'हेर्न लायक भक्तपुर बनाउन अगाडि बढिरहेका छौँ' | Khabarhub Khabarhub

‘हेर्न लायक भक्तपुर बनाउन अगाडि बढिरहेका छौँ’

'नागरिकले आफ्नो कर्तव्य नबिर्सिदिनूहोला'



काठमाडौँ – संघीयता कार्यान्वयनको पहिलो कार्यकाल सकिदा सबै पालिकाहरूले अब दोस्रो कार्यकालका लागि नयाँ प्रतिनिधि पाएका छन् । स्थानीय तहका ७५३ पालिकामा नतिजा आएसँगै जनप्रतिनिधीहरु सेवामा लागिसकेका छन् । देशकै सबैभन्दा पुरानो नगरपालिकामध्येको एक भक्तपुर नगरपालिकाको प्रमुखमा नेपाल मजदुर किसान पार्टीका सुनील प्रजापति दोहोरिएका छन् । उनको इमान्दारिता र भक्तपुरका नेवार समुदायमा परिचित सुनील प्रजापतिसँग दोस्रो कार्यकलाको योजना तथा एजेन्डाका विषयमा खबरहबका लागी लक्ष्मण फुयालले गरेको कुराकानीको सारसंक्षेप :

भक्तपुर नगरपालिकाको मेयरमा फेरि निर्वाचित हुनुभएकोमा बधाई । अघिल्लो कार्यकालमा पूरा गर्न नसकेको कुन कामलाई पहिलो प्राथमिकतामा राख्नुभएको छ ?
धन्यवाद तपाईँलाई पनि । अहिले जनताको समस्या खानेपानीको छ । हामीले पहिलो कार्यकालमै मेलम्चीको पानी ल्याउने निकै प्रयास गरेका थियौँ । खानेपानी बोर्डमा, केयुकेल बैठकमा बारम्बार कुरा उठाएका थियौँ । अहिले कटुन्जेमा ८० लाख लिटर अट्ने पानी ट्याङ्की तयार भएको छ । त्यति हुँदा पनि भक्तपुरका जनताले मेलम्चीको पानी पाउन सकिरहेको स्थिति छैन । जेठको ६ गते हामीले शपथग्रहण गर्‍यौँ। शपथग्रहण गरे लगतै केयुकेलका प्रमुख, खानेपानी बोर्डका डाइरेक्टर भक्तपुरका खानेपानी प्रमुख, सिडियो लगायत एसपी सबै व्यक्तिहरूलाई खबर गर्‍यौ । तत्कालै उनीहरूलाई भक्तपुरका जनतालाई खानेपानीको व्यवस्था मिलाउन भनेका छौँ ।

तर विविध कारणले पानी आउन सम्भव नभएको भन्नुभएको थियो । तर हामीले खानेपानीका प्रमुख केयुकेयलका प्रमुखसहित कटुन्जेमा हेर्न गएका थियौँ । जहाँ समस्या छ, त्यहाँ तुरुन्त मर्मत गर्ने पाइप फेर्ने जे गर्नु पर्ने भन्दै खानेपानीको प्रमुख केयुकेयलका प्रमुखलाई फोन मार्फत भनेका थियौँ । उहाँहरुले त्यही केही दिन भित्र सम्पन्न गर्दिने आश्वासन दिनुभएको छ । त्यस ठाउँमा समस्या रहेछ यसलाई चेन्ज गर्ने पानी तर उहाँहरूले त्यति पनि चासो गर्नुभएको रहेनछ । हामीले हेरेर यसमा मर्मत गर्ने काम सुरु भैसकेको छ । खानेपानी आउने प्रक्रिया सुरु भैसकेको छ । भक्तपुर नगरपालिकाको पहिलो प्राथमिकता भनेको भक्तपुर बासीहरुले राम्रो खानेपानीको प्रबन्ध गर्ने नै हो । जति पुग्छ त्यसलाई व्यवस्थापन गर्छौ । नपुगेको ठाउँमा अन्य स्रोतमार्फत बोरिङ मार्फत अन्य ठाउँबाट आपूर्ति गर्ने व्यवस्था मिलाउँछौँ ।

भक्तपुर नगरपालिका समग्र सांस्कृतिक तथा सम्पदाहरूले भरिएको क्षेत्र हो । यो क्षेत्रको सांस्कृतिक सम्पदाहरूको विकास गर्ने कस्तो योजना बनाउनुभएको छ ?
२०७२ सालको भूकम्पले धेरै सम्पदाहरूमा क्षति भएको थियो । हामीले १२४ ओटा सम्पदाहरू बनाइसकेका छौँ वा पुन निर्माण गरिसकेका छौँ । थुप्रै अन्य ठुला सम्पदाहरू साना सम्पदाहरू बनाउन बाँकी नै छ । त्यसमध्यमा भक्तपुरको भाज्या पुखु निर्माणाधीन अवस्थामा छ । त्यो पनि छिटोभन्दा छिटो सम्पन्न गर्छौ । इखालाछी मठ त्यो ठुलो छ । निर्माणाधीन रहेको छ । त्यो पनि यो कार्यकालमा हामी त्यसलाई सम्पन्न गर्छौ । लक्ष्मीनरसिंह मन्दिर लगायत अन्य थुप्रै सम्पदाहरु सम्पन्न गर्छौ । जो निर्माणाधीन अवस्थामा छन् ती सबैको सम्पन्न गर्नेछौँ।

पुन निर्माण गर्छौ । दरबार स्वायर चोकमा रहेको ९९ चोकलाई कसरी संरक्षण गर्ने सोचमा हामी छौँ । यसलाई संरक्षण गर्न हाम्रो ध्यान जानेछ । त्यसलाई उत्पन्न संरक्षण गर्ने ध्यान जानेछ । दरबार क्षेत्रमा टेको लगाइराखेको न्हयंक झ्या दरवार मल्लकालीन शैलीमा पुन निर्माण कार्य अगाडि बढाउने छौँ । अन्य विभिन्न सम्पदाहरू छन् तिनीहरूलाई क्रमशः बनाउँदै लैजानेछौँ । निर्माण हुन बाँकी रहेका ९९ चोक, जगन्नाथ क्षेत्र उत्खनन र पुन निर्माण अगाडि बढाउँछौ । समय धेरै लाग्न सक्छ । त्यो प्रक्रिया बिस्तारै अगाडि बढाउँछौ । भक्तपुरलाई सांस्कृतिक नगरको रूपमा पहिचान दिने वातावरण बनाउँछौ ।

भक्तपुर नगरपालिकाको समग्र शिक्षालाई कसरी अगाडि बढाउनुहुन्छ ?
मावि तह र उच्च शिक्षा तह गरी शिक्षा दुई किसिमका छन् । मावि तहसम्म एकल अधिकार हुने नगरपालिका या पालिकाहरुलाई छ । तर नेपाल सरकारले यसमा अलिकति कानुन विपरीतको सम्झौता गरेको हामीले पाएका छौँ । शिक्षा मन्त्रीजीले व्यापक जनताको हितमा शिक्षालाई ल्याउन खोजिरहेको छैन । उदाहरण भक्तपुर नगरपालिकामा नै छ । हामीले २०६० सालदेखि निरन्तर रूपमा नर्सिङ कलेज सञ्चालन गर्दै आएकोमा नर्सिङ कक्षा नै बन्द गर्दिनुभयो । उहाँहरूले भन्नुभयो तपाईँहरूको आफ्नो १०० बेडको अस्पताल छैन । तपाईँहरूले भर्ना लिन पाउनुहुन्न भन्नुभयो । यो वर्ष ख्वप बहु प्राविधिक कलेजमा ४० जना भाइ बहिनीहरूले पढ्न पाउनु भएन । कैयौँ विद्यार्थीहरुले पढ्न नपाउनु राज्यको राम्रो कदम होइन ।

हामीले जुन हिसाबले शिक्षालाई जोड दिइरहेका छौँ । सामुदायिक शिक्षा र निजी क्षेत्रको शिक्षाबीच कुनै भेद नहुने गरी स्तर विकास गरिरहेका छौँ । कुनै पनि सामुदायिक विद्यालय निजीभन्दा कमजोर छैन भन्न सक्ने स्थितिमा पुराउनको निम्ति विभिन्न शिक्षकहरुलाई तालिमहरु दिने छौ । शिक्षकहरुको हेरफेर गर्ने छौँ । हाम्रो सामुदायिक विद्यालयहरु बिस्तारै माथि उठ्दैछन् । केही विद्यालयहरूमा सुधार गर्न आवश्यक छ । यसमा हाम्रो ध्यान जाने छ । विभिन्न आधारभूत विद्यालयहरूमा कार्यकाल सकिन लाग्दा आर्थिक अनुदान दिएका थियौँ । पढाईकन साथ साथै भौतिक संरचना राम्रो बनाउन आर्थिक अनुदान दिएका छौँ । शौचालय पुस्तकालय बनाउन सहयोग गरेका छौँ । अन्य विभिन्न सुधारको निम्ति नियमित रुपमा प्रयोगशाला बनाउन अनुदान दिदै आइरहेका छौँ । सबैले समान शिक्षा पाउन सकुन् भनेर शिक्षालाई जोड दिएका छौँ ।

गरिबहरूले उच्च शिक्षामा पढ्नको निम्ति छात्रवृत्तिको बन्दोबस्त गरेका छौँ । करोडौँ रुपैयाँ दिएका छौँ । उच्च शिक्षाको निम्ति प्रतिव्यक्ति ५ लाखको शैक्षिक ऋणको व्यवस्था गरेका छौँ । त्यसमा ३१४ जना विद्यार्थीहरू पढिरहेका छन् । विभिन्न विषयहरूमा पढ्न पूर्ण छात्रवृत्तिको व्यवस्था गरेका छौँ । शिक्षामा धरै नै भक्तपुर नगरपालिकाको लगानी छ । यो समाज परिवर्तनको निम्ति हो । हाम्रो व्यक्तिगत पैसा लगानी गरेको होइन जनताले तिरेको करबाट जनतालाई उच्च शिक्षा प्रदान गर्ने हिसाबमा सोचिरहेका छौँ । धेरै जनताहरू खुसी हुनुहुन्छ । अभिभावकहरू पनि खुसी हुनुहुन्छ । हामी पढाउनेहरूलाई पनि आनन्द लाग्छ । वास्तवमा गरिब जनताको सेवा गर्ने वास्तविक रूप यसरी नै हो । यसरी सेवा गर्न सक्यौ भने समाज परिवर्तन गर्न गाह्रो छैन । पहिलो शिक्षा हो । शिक्षाले समाजलाई बदल्छ । संसारलाई बदल्छ । शिक्षामा नै हाम्रो जोड छ ।

तपाईँहरूले शिक्षामा जोड दिने बताउँदै गर्दा ख्वप विश्वविद्यालय अब कसरी सञ्चालन गर्नुहुन्छ ?
ख्वप विश्वविद्यालय भनेर हामी धेरै बोली सकेका छौँ । ठाउँ ठाउँमा मन्त्रीहरू तथा प्रधानमन्त्री भेटेका छौँ । विधेयक तयार गरेर शिक्षा मन्त्रीदेखि सांसदहरूको हात हातमा पुगिसकेको छ । यसलाई उहाँहरूले पेस गरिदिनुभएन । हाम्रो भन्दा पछाडि आएका विश्वविद्यालयहरूले सञ्चालन नै गरिसकेका छन् । तर ख्वप विश्वविद्यालयको बारे काम अगाडि बढेन । हामीले ख्वप विश्वविद्यालय सञ्चालन गरेर अरुलाई सम्बन्धन दिएर नाफा लिन खोजेको होइन । हामीले आफ्नै संरचनालाई विश्वविद्यालयको रुपमा लिने योजना हो । यस अन्तरगत मेडिकल कलेज खोल्ने सस्तोमा जसरी इन्जिनियरिङ कलेज सञ्चालन गरेर गुणस्तरीय शिक्षा दिइरहेका छौँ ।

विभिन्न कलेज खोलेर उच्च शिक्षा दिइरहेका छौँ । त्यसरी मेडिकल कलेज खोलेर सस्तोमा मेडिकल डाक्टर पढाउने सोच थियो । तर छुट्टै मेडिकल कलेज खोल्न लाग्दा पनि सरकारले गोविन्द केसीसँगको सम्झौताले त्यो सम्भव भएन । यसरी न ख्वप विश्वविद्यालयको काम अगाडि बढ्न सक्यो न मेडिकल कलेज बढ्न सक्यो । जनताको छोराछोरीलाई सस्तोमा पढाउने चाहना हुँदाहुँदै पुरा हुन सकेन । मेडिकल कलेजहरुका महंगो तथा अतिरिक्त शुल्कको कारण गरिब जनताको छोराछोरी पढ्न नपाउने अवस्था आएको छ । यस्तो वातावरण भयो । हामीले सस्तोमा पढाइदिन्छौ बारम्बार भन्दा पनि गोविन्द केसी जीको सम्झौतालाई देखाउँदै हामी अगाडि बढ्न सकेनौ । हामीले चाहाना राखेका छौँ । जनताले चाहना अगुवाइ गरिरहेका छन् । दिनेहरूले नदिएपछि हामीले सक्ने सम्भावना भएन ।

स्वास्थ्य क्षेत्रलाई समृद्ध बनाउन नगरपालिकाको कार्यक्रम के के छन् ?
स्वास्थ्य क्षेत्र जनताको निम्ति गाह्रो विषय हो । जनताको निम्ति अति आवश्यक विषय हो । आधारभूत आवश्यकतातर्फ पनि हाम्रो ध्यान गएको छ । सुरुको जनस्वास्थ्यलाई ख्वप अस्पतालमा रुपान्तरण गरेर धेरै डाक्टर राखेर उपचार सेवा दिइरहेका छौ । टोल टोलमा वडा वडामा डाक्टर सहितको स्वास्थ्य चौकी बनाइदिएका छौ । ख्वप अस्पतालमा दैनिक ७५० संख्यामा उपचार सेवा लिइरहनु भएको छ । सहज तथा थोरैं पैसामा सेवा लिनुभएको छ । घर घरमा नर्सहरु परिचालन गरेका छौ । आँखा, आयुरवेदिक, दमखोकीको लगायत जति पनि आवश्यक स्वास्थ्य छन् यसमा नगरपालिकाले सहजतापूर्वक सेवा उपचार सञ्चालन गरेको छ । स्वास्थ्यमा जनताले ठिकै सुविधा पाएका छन् अव जनताले गुणस्तरीय सेवा दिने योजना तथा कार्यक्रम छ । तत्काल छिटो भन्दा छिटो सेवा दिने योजनामा गइरहेका छौँ ।

नगरमा रोजगारीको अवस्था सिर्जना गर्ने कस्तो कार्य योजना छ ?
नगरपालिकामा धेरै कलेजहरु छन् । कलेजबाट उत्पादित जनशक्तिहरुलाई श्रमसँग जोड्ने नीति लिएका छौँ । सकेसम्म सीपमूलक तालिम होस् । नयाँ नयाँ भाषाविदहरुले सिकुन् भनेर जापनिज भाषा, चिनिया भाषा डकर्मी सिकर्मी लगायत महिलाहरूको निम्ति सिलाई बुनाई लगायत थुर्पै तालिमहरू दिएका छौँ । यसबाट आत्मनिर्भर भएर बाँच्न सक्छन् । आत्मनिर्भरतालाई प्राथमिकतामा राखेर जोड दिएर काम गरिरहेका छौ । यसबाट धेरै लाभान्वित भएका छन् ।

अब मोबाइल मर्मत मोटरसाइकल मर्मतका प्रशिक्षण कार्यक्रम राख्ने छौ । आधुनिक प्रविधिका मर्मत कार्यक्रम तालिम सञ्चालन गर्ने छौ । यो कार्यकालमा धेरै जनतशक्ति तयार गर्नेछौ । यसबाट रोजगारको प्रवर्द्धन हुनेछ। सँगसँगै डकर्मी सिकर्मी तालिमले गर्दा जति पनि पर्यटकहरू आउँछन् । उनीहरुले बेच्ने किन्ने समानहरु यहाँ उत्पादन उपयोग होस् भन्ने लक्ष्य हो। एकतिर रोजगारको प्रवर्द्धन हुने हामीले बनाएको समान हाम्रो पहिचान पनि हुने दिँदै जाने हो । भक्तपुरको जुजु धौ, भादगाँले टोपी, भक्तपुरको टाइचिन चिउरा लगायतले पहिचान साथै यही खान भक्तपुर आउने वातावरण बन्दा थप आन्तरिक पर्यटन प्रवर्द्धन हुन्छ । यसबाट भक्तपुरमा युवाहरुले रोजगारीको वातावरण बन्न सक्छ । यस्तो रोजगारी प्रवर्द्धन गर्न कोसिस गरिरहेका छौँ ।

हाम्रो हरेक क्षेत्रमा परनिर्भरता बढ्दै गएको छ यस नगरपालिकामा भक्तपुरको कृषि आधुनिकीकरणलाई कस्ता कार्यक्रम लागु हुन्छ ?
कृषि आधुनिकीकरणको लागि हामीले तालिमहरू दिएका छौ । नयाँ नयाँ विउविजनको प्रयोग । नयाँ नयाँ कृषि औजारको प्रयोग । ती औजार अनुदानमा दिने व्यवस्था गरेका छौ । कृषिसँग सम्वन्धित माटो परीक्षण कसरी गर्ने थोरै जग्गामा धेरै उत्पादन कसरी गर्ने । किसानहरूलाई कृषि तालिमको व्यवस्था गरेर त्यसको उत्पादन सम्म कृषि आधुनिकीकरणको नगरपालिकाले जग्गा बहालमा लिएर ५ महिना तालिम दिएर थोरै जग्गाबाट सुरु बाट अन्तिम सम्म यसको उत्पादन सम्म तालिम दिएका छौ । यसरी कृषि आधुनिकीकरण सँगसँगै लागि नयाँ नयाँ बिउ उत्पादन तरकारी उत्पादन तालिमहरू सञ्चालन गरेका छौ ।

समग्र खेलकुद विकास गर्न नगरपालिकाले कस्तो एजेन्डा बनाएको छ ?
भक्तपुर नगरपालिकाले ६ खेलमा नियमित प्रशिक्षण दिँदै आएको छ । भलिबल, फुटबल, बक्सिङ, जिम्नेस्टिक, टेवलटेनिस लगायत खेलको नियमित प्रशिक्षण दिँदै आएको छ । पूर्णकालीन खेलकुद प्रशिक्षकहरु नियुक्ती गरेर विद्यालय विद्यालयमा सिकाउदै आएकोमा यसलाई अझ बढी विस्तार गर्ने हो । शिक्षकहरू थप्दै जाने हो । विद्यालयका हरेक विद्यार्थीलाई कुनै न कुनै खेलकुदमा भाग लिने वातावरण तयार गर्ने हाम्रो कोसिस रहन्छ । हरेक वर्ष अन्तर्नगर प्रतियोगिता गर्ने कार्यक्रम छ ।

हाम्रो ९२ वटा विद्यालयमा धेरै विद्यार्थीहरु पढ्छन् । ती सबै विद्यार्थीहरुलाई खेलकुदमा भाग लिन लगाउने भनेर हरेक वर्ष अन्तर विद्यालय प्रतियोगिता पनि गर्छौ । गएका वर्षमा गरेका थियौँ । अबका दिनमा पनि यी कार्यक्रम गर्छौ । हरेक वडा वडामा युवा तथा ज्येष्ठ नगारिकहरुलाई स्वस्थ्य जीवन निर्वाह गर्नको लागि वातावरण तयार गर्ने वडा वडामा खुल्ला व्यायामशाला राखेका छौँ । नगरपालिका भित्रका २३ ओटा ठाउँमा व्यायामशाला राखेको छौँ । धेरैले प्रयोग गरेका छन् । हरेक नागरिकलाई शारीरिक तथा मानसिक रुपले तयार गर्ने र जसले समाज परिवर्तन गर्ने धेरै नै भूमिका खेल्न सक्छ । खेलकुदमा नगरपालिकाले विस्तार गर्ने छ जोड दिने छ ।

भक्तपुर नगरपालिकाभित्र नदी सरसफाइ लगायत स्वस्थ्य वातावरण बनाउने विषयमा के जोड दिन्छ ?
सफाइ सबैको निम्ति चुनौतीको विषय हो । हाम्रो सर्वेले के देखाउँछ भने प्रत्येक पाँच जना व्यक्तिले दैनिक एक किलो फोहोर निकाल्छ । एक किलो फोहोर सफा गर्नको निम्ति ९ रुपैयाँ पर्छ । सपाइको निम्ति विभिन्न प्रक्रिया अवलम्बन गर्दै भक्तपुर नगरलाई सफा नगरको रूपमा राखिरहेका छौँ । नगर सफा भए तापनि खोलालाई सफा गर्न सकेका छैन ।

दुवै खोला सफा गर्नका निम्ति भक्तपुर नगरपालिका र पीआडीसँगको संयोजनमा दुई ओटा फोहोर पानी प्रशोधन गर्न पोखरी निर्माण गर्दैछौ । यो निर्माण सम्पन्न भएमा भक्तपुरको फोहोर सिधै खोलामा जाने छैन । यसलाई प्रशोधन गरेर मात्रै पठाउने व्यवस्था गर्छौ । हनुमान घाटमा २९ करोड योजना र सल्लाघारीमा त्यो काम अगाडि बढिसकेको छ । यसरी केही वर्षमा नगर पनि सफा खोला पनि सफा हुनेछ । सुन्दर भक्तपुर, सफा भक्तपुर हेर्न लायक मौलिक शैलीहरुले घरहरु भरिएको भक्तपुर बनाउने कोसिस छ । हामी त्यसलाई अगाडि बढाउँदै छौँ ।

भक्तपुरको कला संस्कृति जोगाउन नगरपालिकाले के गर्ने छ ?
हामीसँग धेरै अमृर्त सम्पदाहरू छन् । मठमन्दिर मात्रै होइन दाफा भजन विभिन्न खालका भैल्य प्याख ख प्याख भनेजस्तै थुप्रै सांस्कृतिक विद्याहरु छन् । यसलाई जीवन्त राख्नको निम्ति हरेक वर्ष विभिन्न परम्परागत बाजाहरूको प्रतियोगिताहरू गरिरहेको छौ । गरिरहने छौ । हामीसङ भएको सीप नयाँ पुस्तामा हस्तान्तरण भइरहेको छ । हामीसँग भएको सांस्कृतिक परम्पराहरूलाई नृत्य हस्तान्तरण र पुस्तान्तरण गरिरहेका छौँ । बाजाहरूको निम्ति आर्थिक सहयोग गर्ने प्रतियोगिता गर्ने काम टोल टोलमा प्रशिक्षण व्यवस्था गरिरहेका छौ । सांस्कृतिक केन्द्र स्थापना गर्ने । हरेक शिक्षण संस्थाहरूमा सांस्कृतिक गुरुहरूमार्फत परम्परागत बाजा एवम् नृत्यहरूको तालिमको व्यवस्था मिलाउने छौँ । भक्तपुर जीवित संग्रालय बनाउन हाम्रो जोड छ । कला संस्कृतिलाई बिस्तारै व्यवसायीकरण गर्दै रोजगारीको प्रवर्द्धन गर्न लाग्नेछौ ।

भक्तपुर नगरपालिकाले आवास योजना बनाएको छ । यसमा केही समस्याहरू पनि आएको देखिन्छ । यसलाई कसरी व्यवस्थापन गर्ने योजनामा हुनुहुन्छ ?
हामीले विभिन्न आयोजनाहरू सम्पन्न गरेका छौँ । अहिले अन्तिम चरणमा भइरहेको देको मिवा इटाँपागि आवास योजना छ । जहा १६ सय ५४ रोपनी जग्गामा आवास योजना सञ्चालन गरिरहेका छौँ । त्यहाँ जनताका समस्याहरू छन् । जनताका गुनासाहरू छन् । स्वाभाविक रूपमा जनताका गुनासाहरू आउँछन् । उहाँहरुसँग समन्वय गर्दै हामी अगाडि बढिरहेका छौ । झन्डै एक तिहाइ जग्गा फिर्ता दिने निर्णय गरिसकेका छौ । अरू पनि धेरै प्रक्रियामा छन् । लिवाली आवास योजनामा सबै पिच गरिसकेका छौ । व्यवस्थित सहर बनाउने हाम्रो योजना छ । त्यसमा हामी लागेका छौ ।

नगरपालिकाको समग्र आर्थिक अवस्था राम्रो बनाउन कस्ता कस्ता कार्यक्रम जनताको माझमा लादै हुनुहुन्छ ?
हरेक क्षेत्र आर्थिक अवस्थासँग जोडिएको हुन्छ । हामीले बजार व्यवस्थापन तरकारी बजार व्यवस्थापन पार्किङ व्यवस्थापन गर्ने कोसिस गरिरहेका छौ । विभिन्न खालका आर्थिक गतिविधिहरू कुनै कुनै कार्यक्रम गरेर आन्तरिक पर्यटनहरू प्रवर्द्धन गर्ने रोजगारी सिर्जना गर्ने । भक्तपुर महोत्सव गर्ने लगायत कुनै कुनै गतिविधि गरिरहने आन्तरिक पर्यटन संख्या बढाउने। हाम्रो पुरानो सहरलाई पर्यटक पदमार्गको रूपमा विकास गर्ने सोच थियो । यसबाट आम्दानी बढाउन सहयोग हुन्छ ।

अन्तिममा आम नागरिकको विकास र तपाईँप्रतिको धारणा कस्तो पाउनु भएको छ ?
भक्तपुरको विकास तपाईँहरूले गर्नुहुन्छ भनेर जुन विश्वास गर्नुभयो यसको निम्ति आभारी छौ । नागरिकहरूको पनि आफ्नो कर्तव्य छ । तपाईँहरूले पनि आफ्नो कर्तव्य नबिर्सिदिनूहोला । हामीले मत दिइसकेका छौँ । अव काम गर्ने तपाईँहरूको जिम्मेवारी हो भनेर नभन्नुहोला । हामी सबै मिलेर काम गर्ने हो । भक्तपुर हामी सबैको साझा ठाउँ हो । भक्तपुर नगरपालिका हामी सबैको साझा संस्था हो । कुनै पनि साझा संस्थालाई अगाडि बढाउनु छ भने साझा जिम्मेवारीका साथ अगाडि बढ्ने हो । हिजो जसरी हातेमालो गर्दै हरेक क्षेत्रमा अगाडि बढ्दै आएका थियौँ । आज झन् उत्साहित भएको छ । यसबाट धेरै नै ऊर्जा प्राप्त भएको छ । भक्तपुर धेरैले उदाहरणको रूपमा प्रयोग गर्छन् । यसलाई अझ समृद्ध बनाउन अगाडि लागिरहेका छौ । तपाईँहरूको मतको कहिल्यै अवमूल्यन गर्ने छैनौँ । सधैँ ठाडो शिरले उभिन सक्ने वातावरण बनाउने कोसिस गर्नेछौ । आत्म स्वाभिमान, आत्मनिर्भरता र आत्म गौरव प्राप्त गर्दै अगाडि बढ्नेछौ ।

प्रकाशित मिति : १२ जेठ २०७९, बिहीबार  ७ : ४२ बजे

तनहुँको राजापानी सिद्धेश्वर महादेव ओझेलमा

तनहुँ– धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको तनहुँको व्यास

हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन

हुम्ला– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण

मेलनिया ट्रम्पले सुरु गरिन् प्रशासनिक जिम्मेवारी

न्युयोर्क – प्रथम अमेरिकी महिला मेलनिया ट्रम्पले प्रशासनिक जिम्मेवारीको सुरुवात

अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र प्रहरी

झापा– सशस्त्र प्रहरी बलले झापाको अन्तर–सीमा क्षेत्रमा हुनसक्ने अपराध र

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल