काठमाडौँ- काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका २१ सवारी साधन ट्राफिक प्रहरीले फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका १६ मोटरसाइकल र पाँच स्कुटर फेला पारेर आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।
सवारी हस्तान्तरणका क्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले उपत्यकाको एकान्त ठाउँमा सवारीसाधन पार्किङ गर्दा बढी हराउने गरेको बताएका छन् । “सवारी साधनमा डिक्स लक, ह्वील लक, सेक्युरिटी साइरनको प्रयोग गर्नुपर्छ” उनले भने ।
लाखौँ रुपैयाँ तिरेर किनेको सवारी साधनको सुरक्षामा पनि त्यत्तिकै जिम्मेवार हुनुपर्ने उनको भनाइ छ। महाशाखाका अनुसार चालकको लापरबाही, सुनसान क्षेत्रमा पार्किङ र सवारी साधनमा ह्वील लक नगर्नाले धेरै सवारी साधन चोरी हुने गरेका छन् ।
महाशाखाले दुई महिनामा ८८ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइसकेको छ । आफ्नो सवारी साधन हराउना साथ ट्राफिक प्रहरीको हटलाइन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशनमा लग इन गरेर अनलाइनमार्फत् समेत निवेदन दिन महाशाखाले सबैलाई आग्रह गरेको छ ।
प्रतिक्रिया