विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

आज असार ७, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुन २१, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

उत्तरपूर्वी भारत र बङ्गलादेशमा बाढीको प्रकोप रोकिएन, थप २६ जनाको मृत्यु

उत्तरपूर्वी भारतमा मनसुनको बाढी र चट्याङमा परी कम्तीमा पनि २६ जनाको मृत्यु भएको छ । छिमेकी राष्ट्र बङ्गलादेशमा पनि लाखौं मानिस यस प्रकोपको मारमा परेका अधिकारीहरूले जनाएका छन् । भारतका उत्तरपूर्वी राज्यहरू एवम् बङ्गलादेशमा भारी वर्षा एवम् आँधीबाट नियमित जसो बाढी आउने गरेको बताइन्छ । भारतको आसाम राज्यमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने बाढीमा डुबेर छ जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीहरूले बताएका छन् ।

पूर्वी राज्य बिहारमा आँधीका कारण चट्याङ लागेर कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय प्रकोप व्यवस्थापन मन्त्री रेणु देवीले जानकारी दिइन् । आसाम लगातार बाढीको चपेटामा परेको छ । राज्यका ३३ जिल्लाका ५ हजार १४० गाउँहरू पानीको बढ्दो स्तरले डुबानमा परेका छन् । एक लाखभन्दा बढी गाउँले राहत आश्रयमा शरण लिएका छन् । यो सिजनमा आसाम पहिलो पटक गत अप्रिलमा बाढीबाट प्रभावित भएको थियो । हाल पुनः अविरल वर्षाको कारण आएको बाढीमा परी ४४ जनाको मृत्यु भएको छ ।

छिमेकमा पर्ने मेघालय राज्यमा पहिरो र बगेको खोलाले सडक डुबेपछि गत बिहीबारदेखि कम्तिमा १६ जनाको मृत्यु भएको छ । मनसुनले बङ्गलादेशमा पनि विनाशकारी बाढी उत्पन्न भएको छ । यसका कारण लाखौं अलपत्र परेका र दर्जनौँको मृत्यु भएको जनाइएको छ । बाढीको पानी सिल्हेट क्षेत्रको उत्तरपूर्वी जिल्लाबाट विस्तारै कम हुँदै गइरहेको थियो । यद्यपि लाखौं अझै पनि अलपत्र परेको त्यहाँका मुख्य प्रशासक मोशर्रफ हुसेनले बताएका छन् ।

आश्रयस्थलहरू प्रभावित मानिसहरूले भरिएका छन् । त्यहाँ खाना र पिउने पानीको ठूलो संकट रहेको बताइएको छ । अलपत्र परेका धेरै मानिसहर घर फर्कन अझै आनाकानी गरिरहेको र अरु धेरैले बाढीको पानीमा आफ्नो घर गुमाएको हुसेनले अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीलाई बताए । जमालपुर जिल्लामा एकजना आठ वर्षीया बालिकालाई बाढीले घरकै आँगनबाट बगाएको र उनी पछि मृत फेला परेको प्रहरी अधिकारी अमिनुल इस्लामले एएफपीलाई जानकारी दिए ।

दक्षिणपूर्वी चटगाउँ पहाडी जिल्लाहरूमा पनि भारी वर्षा जारी रहेको र यसले बन्दरगाह सहरलाई जलमग्न बनाएको एवम् पहिरोको जोखिम बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनी बालबालिकालाई सहयोग गर्न रुसी पत्रकारले नोबेल पुरस्कार बेचे

रुसी स्वतन्त्र अखबार नोभाया गजेटाका रूसी प्रधान सम्पादक दिमित्री मुरातोभले युक्रेनको युद्धबाट विस्थापित बालबालिकालाई सहयोग गर्न आफूले प्राप्त गरेको नोबेल शान्ति पुरस्कारको स्वर्ण पदक १०३.५ मिलियन डलरमा लिलामीमा बिक्री गरेका छन् । हेरिटेज अक्सनले न्युयोर्कमा आयोजना गरेको बिक्रीमा उक्त पदक अज्ञात बोलपत्रदातालाई बेचिएको थियो । ती व्यक्तिले फोनमार्फत पदक किनेका थिए ।

मुरातोभले सन् २०२१ मा फिलिपिन्सकी पत्रकार मारिया रेसासँगै पुरस्कार जितेका थिए । नोबेल समितिले  उनीहरूलाई ‘अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने प्रयासको लागि’ सम्मान गरेको थियो । सोभियत संघको पतन पछि उनी सन् १९९३ मा नोभाया गजेटा स्थापना गर्ने पत्रकारहरूको समूहमा थिए । पत्रिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनको कार्यनीतिको आलोचना गर्दै आएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेको एक महिनाभन्दा बढी समयपछि मार्चमा पत्रिकाको सञ्चालनमा अवरोध आएको थियो ।  क्रेमलिनको रक्तपातपूर्ण सैन्य अभियानको आलोचना गर्ने कसैलाई पनि कडा जेल सजाय दिने कानुन ल्याएपछि सञ्चालनमा अवरोध आएको थियो ।

रुसबाट चीनतर्फ तेलको आपूर्ति बढ्यो

चीनले मे महिनामा रूसबाट कच्चा तेल आयातमा वृद्धि गरेको छ । पश्चिमा मुलुकहरूले युक्रेनमा जारी आक्रमणविरुद्ध रूसमाथि लगाएको प्रतिबन्धसँगै रूसले तेलका लागि वैकल्पिक योजनालाई अघि सारेको छ । रुसले युरोप तर्फ आपूर्ति हुने तेललाई अन्य क्षेत्रमा विस्तार गर्ने नीति रहेको जनाइएको छ । यससँगै साउदी अरबलाई उछिन्दै रुस चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता मुलुक बनेको हो । विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिने चीनले गत महिना रूसबाट करिब ८४.४२ मिलियन टन तेल आयात गरेको थियो ।

यो गत वर्षको सोही अवधिको तुलनामा ५५ प्रतिशत वृद्धि हो । चीनले मे महिनामा साउदी अरबबाट ७ अर्ब ८२ करोड टन तेल आयात गरेको थियो । ब्लूमबर्ग न्युजले बताएअनुसार चीनले गत महिना ७.४७ अर्ब अमेरिकी डलर मूल्यको रूसी ऊर्जा उत्पादनहरू किनेको थियो । यो अप्रिलको तुलनामा झन्डै १ अर्ब अमेरिकी डलर बढी रहेको जनाइएको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको विश्वव्यापी तेल कारोबारबारे पछिल्लो प्रतिवेदनअनुसार गत दुई महिनामा भारतले जर्मनीलाई रुसी कच्चा पदार्थको दोस्रो ठूलो आयातकर्ताको रुपमा उछिनेको छ । चीन सन् २०१६ यता कच्चा तेलको लागि रूसको सबैभन्दा ठूलो बजार हो ।

समलिंगी विवाहमाथिको प्रतिबन्ध असंवैधानिक नभएको जापानी अदालतको फैसला

जापानको एक अदालतले समलिंगी विवाहमाथिको प्रतिबन्ध असंवैधानिक नभएको फैसला गरेको छ । ओसाकाको जिल्ला अदालतले यस्तो फैसला गरेको हो । पछिल्लो फैसलाले एलजीबीटीक्यू अधिकारलाई ठूलो धक्का दिएको छ । यसअघि तीन जना समलिंगी जोडीले ओसाका जिल्लामा मुद्दा दायर गर्दै १० लाख यन क्षतिपूर्ति मागेका थिए ।

विवाह गर्न नसक्ने उनीहरूको दाबीलाई अस्वीकार गर्दै अदालतको फैसलामा भनिएको छ, ‘व्यक्तिगत मर्यादाको परिप्रेक्ष्यमा हेर्दा समलिंगी जोडीलाई आधिकारिक मान्यताको माध्यमबाट सार्वजनिक रूपमा मान्यता दिइने फाइदा महसुस गर्न आवश्यक छ । ’जापानको संविधान अनुसार विवाहलाई दुवै लिंगको पारस्परिक सहमतिको आधारमा परिभाषित गरिएको छ । जापान समलिंगी विवाहलाई अनुमति नदिने एक मात्र जी ७ देशका समूहको सदस्य हो । जनमत सर्वेक्षणले धेरैजसो सर्वसाधारण जापानमा समलिंगी विवाहलाई अनुमति दिने पक्षमा रहेको देखाएको छ ।

