काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा पनि सांसदहरूले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आ–आफ्नो धारणा राख्नुभएको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै गठबन्धन दलका सांसदहरूले पक्षमा धारणा राखे भने प्रतिपक्ष दलका सांसदहरूले विपक्षमा भनाइ राखेका थिए । छलफलमा ५० भन्दा बढी सांसदले भाग लिएका थिए ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद गोकर्ण विष्टले नीति कार्यक्रमले नेपाली युवालाई सही ढंगले दिशा दिन नसकेको आरोप लगाए । उनले सात दशकभन्दा लामो समयदेखि वैदेशिक सहायता लिइँदै आइएको स्मरण गर्दै त्यसले आफ्नो स्वाधीनतालाई बन्धक बनाइरहेको बताए । वैदेशिक सहायतालाई पुनरावलोकन गर्दै प्रविधि र ज्ञान भित्र्याउने गरी नयाँ सोचका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
सांसद विष्टले शिक्षा, स्वास्थ्य र खाद्य सुरक्षामा गम्भीरताका साथ ध्यान नदिएको बताए । परम्परा कायम गरेको तर राष्ट्रव्यापीरूपमा आर्थिक र खाद्य सङ्कट परिरहेको छ, मूल्यवृद्धि र बेरोजगारीको अवस्था रहे पनि यसलाई सामना गर्ने गरी नीति तथा कार्यक्रम आउन नसकेको उनले बताए ।
सोही पार्टीका पद्माकुमारी अर्यालले सरकारले अद्यावधिक गरिएको नक्सालाई व्यवहारमा नै कार्यान्वयन गर्ने सन्दर्भमा सरकार चुकेको बताइन् । उनले नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकता नदिएको पनि बताइन् । एमालेकै अर्का सांसद कृष्णभक्त पोखरेलले ११ महिनामा ११ औँ पटक पेट्रोलियम पदार्थको मूल्य बढेको कुरामा कार्यक्रम बोल्न नसकेको र किसानको मलको सुनिश्चितताका विषमय कुनै दृष्टिकोण नभएको दाबी गरे । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा डिला सङ्ग्रौला पन्तले यौन अपराधका घटना बढिरहेकाले हदम्यादलाई बढाउन माग गरिन् । महिलाको स्वास्थ्यमा गम्भीर हुन पनि उनले आग्रह गरिन्। नेपाली कांग्रेसका प्रकाश रसाइलीले उत्पादन क्षेत्रमा लगानी बढाउन आग्रह गरिन् । कांग्रेसकै सांसद दिव्यमणि राजभण्डारीले नीति तथा कार्यक्रम क्रान्तिकारी रहेको बताउँदै उनले साना तथा मझौला उद्योगलाई पनि प्रोत्साहन हुने गरी कार्यक्रम बनाउनुपर्नेमा जोड दिए ।
कांग्रेसका अर्का सांसद मीनबहादुर विश्वकर्माले मूल्यवृद्धिलाई रोक्न नसकिए पनि व्यवस्थापन गर्न सकिने बताए । व्यापार घाटा कम गर्नलाई उत्पादन भएका विद्युत्लाई ग्रामीण भेगसम्म पुर्याउँदै महसुलमा छुट दिएर हरेक घरमा एक/एक इन्डक्शन चुल्हो दिन सकियो भने समस्या समाधान हुने बताए ।
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का सांसद देवबहादुर गुरुङले सङ्घीयता कार्यान्वयन कृषि र औद्योगिक उत्पादनमा जोड दिनु, पूर्वाधार निर्माण र कर प्रणालीमा सुधार गर्ने कुरा सकारात्मक रहेको बताए । उनले केही कमी–कमजोरीलाई सुधार गरेर नीति तथा कार्यक्रमलाई समृद्ध गर्नुपर्ने आवश्यकता औँल्याए ।
सार्वजनिक क्षेत्रलाई नेतृत्वदायी र निजी क्षेत्रलाई सहयोगीको रूपमा अघि बढाउनु जरुरी रहेको बताउँदै उनले कृषि र उद्योगको विकास गरी आयातित वस्तु नियन्त्रणमा ध्यानाकर्षण गराए । पेट्रोलियम पदार्थको विकल्पको रूपमा ऊर्जाको विकास जरुरी रहेको उनले बताए । सांसद गुरुङले मुलुकभित्रै रोजगारी सिर्जनामा जोड दिए । वैदेशिक रोजगारीमा जान प्रेरित गरेको देखिएकाले सुधार आवश्यक भएको उनले बताए ।
माओवादी केन्द्रकै सांसद गजेन्द्रबहादुर महतले पाँच लाख युवालाई कृषि उत्पादन र पशुपालनका लागि अनुदान दिन सरकारसँग माग गरे । सोही पार्टीका सांसद जयपुरी घर्तीले कृषिमा लगानी बढाउँदै रोजगारी सिर्जना गर्ने तथा कृषि क्षेत्रलाई यान्त्रिकीकरणमा लैजान र नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले शिक्षा, स्वास्थ्य र रोजगारलाई ध्यान दिनुपर्नेमा जोड दिए । नेकपा (माओवादी केन्द्र) का सांसद दिलकुमारीले नागरिकताको समस्या समाधान गर्न आग्रह गरे ।
सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी) का नीरादेवी जैरुले युवा स्वरोजगारको नाममा नगरपालिकाको वरपरका झार फालेर युवा रोजगार हुन नसक्ने भएकाले त्यसतर्फ ध्यानाकर्षण गरिन्। उनले इन्धन महँगाइलाई नियन्त्रण गर्न लगाइएका कर घटाउन अनुरोध गरिन् । सोही पार्टीका पार्वतीकुमारी विशुन्केले खाद्य सङ्कट बढ्दै गएको भए पनि नीति तथा कार्यक्रम नबोलेको बताइन् ।
बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरू सुदन किराँती, गणेशसिंह ठगुन्ना, मीना सुब्बा, गोमा देवकोटा, सत्यनारायण शर्मा खनाल, कमला रोका, विष्णु शर्मा, रङ्गमति शाही, दुर्गाकुमारी बिक, राजबहादुर बूढा, लक्ष्मी परियार, रामकुमारी चौधरी, थममाया थापा, महिन्द्रकुमारी लिम्बू, यशोदा गुरुङ सुवेदी, मोहन बानियाँले भाग लिएका थिए ।
यस्तै सांसदहरू सुजाता परियार, सुरेशकुमार राई, झपटबहादुर रावल, सञ्जयकुमार गौतम, रेखा शर्मा, नवीना लामा, रामेश्वरराय यादव, पवित्रा निरौला खरेल, देवप्रसाद तिमिल्सिना, सत्य पहाडी, पदम गिरी, रामबहादुर विष्ट, मायादेवी न्यौपाने, पार्वता डिसी चौधरी, नारायण मरासैनी, सुवर्ण ज्वारचन, मैनाकुमारी भण्डारी, चित्रलेखा यादव, नरबहादुर धामी, यज्ञबहादुर बोगटी, नवराज राउतले छलफलमा भाग लिएका थिए ।
प्रतिक्रिया