आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


२९ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

फिलिपिन्समा आँधीका कारण २५ जनाको मृत्यु

फिलिपिन्समा आँधीपछिको बाढीपहिरोमा परी २५ जनाले ज्यान गुमाएका छन् । ६५ किलोमिटर प्रतिघन्टाको वेगमा आएको मेगी नामक आँधीबाट फिलिपिन्सको पूर्वी तटीय क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको बीबीसीले जनाएको छ ।

शक्तिशाली आँधी आएपछि पूर्वी तटका १३ हजारभन्दा बढी मानिस आश्रयका लागि उच्च क्षेत्रमा भागेका थिए । मंगलबार उद्धार टोलीहरू अझै पनि पूर्वी र दक्षिणी तटहरूमा बिचल्लीमा परेका मानिसहरूलाई बाहिर निकाल्न प्रयास गरिरहेका छन् ।

भीषण वर्षा र हावाले विद्युत आपूर्तिमा अवरोध पुर्‍याउनुका साथै घर तथा मैदान जलमग्न बनाएको बीबीसीले जनाएको छ । उद्धारकर्ताहरू हिलोको दलदलमा हिँडिरहेको र जलमग्न घरहरू भएको क्षेत्रहरूमा पुग्न प्रयास गरिरहेको तस्बिर सामाजिक सञ्जालहरूमा सेयर गरिएका छन् ।

बाढीपहिरोबाट लेटे प्रान्त सबैभन्दा बढी प्रभावित रहेको जनाइएको छ । सो प्रान्तमा अहिलेसम्म २२ शव फेला परेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

‘म रोइरहेको थिए, किनकी त्यहाँ मैले चिनेका मानिसहरू पुरिएका छन् र हाम्रो घर छेउमा पनि पहाड रहेकाले मलाई डर लागेको थियो’, लेटेका एक स्थानीयले समाचार संस्था एएफपीलाई भने ।

लेटेमा २२ जनाबाहेक फिलिपिन्सको दक्षिणमा रहेको डभाओ क्षेत्रमा कम्तीमा तीन जनाको मृत्यु भएको राष्ट्रिय विपद् निकायले जनाएको छ ।

श्रीलंकाले विदेशी ऋण नतिर्ने

चरम आर्थिक संकट र अत्यावश्यक सामानको अभाव खेपिरहेको श्रीलंकाले विदेशी ऋण नतिर्ने घोषणा गरेको छ ।

श्रीलंकाबाट प्रकाशित हुने डेली मिरर अखबारको अनलाइन संस्करणले जनाएअनुसार त्यहाँको अर्थमन्त्रालयले विदेशी ऋण तिर्न नसकिने जानकारी दिएको हो । अर्थमन्त्रालयले विदेशी सरकारसहितका ऋणदाताहरूले श्रीलंकाली रुपैयाँमा भुक्तानी स्वीकार गर्न सक्ने समेत जनाएको छ ।

‘ऋण तिर्न निकै चुनातिपूर्ण र असम्भव हुँदै गएको अवस्था छ ।’ श्रीलंकाली राष्ट्रबैंकका गभर्नर पी नन्दलाल विरसिंघेलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । ‘हामीले वाह्य ऋण तिर्न भन्दा पनि अत्यावश्यक वस्तुको आयातमा ध्यान दिनुपर्नेछ ।’ उनले भने ।

हाल श्रीलंकामा विदेशी मुद्राको चरम अभाव रहेको जनाइएको छ । समाचार संस्था रोयटर्सका अनुसार श्रीलंकामा मार्च महिनाको अन्त्यसम्म विदेशी मुद्राको सञ्चिती १ अर्ब ९३ करोड डलर बराबर छ भने श्रीलंकाले यो वर्षमात्र ४ अर्ब ऋण तिर्नुपर्ने छ ।

श्रीलंकाले ऋण कार्यक्रमका विषयमा अन्तर्राष्ट्रिय मुद्राकोष आईएमएफसँग आगामी साता छलफल गर्ने जनाइएको छ ।

श्रीलंकामा औषधिको चरम आभाव, भयानक अवस्था आउने चिकित्सकको चेतावनी

लोडसेडिङ र जीवन बचाउने औषधिको चरम अभावका कारण श्रीलंकामा ठूलो संख्यामा मानिसहरूको मृत्यु हुन सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन् ।

श्रीलंकाली चिकित्सकहरूको समूह श्रीलंका मेडिकल एसोसिएसन (एसएलएमए) ले श्रीलंकाका हरेक अस्पतालमा आयातित स्वास्थ्य एवम् शल्यक्रिया सामग्रीको चरम अभाव रहेको जनाएको हो ।

त्यहाँ हृदयघातको उपचार गर्ने औषधिहरू र नवजात शिशुहरूलाई सास फेर्न प्रयोग हुने ट्युबहरूको देशव्यापी अभाव रहेको जनाइएको छ ।

एसएलएमएलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएअनुसार स्वास्थ्य सामग्रीको चरम अभावका कारण केही स्वास्थ्य संस्थाहरूले गत महिना देखि नै नियमित शल्यक्रिया स्थगित गरेका छन् ।

लोडसेडिङले श्रीलंकाको ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मीलाई बिरामीको घाउमा टाँका लगाउन समस्या हुनुका साथै अँध्यारोमा सर्पदंशको उपचार गर्न बाध्य बनाएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

त्यहाँ प्रयोगशाला परीक्षणमा पनि कमी आएको छ । औषधि र स्वास्थ्य सामाग्री अभावको विरोधमा चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरू सडकमा उत्रिन थालेका छन् भने कतिपयले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामाको माग गर्दै सडकमा भइरहेका आन्दोलनलाई समर्थन गरेको जनाइएको छ ।

‘श्रीलंकाका सबै अस्पतालहरू ध्वस्त हुने अवस्थामा छन्’, सरकारी मेडिकल अफिसर्स एसोसिएसनका सचिव डा. सेनल फर्नान्डोलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ, ‘अबको दुई हप्तामा अवस्था बिग्रन्छ र अहिले नै काम नगरे मानिस मर्न थाल्छन् ।’ 

औषधि अभावकै कारण बिरामीको मृत्युले ‘अस्पतालहरूमा दंगा’ हुन सक्ने उनले चेतावनी दिएका छन् । सरकार सङ्कटप्रति गम्भीर हुन र पारदर्शी बन्न असफल भएको उनले बताए ।

रुसमाथि युक्रेनमा रासायनिक हतियार प्रयोग गरेको आरोप

युक्रेनमा सैनिक आक्रमणलाई जारी राखेको रुसमाथि रासायनिक हतियार प्रयोग गरेको आरोप लागेको छ । युक्रेनकी उप रक्षामन्त्री हाना मलायरले चौतर्फी घेराबन्दीमा परेको मारिउपोल शहरमा रुसले रासायनिक हतियार प्रयोग गरेको विषयमा जाँचबुझ अघि बढाइएको बताएकी हुन् ।

‘फस्फोरसबाट आक्रमण भएको हुनसक्ने सम्भावना छ ।’ मलायरलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । उनले रुसी फौजबाट भएको भनिएको रासायनिक आक्रमणको अपुष्ट दाबीको युक्रेन सरकारले जाँच गरिरहेको जानकारी दिइन् ।

यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने बताएका थिए ।

रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको मारिउपोल शहरको एजोभ्स्टल औद्योगिक क्षेत्रमा रुसी र युक्रेनी सेनाबीच भीषण लडाई भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यता युक्रेनका साझेदारहरू अमेरिका र बेलायत रासायनिक हतियार प्रयोग भएको भन्ने विवरणको पुष्टि गर्ने प्रयासमा रहेको रोयटर्सले जनाएको छ ।

रासायनिक हतियारबारे सन् १९९७ को अभिसन्धिअनुसार रासायनिक हतियारको उत्पादन, प्रयोग र भण्डारण गर्न बन्देज छ । यद्यपि रुसले मारिउपोलमा प्रयोग गरेको भनिएको सेतो फस्फोरस भने यो अभिसन्धिले प्रतिबन्ध लगाएका रासायनिक हतियारको सूचीमा समावेश छैन ।

यसबारे रुसी रक्षा मन्त्रालयबाट कुनै टिप्पणी नआएको जनाइएको छ । यद्यपि रुसको इन्टरफ्याक्स समाचार संस्थाका अनुसार पूर्वी युक्रेनमा रुस समर्थित पृथकतावादी समूहले भने कुनै किसिमको रासायनिक हतियार प्रयोग नगरेको दाबी गरेका छन् ।

नोकियाले पनि रुसमा व्यापार बन्द गर्ने

फिनल्याण्डको टेलिकम सामग्री निर्माता कम्पनी नोकियाले पनि रुसमा आफ्नो व्यापार बन्द गर्ने घोषणा गरेको छ ।

नोकियाका प्रमुख कार्यकारी पेक्का लण्डमार्कलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएअनुसार कम्पनीले रुसी बजारबाट बाहिरिने निर्णय लिएको छ ।

‘वर्तमान अवस्थामा त्यस देशमा निरन्तरता दिन हामीले कुनै सम्भावना देखेका छैनौँ ।’ लण्डमार्कलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

उनका अनुसार रुसी बजारबाट बाहिरिएपनि आफ्ना ग्राहकहरूलाई नोकियाले सेवा भने प्रदान गरिरहनेछ । गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि सयौँ विदेशी कम्पनीले रुसी बजारमा व्यापार बन्द गरेका बेला नोकियाले यस्तो निर्णय गरेको हो ।

यसअघि गत नोभेम्बर महिनामा नोकियाले रुसको याडरो समूहसँग मिलेर त्यहाँ फोरजी र फाइभजीका लागि आधार केन्द्र बनाउने घोषणा गरेको थियो । रोयटर्सका अनुसार नोकियाले यस परियोजनाबाट पनि हात झिकेको छ ।

रुसबाट बाहिरिने नोकियाको घोषणाले २ हजार कामदार प्रभावित हुने जनाइएको छ । यद्यपि प्रमुख कार्यकारी लण्डमार्कले यिमध्ये केहीलाई विश्वका अरु ठाउँमा पनि कामको अवसर दिइने छ ।

आफ्ना नागरिकलाई रुसले नियन्त्रणमा लिएको युक्रेनी दाबी

युक्रेनले केही मानिसहरूलाई आफ्नो भूभागमा नियन्त्रणमा राखेको युक्रेनले दाबी गरेको छ । रुसले सर्वसाधारण नागरिक, पत्रकार, कार्यकर्ता र निर्वाचित अधिकारीहरूलाई आफ्नो भूभागमा नियन्त्रणमा राखेको युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेसचुकले बताइन् ।

‘धेरै पादरीहरू, पत्रकारहरू, कार्यकर्ताहरू, मेयरहरू, र सामान्य नागरिकहरू नियन्त्रणमा छन् । उनीहरू युक्रेनको भूभागमा मात्र होइन  कुर्स्क, ब्रायनस्क, रोस्तोभजस्ता रुसी भूभागमा जबरजस्ती राखिएको छ’, भेरेश्चुकले भनिन् ।

युक्रेन हमलामा सर्वसाधारण नागरिकलाई निशाना नबनाएको रुसले बारम्बार दाबी गर्दै आएको छ । तर, ती दाबीमा कुनै सत्यता नभएको युक्रेनले बताउँदै आएको छ । पछिल्लो समयमा रुसले पूर्वी युक्रेनलाई निशाना बनाएको छ । पूर्वीयुक्रेनको दोनबासलगायतका क्षेत्रमा आक्रमण गरेपछि त्यहाँबाट ठुलो संख्यामा सर्वसाधारण पलायन भएका छन् ।

युक्रेनमा भएका महिला हिंसाको छानबिन गर्न संयुक्त राष्ट्रसंघको आह्वान

राष्ट्रसंघले युक्रेनमा महिलाविरुद्ध भइरहेका हिंसा छानबिन गर्न आह्वान गरेको छ । युक्रेनमा रुसी हिंसा रोक्न तथा बालबालिकाहरुको रक्षा गर्न राष्ट्रसंघका उच्च अधिकारीहरूले आह्वान गरेका हुन्।

‘यो युद्ध अब रोकिनुपर्छ’ लैंगिक समानता र महिला सशक्तिकरणका लागि राष्ट्रसंघकी निर्देशक सिमा बाहोउसले सुरक्षा परिषद्को बैठकमा भनिन् ।

युक्रेनमा रुसी सेनाले महिलालाई बलात्कार गरेका विवरणहरू सार्वजनिक भइरहेका बेला राष्ट्रसंघले महिलाहिंसा छानबिनका लागि आह्वान गरेको हो । केही साताअघि एक रुसी सेनाले युक्रेनी पुरुषको हत्या गरेर उनकी श्रीमतीलाई बलात्कार गरेको समाचार सार्वजनिक भएको थियो ।

‘हामीले बलात्कार र यौन हिंसाका घटनाहरू बढ्दो रूपमा सुनिरहेका छौँ । न्याय र जबाफदेहिता सुनिश्चित गर्न यी आरोपहरूको स्वतन्त्र रूपमा छानबिन हुनुपर्छ’, उनले भनिन् ।

युक्रेनी नागरिकलाई रुसी सेनाले पाशविक व्यवहार गरेको हालै युद्धग्रस्त क्षेत्रको यात्रा गरेर फर्किएकी बाहौसले बताइन् । युद्धमा भएका हिंसा र गैर नागरिकको हत्या छानबिन गर्न रुस सहमत हुन्छ वा हुँदैन भन्नेबारेमा प्रष्ट भइसकेको छैन ।

रुसले सोमबार सुरक्षा परिषद्का सदस्यहरूले लगाएका आरोपहरू फेरि अस्वीकार गरेको छ । रुसी हमलाको जोखिममा सबैभन्दा बढी बालबालिका र महिलाहरू परेको राष्ट्रसंघीय बाल कोष यूनिसेफले जनाएको छ । युद्धका कारण लाखौँ बालबालिकाहरू युक्रेनबाट आन्तरिक र बाह्य रूपमा विस्थापित भएका छन् ।

त्यस्तै, लाखौँ बालबालिका पर्याप्त खानाबाट वञ्चित भएको पनि यूनिसेफको भनाइ छ ।

नवनिर्वाचित पाकिस्तानी प्रधानमन्त्रीलाई मोदीको बधाई

नवनिर्वाचित पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत् मोदीले पाकिस्तानको नयाँ प्रधानमन्त्री बनेकोमा शहबाजलाई बधाई दिएका हुन् ।

उनले भारतले यस क्षेत्रमा आतंक रहित शान्ति र स्थायित्व चाहेको बताउँदै यसले विकासका चुनौतीमा ध्यान केन्द्रित गर्न र जनतालाई सुख समृद्धिको प्रत्याभूत गर्न मद्दत पुग्ने टिप्पणी गरेका छन् ।

‘म महामहिम मियाँ मुहम्मद शहबाज शरिफलाई पाकिस्तानको नयाँ प्रधानमन्त्री निर्वाचित भएकोमा बधाइ दिन चाहन्छु ।’ उनको ट्विटमा उल्लेख छ, ‘भारतले यस क्षेत्रमा आतंक रहित शान्ति र स्थायित्व चाहेको छ ता कि हामी हाम्रा विकासको चुनौतीमा ध्यान केन्द्रित गर्न सकौँ र हाम्रा जनताको सुख र समृद्धि प्रत्याभूत होस् ।’

रुसबाट तेलको आपूर्ति बढाउँदा भारतको हित हुँदैन – अमेरिका

रुसबाट तेलको आपूर्ति बढाउँदा भारतको हित नहुने अमेरिकाले टिप्पणी गरेको छ । दुई मुलुकका सरकार प्रमुखबीच भएको संवादका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुसी तेलको आपूर्ति परिमाण बढाउनु भारतको हितमा नभएको बताएका हुन् ।

राष्ट्रपति बाइडेनले रुसबाट तेलको आपूर्ति कटौती गरेको खण्डमा उर्जा विविधीकरणका लागि भारतलाई सहयोग गर्न अमेरिका तयार रहेको समेत आश्वासन दिएको ह्वाइट हाउसले जनाएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले सोमबार यसबारे जानकारी दिँदै भनिन्– ‘तेल आयातको माध्यमको विविधीकरण गर्नका लागि सहयोग गर्न हामी तयार छौँ भनेर राष्ट्रपतिले सन्देश दिनु भएको छ ।’

अमेरिकाबाट भारततर्फ हुने आयात अहिले पनि उल्लेखनीय छ, रुसबाट हुने आयात भन्दा निकै धेरै ।’ उनले भनिन्, ‘यो बढाउनु भारतको हितमा नरहेको राष्ट्रपतिले टिप्पणी गर्नुभएको छ ।’

अमेरिकाले भारतलाई रुसी अर्थतन्त्रमा थप दबाब बढाउनका लागि रुसबाट आयात घटाएर सहयोग गर्न आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ९ : ३४ बजे

लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण

काठमाडौं– चालु आर्थिक वर्षमा दुई खर्ब १७ अर्ब रुपैयाँ बाह्य ऋण

एसिसी यु-१६ इस्ट कप : नेपालद्वारा सिंगापुर ६ विकेटले पराजित

काठमाडौं– एसीसी मेन्स यु-१६ क्रिकेट इस्ट कपको पहिलो खेलमा नेपालले

‘ओ एण्ड एम’ सर्वेक्षणमा अस्पताल व्यवस्थापकलाई नराखेको विरोधमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सरकारले २० वर्षपछि प्रस्ताव गरेको संगठन तथा व्यवस्थापन (ओ

जब सभामुखले बोलिरहेका अमरेशलाई रोष्ट्रम छाडेर जान भने…

काठमाडौं– स्वतन्त्र सांसद अमेरश कुमार सिंहले आर्थिक वर्ष २०८२/०८३ को

कालो ब्यानरमा ‘टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

काठमाडौं– सरकारले बजेटमा ल्याएको विद्युत् खरिदमा ‘टेक एण्डे पे‘लिउ र