काठमाडौं– सुनसरीको धरान उपमहानगरपालिकामा फैलिएको डेंगु अझै नियन्त्रण हुन सकेको छैन । बैशाख अन्तिम सातादेखि देखिन थालेको संक्रमणले अहिले प्रकोपको रुप नै लिएको छ ।
संक्रणम शुरु भएको एक महिना पुग्न लाग्दा बिरामीको संख्या बढ्दै गएको छन् । बैशाख २९ गते ३ जनामा देखिएको डेंगुको संक्रमण हाल २ सय ४० जनामा फेला परेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ सय जना र अन्य अस्पतालहरुमा ४० जनामा डेंगुको संक्रमण भएको भेटिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य संयोजक रामबाबु यादवले बताए ।
महानगरपालिकाले रोगीको उपचार र रोग नियन्त्रणको लागि जेठ १५ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर विजय खनालको संयोजकत्वमा र्यापिट रेस्पोन्स टिम गठन गरी रोग नियन्त्रणको प्रयास गरिरहेको यादवले बताए । डेंगु नियन्त्रणको प्रयास गरिरहेको भएपनि रोग नियन्त्रणमा आउन नसकेको उपमहानगरपालिकाका स्वास्थ्य संयोजक यादवले बताए ।
‘बैशाख २९ गते ३ जनामा डेंगु देखिएपछि हामीले ३० गते जानकारी पायौं, उपमहानगरपालिकाले जानरकारी पाएदेखि नै रोग नियन्त्रणको लागि जनचेतनामूलक कार्यक्रमहरु गरिरहेका छौं,’ यादवले खबरहबसँग भने, ‘तर लामखुट्टेका लार्भाहरु अझै नष्ट नभइसक्दा रोग नियन्त्रणमा आउन सकेको छैन ।’
धरानमा खुल्ला रुपमा राखिएको पानी भर्ने ड्रम तथा प्लास्टिकको गमलाका कारण डेंगु सार्ने लामखुट्टे बढ्दै गएको यादवको भनाइ छ ।
डा यादवका अनुसार धरान उपमहानगरपालिकाको ८,९ ,१० र १५ नम्बर वडाहरुमा डेंगुको संक्रमण बढी छ । उक्त क्षेत्रका स्थानीय डेंगुको जोखिममा रहेको र बिरामीको संख्या अझै बढ्न सक्ने यादवले बताए ।
‘हामीले रोग नियन्त्रणको प्रयास गरिरहेको भएपनि रोग नियन्त्रणमा आएको छैन, उपमहानगरभित्रका झण्डै २ लाख जनता अहिले डेंगु रोगको जोखिममा छन्,’ यादवले भने, ‘रोगीको संख्या अझै बढ्न सक्ने देखिन्छ ।’
धरानको डेंगु नियन्त्रणको लागि स्वास्थ्य सेवा विभाग तथा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखका चिकित्सकसहितको टोली समेत प्रभावित क्षेत्रमा पुगेको थियो ।
के हो डंगु ?
डेंगु एक प्रकारको भाइसर हो । इडिस एनिप्टाई जातको संक्रमित पोथी लामखुट्टेको कोटाइबाट डेंगुको संक्रमण हुने गर्छ ।
डेंगुका लक्षण
– अत्याधिक ज्वरो आउँने,
–आँखा दुख्ने,
–टाउँको दुख्ने,
–मांसपेशी तथा जोर्नीहरु दुख्ने,
–शरीरमा विविराहरु आउने,
डेंगुको संक्रमणबाट यसरी बच्नुस्
–लामखुट्टे बस्ने वातवरण नबनाउने,
–घर वरिपरिका खाल्डाखुल्डी पुर्ने,
–घर बाहिर निस्किँदा शरीर ढाक्ने कपडा लगाउने,
–लामखुट्टेले नटोक्ने क्रिमको प्रयोग गर्ने,
–झुलको प्रयोग गर्ने,
–घरमा बाल्टिन तथा भाडाहरुमा राखेको पानी छोपेर राख्ने,
–गाडीका पुराना टायरहरु व्यवस्थापनमा ध्यान दिने ।
केन्द्र र स्थानीय तहबीच समन्वय नहुँदा रोग नियन्त्रणमा समस्या
यता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले केन्द्र सरकार र स्थानीय तहबीच समन्वय नहुँदा स्थानीय तहमा फैलिएको रोग समय मै नियन्त्रणमा आउन नसकेको जनाएको छ ।
संघीय सरकार गठन हुनुअघि जिल्लाहरुमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयहरु मार्फत गठन भएको र्यापिट रेस्पोन्स टिमले केन्द्रसँग समन्वय गरी रोग नियन्त्रणको प्रयास थालिन्थ्यो । संघीय सरकार बनेपछि सरकारले विपद न्यूनीकरण तथा व्यवस्थापन ऐन तथा नियमावली बनाएको छ । उक्त ऐन तथा नियमावलीमा प्रत्येक स्थानीय तहमा हुने रोग, प्रकोप तथा महामारीको न्यूनीकरणका लागि विपद व्यवस्थापन प्राधिकरण बनाउने उल्लेख गरिएको छ ।
तर, रोग तथा महामारी नियन्त्रणको लागि प्राधिकरण स्थापना भएको छैन । जसका कारण पनि स्थानीय तहहरुमा देखिने रोग नियन्त्रण गर्न समस्या भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा विवेककुमार लालले बताए ।
‘गृह मन्त्रालयमार्फत नै विपद व्यवस्थापन प्राधिकरण गठन गर्ने भनिए पनि अहिलेसम्म त्यो गठन भएको छैन, स्थानीय तहमा रोग तथा प्रकोप फैलिएमा केन्द्रले के गर्ने भन्ने विषयमा प्रष्ट कानुन छैन,’ डा. लालले खबरहबसँग् भने, ‘त्यसैले स्थानीय तहमा हुने रोग प्रकोपको विषयमा अहिले इपिडिमियोलोजीमा समयमा सूचना आउँदैन, नीतिगत समस्याका कारण स्थानीय तहमा हुने प्रकोप समयमै नियन्त्रण गर्न सकिएको छैन ।’
प्रतिक्रिया