता ठाउँमा मात्र टावर निर्माणको काम गरिरहेको छ । हालसम्म १३ स्थानमा टावरको जग निर्माण गरिसकेको छ । झण्डै ५२ किमी दूरी रहेको सो प्रसारण लाइनमा डबल सर्किटका १६१ टावर निर्माण गर्नुपर्नेछ । मन्त्रिपरिषद् बैठकबाट रुख कटानको स्वीकृति पाएलगत्तै आयोजनाले रुख कटानका लागि बोलपत्र आह्वान, जग्गाको मुआब्जालगायत प्रक्रिया सुरु गर्नेछ ।

‘अबको १० महिनाभित्र प्रसारण लाइन निर्माण गरिसक्नुपर्छ’, आयोजना प्रमुख चौधरीले भने, ‘रुख कटानमा ढिलाइ भए प्रसारण लाइन निर्माणको अवधि लम्बिन सक्छ ।’ उहाँका अनुसार विस्तृत अध्ययन, रुख गणना, डिजाइन र टावर रहने स्थानको टुङ्गो लागिसकेको छ । सुर्खेतको छिन्चु र बाँकेको चिसापानी गाभरमा स्थानीयवासीको असहमतिका कारण जग्गाको मुआब्जा वितरण हुन नसकेको आयोजनाले जनाएको छ ।

विसं २०४५ मा निर्माण गरिएको ३३ केभी प्रसारण लाइनका कारण हाल कर्णालीमा ‘अनियमित विद्युत्’ ठूलो समस्याका रूपमा छ । भोल्टेज कम हुने, सामान्य वर्षा र हावाहुरीमै पोल ढल्नेजस्ता समस्याले यहाँका उपभोक्ताले हैरानी खेप्नुपरेको छ । यो आयोजना निर्माण भएमा उक्त समस्या हट्ने कर्णालीवासीको अपेक्षा छ ।

करिब रु ७० करोड लागतमा ठेकेदार कम्पनीले प्रसारण लाइनका लागि डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्ट खरिदका काम सम्पन्न गर्नुपर्नेछ । प्रसारणलाइनको अधिकांश क्षेत्र बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज तथा यसका मध्यवर्ती क्षेत्र पर्दछन् । प्रसारण लाइनको ७०.५४५ भाग वन क्षेत्र, १५.१३५ खेतीयोग्य, २.२६५ बाँझो जमिन र ११.०६५ अन्य भागले ओगटेको छ । प्रसारण लाइनका लागि जग्गाको क्षेत्रफल २२५ वर्गमिटर तोकिएको छ ।

आयोजनाबाट बाँकेका कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका, बर्दियाको बासगढी नगरपालिका तथा सुर्खेतका भेरीगङ्गा, लेकबेँसी र वीरेन्द्रनगर नगरपालिका प्रभावित हुनेछन् । आयोजना बाँकेको कोहलपुर सबस्टेशनबाट प्रारम्भ भई वीरेन्द्रनगरस्थित सुर्खेत सबस्टेशनमा पुगेर टुङ्गिनेछ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ९ : २५ बजे

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध

गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस

जेनेभा – गाजामा इजरायलले गाजा शहरमाथि विजय हासिल गर्ने र

सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन