विपन्न सबै दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा « Khabarhub

विपन्न सबै दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा–झापा गाउँपालिकाले मधुमेह र उच्च रक्तचापका सबै विपन्न दीर्घरोगीलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । गतवर्ष नै गाउँका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गर्ने सोचाइ बनाइएकामा त्योभन्दा स्वास्थ्य बीमा नै प्रभावकारी हुने निष्कर्ष निस्किएकाले यसवर्षदेखि दीर्घरोगी विपन्न परिवार छानीछानी बीमा गरिदिएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए ।

स्वास्थ्य स्वयंसेविका परिचालन गरेर पालिकाका ३१८ त्यस्ता रोगीको पहिचान गरिएको छ । उनीहरुको परिवारका पाँचजनासम्मको स्वास्थ्य बीमा गरेर बीमा कार्डसमेत वितरण गरिएको उनको भनाइ थियो । दीर्घरोगी वडा नं ४ का ७५ वर्षीय सागिर मियाँले आर्थिक अभावले विगतमा स्वास्थ्य बीमा गर्न नसकेकामा पालिकाले गरिदिएको बीमाले अब वर्षभर औषधि ल्याएर खान सहज भएको जानकारी दिए ।

पाँचजना परिवारको अभिभावक उनी उच्च रक्तचाप, मधुमेह र छालाको रोगले पीडित छन् । अर्काको घरमा दैनिक मजदूरी गर्दै आएका मियाँले यसअघि महिनामा पाँच सय बराबरको औषधि किनेर नियमित खानु परिरहेको बताए । सात वर्षदेखि मुटु र उच्च रक्तचापको बिरामी झापा गाउँपालिका–४ की ६६ वर्षीया सुन्दरवती गणेशले मासिक दुई हजार जति औषधि उपचारमा खर्च गर्दै आएकामा अब निःशुल्क हुने भएपछि खुसी भएकी छन् ।

पालिकाले पठाएका स्वास्थ्य सेविकाले बिरामीको आर्थिक अवस्था, उपचार गराइरहेको अस्पतालको प्रतिवेदन र रोगको प्रकृति हेरेर स्वास्थ्य बीमा गराउने परिवारको छनोट गरेका पालिकाको स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताए । ‘पालिकामा दीर्घरोगीको सङ्ख्या धेरै नै छ तर हामीले श्रमिक र विपन्न वर्गका परिवारलाई स्वास्थ्य बीमाका लागि छानेका छौं,’ उनले भने, ‘आर्थिक हैसियत हुनेले आफै रकम तिरेर बीमा गर्न सकिहाल्छन् र उपचार गराउन खर्च पनि गर्न सक्छन् ।’

विगत १६ वर्षदेखि मधुमेह र उच्च रक्तचापको औषधि नियमित सेवन गरिरहनुभएका वडा नं ६ का ५८ वर्षीय मनबहादुर विश्वकर्माले आफ्नो पालिकाभित्रका रोगी र बुढापाकाको पहिचान गरेर स्वास्थ्य बीमा गरिदिएकोमा स्थानीय सरकारप्रति आभार प्रकट गरे । ‘गरिबले खानका लागि बिहान–बेलुका अन्न जुटाउनै मुस्किल हुन्छ, ओखती गर्ने औकात पुग्दैन,’ उनले खुसी हुँदै भने–‘हाम्रो पालिका भनेको हाम्रो सरकार हो । निःशुल्क बीमा गरेर अति राम्रो काम गर्‍यो ।’ मुटु, मधुमेह र उच्च रक्तचापको औषधिका लागि भद्रपुर वा बिर्तामोड धाउने खर्च अब जोगिएको विश्वकर्माले बताए ।

चालू आर्थिक वर्षमा पालिकाले बजेटमै उच्च रक्तचाप र मधुमेहका दीर्घरोगीलाई निःशुल्क औषधि खरिदका लागि रु १० लाख बजेट विनियोजन गरेको थियो । सोही बजेटबाट स्वास्थ्य बीमा गरिएको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले पालिकाका सातै वडाबाट सूचना जारी गरेर स्वास्थ्यसेविकामार्फत रोगीको विवरण सङ्कलन गरिएको र सोही विवरणका आधारमा उनीहरुको बीमा गरेर बीमा कार्ड वितरण गरिएको जानकारी दिए ।

‘औषधि खरिद गर्न यो बजेटले वार्षिक नभ्याउने भयो’, उनले भने, ‘बीमा गरिदियो भने सो रकमले पनि पुग्ने र बिमितहरुले रु एक लाखसम्मको औषधि उपचार गर्न पाउने हुँदा हामीले बीमा नै गरिदिएका हौँ ।’ बिमितहरुको विवरण सङ्कलन गरेर मङ्सिरमै बीमा गरिदिएको हुँदा उनीहरुलाई आइतबार पालिका अध्यक्ष जयनारायण साहले कार्ड वितरण गरे ।

सो बीमा यही फागुन महिनादेखि लागू हुने उनको भनाइ थियो । बीमामार्फत वार्षिक औषधि र उपचारमा प्रति परिवार रु एक लाखसम्म खर्च हुनसक्ने उनले जानकारी दिए । वडा नंं ६ की ८२ वर्षीया तुलसा मिश्र र ६८ वर्षीय धनबहादुर कटुवालले यसवर्षको स्वास्थ्य बीमा पालिकाले गरिदिएकोमा खुसी व्यक्त गर्दै आगामी वर्षमा पनि निरन्तर नवीकरणको व्यवस्था गरिदिन पालिकालाई आग्रह गरे ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  १ : ३० बजे

पश्चिम एसिया घटनाका कारण तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन : परराष्ट्रमन्त्री शर्मा

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिम एसियामा देखिएको तनावले खाडी मुलुकमा

सिरहामा कानुन व्यवसायीको फर्ममा बम विस्फोट, एक जना घाइते

सिरहा– सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा

प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा