आज असार २४, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई ८, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :
जापानका पूर्व प्रधानमन्त्री आबेको हत्या
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या भएको छ । पश्चिमी जापानको नारा शहरमा आयोजित राजनीतिक ¥यालीमा सम्बोधन गर्ने क्रममा उनको हत्या भएको हो ।
आसन्न संसदीय निर्वाचनका लागि नारा शहरमा चुनावी अभियानमा रहेका उनलाई कसैले पछाडिबाट गोली हानेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । शुक्रबार स्थानीय समयअनुसार बिहान ११ बजेर ३० मिनेटको समयमा नारा शहरको रेल स्टेशन अघि भाषण दिने क्रममा उनीमाथि गोली प्रहार भएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार त्यसबेला दुई राउण्ड गोली प्रहारको आवाज सुनिएको थियो । पछि घटनास्थलबाट सुरक्षाकर्मीले खैरो रंगको टिसर्ट र सुरुवाल लगाएको एक जना मानिसलाई नियन्त्रणमा लिएका थिए ।
जापानी प्रसारण संस्था एनएचकेका अनुसार आबेमाथि गोली प्रहार गरेको आरोपमा एकजना ४१ वर्षे पुरुषलाई पक्राउ गरिएको छ । उनको नाम तेत्सुया यामागामी रहेको जापानी प्रहरीले जनाएको छ ।
प्रहरीलाई उनले आफू आबेप्रति असन्तुष्ट रहेको र मार्न चाहेको बयान दिएको जनाइएको छ । उनी नारा शहरकै बासिन्दा रहेको र उनले सन् २००५ सम्म जापानी सेनामा तीन वर्ष सेवा गरेको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
आबेमाथि घरमै निर्मित बन्दुकबाट गोली हानिएको थियो । गोली लाग्नेबित्तिकै उनलाई हृदयघात भएको थियो । पछि उनलाई उपचारका लागि हेलिकोप्टरमार्फत् अस्पताल पु¥याइएको थियो । अस्पतालमा उपचारका क्रममा आबेको निधन भएको द्दोषणा गरिएको हो ।
आबेको हत्या भएको घोषणा हुनुअघि जापानका प्रधानमन्त्री फुमियो किशिदाले आबेमाथि गोली प्रहारको निन्दा गरेका थिए । ‘यो आक्रमण हाम्रो लोकतन्त्रको जग मानिने चुनावको बेला भएको अमानवीय कार्य हो र यो माफी गर्न लायक छैन ।’ किशिदालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
आबेले सन् २०२० मा राजीनामा दिनुअघि दुई पटक जापानी प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
जापानमा हिंसात्मक अपराध तथा राजनीतिक हिंसा निकै दुर्लभ मानिन्छ । सन् १९३० पछि जापानमा हत्या गरिएका उनी पहिलो वर्तमान वा पूर्व राजनेता रहेको रोयटर्सले जनाएको छ ।
यसअघि सन् २००७ मा नागासाकी शहरका मेयरलाई जापानका कुख्यात याकुजा ग्याङ्ले गोली हानी हत्या गरेका थिए ।
अमेरिकामा ९ करोड कोरोना भाइरसबाट सङ्क्रमित
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ९ करोड नाघेको छ । गत २४ घण्टामा यो खबर तयार पार्दासम्म दुई हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएसँगै अहिलेसम्म कोरोना पुष्टि हुनेको ९ करोड ४९ हजारभन्दा धेरै भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले जनाएको छ ।
वल्डोमिटरका अनुसार संयुक्त राज्य अमेरिकामा अहिलेसम्म कोरोना पुष्टि भएका मध्ये ८ करोड ५६ लाखभन्दा धेरै निको भएका छन् ।
१० लाख ४५ हजारको भने मृत्यु भइसकेको छ । अहिलेसम्म विश्वभर ५५ करोड ८४ लाखभन्दा धेरैमा कोरोना पुष्टि हुँदा ५३ करोड १९ लाख निको भएका छन् । ६३ लाख ६ हजारको भने मृत्यु भइसकेको छ ।
भारी वर्षाका कारण पाकिस्तानमा १५ जनाको मृत्यु
पाकिस्तानमा अत्यधिक वर्षाका कारण १५ जनाको मृत्यु भएको छ ।
देशको बलुचिस्तान र गिल्गिट बाल्टिस्तानमा पछिल्लो ४८ घण्टामा उनीहरूको मृत्यु भएको अधिकारीले जनाएका छन् ।
मृत्यु भएकामध्ये १० जनाको बलुचिस्तानमा मृत्यु भएको हो । मृत्यु हुनेमा महिला पनि रहेको जनाइएको छ ।
वर्षाले धेरै घरहरूमा क्षति गरेको छ । बाढी तथा पहिरोबाट प्रभावित स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
विस्थापित भएकाहरूका लागि आवश्यक त्रिपाल उपलब्ध गराइएको छ । उनीहरू त्यसैमा बसेको सरकारी अधिकारीहरूले जनाएका छन् ।
त्यसैगरी गिल्गिट बाल्टिस्तानमा पाँच जनाको मृत्यु भएको छ । तीमध्ये चार महिला रहेका छन् भने एउटा बच्चा रहेका छन् ।
अत्यधिक वर्षाका कारण ती क्षेत्रमा बाढी र पहिरोहरू गएका छन् । ठूलो जनधनको क्षति भएपछि त्यस क्षेत्रमा आपतकाल घोषणा गरिएको छ ।
न्युजिल्याण्ड र अष्ट्रेलियाका प्रधानमन्त्रीबीच भेटवार्ता
न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डन र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले शुक्रबार सिड्नीमा पहिलो वार्षिक अष्ट्रेलिया न्युजिल्याण्ड नेताहरूको बैठकमा भेटवार्ता गरेका छन् ।
बैठकको उद्देश्य “अष्ट्रेलिया र न्युजिल्याण्ड बीचको घनिष्ठ सम्बन्धलाई थप सुदृढ पार्नु थियो,“ अर्डरनले एक विज्ञप्तिमा भनेकी छिन् ।
दुबै नेताले प्रशान्त क्षेत्रमा सहकार्य, संलग्नता र जलवायु परिवर्तन लगायातका कार्यका लागि प्रतिबद्ध देशहरूको जिम्मेवारीबारे थप छलफल गरेका थिए ।
’ट्रान्स–टास्मान म्युचुअल रिकग्निसन एरेन्जमेन्ट’ (टीटीएमआरए) न्युजिल्याण्ड र अष्ट्रेलियाको राष्ट्रमण्डल, राज्य र क्षेत्रीय सरकारहरू बीचको गैर–सन्धि व्यवस्था हो । यो व्यवस्था एकल आर्थिक बजारको आधारशिला पनि हो । यो नियामक समन्वय र एकीकरण को एक शक्तिशाली चालक पनि हो ।
अल्बानीजले चुनाव जितेको केही समयपछि गत जुनमा अष्ट्रेलियामा यी दुईको अनौपचारिक भेट भएको हो ।
चिनियाँ तथा भारतीय विदेशमन्त्रीबीच भेटवार्ता
चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीच इन्डोनेसियाको पर्यटकीय सहर बालीमा भेटवार्ता भएको छ । उनीहरु जि२० को सम्मेलनमा सहभागी हुन इन्डोनेसियाको बालीमा छन् । त्यस क्रममा दुई मुलुकका विदेशमन्त्रीबीच भेटावार्ता भएको हो ।
भेटवार्ताका क्रममा विशेषगरी हालैका दिनमा युक्रेनमा विकसित भएको परिस्थितिका बारेमा कुराकानी भएको बताइएको छ । त्यस भेटका क्रममा चिनियाँ विदेशमन्त्री यीले अहिलेको अवस्थामा युक्रेनमा युद्ध गर्ने र शीतयुद्धको जस्तो अवस्था निम्त्याउने भन्दा पनि दुबै तर्फबाट वार्ताको प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिएको बताइएको छ ।
रुसले युक्रेनमाथि हमला जारी राखेको छ । गत महिनादेखिको यो युद्धका कारण रुस र युक्रेन दुवैलाई राम्रो नगरेको भन्दै यी दुई देशले आक्रमणलाई नभएर वार्ताको प्रक्रिया थाल्नुपर्नेमा चिनियाँ विदेशमन्त्रीले जोड दिएका थिए ।
सो भेटका क्रममा चिनियाँ विदेशमन्त्री यीले युक्रेन र रुसको पछिल्लो तनावको अवस्थालाई कम गरी आपसी सहयोग र समन्वयबाट विश्व समुदायले नै यी दुई देशलाई वार्ताका लागि तयार गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।
नाइजेरियामा सडक दुर्घटना
नाइजेरियाको उत्तरी राज्य कादुनामा भएको सडक दुर्घटनामा नौ जनाको ज्यान गएको छ । कादुनामा बस र कार जुध्दा सवारीमा रहेका कम्तीमा पनि नौ जनाको ज्यान गएको र अरु १२ जना घाइते भएको अधिकारीले जनाएका छन् ।
कादुनाको ‘फेडरल रोड सेफ्टी कोपोरेसन’ का कमाण्डर हाफिज मोहम्मदले कादुना सहरमा तीव्र गति, गलत ओभरटेक र नियन्त्रण गुमाएका कारण दुई ट्रक, बस र कार ठोक्किएको पत्रकारहरूलाई बताएका छन् । घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको पनि मोहम्मदले बताएका छन् ।
उक्त प्रान्तमा भारीमा मात्रामा सवारी साधनहरुका कारण बारम्बार यस्तो दुर्घटना हुने गर्दछ । पछिल्लो दुर्घटना पनि सडकमा सवारी साधनहरुको चापका कारण भएको प्रहरीले प्रारम्भिक अनुसन्धानमा जनाएको छ ।
विवाहित महिलालाई थप बच्चा जन्माउन चीन सरकारको प्रोत्साहन
राष्ट्रको जनसङ्ख्या बढाउन र देशको श्रमशक्तिमा योगदान गर्न चीन सरकारले विवाहित महिलाहरूलाई थप बच्चा जन्माउन प्रोत्साहन गरेको छ ।
देशमा गम्भीर जनसाङ्ख्यिक सङ्कट उत्पन्न हुन नदिन सरकारले विवाहित दम्पतिलाई कर र आवास ऋण, शैक्षिक लाभलगायत नगद प्रोत्साहन उपलब्ध गराएको हो ।
गत वर्षको अन्त्यमा चिनियाँ मुख्य भूमिको जनसङ्ख्या एक अर्ब चालीस करोड १३ रहेको र नवजात शिशुको सङ्ख्या एक करोड ६२ लाखमा झरेको ग्लोबल टाइम्सले जनाएको छ । नवजात शिशु र कालगतिले मर्ने चिनियाँ नागरिकको सङ्ख्या हाराहारीमा रहेको उक्त पत्रिकाले छापेको छ ।
दशकौंसम्म चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो एक बच्चा नीतिलाई कडाइका साथ कार्यान्वयन गरेको तथा महिला अधिकारको दमनले जन्म नियन्त्रण गर्न बाध्य दम्पतिले अब तीनवटासम्म सन्तान जन्माउन पाउने भएका छन् तर विवाहित जोडी नयाँ सुविधा र प्रोत्साहन भत्ताप्रति खासै आकर्षित भएका छैनन् । एक महिला उक्त सुविधाबाट वञ्चित छन् ।
चिनियाँ महिलाहरूको बढ्दो शैक्षिक र आर्थिक विकासका कारण उनीहरूको विवाह गर्ने प्रवृत्ति पनि पुरुषको तुलनामा कम छ । गत वर्ष, बेइजिङले नयाँ जनसङ्ख्या र परिवार योजना कानून जारी ग¥यो जसले चिनियाँ दम्पतीहरूलाई तीनवटा बच्चा जन्माउन अनुमति दिए पनि भरणपोषणलगायत अभिभावकीय जिम्मेवारी बहनका निम्ति बढ्दो लागतका कारण थप बच्चा जन्माउने चाहना उनीहरूमा नरहेको बताइएको छ ।
चन्द्रमाका विषयमा अमेरिका र चीनबीच तनाव
पछिल्लो समय चन्द्रमाका विषयलाई लिएर चीन र अमेरिकाबीच तनाव बढ्दै गएको छ । अमेरिकी अन्तरिक्ष प्रशासन नासा प्रमुख बिल नेल्सनले केही दिन अघि एक अन्तर्वार्तामा चीनले कुनै दिन चन्द्रमामा अवतरण गर्न सक्ने बताएका थिए ।
उक्त अन्तर्वार्तामा उनले बेइजिङले चन्द्रमालाई आफ्नो क्षेत्र घोषणा गर्न सक्ने दाबी गरेपछि तनाव सुरु भएको हो । नेल्सनका अनुसार सन् २०३५ सम्ममा चीनले आफ्नो चन्द्रमा स्टेसनको निर्माण पूरा गर्नेछ । त्यसपछि बेइजिङले धेरै चन्द्रयानहरू प्रक्षेपण गर्न सक्नेछ ।
उनको आरोपसँगै के चीनले साँच्चै चन्द्रमा कब्जा गर्न सम्भव छ ? उसले चन्द्रमालाई आफ्नै क्षेत्र घोषणा गर्ला ? भन्ने चासो उत्पन्न भएको छ ।
‘हामी धेरै चिन्तित हुनुपर्दछ किनकी चीन चन्द्रमामा अवतरण गरिरहेको छ र उसले यो हाम्रो हो र तपाई बाहिर बस्नुहोस भन्दै छ’, नासा प्रशासक बिलले भने । नेल्सनले चीनको अन्तरिक्ष कार्यक्रम सैन्य कार्यक्रम रहेको दाबी गरे । चीनले अरूको विचार र प्रविधि चोरेको समेत उनले आरोप लगाए ।
जवाफमा चीनले सधैं बाह्य अन्तरिक्षमा राष्ट्रहरूको समुदाय निर्माण गर्न आह्वान गरेको टिप्पणी गरेको छ । चीनले नासाका प्रमुखको दावीलाई गैरजिम्मेवारपूर्ण रहेको समेत जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, ‘अमेरिकी नेसनल एयरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसनका प्रमुखले तथ्यलाई बेवास्ता गरेको र चीनको बारेमा गैरजिम्मेवारीपूर्ण कुरा गरेको यो पहिलो पटक होइन ।’
हालैका वर्षहरूमा चीनले चन्द्रमा अन्वेषणमा ध्यान केन्द्रित गर्दै आफ्नो अन्तरिक्ष कार्यक्रमको गतिलाई बढाएको छ । चीनले सन् २०१३ मा चालक दलका सदस्यरहित यान अवतरण गराएको थियो । यस दशकको अन्त्यमा चन्द्रमामा अन्तरिक्ष यात्री पठाउन पर्याप्त शक्तिशाली रकेटहरू प्रक्षेपण गर्ने अपेक्षा गरेको छ ।
चीनले चाँडै चन्द्रमाको दक्षिणी ध्रुवमा चालक दलका सदस्यरहित मिसनको योजना बनाइरहेको बताइन्छ ।
फिलिपिन्सका राष्ट्रपतिलाई कोरोना भाइरसको सङ्क्रमण
फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोस कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । उनका प्रेस सचिव रोज बिट्रिक्स क्रुज एन्जेल्सले यसबारे जानकारी दिएका हुन् । उनले पत्रकार सम्मेलनमा ६४ वर्षीय मार्कोस कोभिड १९ को एन्टिजेन परीक्षणमा सङ्क्रमित देखिएको जानकारी दिएका हुन् ।
उनलाई हल्का ज्वरो आएको तर उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।
एन्जलसले राष्ट्रपति मार्कोससँग नजिकको सम्पर्कमा रहेकाहरूलाई स्वास्थ्य मापदण्ड अनुसार सचेत रहेन आग्रह गरेका छन् । मार्कोसलाई सन् २०२० मार्चमा पनि कोभिड सङ्क्रमण भएको थियो ।
प्रतिक्रिया