‘हामी नेपालीमा ट्राफिक नियम पालना गर्ने चेत छैन’ | Khabarhub Khabarhub

‘हामी नेपालीमा ट्राफिक नियम पालना गर्ने चेत छैन’



आधुनिक शहरहरूमा ट्राफिक व्यवस्थापन सबैभन्दा ठूलो चुनौती मानिन्छ । शहरलाई चुस्त, दुरुस्त र चलायमान राख्न सडकको उचित व्यवस्थापन हुनुपर्छ । आवतजावत सहज भएको स्थानमा मात्रै क्रियाशीलता बढ्छ भनिन्छ । तर, यही कुरा विकसित देशको प्रशासनले नै व्यवस्थापन गर्न सकिरहेका छैनन् ।

विश्वमा सबैभन्दा धेरै सडक जाम हुने देश बेलायत हो । बेलायतजस्तो देशमा त सर्वसाधारण घण्टौँ जाममा परिरहेका छन् भने नेपालको सडक व्यवस्थापन अवस्था झनै दयनीय छ । पहिलो त व्यवस्थित सडक नै छैन । दोस्रो– सडक क्षमताभन्दा धेरै सवारीसाधनकाे चापले ट्राफिक प्रहरीलाई आवागमन व्यवस्थापन गर्न हम्मे परिरहेको छ । सडक नियम नमान्नेहरूको जमातले पनि सडक व्यवस्थापनमा कठिनाइ हुने गरेको छ ।

अर्को ठूलो समस्या अफलाइन राइडरहरूको मनोमानीले निम्त्याएको छ । निजी तथा सार्वजनिक यातायातसम्बन्धी नियमकानुन भए पनि राइड शेयरिङ नयाँ सेवा भएकाले नीतिनियम बनिसकेको छैन । यसैको दुरुपयोग गरी हुनेगरेको अफलाइन राइड सेवाग्राहीको सुरक्षा र ट्राफिक व्यवस्थापनमा चुनौती बनिरहेको छ ।

अफलाइन राइडिङ, ट्राफिक व्यवस्थापनका चुनौती, कारबाही तथा जरिवाना लगायत विषयमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन कार्कीसँग गरिएको कुराकानी :

अफलाइन राइडिङमा नागरिक ठगिएको उजुरी कत्तिको आउने गर्छ ?

अहिलेहाल दुईपाङ्ग्रे सवारीसाधन र ट्याक्सीलाई अनलाइन राइड शेयरिङमा प्रयोग गर्ने गरिएको छ । विदेशमा जस्तै नेपालमा पनि यो सेवा विस्तार हुँदैछ ।

पठाओ, टूटल र इन्ड्राइभका नाममा सवारीसाधनहरूले यात्रु बोकिरहेका छन् । तर, यी राइड शेयरिङ प्लेटफर्म नियमन गर्न राज्यका तर्फबाट स्पष्ट नीति बनिसकेको छैन । नीति नबन्दा पनि यी कम्पनीमा धेरै सवारीसाधन दर्ता भएको देखिन्छ ।

नेपालको अधिकांश शहरी सडक साँघुरो छ । त्यसमाथि काठमाडौं उपत्यका देशकै सबैभन्दा धेरै सवारीसाधन गुड्ने क्षेत्र हो । देशभर खटिएकामध्ये आधा ट्राफिक प्रहरी त सवारी व्यवस्थापन निम्ति उपत्यकाका सडकमै छन् ।

ट्राफिकले कसैलाई सम्झाएर त नियम उल्लङ्घन गर्नेलाई जरिवाना नै तिराएर सवारी व्यवस्थापन गरिरहेको छ । हामीले सवारीसाधन प्रयोगकर्ताहरूलाई पनि सवारी अनुशासन पालना गर्न अनुरोध गरिरहेका छौँ ।

‘प्रहरीले लुकेर चेकजाँच गर्यो’ भन्ने कुरा पुरानो कथा हो । अलि पहिले यसबारे धेरै बहस भयो । हामी स्पष्ट छौँ । प्रविधिले सहयोग गर्ने ठाउँहरूमा ‘लुक्यो र लुकेर चेक गर्यो’ भनी आरोप लगाउने अवस्थै छैन । क्यामेरा जडान भएका छन् । ट्राफिक नियम उल्लङ्घन गरेका प्रमाण नै हामीसँग हुन्छन्  

राइड शेयरिङ सेवा प्रदायकहरूले जहाँ मन लाग्छ, त्यहीँ साधन रोकेर बस्ने तथा यात्रु चढाउने काम गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुन्छ । त्यसकारण उनीहरूलाई तोकिएको ठाउँमा रोक्न र ओर्लन आह्वान गर्दा ट्राफिक प्रहरीलाई नै दुस्मनको रूपमा पनि हेरिरहेका हुन्छन् ।

अफलाइन सेवा प्रदायकहरूले कम्पनीलाई कमीसन तिर्नुपर्दैन । कमाइको सबै हिस्सा आफैँले राख्नु नै उनीहरूको स्वार्थ हुन्छ । केही नहुञ्जेलसम्म त समस्या नहोला, तर यस्ता सेवाप्रदायक सबै व्यक्ति राम्रै आचरणका हुन्छन् भन्ने छैन । त्यस्ता व्यक्तिको सेवा लिन पुग्दा सेवाग्राहीलाई भाडामा ठग्नेदेखि कतिपयले गन्तव्यमै नपुर्‍याइदिने सम्मका घटना भएका छन् ।

तर, कानुनभन्दा विपरीतको सेवा प्रयोग गरेकाले प्रयोगकर्ताले ठगिए पनि उजुरी गरेको पाइँदैन । कुनै दुर्घटना भयो भने सेवाप्रदायकले कुनै जिम्मा लिँदैन । अफलाइन राइडमा यात्रुको बीमा पनि हुँदैन । समस्या परेको बेला जिम्मेवारी लिने कोही हुँदैन । केही रकमको लोभमा बीमा र दर्ता नभएको गैरकानुनी सेवा नलिनु नै उत्तम हो ।

अफलाइन राइडिङ कसले चलाइरहेका छन् ?

प्रायः विद्यार्थी, कर्मचारी, शिक्षक तथा बैङ्कर लगायत लगभग सबै क्षेत्रमा आवद्ध मानिसले अफलाइन राइड गरिरहेको पाइएको छ । केही अतिरिक्त कमाइको लागि उनीहरूले यो काम गरिरहेको भेटिन्छ । कसैले एकछिन काम गरेर लागूऔषध तथा दुर्व्यसन गर्न पनि रकम जुटाइरहेको भेटिएको छ ।

यस्ता व्यक्तिले चलाएको सवारीसाधनमा यात्रा गर्दा विभिन्न समस्या निम्तिन सक्छ । सुरक्षाको कुरा पनि जोडिएर आउँछ । लुटपाट भए के गर्ने ? गन्तव्यभन्दा अन्यत्र लगिदिए के गर्ने ? अफलाइनमा कहाँबाट कहाँ गएको, कोसँग गएको या कुन सवारीसाधनमा गएको भन्ने रेकर्ड नै हुँदैन । दर्ता गरेकोमा भने सबै रेकर्ड हुन्छ ।

यस्ता सवारीसाधनमा चढ्दा समस्या आइलाग्यो भने कारबाही अघि बढाउनै जटिल हुन्छ । समस्या निम्त्यिाउनेलाई खोज्नुपर्‍यो भने के गर्ने ? सेवाग्राही र प्रदायक दुबैका हकमा यो समस्या आउन सक्छ । यात्रु पनि सेवा लिइसकेपछि ‘पैसा लिएर आउँछु’ भनी भाग्ने गरेको सुनिन्छ ।

त्यस्तै, सवारीसाधन धेरै भएको अथवा यात्रु उभिने स्टेशनमा जहाँ पायो, त्यहीँ सवारी रोकेर बस्दा अवरोध भएको छ । सवारी आवागमन मिलाउन ट्राफिक प्रहरीलाई नै मुस्किल पर्ने गरेको छ ।

उपत्यकामा पछिल्लो समय दुईतर्फी (टु वे) सडकलाई ट्राफिक प्रहरीले एकतर्फी (वन वे) बनाएको छ, यात्रुहरूले बिना सूचना नै यस्तो गरेर दुःख दिएको भनिरहेका छन्, यस्तो किन भइरहेको छ ?

बिना सूचना त्यस्तो हुँदैन । हामीले आफ्नै मेट्रो एफएम, अनलाइन सञ्चारमाध्यम तथा अन्य सञ्चारमाध्यमहरूबाट सूचना दिएका छौँ । त्यहीँ सडकमै पनि सूचना टाँसिरहेका हुन्छौँ । सडक प्रयोग नगर्न भनेका हरेक ठाउँमा सूचना बोर्ड राखिएको छ । पूर्वसूचना बिना केही गरिएको छैन ।

प्रज्ञा भवन अगाडी बसेर ट्राफिकले चिट काटेको छ भने ट्राफिक कार्यालयमा उजुरी गर्नसमेत अनुरोध छ । कार्यालयले जानकारीको अभावमा त्यो बाटो प्रयोग गरेकालाई जरिवाना लगाउने कुनै निर्णय गरेको छैन  

उदाहरणका लागि प्रज्ञा भवन अघिल्तिरको बाटो ‘वन वे’ भएको गत वर्षको भदौदेखि हो । हामीले प्रशस्त सूचना दिएर ‘वन वे’ बनाएका हौँ ।सूचना प्राप्त नगरेका सवारीधनीले त्यो बाटो प्रयोग गरेका छन् भने पनि चिट काटिएको छैन ।

प्रज्ञा भवन अगाडी बसेर ट्राफिकले चिट काटेको छ भने ट्राफिक कार्यालयमा उजुरी गर्नसमेत अनुरोध छ । कार्यालयले जानकारीको अभावमा त्यो बाटो प्रयोग गरेकालाई जरिवाना लगाउने कुनै निर्णय गरेको छैन । सवारी रोकेर ट्राफिक सोधपुछ गरेको होला, तर जरिवाना लिएको छैन ।

चेकिङको लागि ट्राफिक लुकेर वा ढुकेर बस्ने गरेको भनेर टिकाटिप्पणी आइरहन्छ, यस्तो किन ?

‘प्रहरीले लुकेर चेकजाँच गर्‍याे’ भन्ने कुरा पुरानो कथा हो । अलि पहिले यसबारे धेरै बहस भयो । हामी स्पष्ट छौँ । प्रविधिले सहयोग गर्ने ठाउँहरूमा ‘लुक्यो र लुकेर चेक गर्‍याे’ भनी आरोप लगाउने अवस्थै छैन । क्यामेरा जडान भएका छन् । ट्राफिक नियम उल्लङ्घन गरेका प्रमाण नै हामीसँग हुन्छन् ।

प्रायः हामीले पोर्टेबल क्यामेरा प्रयोग गर्छौं । त्यो क्यामेराले टाढाको सवारीसाधन देखिँदैन । क्यामेरा माउन्ट गर्नै उचाइमा राख्नुपर्छ । उचाइमा राख्न नसक्दा नागरिकलाई हुने अप्ठ्यारोको लागि हामी त्यस्तो ठाउँमा सूचना राखेका हुन्छौँ । ‘निगरानी (सर्भिलेन्स) क्यामेरा जडान गरिएको छ’ वा ‘स्पीड क्यामेराको निगरानीमा हुनुुहन्छ’ भनेर दुवै साइडमा सूचना टाँसिएको हुन्छ ।

सवारीचालकले त्यो कुरा हेरेर हिँड्नुपर्‍यो । पछिल्लो समय यस विषयमा गुनासो गर्ने ठाउँ छैन । ट्राफिक प्रहरी ट्राफिक व्यवस्थापन गर्न जिम्मेवार संस्थाबाट खटिएको कर्मचारी हो । उसले सडकमा नियमन तथा व्यवस्थापनको जिम्मेवारी निर्वाह गरिरहेको हुन्छ । हामीले गाडीहरूमा साना स्टिकर टाँसेका छौँ । सार्वजनिक स्थलहरूमा पनि सवारी अनुशासनसम्बन्धी जानकारीमूलक सामग्री टाँसेका छौँ ।

ट्राफिकको आँखा छल्ने जुन प्रवृत्ति छ – त्यसो हुन नदिन हामीले पछिल्लो समय ‘नो भोइलेसन, नो पेनाल्टी’ को नारासहित काम गरिरहेका छौँ ।

यो निकै सानो अर्थ बोकेको नारा हो । तर, यसको व्यवहारिक पक्ष निकै बृहत छ । गल्ती नगर्ने मान्छेलाई कसले छुन्छ ? आजभन्दा सात महिना अगाडी दैनिक ४५ सय जना कारबाहीमा पर्थे । अहिले त्यो ५० प्रतिशतले घटेको छ ।

कृषि उपजका सामग्री बोकेको सवारीसाधनलाई ट्राफिकले धेरै दुःख दिएको गुनासो छ नि !

