रुपा तालमा माछाको उत्पादन घट्यो « Khabarhub

रुपा तालमा माछाको उत्पादन घट्यो


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कास्कीको रुपा तालमा माछाको उत्पादन घट्दै गएको छ । रुपा ताल पुनः स्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अनुसार गत वर्षको तुलनामा यस वर्ष करिब २० हजार किलोग्राम उत्पादन घटेको हो ।

विगत २४ वर्षदेखि रुपा तालको संरक्षण र पुनः स्थापनामा संलग्न सहकारीले ताल संरक्षणसँगै माछाको संरक्षण र उपयोग गर्दै आएको छ । गत वर्ष सहकारीले विभिन्न जातका ४० हजार ८५ केजी माछा उत्पादन गरेकामा यस वर्ष घटेर २१ हजार ९१० केजी मात्रै उत्पादन भएको हो ।

माछा उत्पादनमा कमी आएसँगै सहकारीको आम्दानीमा पनि ठूलो असर परेको सहकारीका निवर्तमान अध्यक्ष शिवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार गत वर्ष एक करोड ७१ लाख ९७ हजार ६२४ रुपैयाँ बराबरको माछा बिक्री भएकामा यस वर्ष एक करोड आठ लाख ४६ हजार ९६६ रुपैयाँ बराबरको माछा बिक्री भएको छ । 

अघिल्लो वर्षको तुलनामा करिब ६० लाख रुपैयाँको आम्दानी घटेको र यसमा वातावरणीय प्रभाव तथा चराको प्रकोप नै मुख्य कारण रहेको उनको बुझाइ छ ।

रुपा तालमा विशेषतः जाडोको समयमा आउने जलेवा चरा माछा उत्पादनमा कमी आउनुको प्रमुख कारक मानिएको छ । ‘हरेक वर्ष कात्तिकदेखि तीन/चार महिनाको समयमा रुपा तालमा जलेवा चरा आउने गरेका छन् । हरेक याममा १५० देखि २५० को सङ्ख्यामा यी चरा आउने गरेका छन्’, निवर्तमान अध्यक्ष अधिकारीको भनाइ छ । 

जाडो याममा आउने जलेवाको वासस्थान भने पोखराको फेवाताल किनाराको रानीवन हो । रानीवनबाट बिहान ७ः०० बजेतिर समूहमा आउने यी चरा दिनभर रुपा तालमा बसेर बेलुका पुनः रानीवन नै फर्कने गरेका छन् ।

अधिकारीका अनुसार यसरी आउने चराले करिब ९ः०० बजेसम्म माछा खाएर दिनभरि ताल किनाराका रुखका मुडा तथा ठुटामा बस्ने गर्दछन् । 

विगतका वर्षमा असोज/कात्तिकको समयमा मात्र माछाका भुरा छोड्ने गरेकामा जलेवाको प्रकोपलाई दृष्टिगत गरी माघ/फागुनको समयमा पनि भुरा छोड्न थालिएको छ ।

जलेवाले सकेसम्म भुरा माछा नै खाने भएकाले असोज कात्तिकमा केही मात्रामा छोडे पनि पुनः माघ फागुनमा पनि छोड्न थालिएको अधिकारीले जानकारी दिए ।

पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले माछाको सिकार गर्ने जलेवा सानो र ठूलो दुई प्रजातिको हुने र सानो जलेवाले समूहमा आएर साना माछा मात्रै खान सक्ने बताए   ठूलो जलेवाले भने ठूला माछाको पनि आहारा गर्ने गरेको उनले सुनाए । 

पोखरा र आसपासका जलाशयमा गरिएको पन्छी गणनाबाट हालसम्म १०६ प्रजातिका जलचरा अभिलेख गरिएको उनले जानकारी दिए ।

‘हिउँदको समयमा जलचरा विशेषतः साइवेरिया, मङ्गोलियाबाट यस क्षेत्रमा जाडो छल्न आउँछन् । कात्तिकदेखि आउने यी चराहरू माघसम्म यहाँ रहेर पुनः आफ्नै वासस्थान फर्कने गर्दछन्’, अध्यक्ष घिमिरेले बताए । 

जलचराहरू पोखराका फेवाताल, कमलपोखरी तालसहित लेखनाथ क्षेत्रका बेगनास ताल, रुपा ताल, खास्टे ताल, गुँदे ताल, न्युरेनी ताल, मैदी ताल, दिपांग ताल आदिमा जाने गरेको छन् । पोखरा आसपासमा आउने ग्रीष्मकालीन चराहरू भने बच्चा कोरल्नका लागि आउने गरेको छन् । 

ग्रीष्मकालीन समयमा भारतीय उपमहाद्वीपको तल्लो तटीय क्षेत्रबाट गर्मी छल्नका लागि पनि चराहरू आउने गरेको पन्छी समाजले जनाएको छ । 

तालको संरक्षण र उपयोगको लक्ष्यका साथ विसं २०५८ मा ३६ जना अग्रजको पहलमा स्थापना भएको सहकारीले हालसम्म ताल क्षेत्रभित्र बसोबास गर्ने स्थानीय समुदायलाई आर्थिक रूपमा सशक्त बनाउन निरन्तर प्रयास गर्दै आएको छ ।

‘एक घर, एक परिवार–समान सेयर, समान मुनाफा’ को नीतिअनुसार सहकारीले हाल एक हजार ४९ सेयर सदस्य समेट्दै रु चार करोड १८ लाख ४० हजारको सेयर पुँजी सङ्कलन गरिएको छ । रासस

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ४ : १८ बजे

विरोधी वा अन्य नेतालाई गाली गर्नुभन्दा मौन र उपेक्षा ठूलो जवाफ : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीलाई एक ढिक्का

इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्यु : प्रहरी

एजेन्सी– इन्डोनेसियामा साप्ताहिक ‘कार रेस’ का क्रममा एउटा कार नियन्त्रणबाहिर

परीक्षा प्रणालीमा सुधारको माग गर्दै झारखण्डमा विद्यार्थी आन्दोलन

नयाँदिल्ली-भारतको झारखण्डमा सरकारी रोजगारीका लागि सञ्चालन हुने परीक्षामा अनियमितता भएको

फिल्म क्षेत्रमा कति धेरै गतिविधि !

काठमाडौं – प्रदर्शनरत फिल्म ‘गौँथली’ले बक्स अफिसमा २० करोडको आँकडा

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै

एजेन्सी– उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध उल्लङ्घन गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र