लेख्न नपरोस् बालेन–रवि मित्रघातको कथा ! « Khabarhub

लेख्न नपरोस् बालेन–रवि मित्रघातको कथा !



राजनीतिक, आध्यात्मिक ग्रन्थदेखि सिनेमाका दृश्यमा समेत मित्रघातका बिर्सनलायक सन्दर्भहरू उल्लेख छन् । प्रसङ्ग बलिउडको चर्चित फिल्म सोलेको ।  फिल्ममा दुई पात्र छन्– वीरु र जय । तपाईंलाई याद छ ? जय सधैँ सिक्का उफारेर निर्णय गर्दथ्यो । दुईबीच सहमति थियो– ‘हेड आयो भने ठाकुरको कुरा मान्ने, टेल आयो भने नमान्ने ।’

वीरुले जयलाई कहिल्यै शङ्का गरेन । उसलाई लाग्थ्यो– जयको सिक्काले भगवानको भाव बोल्छ । आँखा चिम्लेर ऊ जयको निर्णय सिरोपर गर्दथ्यो । तर फिल्मको अन्त्यमा जब जय गब्बरसँग लडेर मर्छ, वीरुले जयको खल्तीबाट सिक्का निकालेर हेर्छ त ऊ छाँगाबाट झरे झैँ हुन्छ । सिक्काका दुवैतिर हेड मात्र थियो । जयले कहिल्यै भाग्यवादमा विश्वास गरेको थिएन । परम मित्रलाई बचाउन सधैँ आफ्नो पक्षमा निर्णय गराइरहेको थियो ।

यो दृश्यको सन्देश के हो भने वीरुको मित्रता सच्चा भएपनि ऊ अन्धभक्त थियो ।  उसले कहिल्यै सोधेन– ‘जय, तेरो सिक्कामा किन सधैँ हेड नै आउँछ ?’ यदि यो प्रश्न सोधेको भए, उसले जयको मायालाई अझै राम्रोसँग बुझ्ने थियो । साथीको हरेक कुरा आँखा चिम्लेर मान्नु मित्रता होइन, अन्धभक्ति हो । साँचो साथी प्रश्न सोध्न डराउँदैन ।

नेपाली राजनीतिमा मित्रघातका बग्रेल्ती उदाहरण छन् । घातको विषादीले ठूलो आयतन लिँदा त्यसले पुस्तौँपुस्ताको भविष्यमा ग्रहण लागेको छ । जेलनेल, दुःखका भाव, अभाव र प्रभावमा नङ–मासुको त्यो सम्बन्ध सत्ता र शक्तिसँगै प्रतिशोधमा अनुवाद हुन पुगेका छन् । भोक लाग्दा गाँस र अलपत्र पर्दा बास दिनेहरू सुखद घडी आएपछि एकअर्काको अवन्नतिमा काखी बजाउन पुगेका छन् । सत्ता स्वार्थले उब्जाएको मित्रघात छेक्ने ‘एन्टीबायोटिक’ अहिलेसम्म आविष्कार हुन सकेको छैन । स्वार्थको रोटी सेक्ने जमातहरूले आफू अनुकूलका कान भर्दा विवादको बीउ रोपिने गर्छ ।

महाभारत ग्रन्थ आफैँमा बेमेलको चक्रव्यूह हो । कुटिल राजनीतिको असली अनुहार त्यहाँ देखिन्छ । मित्रलापको ऐना रामायणभित्र छ । भ्रातृत्व, मित्रमिलनको अमर पाटो त्यहाँ उल्लेख छ । भगवान श्रीरामको कठिनतम प्रण विश्वासको पुल जोडिएकै भरमा बाँदरसेनाले सफल बनाइदिएका छन् । मन जित्न सक्यो भने असम्भवको शब्दकोश हुँदैन भन्ने चरितार्थ पाइन्छ । अर्को महत्वपूर्ण ग्रन्थ वेदले सफल जीवन प्राप्तिको रुपरेखा कोरेको छ । माया, दया, स्नेह, सदाचार, पुन्य, दान, कर्म र त्यागको सामथ्र्यका बारेमा हरेक समुदायका धार्मिक ग्रन्थले पाठ पढाएका छन् । धर्मगुरुहरूले मुक्ति र मोक्षका विषयमा आआफ्ना मञ्चबाट मन्त्रमुग्ध बनाएकै छन् ।