ट्राफिकले कसले तरकारी बोकेर हिँडेको छ, कसले लुगाफाटो बोकेर हिँडेको छ, को महँगो सवारीसाधनमा हिँडेको छ, को पुराना र सस्ता सवारीमा हिँडेको छ, त्यो हेर्ने होइन । नियमअनुसार सडकमा को हिँडिरहेको छैन, त्यो हेर्ने हो ।

जति जरिवाना गराउँदा पनि नागरिकमा चेत छैन भने के गर्ने ? ट्राफिकको काम राजस्व जम्मा गर्ने त होइन । बाटोको अवस्था, सवारी चाप वा कुनै पनि आकस्मिक कारणले उल्लङ्घन होला । तर, त्यो सङ्ख्या भन्दा जानाजान लापरबाही गरी सडक अनुशासन उल्लङ्घन गर्नेको सङ्ख्या बढी छ  

सडक नियमले कुन सवारीसाधनले कति सामान बोकेर हिँड्न मिल्छ । त्यो कुराको ट्राफिक चेकजाँच गर्नुपर्छ । ट्राफिको जाँचमा जो–कोही पर्छ ।

यसमा को जनता र को नेता या को सर्वसाधारण र को अति विशिष्ठ भनी छुट्याउने कुरा हुँदैन । सडक नियम वा अनुशासनमाा नबस्ने जो कोही पनि कारबाहीमा पर्छ ।

नागरिकहरूमा सवारी चेतना पहिलेको तुलनामा अहिले कस्तो छ ?

जति पढाए पनि नेपालीहरूमा अझै पनि ट्राफिक नियम उल्लङ्घन गर्नुहुँदैन भन्ने सचेतना छैन । नेता तथा कर्मचारीहरू नै कारबाही परेको देखिराख्नुभएकै छ । जसले आफैँ नियम बनाएका छन्, उनीहरूले नै आफैँ उल्लङ्घन गर्दै हिँडेका छन् ।

सडकमा ट्राफिक नियम उल्लङ्घनमा कमी आएको छैन । कडा नियमन गर्ने हो भने दिनमा पाँच हजार चालक कारबाहीमा पर्छन् । हामी केही लचिलो बन्दा पनि हाल दिनहुँ दुई हजार जना कारबाहीमा परिररहेका छन् ।

यो सङ्ख्या सानो होइन । जति जरिवाना गराउँदा पनि नागरिकमा चेत छैन भने के गर्ने ? ट्राफिकको काम राजस्व जम्मा गर्ने त होइन । बाटोको अवस्था, सवारी चाप वा कुनै पनि आकस्मिक कारणले उल्लङ्घन होला । तर, त्यो सङ्ख्या भन्दा जानाजान लापरबाही गरी सडक अनुशासन उल्लङ्घन गर्नेको सङ्ख्या बढी छ ।

ट्राफिक प्रहरीले गरेको गल्तीबारे पनि हामीले आन्तरिक रूपमा मूल्याङ्कन गर्ने गरेका छौँ ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ७ : ५८ बजे

नुवाकोटको तारुकामा आज गोरु जुधाइ प्रतियोगिता

नुवाकोट– माघे सङ्क्रान्ति पर्वका अवसरमा आज नुवाकोटको तारुका, वेत्रावतीलगायत स्थानमा

थारू संस्कृतिको संरक्षण गर्न महोत्सव आयोजना

मोरङ– मोरङको सुन्दरहरैँचा नगरपालिका–४ मा रहेको थारू सांस्कृतिक सङ्ग्रहालयको आयोजनामा

भाषा, संस्कृति, चाडपर्व र परम्परा हाम्रा पहिचान हुन् : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, धार्मिक एवं सामाजिक

पोखरामा मानसिक अस्पताल स्थापना गर्न पहल

गण्डकी– पोखरामा मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्र निर्माणका लागि पहल सुरु

मगर र छन्त्याल समुदायमा माघे सङ्क्रान्तिको रौनक

म्याग्दी– म्याग्दी जिल्लामा बसोबास गर्ने मगर र छन्त्याल समुदायले माघे