चौरमै पठनपाठन गराउनुपर्ने बाध्यता « Khabarhub

चौरमै पठनपाठन गराउनुपर्ने बाध्यता


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – धवलागिरि गाउँपालिका-२ मा रहेको लुलाङ आधारभूत विद्यालयलाई चौरमा पठनपाठन गराउनुपर्ने बाध्यता छ। भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको सबैभन्दा ठूलो दलित बस्ती रहेको विद्यालय भवन भत्किएको र जीर्ण बनेका कारण खुला चौरमा पठनपाठन गराइएको हो।

विद्यालयका प्रधानाध्यापक नागेन्द्र ठाकुरले दुईकोठे भवन भत्किएको र चारकोठे अर्को भवन जीर्ण बनेकाले पठनपाठनमा समस्या भएको बताए। ‘गत असोजमा कक्षा ६ र ७ को भवनको पर्खाल भत्किएको थियो,’ उनले भने, ‘कार्यालय र दुई कक्षाकोठा भएको अर्को भवनको पर्खाल पनि बाङ्गिएकाले जोखिम बढेपछि खुला चौरमा पठनपाठन गराउनुपरेको हो।’

भीरालो पाखो सम्याएर फरकफरक ठाउँमा बनाइएको विद्यालयको भवन र खेलमैदान संरक्षणका लागि निर्माण भएको ग्यावियन पर्खाल पनि भत्किएको छ। भत्कने अवस्थाको जीर्ण भवनमा जोखिम, चौरमा धुलो र गर्मीले सताउने गरेको कक्षा ७ की विद्यार्थी प्रतिक्षा रसाइलीले बताइन्।

‘चर्किएर बाङ्गिएको भवनको पर्खाल कुनबेला भत्किन्छ भन्ने डर छ,’ उनले भनिन्, ‘भवनको जोखिमयुक्त अवस्थाले शैक्षिक वातावरणमा असर पुगेको छ, वर्षात् हुँदा पठनपाठन बन्द गर्नुपर्ने अवस्था छ।’

विद्यार्थीका झोला, पुस्तक, कापी भिज्ने गर्छ। कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा २३५ विद्यार्थी छन्। यो आधारभूत तहमध्ये गाउँपालिकामा सबैभन्दा धेरै विद्यार्थी संख्या भएको विद्यालय हो।

गत वर्ष तत्कालीन राष्ट्रिय पुनः निर्माण प्राधिकरणको सहयोगमा दुईकोठे ट्रस र खानेपानी तथा सरसफाइसहितको छात्रामैत्री शौचालय निर्माण गरिएको थियो। यसबाहेक अन्य चारमध्ये दुई भवन जीर्ण छन्। नयाँ भवन निर्माणका लागि गाउँपालिका, शिक्षा विकास तथा समन्वय एकाइलगायत निकायमा प्रस्ताव गरिएको प्रअ ठाकुरले बताए।

विद्यालयको ६–८ तह निजी स्रोतबाट सञ्चालन गरिएको छ। प्रवासबाट आउने लाहुरेलाई स्वागत, विवाह, किरिया, छेवार, गुन्युचोली देखाउने जस्ता संस्कारगत कार्यमा नाचगानका साथै चन्दाबाट निजी स्रोतका शिक्षकको तलब भत्ता जुटाइने गरिएको छ।

वडाध्यक्ष गमप्रसाद विकले विद्यालय भवन निर्माणका लागि पहल गर्ने बताए। ‘नयाँ भवन निर्माणको आवश्यकता छ,’ उनले भने, ‘गाउँपालिकामार्फत भवनको समस्या समाधानका लागि पहल गरेको छु।’

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ९ : ५७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्