काठमाडौँ– निर्देशक एसएस राजामौली निर्देशित ‘आरआरआर’ ले बक्स अफिसमा त कमाई गर्यो नै समीक्षा पनि राम्रो पायो ।
‘आरआरआर’ को सफलता पश्चात निर्देशक राजमौलीले के गर्छन त ? यो जिज्ञासा सबैलाई छ । बाहुबली, बाहुबली २ र आरआरआरमा पिरियड ड्रामाको कथा देखाएका निर्देशक राजमौलीले अब ट्रयाक चेञ्ज गर्ने योजना बनाएका छन् । बलिउड हंगामाको रिपोर्ट अनुसार निर्देशक राजमौलीले अबको प्रोजेक्ट महेश बाबुसँग गर्दैछन् ।
महेश बाबुले एक्लै हिरो हुने फिल्ममा मात्र अभिनय गर्ने भएकाले बाहुबली सिरिज र आरआरआरमा निर्देशक राजमौलीसँग सहकार्य हुन सकेको थिएन । यसपटक राजमौलीले पनि पिरियड ड्रामालाई छाडेर एडभेन्चर थ्रिलर जनरको फिल्म गर्ने भएका छन् । अहिलेकै कथामा आधारित हुने फिल्ममा महेश बाबुको अभिनय रहने भएता पनि बजेट र प्रोजेक्ट बारे थप खुलाइएको छैन । फिल्मको स्क्रिप्टमा निर्देशक राजमौलीसहित उनको टिमले काम गरिरहेको छ ।
कथालाई पटकथाको स्वरूप दिने काममा निर्देशक राजमौलीसँगै उनका पिता विजयेन्द्र प्रसाद लागिरहेका छन् । फिल्मको स्क्रिप्ट ‘लक्ड’ भएमा आउँदो जुलाईबाट छायांकनमा लाने तयारी समेत टिमको छ । पछिल्लो समय ‘आरआरआर’ रिलिजले गर्दा प्रि- प्रोडक्सनको काम केही समय रोकिएको थियो । यद्यपि अब यसले पूर्ण रुपमा सुचारु हुने मौका पाएको छ ।
फिल्ममा बलिउडका हिरोइनहरु समेत रहने छैनन् । ‘फिल्मलाई तामिल र तेलुगु दर्शकलाई लक्षित गरेर तयार गरिनेछ । किनकी यो इन्डिया भर चलाउने उद्देश्यले तयार गरिदै छैन । फिल्ममा अभिनेत्री भूमिका पनि त्यति महत्वपूर्ण छैन’ फिल्मसँग जोडिएका एक सदस्यलाई उदृत गर्दै बलिउड हंगामाले लेखेको छ ।
फिल्म आउँदो वर्ष नै दर्शकले हेर्न पाउने समेत जनाइएको छ ।
प्रतिक्रिया