मंसिरको जाडोले सबै समुदायलाई कक्र्याएकै छ । न्यानो घामको स्पर्श सबैको छालामा प्रिय भएकै छ । रक्सीको नसाले वर्ग विभाजन गरेको छैन । बाघले कुनै ठूली एकादशीको साइत रोजेर स्याउ खाएको उदाहरण छैन । यति हुँदाहुँदै सत्ताको नसा यति विषाक्त छ कि त्यसले सबै बोर्डर पार गरेर व्यभिचारको बीउ रोप्न छोडेको छैन । सत्यको ऐना हेर्नुस् त महाभारतको भोगाइबाट आजित व्यासले महाभारत ग्रन्थ जन्माए ।

महाभारतबाट मित्रघातको जिउँदो जाग्दो एउटा प्रसङ्ग यस्तो छ– द्रोण र द्रुपद एउटै गुरुकुलमा पढेका मिल्ने साथी थिए । द्रुपदले द्रोणलाई बचन दिँदै भनेका थिए– ‘म राजा भएपछि आधा राज्य तिमीलाई दिन्छु ।’ नभन्दै द्रुपद राजा भए । द्रोण गरिब भएपनि ज्ञानका प्रतिमूर्ति थिए । द्रोण ब्राह्मण भेषमा साथी भेट्न राजाको द्वार पुगे ।  सत्ताको मात चढेको द्रुपदले द्रोणलाई सबैका सामु अपमान गर्दै भने– ‘अब राजा र भिखारीबीच मित्रता हुँदैन ।’

त्यो अपमानले द्रोणलाई बदलिदियो । उनले अर्जुनलाई धनुर्विद्या सिकाएर द्रुपदलाई युद्धमा हराएर आधा राज्य खोसे । एउटै गुरुकुलका मिल्ने साथीहरू गुरु–शिष्य हुँदै दुस्मन भए । सत्ताको मनमुटावले एकाघरका पाण्डव र कौरवलाई ज्यान लिनेसम्मको अवस्थामा पुर्‍यायो  । कृष्णले गीतामा भनेका छन्– ‘सत्ता र अहङ्कार आएपछि सबैभन्दा नजिकको नाता टुट्छ ।’

बाइबलमा पनि मित्रघातको रोचक उदाहरण छ । यहूदा येशूका १२ जना सबैभन्दा नजिकका चेलामध्ये एक थिए । ३ वर्ष सँगै खाए, सँगै हिँडे । तर ३० वटा चाँदीका सिक्काका लागि उनले येशूलाई धोका दिए । सबै धर्मको निष्कर्ष हो– मित्रता तब टुट्छ, जब बीचमा म आउँछ । म ठूलो, मेरो सत्ता, मेरो भाग ।

धोखाधडीको राजनीतिमा विश्वका कम्युनिष्ट नेताहरूको एकपछि अर्को प्रतिस्पर्धा चल्ने गरेको प्रशस्त उदाहरण छन् । सियो भएर पस्ने, फाली भएर निस्कने उक्ति कसैको जीवनमा हुबहु लागू हुन्छ भने त्यसको पहिलो हकदार कम्युनिष्ट नेताहरू हुन् । मार्क्स, लेनिन, ख्रुश्चेभ, स्टालिन, माओत्सेतुङका जीवनभित्र कहालीलाग्दा कथानकहरु भेटिन्छन् । नेताको तलुवा भएर राजनीतिमा प्रवेश पाएको कार्यकर्ता कालान्तरमा आफ्नै नेतृत्वलाई सिध्याउने खेलमा लागेको पुष्टि हुन्छ ।

लेनिन मर्नुअघि नै स्टालिनसँग रिसाएका थिए । उनले इच्छापत्रमा लेखेका थिए– ‘स्टालिन धेरै रुखो छ, उसलाई महासचिव पदबाट हटाउनुपर्छ ।’ आफ्नी पत्नीलाई मुख छोडेको घटनापछि लेनिनले स्टालिनसँग सम्बन्ध नै तोडेका थिए । तर लेनिन मरेपछि स्टालिनले त्यो पत्रलाई लुकाए, आफूलाई लेनिनकै साँचो उत्तराधिकारी भनेर प्रचार गरे । लेनिनपछि सत्ता हत्याउन स्टालिनले एक–एक गरेर लेनिनका सबैभन्दा नजिकका साथीहरूलाई सिध्याए ।

लेनिनपछिका वरिष्ठ नेता ट्रोटस्कीलाई पहिले पार्टी, त्यसपछि देश निकाला गरी टाउकोमा बन्चरो हानेर हत्या गराए । लेनिनका विश्वासपात्र जिनोभिभ र कामेनेभलाई देशद्रोही करार गरी गोली हानी हत्या गरियो । कुनै समय काँधमा काँध मिलाएर क्रान्ति गरेका साथीहरू यसरी एकले अर्कोलाई सखाप पारेर सत्ता यात्रामा सामेल भए ।

ख्रुश्चेभ स्टालिनकै चाकरी गरेर माथि आएका थिए । स्टालिन बाँचुन्जेल उनी स्टालिनका सबैभन्दा वफादार भनेर चिनिन्थे । स्टालिनपछि सबैभन्दा शक्तिशाली मान्छे बेरिया थिए । सेनाका जनरल झुकोभसँग मिलेर बेरियालाई पार्टी बैठकबाटै उठाएर लगेर केही महिनामै गोली हानी हत्या गरियो ।

शक्तिको टकरावले नेपालमा कम्युनिष्ट पार्टीहरू उमेरभन्दा बढी चोइटोमा टुक्रिएका छन् । कम्युनिष्टका संस्थापक पुष्पलालसम्म ‘गद्दार’बाट विभूषित भएका छन् । यी घटनाबाट के पुष्टि हुन्छ भने सत्ता बाँड्न कठिन बस्तु हो । क्रान्तिमा सँगै लड्दा दुःख साझा हुन्छ, तर सत्ता पाएपछि सबैलाई एक्लै चाहिन्छ । मान्छेबाट विचार जन्मिने हो । लेनिन, स्टालिन, ट्रोटस्कीबीचको असमझदारीको बीउ विचारको देखिए पनि भित्र सत्ता र अहंकारको झगडा थियो । विरोधीलाई सुरक्षित राख्यो भने आफूलाई सिध्याउँछ भन्ने डरलाई प्रणालीमा स्थापित गर्दा मानिस मार्ने उपक्रम बढ्यो ।

मित्रघातको अर्को चर्चित उदाहरण हो– राजा महेन्द्र र बीपी । महेन्द्रले आफूलाई थुन्लान् भन्ने बीपीको कुनै मनचित्तमा थिएन । राजा महेन्द्रको भान्सा कोठासम्म बीपीको पहुँच थियो । बीपी जोडी पुग्दा रानी तरकारी काटिरहेकी हुन्थिन् । विदेश जाँदा बीपी पत्नी सुशीलाले अनमोल उपहार पाउँथिन् । त्यसैले साथीभाइले सचेत गराउँदा पनि उनी राजाप्रति ढुक्क देखिन्थे । सार्वजनिक कार्यक्रमबाटै सैनिकमार्फत नजरबन्दमा राखेको घडीमा समेत राजाप्रति बीपीको विश्वास डगमगाएको थिएन । कोठरीमा जब महिनौँ बित्यो, उनले बुझ्न थाले– यो गल्ती होइन, योजना थियो ।  महेन्द्रले २०१५ सालदेखि नै पञ्चायतको योजना बनाइरहेका थिए ।

ठक्कर खाएपछि बीपीको स्वीकारोक्ति के रह्यो भने जेलमा उनलाई सबैभन्दा बढी पीडा भोकले, चिसोले वा एक्लोपनले होइन, धोकाले दिएको थियो । आफ्नै लेखनीमा मनको गाँठो फुकाउँदै उनी भन्छन्– ‘मलाई महेन्द्रले थुनेकोमा भन्दा, मैले महेन्द्रलाई नचिनेकोमा बढी लाज लागिरहेको छ । म आफूलाई राजनीतिज्ञ भन्थेँ, तर एउटा मान्छेको मन बुझ्न सकिनँ ।’

गरुड पुराणले चार युगको भविष्यवाणी गरेको छ ।  त्यसमध्ये मानिसहरूले कलियुगको विशेष चर्चा गर्ने गरेका छन् । शास्त्रका अनुसार कलियुगमा सत्य कमजोर हुन्छ । शासकमा धर्मको कमी हुन्छ । चोरी र अन्याय बढ्छ, वाणी कठोर हुन्छ । मानिसहरू कटु बोल्ने र अरूलाई दुःख दिने स्वभावका हुन्छन् । अहङ्कारी झुटो प्रतिष्ठा आर्जन गर्छन् । बोक्रे धर्म बढ्छ ।

हो, यतिबेला प्रधानमन्त्री वालेन्द्र शाह र रवि लामिछानेको मित्रलापका विषयमा चर्चा, परिचर्चा, संशय बढेको देखिन्छ । राष्ट्रिय राजनीतिको मूलखाँबो बनेका यी दुई व्यक्तित्वको सम्बन्ध कसारजस्तै न खोक्रो, न बोक्रोको अवस्थामा छ । चिनेर पनि नचिने जस्तो देखिएका, विश्वासभित्र अविश्वासको बीउ झाँगिएको अनुभव हुने यो सम्बन्धको हिसाबकिताब बुझाउनुपर्ने दिन अब टाढा छैन । अपारदर्शिता सरकारी जागिर केही हदसम्म चल्ला, राजनीति चल्दैन ।

कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा सभापति गगन थापालाई काँधमा बोक्नमा गौरव गर्छन् । आफैँ चुनाव लडेर आएको घन्टीको रालो प्रधानमन्त्री वालेन्द्र शाहले उहिल्यै मिल्काइसके । प्रणाली बलियो बनाउनु सट्टा व्यक्तिको सन्कीतन्त्र हावी हुने क्रम बढ्दो छ । संस्था बलियो नबन्दासम्म सरकारमा रहेका तन्नेरी पुस्ताबाट सुशासनको अपेक्षा गर्नु भ्रममा बाँच्नु हो । शासन प्रणालीमा थिति बस्यो भने अटोगतिमा मुलुक चल्छ । व्यक्ति हावी हुँदा हेलिकोप्टरमा भगाउनुपर्ने भाग दुई पात्र जन्मिनेमा सन्देह छैन । त्यसै पनि दक्षिण एशियाको राजनीति चटकमा चल्छ भन्ने अर्को उदाहरण बंगलादेशको दृश्यबाट प्रष्ट हुन्छ ।

दुई वर्षअघि मुलुकको कायाकल्प गर्ने योजनाअनुसार ल्याइएका युनुस अन्सारीमाथि प्राणघातक व्यभिचार भएका छन् । चुलेसीले फर्सी, फर्सीले चुलेसी काटे पनि पीडा फर्सीकै नाममा लेखिएजस्तै किचाघानमा पर्ने जनता नै हुन् । राजनीतिज्ञका लागि चुनावभन्दा शक्तिशाली घडी भनेको ‘पब्लिक अडिट’ हो । मलामी बढाउने कि गुलामी अहिल्यै निधो गरौँ । 

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ९ : ०२ बजे

लेख्न नपरोस् बालेन–रवि मित्रघातको कथा !

राजनीतिक, आध्यात्मिक ग्रन्थदेखि सिनेमाका दृश्यमा समेत मित्रघातका बिर्सनलायक सन्दर्भहरू उल्लेख

भोटेकोशी बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

नुवाकोट– भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण

अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता : मन्त्री पुन

काठमाडौँ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल

दशौँ राष्ट्रिय खेलकुद : आज पाँच खेलमा प्रतिस्पर्धा

काठमाडौँ– दशौँ राष्ट्रिय खेलकुद अन्तर्गत आज पाँच खेलका लागि प्रतिस्पर्धा

आज महिला हिंसा उन्मूलन दिवस मनाइँदै

काठमाडौँ– आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय