आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


१२ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

नाट्यशालामा भएको रुसी हमलामा ३ सय जना मारिएको युक्रेनी दाबी

गत साता रुसले नाट्यशालामा गरेको हमलामा ३ सय जनाको मृत्यु भएको युक्रेनी अधिकारीले जनाएका छन् । गत मार्च १६ मा रुसले दक्षिणी शहर मारिउपोलमा रहेको नाट्यशालामा हमला गरेको थियो ।

युद्धबाट जोगिन मानिसहरू शरण लिइरहेका बेला नाट्यशालामा हमला गरिएको युक्रेनी अधिकारीले बताउँदै आएका छन् । घेराबन्दीमा परेको मारिउपोल शहरका अधिकारीले यस्तो हताहतिको विवरण दिएका हुन् ।

‘प्रत्यक्षदर्शीले दिएको विवरणअनुसार रुसी लडाकु विमानमार्फत् मारिउपोलको नाट्यशालामा गराइएको बम आक्रमणमा ३ सय जनाको मृत्यु भएको छ ।’ मारिउपोलको नगरपरिषद्ले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

‘अन्तिम समयसम्म कसैले पनि यो भयानक घटनाको विश्वास गर्न मान्दैन ।’ विज्ञप्तिमा भनिएको छ, तर आक्रमणका बेला नाट्यशालाको भवनभित्र रहेका मानिसहरुको बयानले हताहती पुष्टि गरेको नगर परिषद्को दाबी छ ।

यदि पुष्टि भएको खण्डमा एक महिना लामो रुसी आक्रमणका क्रममा एकै पटकमा यो सबैभन्दा ठूलो मानवीय क्षति भएको घटना हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

१३६ बालबालिका मारिएको युक्रेनी दाबी

रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १३६ बालबालिका मारिएका छन् । सामाजिक सञ्जाल टेलिग्राममार्फत् युक्रेनको महान्यायfधिवक्ताको कार्यलयले सो जानकारी दिएको हो ।

मारिनेमध्ये ६४ बालबालिका राजधानी किभ क्षेत्रका रहेको बताइएको छ । अरु ५० जना बालबालिका डोनेत्स्क क्षेत्रमा मारिएका हुन् । यसबाहेक अरु १९९ जना बालबालिका घाइते भएका छन् ।

एक महिनाभन्दा लामो समयदेखि युक्रेनविरुद्ध आक्रमण गर्दै आएको रुसी फौजमाथि आवासीय क्षेत्र एवम् गैरसैनिक पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेको आरोप लागिरहेका बेला युक्रेनी पक्षबाट बालबालिकाको हताहतीको विवरण सार्वजनिक भएको हो ।

सैनिक आक्रमणका क्रममा रुसी फौजले मार्च ९ का दिन दक्षिणी युक्रेनको मारिउपोल शहरमा रहेको बाल अस्पताललाई लक्षित गरी हवाई हमला गरेको थियो । उक्त आक्रमणपछि रुसले युक्रेनमा युद्ध अपराध गरेको भन्दै चर्को निन्दा भएको थियो ।

१६ हजार रुसी सैनिक मारिए – युक्रेन

१६ हजार भन्दा धेरै आक्रमणकारी रुसी सैनिक मारिएको युक्रेनले दाबी गरेको छ । युक्रेनी सेनाले फेसबुकमार्फत् जानकारी दिँदै एक महिनायता जारी आक्रमणका क्रममा १६ हजार ४ सय रुसी सैनिक मारिएको दाबी गरेको हो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि आफ्नो नियमित भिडियो सन्देशका क्रममा १६ हजार रुसी सैनिक मारिएको जानकारी दिएका थिए ।

त्यस्तै, युक्रेनी सेनाले रुसी फौजको ५७५ ट्यांक, १६४० बख्तरबन्द गाडी, २९३ आर्टिलरी पिस, ९१ मल्टिपल लन्च रकेट सिस्टम (एमएलआरएस), ५१ विमान भेदी प्रणाली, ११७ लडाकु विमान ध्वस्त पारेको दाबी गरेको छ ।

त्यसैगरी रुसी फौजका १२७ हेलिकोप्टर, ५६ चालकरहित हवाई उपकरण (ड्रोन), ११ सय ३१ सैनिक वाहन ७३ इन्धन ट्यांकर पनि ध्वस्त पारेको युक्रेनी सेनाको दाबी छ ।

रुसी फौजमाथि ‘शक्तिशाली प्रहार’ गरेको युक्रेनी राष्ट्रपतिको टिप्पणी

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी फौजलाई युक्रेनले ‘शक्तिशाली प्रहारहरू’ गरेको टिप्पणी गरेका छन् । नियमित भिडियो सम्बोधनका क्रममा उनले युक्रेनी सेनाले रुसी सैन्य बलविरुद्ध शक्तिशाली प्रहार गरेको र रुसतर्फ ‘उल्लेखनीय क्षति’ भएको टिप्पणी गरेका हुन् ।

‘हाम्रो सैन्य बलले मुलुकको दक्षिणतर्फ, डोनबास, खार्किभको दिशामा र किभ क्षेत्रमा दुश्मनको आक्रमण निरन्तर विफल बनाइरहेका छन् ।’ उनले भने । 

‘रुसी आक्रमणलाई कमजोर बनाएर हाम्रा रक्षकहरु रुसी नेतृत्वलाई यस्तो तार्किक उपायसम्म पु¥याउदै छन्– वार्ता आवश्यक छ । अर्थपूर्ण । तत्कालै । निष्पक्ष ।’ उनको भनाइ छ ।

एक महिनाअघिदेखि युक्रेनमाथि आक्रमण थालेयता रुसी आक्रमण सुस्तै बन्दै गइरहेको टिप्पणी भइरहेका बेला जेलेन्स्कीको यस्तो भनाइ आएको हो ।

साउदी अरबको तेल भण्डारणमा हुथी विद्रोहीको आक्रमण

यमनमा सक्रिय इरान समर्थित हुथी विद्रोहीले साउदी अरबको तेल भण्डारण क्षेत्रमा अक्रमण गरेका छन् । साउदी अरबको जिद्दा शहरमा रहेको तेल भण्डारणलाई लक्षित गरी हुथी विद्रोहीले क्षेप्यास्त्र आक्रमण गरेको साउदी अधिकारीले जनाएका छन् ।

उक्त शहरमा मोटर रेसिङ फर्मूला १ प्रतियोगिता सञ्चालन हुनै लागेका बेला क्षेप्यास्त्र आक्रमण भएको समाचार संस्था एपीले जनाएको छ । हुथी विद्रोहीको हमलाका बावजुद उक्त प्रतियोगिता पूर्वनिर्धारित स्थान र समयमा नै सञ्चालन हुने साउदी अधिकारीले जानकारी दिएका छन् ।

यस क्षेत्रलाई लक्षित गरी हुथी विद्रोहीले पछिल्ला केही दिनयता आक्रमण गर्दै आएको बताइएको छ । विद्रोहीले साउदी अरबको तेल कम्पनी आराम्कोको स्वामित्वमा रहेको नर्थ जिद्दा बल्क प्लान्ट गराएको आक्रमणमा कुनै मानवीय क्षति भने नभएको साउदी अधिकारीलाई उद्धृत गर्दै एपीले जनाएको छ ।

साउदी नेतृत्वको अरब गठबन्धनका प्रवक्ता ब्रिगेडियर जनरल तुर्की अल मलिकीले दिएको जानकारीअनुसार आक्रमणमा दुई वटा ट्यांकर नष्ट भएका थिए । अग्नि नियन्त्रणले आक्रमण लगत्तै आगो नियन्त्रणमा लिएर कुनै ठूलो भौतिक क्षति हुनबाट जोगाएको बताइएको छ ।

साउदी अरबले यमनमा जारी युद्धका क्रममा अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको समर्थनमा हुथी विद्रोहीविरुद्ध सैनिक कारवाही गर्दै आएको छ । जवाफमा हुथी विद्रोहीले पनि साउदी अरबका सैनिक एवम् सार्वजनिक पूर्वाधारलाई लक्षित गरी हमलाहरू गर्दै आएका छन् ।

बेलायतले युक्रेनलाई थप २० लाख पाउण्ड सहयोग गर्ने

बेलायतले युक्रेनलाई खाद्यान्न आपूर्तिका लागि थप २० लाख पाउण्ड सहयोग गर्ने भएको छ । बेलायतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्यावश्यक खाद्यान्नका लागि २० लाख पाउण्ड सहयोग गर्न लागेको जानकारी दिएको हो ।

बेलायतले रुसी सेनाको घेराबन्दीमा परेका युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रहरूका लागि अत्यावश्यक खाद्यान्न आपूर्ति गर्न २० लाख उपलब्ध गराउने तयारी गरेको बेलायती विदेशमन्त्री लिज ट्रसले बताइन् ।

मन्त्रालयका अनुसार हाल युक्रेनमा १ करोड २० लाख भन्दा बढी मानिसहरूलाई मानवीय सहायताको खाँचो देखिएको छ । यद्यपि मानवीय सहायताको खाँचो भएका मानिसहरूको वास्तविक संख्या अझ बढी हुन सक्ने बताइएको छ ।

‘अर्को हप्ताको शुरुदेखि युक्रेन सरकारलाई यी सामानहरू आपूर्ति गर्न पोल्याण्ड र स्लोभाकियाका भण्डारण केन्द्रहरू तयारी अवस्थामा छन् । त्यसपछि लगभग २५ ट्रक लोड माल सडक र रेलमार्फत स्थानीय युक्रेनी समुदायहरूमा ढुवानी गरिनेछ ।’ विज्ञप्तिमा जनाइएको छ ।

गत फेब्रुअरी २४ मा रुसले आक्रमण थालेयता त्यहाँ अत्यन्त खराब मानवीय संकट उत्पन्न भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जारी रुसी आक्रमणले एक महिना नाघ्दै गर्दा दशौं लाख मानिसहरू शरणार्थी बन्न बाध्य भएका छन् भने अरु कैयौँ आन्तरिक रुपमा विस्थापित भएका छन् ।

युक्रेनमा पहिलो चरणको कारबाही टुङ्गिएको रुसी घोषणा

रुसले युक्रेनमा आफ्नो पहिलो चरणको ‘सैनिक कारवाही’ समाप्त भएको दाबी गरेको छ । रुसी सैनिक निकायका उप प्रमुख सर्गेई रुद्सकोईले प्रारम्भिक चरणको सैनिक कारवाही समाप्त भएको बताएका हुन् ।

‘कारवाहीको पहिलो चरणको प्रमुख कार्यहरू पूरा गरिएको छ ।’ उनले भने, ‘युक्रेनी सैन्य बलको लड्ने क्षमतामा निकै कमी आएको छ, यसले हामीलाई डोनबास मुक्त गर्ने हाम्रो मुख्य लक्ष्यमा केन्द्रित हुन बाटो खुलेको छ ।’

यससँगै अब रुसको आक्रमण रुस समर्थित ‘राज्य’ हरु लुहान्स्क जनगणतन्त्र र डोनेत्स्क जनगणतन्त्र समावेश रुसी भाषीको बाक्लो बसोबास रहेको डोनबास क्षेत्रमा केन्द्रित हुनसक्ने आँकलन गरिएको छ ।

पछिल्लो समय तीव्र युक्रेनी प्रतिरोधमाझ रुसी फौजले किभ, मारिउपोल, खारकिभजस्ता शहरमा नियन्त्रण जमाउन गरेको निरन्तरको प्रयास असफल भएको टिप्पणी भइरहेका बेला रुसी सेनाको यस्तो भनाइ आएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यस्तो अवस्थामा पछिल्लो घोषणासँगै युक्रेनमा जारी आक्रमणमा रुसी रणनीतिमा परिवर्तन आएको हुनसक्ने बताएका छन् ।

यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी फौजलाई ‘शक्तिशाली प्रहार’ गरेको टिप्पणी गरेका थिए ।

रुसद्वारा युक्रेनमा भएको हताहतीको विवरण सार्वजनिक

रुसले युक्रेनमा जारी आक्रमणमा आफ्नो तर्फ भएको सैनिक हताहतीको तथ्यांक सार्वजनिक गरेको छ । रुसी सैनिक निकायका उपप्रमुख कर्णेल जनरल सेर्गेई रुद्स्कोईले युक्रेनमा १३०० भन्दा धेरै रुसी सैनिक मारिएको जनाएका हुन् ।

उनका अनुसार युक्रेनमा १३५१ रुसी सैनिक मारिएका छन् । त्यस्तै, रुसी आक्रमणमा युक्रेनी सेनातर्फ १४ हजार जनाको मृत्यु भएको उनको दाबी छ ।

त्यसैगरी, रुसी आक्रमणका क्रममा हालसम्म ३ हजार ८ सय २५ जना घाइते भएको उनले बताए । युक्रेनमा मारिएका सैनिकका परिवारलाई राज्यले सहयोग गर्ने समेत आश्वासन दिए ।

यसअघि युक्रेनले एक महिनायता जारी आक्रमणका क्रममा १६ हजार रुसी सैनिक मारिएको दाबी गरेको थियो । युक्रेनमा हालसम्म आधा दर्जनजति वरिष्ठ रुसी सैनिक अधिकारी समेत मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनले रुसलाई २ हजार टन चामल दिने

चीनले गम्भीर आर्थिक सङ्कटमा परेको श्रीलङ्कालाई आपतकालीन सहयोग स्वरुप दुई हजार टन चामल उपलब्ध गराएको जनाएको छ ।

कोलम्बोस्थित चिनियाँ दूतावासले वक्तव्य जारी गर्दै छिमेकी मुलुकको आधारभूत जिम्मेवारी स्वरुप दुई हजार टन चामल उपलब्ध गराइएको जनाएको हो । चीनले श्रीलङ्कालाई उपलब्ध गराएको चामलको मूल्य झण्डै २५ लाख अमेरिकी डलर पर्ने पनि वक्तव्यमा उल्लेख गरिएको छ ।

मुलुकमा आर्थिक संकट उत्पन्न भएपछि विद्यार्थीको परीक्षाका लागि कागज किन्न समेत नसकेको श्रीलङ्काले सहयोगका लागि सबैलाई अनुरोध गरेको थियो । श्रीलङ्काको आग्रहकै आधारमा सहयोग उपलब्ध गराइएको पनि चिनियाँ दूतावासद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

कोरोना भाइरसको महामारी र त्यसपछिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न परिस्थितिका कारण श्रीलङ्का सङ्कटमा परेको श्रीलङ्काली अधिकारीहरूले दाबी गरेका छन् ।

चीन र श्रीलङ्का बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सव चलिरहेकाले दुई देशको सम्बन्ध निकै पुरानो भएकाले पनि चीनले सहयोग गर्ने दूतावासको भनाइ छ ।

चीनले श्रीलङ्कालाई आफ्नो क्षमता अनुसार आर्थिक तथा सामाजिक विकासका लागि अन्य सहयोग पनि निरन्तर गर्ने जनाएको छ ।

अफगानिस्तानमा प्रदर्शन

अफगानिस्तानमा महिलालाई पनि विद्यालयमा अध्ययन अध्यापनको व्यवस्था गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको छ । अफगानिस्तानको राजधानी काबुलमा महिलाहरुले ‘विद्यालय खोल’ भन्ने माग गर्दै शनिबार प्रदर्शन गरेका हुन् ।

विद्यालयमा पढ्न र पढाउन पाउनु आफूहरूको आधारभूत अधिकार भएकाले विद्यालय जान पाउने व्यवस्था गर्नुपर्ने प्रदर्शनकारी महिलाहरूको माग छ ।

अफगानिस्तानमा लडाकु समूह तालिबानले सत्ता कब्जा गरेपछि महिलाहरूलाई अध्ययन अध्यापन तथा रोजगारीलगायतका कार्यमा सहभागी हुन नपाउने घोषणा गरेको थियो ।

सरकारको सो घोषणाप्रति विश्वभरबाट आलोचना भएको थियो भने महिलालाई अध्ययन अध्यापन र रोजगारीमा बञ्चित गर्ने निर्णय सच्याउन दबाब समेत परेको थियो । तर तालिवानी उच्च अधिकारीहरूले भने त्यतिबेला देखि नै केही समयका लागि मात्रै यस्तो व्यवस्था गरिएको र चाडै नै महिलाहरूलाई पनि अध्ययन अध्यापन गर्न दिइने प्रतिवद्धता जनाउदै आएका थिए । 

प्रतिबद्धता अनुसार तालिबान सरकारले गत हप्तादेखि छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो । तर विद्यालय खुला हुनुभन्दा केही घण्टा अगाडि मात्रै सरकारले निर्णय उल्ट्याउदै महिलालाई विद्यालय जान दिने निर्णय रद्द गरेको बताएको थियो ।

यही २३ मार्च देखि छात्रालाई विद्यालय जान दिने निर्णयबाट खुशी भएका महिला तथा अधिकारवादी सबै अहिले फेरि निराश भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

तालिबान अधिकारीहरूको तत्कालीन प्रतिबद्धताका आधारमा कतिपय मुलुक अफगानिस्तान प्रति नरम पनि बन्दै गएका थिए । तर अहिले विद्यालयमा छात्रालाई जान दिने निर्णय कार्यान्वयन नगरेपछि भने विश्वभरबाट चिन्ता र चासो व्यक्त भएको छ ।  

विद्यालय जान पाउनु आफूहरूको आधारभूत मानवअधिकार भएकाले यसलाई राजनीतिक रुपमा लिन नहुने प्रदर्शनकारीहरूको भनाइ छ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ९ : ३९ बजे

महिला टी-२० विश्वकप : इङल्याण्डको लगातार तेस्रो जित

काठमाडौं – आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत इङल्याण्डले स्कटल्याण्डलाई पराजित

चीनमा ग्यास चुहावट हुँदा सात जनाको मृत्यु, चार घाइते

जिनान – पूर्वी चीनको शानडोङ प्रान्तको एक बायोटेक कम्पनीमा शनिबार

डडेल्धुरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय भण्डारी पक्राउ

डडेल्धुरा । डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८

हवाई आक्रमणमा परी कम्तीमा २३ जना सुडानी नागरिको मृत्यु, ४० घाइते

खार्तूम – दक्षिणी खार्तूमको मुख्य बजारमा भएको हवाई आक्रमणमा परी

तनहुँ कारागारमा कैदीबन्दीको उपचारमा समस्या

तनहुँ । तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको उपचारमा समस्या भएको