सीसीटीभी काण्डले नाङ्गिए ‘शक्तिशाली’ अर्थमन्त्री | Khabarhub Khabarhub

सीसीटीभी काण्डले नाङ्गिए ‘शक्तिशाली’ अर्थमन्त्री


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जब अमेरिकाबाट विवादास्पद व्यापारी पृथ्वीबहादुर शाहको शङ्कास्पद करोडौँ रुपैयाँ छुटाउन अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई तोक आदेश गरे त्यो दिनदेखि विवादमा तानिन थाले।

कोरोनापछि धराशायी बनेको नेपालको अर्थतन्त्रलाई माथि उठाउने मुख्य भूमिका रहेको अर्थ मन्त्रालयको जिम्मेवारी पाएका उनले नेपालमा आवश्यक नहुने सुपारी, छोकडा र मरिचजस्ता वस्तुको आयात खोल्न आदेश दिए । त्यति मात्र होइन निजी गाडी र अन्य विलासिताका वस्तुहरूको आयातमा रोक लगाए । यसपछि उनी थप विवादमा तानिँदै थिए। आवश्यक नै नभएको नेपाली सेनाका लागि २ वटा हेलिकोप्टर खरिद गर्नुपर्ने राय उनको अर्को विवादित काण्ड बन्यो । त्यसपछि उनी युद्धको समयमा सैन्य कमाण्डरलाई हौसला दिनुपर्नेमा कारबाही गर्न तिर लागे । बाहिर त विवादित हुँदै थिए शर्माको यस निर्णयले उनी पार्टीभित्रै पनि आलोचनाको केन्द्र बने ।

यस्तै अरु काण्डमा मुछिएर अलोकप्रिय र बदनाम बनेका उनको असली चरित्र त आर्थिक वर्ष २०७९-८० को बजेट भाषणको अघिल्लो राति एक जना व्यक्तिलाई अनधिकृत रूपमा मन्त्रालयमा बोलाएर करको दायरा हेरफेर गराए अनि उदांगो भयो । यसपछि भने उनको असलियत कहीँ लुक्न सकेन । छिप्न सकेन । देशव्यापी रूपमा उनको राजीनामा माग हुन थाल्यो तर उनलाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काखी च्यापिरहे।

निरन्तर उनको कमजोरीको पर्दाफास हुँदै गयो । उनले त्यस विषयलाई लुकाउन खोज्दै थिए । संसदीय समितिमा उनले गरेको अनधिकृत कामको छानबिन हुनुपर्ने माग भयो । त्यो मध्यरातको सिसिटिभी फुटेज सार्वजनिक गर्नु पर्ने माग सदनमा प्रमुख प्रतिपक्षी एमालेले चर्को स्वरमा उठायो । सत्ता पक्षका केही सांसदले पनि यो मुद्दामा विपक्षीकै भाषा बोले । त्यसपछि भने तर्सिएका अर्थमन्त्रीले एउटा सानो गल्ती लुकाउन ठूलो होइन महागल्ती गर्नतिर लागे। उनले एक अन्तर्वार्तामा एमाले को हो सिसिटिभी माग्ने ? भनेर धम्कीको भाषा बोले । केही दिन पछि त सारा संसारलाई हँसाउने गरी मन्त्रालयले भन्यो- ‘त्यो मध्यरातको सिसिटिभी फुटेज डिलिट भयो ।’

यसपछि भने उनी नाङ्गिए । विरोधमा उनको नग्न तस्बिरको पुत्ला सडकमा दहन हुन थालेको छ। राष्ट्रिय योजना आयोगका ६ जना उपाध्यक्षहरूले पनि एक ध्वनिमा अर्थमन्त्रीले अनुशासनहीन काम गरेको भन्दै छानबिन माग गरेका छन्  । अहिले देशव्यापी रूपमा अर्थमन्त्रीको राजीनामा माग हुन थालेको छ ।

माओवादीको १० वर्षे सशस्त्र जनयुद्धमा चौथो र पाँचौँ ब्रिगेड कमान्डरको जिम्मेवारी रहेका शर्मा गणतन्त्रपछिका सरकारमा तीन पटक महत्त्वपूर्ण र शक्तिशाली मन्त्री भए । सुरुमा उर्जा मन्त्रालय, त्यसपछि गृह र अहिले अर्थ मन्त्रालय सम्हालिरहेका छन् ।

मन्त्रीकारुपमा पहिलो कार्यकालमा उनी उज्यालो मुलुक बनाउने अर्थमन्त्री भनेर चर्चाको शिखरमा पुगे । नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङलाई प्राधिकरणको सिइओ बनाएपछि उनले मुलुकमा व्याप्त १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गरे । यसमा देन जर्नादनकै छ । जनयुद्धमा कमान्डर बनेर युद्धको मोर्चा सम्हालेका जनार्दनलाई ऊर्जाजस्तो मन्त्रालय  दिन हुँदैन । उनी कमान्डर हुन् उनले मन्त्रालय चलाउन सामर्थ्य राख्दैनन् भन्ने बाहिरी टिप्पणी त्यति बेला काम लागेन ।

दोस्रो कार्यकालमा गृह मन्त्रालय चलाउँदा भने त्यति सफल हुन सकेनन् । त्यसपछि अर्थ मन्त्रालय पाएका उनी अहिले बदनाम भएका छन्  । वर्तमान अर्थमन्त्री कहिल्यै माथि उठ्न नसक्ने गरी थला परेर सडकमा थचारिएका छन् ।  तुरुन्त अर्थमन्त्रीबाट राजीनामा नदिएमा उनी अनैतिक पात्रको एक असफल उदाहरण बन्ने छन् । तर पनि उनी शक्तिशाली छन् । न सरकारले उनलाई हटाउन सक्छ न पार्टीले मन्त्रीबाट फिर्ता बोलाउँछ ।

सरकारतर्फ 
शर्मालाई पदबाट बर्खास्त गर्नुपर्ने बाहिर चर्को स्वर आए पनि प्रधानमन्त्री देउवाले औपचारिक कदम चाल्न सकेका छैनन्  । यो सरकार गठबन्धनको सरकार हो । माओवादीका अध्यक्ष प्रचण्डको समर्थनमा देउवा प्रधानमन्त्री छन् । आगामी मङ्सिरको पहिलो साता संघ र प्रदेशको चुनाव हुने निश्चित छ । यस्तो अवस्थामा कांग्रेसलाई सरकार पनि बचाइराख्नु छ ।

अर्कोतर्फ आगामी चुनावसम्म गठबन्धन कायम राख्नु पर्ने अवस्था छ । कि त नैतिकताको आधारमा शर्माले राजीनामा गर्नुपर्दछ होइन भने प्रधानमन्त्रीले अर्थमन्त्रीलाई हटाउने कदम चाल्ने आँट राख्न सक्दैनन्  । यदि प्रधानमन्त्रीले आफूखुसी यस्तो निर्णय लिए भने प्रचण्ड चिढिन सक्छन् । देउवासँग प्रचण्ड चिढिनु भनेको गठबन्धन नै धरापमा पर्नु हो।

‘पार्टीको दबाब सहन चाहन्छन् तर प्रचण्डको आदेशविना अर्थमन्त्रीलाई हटाउने हिम्मत राख्न सक्दैनन्’ विश्लेषक सुरेन्द्र केसी भन्छन् । त्यसो त उनले अर्थमन्त्रीलाई राजीनामा गर्न सुझाएका छन् । यो केवल औपचारिकताको लागि मात्र हो । त्यस कारण जनार्दन सरकारमा बलियो छन्।

पार्टीतर्फ 
जनार्दन पार्टीभित्रै धेरै बलशाली नेता मानिन्छन् । अहिलेको विवादले जनार्दनको आन्तरिक जीवनमा प्रभाव परे पनि पार्टीमा उनको योगदान महत्त्वपूर्ण छ । त्यसैले पनि उनी प्रचण्डका खास मान्छे हुन् । विश्वास पात्र हुन् । युद्धकालीन अवस्थाबाटै जनार्दन र प्रचण्डबीच राम्रो सम्बन्ध थियो । किनकि युद्धकालीन अवस्थामा रामबहादुर थापा (बादल), नन्दकिशोर पुन (पासाङ), बर्षमान पुन (अनन्त), नेत्रविक्रम चन्द (विप्लव) जस्तै उनले पनि महत्त्वपूर्ण नेतृत्व गरे । शान्ति सम्झौतामार्फत माओवादी शान्ति प्रक्रियामा आइसकेपछि युद्धमा प्रभाकरको नामले चिनिएका शर्माले पार्टीमा महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन् ।

अहिले प्रचण्डको विकल्पका रूपमा नेता कार्यकर्ताले शर्मालाई नै लिएका छन् । प्रचण्डपछि अबको अध्यक्ष को ? भन्दा जनार्दनको नाम अग्रपङ्तिमा आउँछ । अर्कोतर्फ पार्टीको संगठन चलाउन पनि उनी माहिर छन् । त्यसैले उनले अहिले संगठन विभागको मोर्चा सम्हालिरहेका छन् । उनको यो लोकप्रियता विद्यार्थीको २१ औँ राष्ट्रिय सम्मेलनमा पनि देखियो । त्यो सम्मेलनको लडाइमा वर्षमान र जनार्दन मैदानमा थिए । त्यसमा जनार्दनले बाजी मारे ।

एक नेताका अनुसार जनार्दनको एक्सेस पार्टीको तलतलको संगठन र कार्यकर्तासम्म छ । उनी एकसन ओरिन्टेड नेता हुन् । यो गुण जनयुद्धमा पनि उनले देखाएका ती नेता बताउँछन् । कार्यकर्तासँग भेट गर्ने, उनीहरूका जस्तासुकै समस्यामा पनि लचिलो भइहाल्ने, कार्यकर्तासँगको हेलमेलमा ठुल्याइँ नगर्ने भएको हुनाले पनि उनी पार्टीमा धेरै लोकप्रिय छन् ।

अर्कोतर्फ उनी तिन/तिन पटक मन्त्री भएर शक्ति र पहुँच देखाउन सफल भए। मन्त्री हुँदा आफ्नो निर्वाचन क्षेत्रमा पनि उनले निकै राम्रो काम गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष नरेश रेग्मी बताउँछन् ।

माओवादीभित्रै पनि वर्षमान पुन र नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू अर्थमन्त्रीको रूपमा शर्मालाई निरन्तरता दिन नहुने पक्षमा छन् । माओवादीमा जनार्दनलाई मन पराउने कतिपय नेताहरू भने जनार्दन माओवादीमा महासचिव पदमा सबैभन्दा बढी शक्तिशाली भएकाले कमजोर बनाउन यो विषयलाई बढी उचालेको बताउँछन् ।

एक नेताका अनुसार पछिल्लो काण्डका कारण शर्माको महासचिव पद फुत्कने सम्भावना छ । शर्माको स्वभाव अर्थ मन्त्रालयमा फिट हुने खालको नभएको कतिपय बताउँछन् । फौजी स्वभावका उनलाई अर्थतन्त्रका सूचकहरू पढ्न र बुझ्न पनि आउँदैन ।  अर्थतन्त्रप्रति उनमा कुनै रुची  र चासो पनि छैन । त्यस्तालाई अर्थ मन्त्रालयको डाडु पन्यू दिँदाको परिणाम अहिले मुलुकले भोगिरहेको माओवादीनिकट एक टिप्पणीकार बताउँछन् ।

अब जनार्दनले जति चाँडै नैतिकताको आधारमा राजीनामा दिन्छन् त्यति नै उनको बचेको नैतिकता सुरक्षित हुनेछ । होइन, अटेरी र मैन प्रवृत्ति बोकेर मन्त्रालयमै लिसो टाँसिए जस्तै टाँसिरहन खोजिरहे भने उनीलाई पार्टी र प्रधानमन्त्रीले गलहत्त्याएर निकाल्नु पर्ने अवस्था आउनेमा दुई मत छैन । यदि त्यहाँ पनि उनको संरक्षण भयो भने जनताले सडकबाट अर्थमन्त्री शर्मालाई पदच्युत गर्ने छन्।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १ : ४४ बजे

एन्फा महिला लिग : कोशी र चन्द्रपुरको बराबरी

काठमाडौं– काठमाडौंमा जारी एन्फा महिला लिगमा कोशी प्रदेशले चन्द्रपुर नगरपालिकासँग

देशका गौरव र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भाषिक तथा सांस्कृतिक बहुलता एवं भौगोलिक

बाग्लुङमा डेंगु परीक्षण गर्ने किट अभाव, छिटो उपलब्ध गराउन माग 

बाग्लुङ– धौलागिरी अस्पताल, गलकोट र बुर्तिबाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगु

लेबनानी नागरिकलाई हिजबुल्लाह क्षेत्रबाट टाढा रहन इजरायलको आग्रह

एजेन्सी– इजरायली सेनाले लेबनानस्थित आफ्ना नागरिकलाई हिजबुल्लाहको निशानाबाट ‘टाढा जान’

संसदीय समितिले गर्‍यो नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण

भक्तपुर– प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर