'ओमिक्रोन'ले एन्टीबडीको प्रभाव कम गर्ने ! | Khabarhub Khabarhub

‘ओमिक्रोन’ले एन्टीबडीको प्रभाव कम गर्ने !


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्टको सुरुवाती डाटाले इम्युनिटीलाई केही हदसम्म निश्प्रभावी बनाउने देखिएको छ । अझ थुप्रै अध्ययन हुन बाँकी रहेकाले यसैलाई निष्कर्ष मानी हाल्न भने नहुने चिकित्सकहरूले बताएका छन् ।

वैज्ञानिकहरूले यसअघि कोभिड १९ को सङ्क्रमण भई सकेकाहरूमा फेरी यसको सङ्क्रमण देखिएका कारण यो बताएका हुन् । यसको सबै निचोड निकाल्न अझै केही दिन लाग्ने भएको छ । साथै हाल लगाइएको कोरोना भाइरसको भ्याक्सिन कत्तिको प्रभावकारी हुने भन्ने टुङ्गो अझै लागेको छैन ।

‘ओमिक्रोन’ पत्ता लागेको एक सातामा धेरै तथ्य पत्ता लगाउन बाँकी छ । यसका बारेमा केही सुरुवात भने भइसकेको छ । यसअघि नै यो भेरियन्ट धेरै नै म्युटेसन भई रहने खालको भएको दक्षिण अफ्रिकाले संसारलाई जानकारी गराएको थियो ।

पछिल्लो अध्ययन अनुसार यसअघि कोभिड भई सकेकाहरूमा पनि ‘ओमिक्रोन’ भेरियन्टको सङ्क्रमणको सम्भावना देखिएको हो । यो भेरियन्ट ३० भन्दा बढी देशमा पुगी सकेको छ ।

वैज्ञानिकहरूले दक्षिण अफ्रिकामा ३६ हजारभन्दा बढी पुनः सङ्क्रमण भएको पुष्टि गरेका छन् । यी व्यक्तिमा दुई या सो भन्दा बढी पटक यस्तो समस्या देखिएको छ । यसअघि डेल्टा र बेटा भेरियन्टको प्रभाव रहँदा फेरी सङ्क्रमण हुने सम्भावना यत्ति धेरै थिएन । तर, ल्याबको अनुसन्धान अनुसार सो भेरियन्टले पनि केही इम्युनिटीलाई निश्प्रभावी तुल्याउने देखाइएको थियो ।

ओमिक्रोनले स्पाइक प्रोटिनमै आक्रमण गरेर फेरी सङ्क्रमण हुने सम्भावना देखिएको हो ।

त्यसो त, दक्षिण अफ्रिकी वैज्ञानिकहरूको यो प्रतिवेदनलाई संसारका अन्य वैज्ञानिकले फेरी अध्ययन गर्न बाँकी नै रहेको छ । तर, अन्य सबै पुरानो भेरियन्टभन्दा पुनः सङ्क्रमणको जोखिम दुई गुणा भएपछि यसबाट उच्च सतर्कता अपनाउन दक्षिण अफ्रिकी वैज्ञानिकहरूले संसारलाई अनुरोध गरेका छन् ।

अध्ययनमा सहभागी स्टेलनबोस्क विश्वविद्यालयका प्राध्यापक जुलियट पुलियमकै अनुसार पहिला सङ्क्रमित भइसकेकाहरूमा पुन: सङ्क्रमणको जोखिम आंशिक रहेको छ । तथापि उनी पनि थुप्रै रहस्यमा यो सानो अंश मात्र पत्ता लागेको बताउँछन् । पुरानो कुन भेरियन्टको इम्युनिटीले यसलाई कत्तिको प्रतिरोध गर्छ भनेर पत्ता लगाउन अझ केही समय कुर्नु पर्ने उनी बताउँछन् ।

दक्षिण अफ्रिकामा एचआइभीको प्रभाव पनि धेरै छ । एचआइभी भएकाहरूमा इम्युनिटी सिस्टम कमजोर हुने गरेको छ । यी सबै समस्याको बाबजुद दक्षिण अफ्रिकी वैज्ञानिकहरूले अर्को सातासम्म शरीरमा भएको एन्टीबडी यो भेरियन्टका लागि कत्ति प्रभावकारी हुने भन्ने पत्ता लगाइ सक्ने जनाएका छन् ।

दक्षिण अफ्रिकामा अहिले २४ प्रतिशतले पुरै डोज भ्याक्सिन लगाएका छन् । प्राकृतिक एन्टीबडी धेरै भएका देशका लागि समेत यो अध्ययन महत्त्वपूर्ण हुने वैज्ञानिकहरूको ठहर छ । प्राध्यापक पुलियम भ्याक्सिनले दिएको एन्टीबडीको हकमा के हुने भन्ने डाटा पाउन कठिन हुने बताउँछन् । इम्युन सिस्टमलाई बुस्ट गर्ने यसको असरलाई कम गर्ने उपयुक्त आधार भएको पुलियम बताउँछन् ।

युनिभर्सिटी अफ इस्ट एंगेलीयाका प्राध्यापक पाउल हन्टर सुरुवाती डाटाले प्राकृतिक एन्टीबडी मात्र नभई भ्याक्सिनको एन्टीबडीमा पनि यो भेरियन्टले धेरै असर गर्न सक्ने बताउँछन् । उनले धेरै हदसम्म यो भेरियन्ट हाबी हुन सक्ने चिन्ता व्यक्त गर्छन् । कत्ति मात्रामा यसले भ्याक्सिनको असर घटाउँछ, भन्ने अझै अस्पष्ट भएको उनी बताउँछन् ।

भ्याक्सिनको असर बारे शङ्का उत्पन्न भई रहेको समयमा धेरै वैज्ञानिकले भ्याक्सिनले सङ्क्रमण रोक्न धेरै उपयोगी नभए पनि गम्भीर लक्षण नदेखिन र मृत्युको सम्भावना कम गर्न सहयोग गर्ने भएकाले भ्याक्सिन अझ तीव्र गतिमा दिनु पर्ने कुरामा जोड दिँदै आएका छन् । तर, पनि यसबाट बच्न धेरै सचेत हुन जरुरी छ किनभने यो धेरै मात्रामा सङ्क्रमण फैलिएमा अस्पतालले भार भन्दा बढी बिरामी हुन सक्ने सम्भावना प्रबल हुन सक्छ ।

यो फैलिएमा अस्पतालको चाप कत्तिको बढ्ने हो भनेर पत्ता लगाउन अझ दुई साता कुर्नु पर्ने हुन सक्छ । दक्षिण अफ्रिकामा तुलनात्मक रूपमा युवाहरूको सख्य बढी छ । त्यहाँ युवाहरूमा नै यो सङ्क्रमण देखिएको छ । यसका साथै लक्षण पनि सामान्य नै देखिएको छ । युनिभर्सिटी कलेज लन्डनका प्राध्यापक फ्रान्को बलाउक्स स्पाइक प्रोटिनमा भएको इम्युनिटीमा म्युटेसनका कारण प्रभाव पारेको बताउँछन् । उनी पनि यसको थप रहस्य पत्ता लाग्न अझ केही समय कुर्नु पर्ने कुरामा सहमत छन् ।

कोरोना भाइरसका लागि सबैभन्दा परिचित टेस्टिङ प्रविधि पोलीमेराज चेन रियाक्सन (पीसीसीआर) परीक्षण हो । यसबाट कोरोना भाइरस भएको या नभएको भन्ने मात्र पत्ता लाग्छ । यसमा ओमिक्रोन सङ्क्रमण हो या होइन भन्ने पत्ता लगाउन विशेष खालको ल्याब परीक्षणको आवश्यकता हुन्छ । विकसित देशमा यो सुविधा भए पनि नेपाल जस्तो सामान्य देशमा अहिले यो सुविधा छैन ।

‘ओमिक्रोन’ हो या होइन भन्ने कुरा पत्ता लगाउनका लागि पूर्ण जिन अध्ययन आवश्यक हुन्छ । यसलाई कम्तीमा दुई साताको समय लाग्ने छ ।

विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ)ले भने दु:खदायी नभएर यसको तयारीमा लाग्नु पर्ने जनाएको छ । शुक्रबार एक सम्मेलनमा डब्लुएचओकी शीर्ष वैज्ञानिक सौम्य सामनाथनले एक वर्ष अघिको भन्दा अहिले अवस्था धेरै फरक भइसकेको बताएकी छिन् ।

उनले एकदम सङ्क्रामक रहेको दक्षिण अफ्रिकाको तथ्याङ्कका अनुसार यो संसार भर प्रभाव राख्न सक्ने भेरियन्ट हुन सक्ने जनाएकी छन् । उनका अनुसार अहिले संसारका रहेको केस मध्य] ९९ प्रतिशत केस डेल्टाको छ ।

डब्लुएचओका आपत्कालीन निर्देशक माइक रेनले पनि अहिले एकदम प्रभावकारी भ्याक्सिन भएका कारण यसलाई छिटो वितरण गर्नु पर्नेमा जोड दिएका छन् । नयाँ ‘ओमिक्रोन’ भेरियन्टले त्यसलाई कुनै असर नगर्ने भन्ने प्रमाण नभेटिएका कारण धेरै चिन्ता गर्नु जरुरी नभएको उनले बताए ।

यसका सावधानीका विभिन्न देशले फरक नीति लिएका छन् । अमेरिका प्रस्थान गर्ने कुनै पनि व्यक्तिले एक दिन अगाडीको कोभिड रिपोर्ट पेस गर्नुपर्नेछ । अमेरिकाकै कम्तीमा ६ राज्यमा ओमिक्रोन भेरियन्ट देखिएको छ ।

भारतमा पनि ओमिक्रोनको दुई केस देखा परेको छ । यी मध्यका एक ६६ वर्षीय दक्षिण अफ्रिकी नागरिकले अहिले देश छाडी सकेका छन् । अर्का कुनै यात्रा रिपोर्ट नभएका दक्षिण भारतका एक चिकित्सक छन् ।

गत अप्रिल र मे महिनामा कोभिड १९ को दोस्रो लहरले स्वास्थ्य संयन्त्र नै तहसनहस भएका कारण अहिले भारत बढी संवेदनशील पाइएको छ ।

युरोपेली देशमा यो भेरियन्ट बढेसँगै नयाँ सुरक्षा मापदण्ड अपनाउने क्रमलाई निरन्तरता दिएका छन् । जर्मनीको नयाँ मापदण्ड अनुसार भ्याक्सिन नलगाउनेलाई कडाइ गरिएको छ । भ्याक्सिन लगाएका या केही समय अघि मात्र कोभिड भएर निको भएकालाई मात्र रेस्टुरेन्ट, सिनेमा हल र अन्य पसलहरूमा प्रवेश दिइने भएको छ ।

चान्सलर एन्जोलो मार्केलले फेब्रुअरी महिनादेखि अनिवार्य भ्याक्सिन लगाउने नियमलाई अनिवार्य गरिने बताएकी छन् । यसैगरी, अस्ट्रियाले पनि १ फेब्रुअरीदेखि त्यहाँ बसोबास गर्ने सबैले अनिवार्य भ्याक्सिन लगाउनै पर्ने नियम राखेको छ । यसैगरी, बेल्जियम र नेदरल्यान्डले पनि आफ्ना नियममा कडाइ गरी रहेका छन् ।

बेलायतले जनवरी महिनाको अन्त्यदेखि सबै वयस्कलाई बुस्टर डोजको व्यवस्था गरिरहेको छ ।

अहिले संसारमा नै कम भ्याक्सिन दिइएका कारण बारम्बार यो भेरियन्ट देखिएको जनाइएको छ । यसका बाबजुद कतिपय देशले पर्याप्त भ्याक्सिन उपलब्ध गराउन सकेका छैनन् भने कतिपय देशमा भ्याक्सिन प्रति हिचकिचाहट देखिएको छ ।

दक्षिण अफ्रिकामा प्रति १०० व्यक्ति ४० डोज दिइएको छ भने लेसोथोमा ३० डोजभन्दा पनि कम दिइएको छ । यसैगरि, नामिबियामा २५ डोज दिइएको छ । भ्याक्सिन नलगाएको मानिसको शरीरमा भाइरस धेरै समय बस्ने र म्युटेसन हुने अवसर पाउँछन् ।

दक्षिण अफ्रिकामै यसरी म्युटेसन हुनुको कारण एचआइभीको समस्या पनि हो । एचआइभी भएका मानिसहरू कमजोर हुने हुँदा उनीहरूको शरीरमा पनि यो भाइरस धेरै समय रहन्छ ।

अहिले देखिएको ‘ओमिक्रोन’ भेरियन्ट कत्ति घातक हो भन्ने पत्तो नभएका कारण डब्लुएचओले भने जस्तै आत्तिई हाल्नु पर्ने अवस्था त छैन । परन्तु, यो नयाँ भेरियन्ट सङ्क्रामक भएकाले पूर्ण रूपमा सचेत हुन र सरकारी निकायबाट भ्याक्सिनेसनको कामलाई तीव्रता दिनुको विकल्प छैन ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  १० : २१ बजे

नेपालमा निर्वाचन : पद्म शमशेरकहाँ मङ्गलादेवीको धर्ना, ढ्वाङको रङले छुट्टिएका मतदाता

काठमाडौं- नेपालका राजनीतिक दलहरू यतिबेला मंसिर १६ मा हुन गइरहेको स्थानीय

राजस्व कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा

डडेल्धुरा– आन्तरिक राजस्व कार्यालय डडेल्धुरामा दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या

२८५ कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस

काठमाडौं– सङ्घीय प्रोवेशन तथा प्यारोल बोर्डको बैठकले २८५ जना कैदीबन्दीलाई

अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द

काठमाडौं– अमेरिकामा गौतम अडानीमाथि लागेको आरोपको प्रभाव भारतदेखि केन्यासम्म परेको

राजस्व कार्यालय भरतपुरमा निःशुल्क करदाता सहायता कक्ष

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुर परिसरमा निःशुल्क करदाता सहायता कक्ष