दाङ– दाङमा स्थानीय तह निर्वाचनका लागि साढे ६ हजार जनशक्ति परिचालन हुने भएको छ ।
निर्वाचना कार्यालयका अनुसार कर्मचारी र सुरक्षाकर्मी गरी साढे ६ हजार जनशक्ति परिचालन हुने भएको हो ।
३ हजार ६ सय ८८ जना कर्मचारी र ३ हजार सुरक्षाकर्मी गरी ६ हजार ६ सय ८८ जना जनशक्ति निर्वाचनमा खटिने भएका हुन् ।
लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका अनुसार ४ सय ८१ मतदान केन्द्रका प्रत्येक मतदान केन्द्रमा ८ जनाको दरले कर्मचारी खटिने छन् । एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य तीन जना कर्मचारी र ३ जना स्वयसेवक परिचालन हुने कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।
निर्वाचनका लागि निजमाती कर्मचारी, शिक्षकहरू परिचालन हुँदै छन् । त्यस्तै नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी गरी ३ हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
थप सुरक्षाकर्मीसमेत तयारी अवस्थामा राखिने र आवश्यक पर्ने ठाउँमा तत्काल परिचालन गरिने योजनासहित सुरक्षा योजना तयार पारिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । यसैगरी, नेपाली सेनाले बम डिस्पोजल टोलीलाई समेत तयारी अवस्थामा राखिने छ ।
निर्वाचन सुरक्षा कार्य योजना बनाएर निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन आवश्यक सबै तयारी पूरा गरेर सुरक्षाकर्मी परिचालन गरिएको दाङमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
दाङमा ४ लाख ९ हजार ९ सय २ जना मतदाता रहेका छन् भने मतदान स्थल १ सय ५३ वटा र केन्द्र ४ सय ६१ निर्धारण भएको छ । मतदातालाई मतदाता परिचय पत्र वैशाख २८ र २९ गते सम्बन्धित मतदानस्थलबाट वितरण गरिने छ । सोही दिन नै मतदाता शिक्षासमेत चलाइने निर्वाचन कार्यालयको तयारी छ ।
प्रतिक्रिया