धान दिएर तरकारी साटने एउटा गाउँको कथा | Khabarhub Khabarhub

धान दिएर तरकारी साटने एउटा गाउँको कथा


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– बर्दिबास–३ रजावासका मानबहादुर भट्टराई अहिले निकै खुसी छन् । भट्टराई केही वर्ष पहिलामात्र तरकारीको लागि धान साटने गर्थे । महँगोमा धान साटनु पर्दा तरकारीभन्दा पनि धान कसरी उत्पादन हुन्छ भन्नेमा नै किसानहरूलाई चिन्ता हुने गर्थ्यो । दाल, साग तथा कुनै पनि तरकारी खानका लागि रजावासमा निकै समस्या बन्ने गरेको भट्टराईसँग सम्झना छ ।

‘एक किलो तरकारी लिँदा तीन किलो धान दिनुपर्ने बाध्यताले किसानहरू तरकारी खानकै लागि धानको जोहो गर्नुपर्ने हुन्थ्यो,’ उनी भन्छन् ।

सिँचाइको अभाव र खेती गर्ने तरिकाहरूको विषयमा खासै जानकार नहुँदा रजावास क्षेत्रमा बसोबास गर्ने प्रायस्जसो किसानहरूको तरकारी लिने र धान दिने प्रक्रिया कयौँ वर्षसम्म चलिरह्यो । भट्टराईको पनि झण्डै एक पुस्ताले तरकारी खानका लागि धान उत्पादन गरे र जीविकोपार्जनको लागि यही प्रक्रियालाई अवलम्बन गरे ।

तर, भट्टराईका आजकाल दुस्खका दिनहरू फेरिएका छन् । घर वरपर हरियाली छ । सुख्खा र पानीको अभावमा डढेलो जस्तो देखिने गाउँका वस्ती अहिले हरियाली बनेका छन् । करेसाबारीमा लहलह तरकारी उत्पादन भइरहेको छ, जसले धान साटनबाट भट्टराईलाई मुक्ति दिलाएको छ ।

भट्टराई जस्तै हरिमायाका दिनहरू पनि रंगिन बनेका छन् । आकाशे पानीबाट धान उत्पादन हुने र त्यो पनि अपेक्षाकृत उत्पादन हुन नसक्दा हरिमायाले पनि कयौं वर्षसम्म उस्तै समस्या भोगिन् । तरकारीको चरम अभाव र धान दिनुपर्ने महंगो दबाबले जीवनयापनमा नै निकै समस्या बनेको भट्टराईकै जस्तो हरिमायासँग पनि नमिठो सम्झना छ ।

हरिमाया आजकाल आफ्नो करेसाबारीमा लगाएको हरियो तरकारी देखेर निकैबेर बगैंचामा नै हराउँछिन् । हरियो तरकारीको बोटमा लटरम्म फलेका सिमी, बोडी, साग, काउली देखेपछि कहिलेकाहीँ भावुक पनि हुन्छिन् ।

‘आफ्नो जीवनकालमा यस्तो होला भन्ने मैले सोचेको पनि थिइँन, सधैँभरि कसले तरकारी ल्याउला र धान साटौला भन्दैमा बुढी भएँ । के गर्ने,’ उनले भनिन् । तरकारी खोज्न चहार्दै हिँड्ने यस गाउँका किसानहरूले अहिले आफैँले उत्पादन गरेको तरकारी बजारसम्म पुर्‍याउँछन् ।

गाउँको दुःख देखेपछि सुविधा खोज्न गाउँबाट धेरै जना बसाइसराइ गरेको भट्टराई र हरिमायाले देखेका छन् । ‘अहिलेको अवस्था भएको भए कोही पनि बसाइ सर्नुपर्ने अवस्था आउँदैन्थ्यो होला,’ हरिमायाले भनिन् ।

करिब दुई सय घर बसोबास गर्ने यस गाउँमा अहिले सिँचाइको पर्याप्त सुविधा छ । विगत पाँच वर्षदेखि यहाँका हरेक किसानले न तरकारी खान धान साट्नुपरेको छ, न त धान उत्पादनको लागि चिन्ता नै लिनुपरेको छ । पर्याप्त सिँचाइको कारणले तरकारीमात्र लहलह हैन गाउँको रुप नै फेरिएको छ ।

स्थानीय सरकार निर्वाचित भएपछि पनि यहाँको मुहार फेर्न निक्कै कसरत गरेको वडा अध्यक्ष राजन ढुंगाना बताउँछन । ‘यहाँको समुदायको समस्यालाई ध्यानमा राखेर हामीले सिँचाइमा ठूलो बजेट विनियोजित गर्‍यौँ,’ उनले भने ।

रजावासमा मात्र नगरपालिका, प्रदेश तथा संघीय बजेटबाट करिब तीना करोडको काम भएको छ । खानेपानीको समेत चरम अभाव रहेको यस ठाउँमा अहिले एक घर एक धाराको अवधारणा लागु भएको छ ।

गाउँको नजिकै दुधेस्वरी माध्यामिक विद्यालय छ । पढनको लागि कालापानी, चुरे, भिमान जानुपर्ने समस्याबाट यहाँका बालबालिकाले मुक्ति पाएका छन् । चुरेको काखमा रहेको यस गाउँमा सडक सञ्जालको पनि उत्तिकै विकास भएको छ ।

बर्दिबास बजारसम्म जान रजावास हुँदै पाटु जाने फास्ट ट्र्याक खोलिएको छ । यसले गर्दा कृषि उपजहरूलाई बजारसम्म लैजान निकै सहज भएको स्थानीय बताउँछन ।

सुख्खा क्षेत्र अन्तर्गत खानेपानीको वैकल्पिक योजनालाई समेत अगाडि बढाइएको छ । यसले गर्दा झन् स्थानीयहरूलाई जुनसुकै समयमा खानेपानीको समस्या नहुने स्थानीयहरूले विश्वास लिएका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  १ : ०० बजे

आज फलफूल तथा तरकारीको मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

अमेरिकी चुनावमा विश्वको चासो : रोचक बन्दै ह्यारिस र ट्रम्पको लडाइँ

अमेरिकामा राष्ट्रपति पदको निर्वाचन ५ नोभेम्बरमा हुँदैछ। संसारकै महाशक्तिको कार्यकारी

माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत भ्रमणमा, प्रधानमन्त्री मोदीलाई भेट्दै

काठमाडौं– माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु आफ्नो पहिलो द्विपक्षीय भ्रमणको क्रममा

इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती

चितवन– वृद्धभत्ता रकम लिन माछापुच्छ्रे बैक कुरिनटारमा आइतबार बिहानै पुगेका

खाजामा आफैँ ठगिएपछि…

कास्की– जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य