टोकियोसहित धेरै क्षेत्रले समलिंगी जोडीहरूलाई सम्पत्ति भाडामा दिनका लागि सहयोग गर्न साझेदारी प्रमाणपत्र जारी गर्न थालेका छन् ।

घरबारविहीनलाई सहयोग गर्न बेलायती राजकुमार विलियमले लन्डनको सडकमा पत्रिका बेचेपछि

बेलायती राजकुमार विलियमले लन्डनको सडकमा पत्रिका बिक्री गरेका छन् । राजकुमारले घरबारविहीनहरूलाई सहयोग गर्ने बेलायती पत्रिका बेचेका हुन् । ३९ वर्षीय ड्युक अफ क्याम्ब्रिजले पत्रिका बिक्रेताको भेस्ट लगाएका थिए । एउटा हातमा पत्रिका लिँदै उनले बाटोमा हिड्ने व्यक्तिलाई बिग इस्युको पछिल्लो संस्करण पाए/नपाएको बारेमा सोधेका थिए ।

बेलायतको राजगद्दीमा दोस्रो वरियतामा रहेका विलियमले जुनको सुरुमा वेस्ट मिनिस्टर स्ट्रिटमा पत्रिका बेचेका देखिन्थे । एक सम्भावित नयाँ ग्राहकले आफूसँग म्यागेजिन किन्न ५ डलर नभएको बताएपछि, राजकुमारले लेनदेनमा सजिलो होस भनेर इलेक्ट्रोनिक मोबाइल क्रेडिट कार्ड मेसिन निकालेका थिए ।

उनकी दिवंगत आमा राजकुमारी डायना जस्तै विलियम पनि घरबारविहीन समुदायलाई लामो समयदेखि सहयोग गर्दै आएका छन् । घरबारविहीनहरूको अवस्था बुझ्न किशोरावस्थामा उनी एक दिन लन्डनको एउटा सडकमा रात बिताएका थिए ।

‘म ११ वर्षको हुँदा मेरी आमासँग घरबारविहीन आश्रयमा गएँ’, सोमबारको अंकमा उनले लेखेका छन् । सन् १९९७ मा पेरिसमा कार दुर्घटनामा मृत्यु भएकी राजकुमारी डायनाले घरबारविहीनता, एड्स, कुष्ठरोग र बारुदी विस्फोटलगायत अन्य कारणहरूका बारेमा चेतना जगाउने परोपकारी संस्थाहरूको लागि काम गरेकी थिइन् ।

शनिबारदेखिको अविरल वर्षाका कारण पूर्वी चीनको जियाङ्सी प्रान्तमा झण्डै ५ लाख प्रभावित

अविरल वर्षाका कारण पूर्वी चीनको जियाङ्सी प्रान्तमा झण्डै ५ लाख मानिसहर प्रभावित भएका छन् । प्रान्तमा करिब ४८५,००० बासिन्दाहरू अविरल वर्षाबाट प्रभावित भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

जियाङ्सीको बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले बाढी नियन्त्रणको आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति समेत गरेको छ ।शनिबार दिउँसो ३ बजेदेखि जारी भारी वर्षा र बाढीका कारण जियाङ्सीका ५५ काउन्टीमा ४३ हजार ३०० हेक्टर बाली प्रभावित भएको छ ।मुख्यालयका अनुसार बाढीबाट ४७ करोड युआन अर्थात् करिब ७ करोड अमेरिकी डलर प्रत्यक्ष आर्थिक क्षति पुगेको छ।

स्थानीय मौसम विभागले मङ्गलबार जियाङ्सीमा वर्षा अलिकति कमजोर भए पनि यसको दक्षिणी र पूर्वी भागमा भारी वर्षाको चेतावनी दिएको छ । वर्षाको प्रभाव बुधबार उत्तरमा याङ्जी नदीतर्फ सर्ने सिन्ह्वाले जनाएको छ ।

हङकङको पानीमाथि तैरिरहने जम्बो रेस्टुरेन्ट दक्षिण चीन सागरमा डुब्यो

हङकङको महत्वपूर्ण पहिचान मानिने ‘तैरिरहने जम्बो रेस्टुरेन्ट’ डुबेको छ । विगत ५० वर्षदेखि सञ्चालनमा रहेको जम्बो रेस्टुरेन्ट अज्ञात स्थानतर्फ जाने क्रममा दक्षिण चीन सागरमा डुबेको उक्त रेस्टुरेन्ट सञ्चालक कम्पनीले जानकारी दिएको छ । रेस्टुरेन्टको सञ्चालक कम्पनी अबेरदिन रेस्टुरेन्ट इन्टरप्राइजेजका अनुसार रेस्टुरेन्ट आइतबार दक्षिण चीन सागरको पारासेल द्विप क्षेत्रनजिक डुबेको हो । रेस्टुरेन्टलाई लैजाने क्रममा खतरनाक अवस्थाको सामना गरिएको र त्यहाँ पानी पस्न थालेको कम्पनीले जनाएको छ ।

दुर्घटनास्थलमा पानीको स्तर १ हजार मिटर भन्दा धेरै रहेका कारण रेस्टुरेन्टलाई जोगाउन नसकिएको कम्पनीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाप्रति दुख व्यक्त गरेको छ । यद्यपि घटनामा चालक दलको कोही सदस्य पनि घाइते नभएको कम्पनीले जनाएको छ । अज्ञात स्थानतर्फ लैजानुअघि समुद्री इन्जिनियरहरूले रेस्टुरेन्टको राम्रो निरीक्षण गरेको र आवश्यक सबै स्वीकृति प्राप्त गरिएको रेस्टुरेन्ट सञ्चालकले जनाएको छ । नयाँ सञ्चालकलाई हस्तान्तरण गर्नका लागि यसलाई अज्ञात स्थानतर्फ लगिएको कम्पनीले जानकारी दिएको छ ।

कोरोना भाइरसको महामारीका बेला सन् २०२० मार्च महिनादेखि यो रेस्टुरेन्ट बन्द रहेको थियो । उक्त रेस्टुरेन्टमा ३० लाख भन्दा धेरै मानिसहरू पुगेको बीबीसीले जनाएको छ । यस रेस्टुरेन्टमा बेलायती महारानी एलिजावेथ, प्रख्यात हलिउड अभिनेता टम क्रुज र बेलायती धनाढ्य रिचर्ड ब्रानसनले पनि परिकार चाखिसकेका थिए । यद्यपि यो रेस्टुरेन्ट सन् २०१३ यता घाटामा चलिरहेको बताइएको छ ।

जापानको सुदूर दक्षिणपूर्वी बोनिन द्विप क्षेत्रमा भूकम्प

जापानको सुदूर दक्षिणपूर्वी बोनिन द्विप क्षेत्रमा ६ म्याग्निच्युडको भूकम्प गएको छ । युरोपेली–भूमध्यसागरीय भूकम्प केन्द्रका अनुसार बोनिन टापुनजिकै ४० किलोमिटर गहिराइलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्पपछि जापानी मौसम पूर्वानुमान निकायले सुनामीको सामान्य चेतावनी जारी गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । मौसमसम्बन्धी जापानी निकायका अनुसार बोनिन द्विप समूहमा पर्ने चिचिजिमा टापुको तटपारी समुद्रमा पानीको स्तर केही बढ्ने सम्भावना रहेको छ ।

यसबाहेक भूकम्पबारे विस्तृत विवरण नआइसकेको रोयटर्सले जनाएको छ ।

 

 

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ७ : ५८ बजे

कर्णालीविरुद्ध संघर्षपूर्ण जित निकाल्दै फाइनलमा पुग्यो जनकपुर

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई

राससका पूर्वनिमित्त महाप्रबन्धक राणाको निधन

काठमाडौं – राष्ट्रिय समाचार समिति(रासस)का पूर्वनिमित्त महाप्रबन्धक जयशम्शेर राणाको ८०

विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग मन्त्री खड्काले गरे छलफल

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत्

विपिनले बलमा कर्णालीको कमब्याक, ७ विकेट क्षतिमा जनकपुरले १०० रन कटायो

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्स

काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु

एजेन्सी – भारतीय सुरक्षा बलले बिहीबार काश्मिरमा जारी झडपमा कम्तीमा