अनुहारमा आउने पोतोले मानिसको सौन्दर्य नै बिगार्छ। कालोपोतोले कतिपय मानिस मानसिक समस्यामा समेत पर्ने गर्छन्। गाला, आँखाको छेउछाउ देखिने पोतो चायाले मानिसको आत्मविश्वासमा असर गर्छ। मनोबल कमजोर बनाइदिन्छ। यस्तो समस्याबाट छुटकारा पाउनको लागि मानिसले अनेक प्रकारका उपाय अपनाउँछन्।
कतिपय उपायले काम गर्दछ त कतिपय उपायले पोतो हटाउनुको साटो उल्टै समस्या बढाउँछ। चायापोतो छालामा पिगमेन्टेसन आउने कन्डिसन हो। चायापोतो आउने धेरै कारण हुन्छन्। घामको कारणले, घामबाट आउने युभी रेजको कारणले हाम्रो छाला कालो बनाउँछ। लिलामिन जम्मा हुँदै गएर कालोपोतो धब्बाको रुपमा बस्छ। बजारमा आएका जुनसुकै क्रिम प्रयोग गर्नाले पनि अनुहारमा बिभिन्न समस्या देखिने गर्छन्। जथावाभी रुपमा आफूलाई सुट नहुने क्रिम प्रयोग गर्नाले बाहिरी समस्या देखिन्छन्। भित्रि कारणमा हाम्रो थाइराइड ग्लान्डमा भएको हर्मोनको गढबढीले पनि समस्या देखापर्छ। धेरै सोच्ने, चिन्ता गर्ने व्यक्तिमा पनि यस्ता समस्या देखिने गरेका छन्। महिलामा हुने हर्मोनको असरले पनि उनीहरुमा बढी समस्या हुने गरेको छ।
जथावाभी कस्मेटिक प्रयोग गर्दा समस्या
अहिले बजारमा विभिन्न प्रकारका क्रिम पाइन्छन्। कसैको सल्लाह बिनानै धेरै महिलाले चाइनिज, कोरिएन क्रिम प्रयोग गरेको पाइन्छ। कुनै एक जनालाई ठिक भएको आधारमा अरुले पनि प्रयोग गरेको देखिन्छ। कुनै महिलाको अनुहार बिग्रियो भने एकदमै चिन्ता हुन्छ। कुनै सनब्लक क्रिम, गोरोपना आउने क्रिम प्रयोग गर्नुभन्दा पहिले छाला रोग विशेषज्ञलाई देखाएर मात्र प्रयोग गर्नुपर्छ। बजारमा पाइने क्रिमले क्षणिक समयको लागि राम्रो भए पनि पछि छाला पातलो हुने, पोल्ने, दाग वा धब्बा आउने, रौ आउने जस्ता समस्या देखा पर्छन्।
बढी समस्या देखिने उमेर
चायापोतो विशेषगरी ३० वर्षमाथिका महिलामा बढी देखिएको छ। जुन महिला बढी घाममा काम गर्ने, घाममा हिँड्ने गर्छन्, जसले घामबाट बच्ने क्रिम प्रयोग गर्दैनन् त्यस्ता महिलामा बढी समस्या देखिने गरेको छ। गर्भवती भएपछि चायापोतो आउने सामान्य कुरा हो। अहिले १७, १८ वर्षका युवतीमा पनि चायापोतोको समस्या देखिने गरेको छ। कसैलाई वंशाणुगत पनि यस्ता समस्या देखिने गरेका छन्। परिवारका कुनै एक सदस्यको चायापोतो छ भने अरुलाई पनि हुने सम्भावना रहन्छ।
सावधानीको लागिका लागि के गर्ने ?
सावधानीका लागि हामीले घाममा हिँड्नु भन्दा अगाडि सधै सनब्लक क्रिमको प्रयोग गनुपर्छ। जाडोयाम, गर्मीयाममा क्रिम प्रयोग गर्नुपर्छ। हामीले यो क्रिम दिनमा तीन पटक प्रयोग गर्नुपर्छ। बिहान उठ्ने बित्तिकै, घरबाट बाहिर निस्कने बेला र दिउँसो एकपटक सनब्लक लगाउनुपर्छ। १० देखि ३ बजेसम्मको घाम एकदमै चर्को हुन्छ, त्यो बेला घरबाहिर निस्कदा सनब्लक लगाउने, छाता ओढ्ने गर्नुपर्छ।
स्विमिङ गर्दा हाई एसपिएफको क्रिम लगाउनुपर्छ। बेलुका राम्रोसँग मुख धोएर मोस्चराइजर लगाएमा चायापोतो आउन पाउँदैन। बाहिरी या भित्री तह कहाँ चायापोतो आएको हो बुझेर औषधि लगाउनुपर्छ। यो औषधि लगाएको तीनदेखि चार महिनापछि मात्र केही मात्रामा हराउने गर्छ। चायापोतो पूर्ण रुपमा निको हुन गाह्रो छ। तर, यसलाई केही कम गर्न सकिन्छ। यसको लागि दैनिक सनब्लकको प्रयोग गर्ने, घाममा कम हिँड्ने र छालाको हेरचाहमा ध्यान दिने गर्नुपर्छ।
उपचार
अहिले बजारमा धेरै प्रविधि आएका छन्। केमिकल पिलिङ, लेजर गर्नाले पनि केही हदसम्म फिका गराउन सहयोग गर्छ। केमिकल पिलिङ, लेजर व्यक्तिको चायापोतो हेरेर महिनामा एक पटक वा दिनदिनै पनि गर्नुपर्ने हुन्छ। एकपटक चायापोतो आएपछि पूर्ण रुपमा निको हुन गाह्रो हुन्छ। हामीले केयर गर्यौ भने तीनदेखि ८ महिनामा निकै फिका बनाउन सकिन्छ।
उपचार खर्च
सामान्यतया त्यति धेरै खर्चिलो पनि छैन, केही परीक्षण गर्नुपरेमा मात्र खर्च लाग्ने हो। डाक्टरको सल्लाहमा दाग हराउने खालको क्रिम प्रयोग गनुपर्छ। त्यति खर्चिलो छैन प्राय सबैको पहुँचमा रहेको छ। दाग फिका बनाउने क्रिम, चायापोतो हेरेर छालारोग विशेषज्ञको सल्लाहमा मात्र प्रयोग गर्नुपर्छ। चायापोतो कस्तो अवस्थामा छ, कति रेन्जमा छ हेरेर मात्र औषधि दिइन्छ। सुरुको फेजमा हामीले उपचार गर्छौ, त्यसको लागी दुईदेखि चार महिना लाग्छ। त्यसपछि मेन्टेनेन्स थेरापी गर्न लामो समय लाग्छ।
कति एसपीएफको सनब्लक राम्रो ?
नेपालसँगै साउथ एसियन देशमा एसपीएफ १५ को क्रिम लगाए पनि हुन्छ। तर, लगाउने तरिका हुन्छ। दाग धब्बा भएका र चायापोतो आएका व्यक्तिले ३० देखि ५० एसपीएफ सम्मको क्रिम लगाउनुपर्छ। यदि छालामा केही समस्या छैन भने एसपीएफ १५ को लगाए मात्रै पुग्छ। एकपटक लगाउदा ५ एमएल लगाउनु पर्छ। यो दिनमा ३ पटक लगाउदाँ राम्रो हुन्छ। यी कुरामा ध्यान दिइयो भने छालाबाट आउने समस्याबाट बच्न सकिन्छ।
चायापोतो आउनै नदिन के गर्ने ?
सुरुमा त हामीले घाममा निस्कनु भन्दा पहिले सनब्लकको प्रयोग गर्नुपर्छ। दिनमा तीन पटक सनब्लक लगाउने। घाममा निस्कदा कालो छाता ओढेर निस्कने गर्नुपर्छ। स्विमिङ गर्दा, ट्रेकिङ गर्दा बढी एसपिएफको सनब्लक लगाउने गर्नुपर्छ। योबाहेक डाइटमा पनि ध्यान दिनुपर्छ। पानी धेरै खाने, एन्टिअक्डिेन्ट फुडले पनि दाग हराउन सहयोग गर्छ। छालामा केही समस्या आयो भने आफैले किनेर केही औषधि प्रयोग गर्नु हुँदैन। (छाला रोग विशेषज्ञ डा. अनुपमा कार्कीसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीमा आधारित)













प्रतिक्रिया