चितवन निकुञ्जमा बाघ सर्वेक्षणको काम सकियो « Khabarhub

चितवन निकुञ्जमा बाघ सर्वेक्षणको काम सकियो


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघ सर्वेक्षणको काम सकिएको छ। एउटै कम्प्लेक्स बनाएर गणना सुरु गरिएको पर्सा राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा भने यही माघ तेस्रो साता सकिँदै छ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेका अनुसार माघको पहिलो साताबाट पर्साको प्रतापपुरबाहेकका बाँकी सबै क्षेत्र, पर्सा, बारा र रौतहट डिभिजन वन कार्यालय क्षेत्रमा सर्वेक्षण भइरहेको छ।

ती क्षेत्रमा ३०० जोडी क्यामेरा राखिएको उहाँले जानकारी दिनुभयो। यही माघ २० गतेसम्ममा सो क्षेत्रमा पनि सर्वेक्षण सम्पन्न हुने छ। ती क्षेत्र सम्पन्न भएसँगै यहाँको क्यामेरा लगेर शुक्लाफाँटा र लालझाडी क्षेत्रमा सर्वेक्षण गरिने र सबै क्षेत्रको सर्वेक्षणपछि तथ्याङ्कको काम गरिने जनाइएको छ।

चितवन र पर्सालाई तीन ब्लक बनाएर सो सर्वेक्षण गत मङ्सिर १९ गते चितवनबाट सुरुआत गरिएको हो।

पहिलो र दोस्रो ब्लकमा ‘क्यामेरा ट्रयापिङ’का काम सम्पन्न भएसँगै तेस्रो ब्लकमा काम थालिएको हो। क्यामेरा ट्रयापिङको विधिबाट बाघ सर्वेक्षण गरिएको हो।

प्रत्येक चार वर्ग किलोमिटर क्षेत्रफललाई एउटा ग्रिड मानेर एउटा ग्रिडमा एक जोडी क्यामेरा जडान गरेर सर्वेक्षण गरिएको हो। निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसारसर्वेक्षणमा क्यामेरा ट्रयाप, रेञ्ज फाइण्डर, जिपीएस र रेकर्ड फर्मलगायतका सामग्री प्रयोग भएका छन्।

अहिले क्यामेराले सङ्कलन गरेका फोटो ल्यापटप र कम्युटरमा जम्मा गर्ने काम भइरहेको छ।

तीनवटै ब्लकमा सर्वेक्षणको काम सकिएलगत्तै क्यामेराबाट खिचिएका फोटो एकै ठाउँमा जम्मा गरी विज्ञसहितका टोलीले सफ्टवेयरको माध्यमबाट अन्तिम नतिजा निकाल्ने उनले जानकारी दिए।

सर्वेक्षण अन्तर्गत बर्दिया र बाँके ब्लकमा मङ्सिर २९ गतेबाट काम थालिएको छ भने शुक्लाफाँटा र लालझाडी क्षेत्रमा यहाँको दोस्रो ब्लकको काम सकिएपछि यही क्यामेरा प्रयोग गरेर सर्वेक्षण थालिने जनाइएको छ।

यसका लागि करिब रु चार करोड खर्च हुने अनुमान गरिएको उहाँले जानकारी दिए। बाघ सर्वेक्षणका लागि जमिनबाट करिब ४५ देखि ६० सेन्टिमिटरको उचाइमा स्वचालित क्यामेरा जडान गरिन्छ। क्यामेरा जडान भएको क्षेत्रबाट बाघ हिँडेको अवस्थामा स्वचालित क्यामेराले बाघको फोटो खिच्ने गर्दछ।

तस्बिर अध्ययनपछि जुलाई २९ विश्व बाघ दिवसका अवसरमा तथ्याङ्क सार्वजनिक गरिने योजना रहेको छ। सन् २००९ देखि राष्ट्रियरूपमा नै बाघको सर्वेक्षण सुरुआत गरिएको थियो।

हालसम्मको नतिजालाई हेर्दा नेपालमा सन् १९९५/९६ मा ९३ देखि ९७ वटासम्म बयस्क बाघ रहेको अनुमान गरिएको थियो। सन् २००९ मा १२१, सन् २०१३ मा १९८ र सन् २०१८ को सर्वेक्षणअनुसार २३५ वटा बयस्क बाघ रहेको अनुमान गरिएको थियो।

सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २३५ बयस्क बाघ फेला परेका थिए। त्यतिबेला चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए। यो सङ्ख्या बढेको अनुमान छ।

बाघ सर्वेक्षणको वन तथा वातावरणमन्त्री रामसाहयप्रसाद यादवले स्वचालित क्यामेरा सञ्चालन गरी शुभारम्भ गरेका थिए। नेपालका चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज र आसपासका राष्ट्रिय वन क्षेत्रमा बाघ पाइन्छ। ती क्षेत्रमा गणना गर्न सुरु गरिएको हो।

सन् २०१० मा रसियाको सेन्ट पिटर्सबर्ग भएको बाघ पाइने १३ मुलुकका राष्ट्र प्रमुखको बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या २५० पुर्याउने प्रतिवद्धता व्यक्त गरेको थियो। रासस

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ११ : ०२ बजे

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित