सप्तरीका ग्रामीण भेगका महिलाहरू घरमै सुत्केरी हुँदै « Khabarhub

सप्तरीका ग्रामीण भेगका महिलाहरू घरमै सुत्केरी हुँदै


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको महदेवा गाउँपालिका–१ कि २२ वर्षीया कविता रजकले यही पुस महिनामा दोस्रो सन्तान छोरीलाई घरमै जन्म दिइन् । उनी पहिलोपटक पनि घरमै सुत्केरी भएकी थिइन् रजकले भनिन्, ‘दुई छोरीलाई घरमै जन्म दिए पनि गर्भवती हुँदा दुवैको पालोमा दुई पटक डाक्टरसँग चेकजाँच गराएको थिएँ ।’

सुत्केरी हुने दिन बिहान ४ बजेदेखि तल्लो पेट दुख्यो । बिहानै सासुले सुडेनीलाई बोलाएर ल्याउनुभयो । सुडेनीले अस्पताल लानु पर्दैन । एक छिनमै घरमा बच्चा जन्मिन्छ भनेपछि अस्पतालतिर नगएर बच्चा जन्मिने पर्खाइमा परिवारका सबै सदस्य बसेको कविताले बताइन् । उनले थपिन्, ‘बिहान आठ बजे सजिलै सुत्केरी भएँ ।’ उनी ८ कक्षासम्म पढेकी छन् । उनको परिवारमा कोही पनि शिक्षित छैनन् ।

सुत्केरी गराउन अस्पताल नै जानुपर्छ भन्ने मान्यता परिवारका कुनै सदस्यको नरहेको कविताको भनाइ छ । जेठानीले पनि तीन सन्तान घरमै जन्माएको उनले बताइन् ।

सप्तरीको विष्णुपुर गाउँपालिका कन्कट्टाकी ३२ वर्षीया सुनिता रजकले तीन सन्तानलाई घरमै जन्म दिइन् ।

उनले भनिन्, ‘कान्छो छोरा ६ महिनाको भयो । घरमा सजिलै सुत्केरी भएँ ।’ गर्भवती भएका बेला पनि उनले एक पटक पनि डाक्टरसँग चेक जाँच गराएकी थिइनन् । न त कुनै औषधी नै खाएकी थिइन् ।

त्यस्तै, राजविराज नगरपालिका–१ डुमरीकी ममता यादवले पहिलो सन्तानलाई यही पुसको पहिलो हप्ता घरमै जन्म दिइन् ।

उनले भनिन्, ‘गर्भवती भएको थाहा पाएपछि डाक्टरसँग जाँच गराएको थिएँ ।’ त्यसपछि स्वास्थ्यमा कुनै समस्या नआएपछि पुनःजाँचका लागि डाक्टरनिर नगएको ममताले बताइन् ।

उनले थपिन्, ‘हाम्रो गाउँमा अहिले पनि ५० प्रतिशत सुत्केरी घरमै हुने गरेका छन् ।

जानेर वा नजानेर हाम्रो जिल्लाको ग्रामीण भेगका अशिक्षित परिवारले अहिले पनि घरमै सुत्केरी गराउने गरेको अवकाश प्राप्त सिनियर स्टाफ नर्स रेखा देवले बताइन् । उनले भनिन्, ‘कतिको त सुत्केरी हुन नसकेपछि जटिल समस्या भएर र कति सुत्केरी भएर आमा वा शिशु वा दुवै जटिल अवस्थामा अस्पताल आउने गरेका छन् ।’

गर्भवती भएपछि कम्तिमा पनि चार पटक चेक जाँच गराउनु पर्छ । आमा र शिशुको ज्यान जोखिम हुन नदिन अस्पतालमा नै सुत्केरी गराउनुपर्ने चाहना नेपाल सरकारको रहेको छ । आमा र बच्चा अस्पतालमै सुरक्षित हुने भए पनि कतिपय परिवारले त्यसो नगरेर अझै आलटाल गर्दै आएको प्रसुति रोग विशेषज्ञ डा. उषा देव बताइन् ।

अस्पतालमा सुत्केरी गराएपछि आमा सुरक्षा कार्यक्रमअन्तर्गत सुत्केरी गराई निशुल्क र घर फर्किने बेलामा यातायातवापत् १ हजार रुपैयाँ दिने प्रावधान रहेको स्वास्थ्यकर्मी मनिषा सिम्खडाले बताइन् ।

उनले भनिन्, ‘सुत्केरी महिलाको रगत ओ निगेटिभ छ भने सुत्केरी भएको ७२ घण्टाभित्र दिनुपर्ने सुई पनि अस्पतालले निशुल्क लगाई दिन्छ ।’

अस्पतालले डिस्चार्ज गर्ने बेलामा बर्थ सर्टिफिकेट पनि दिन्छ । त्यो पनि एउटा पहिचानको ठूलो आधार हो । त्यसैले ज्यानलाई जोखिममा पारेर घरमा सुत्केरी हुनुभन्दा अस्पताल जानु अत्यन्तै जरुरी रहेको महिला स्वास्थ्य स्वयम्सेविका पुनिता कर्णले बताइन् ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ८ : ४७ बजे

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

गोरखाको चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा