एजेन्सी – मध्य कायरोमा मङ्गलबार ६ तले आवासीय भवन ढल्दा आठ जनाको मृत्यु भएको र तीन जना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
‘नौ वटा एम्बुलेन्स घटनास्थलमा पठाइएको छ र उद्धारकर्ताहरूले भग्नावशेष उठाउन र कुनै घाइते वा शवको खोजी गर्न जारी राखेका छन्’, स्वास्थ्य मन्त्रालयका प्रवक्ता होसम अब्देल गफ्फारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कायरोको निम्न–मध्यम आय भएको अल–वैली छिमेकमा सन् १९६० को दशकमा निर्माण गरिएको भवनका लागि सन् १९९३ मा पुनःस्थापना आदेश जारी गरिएको जिल्ला प्रमुख अहमद अवादले बताए । ‘तर भवनका बासिन्दाहरूले आदेशमा पुनरावेदन गरेका थिए र यो कार्यान्वयन गरिएको थिएन’, उनले भने ।
कायरो महानगरपालिकाको विज्ञप्तिअनुसार मङ्गलबार सावधानीका लागि छिमेकी भवनहरू खाली गरिएको थियो । मध्य कायरोका धेरैजसो भवनहरू १९औँ र २०औँ शताब्दीको सुरुआतमा निर्माण गरिएका छन् र पुनःस्थापना गरिएका छैनन् ।
दुई करोड ६० लाखभन्दा बढी मानिस बस्ने विशाल महानगर कायरोमा विगत केही वर्षमा भवन भत्किँदा कयौँ घातक दुर्घटनाहरू भएका छन् ।
यी दुर्घटना भवनहरूको जीर्ण अवस्था र निर्माण नियमावलीको पालना नगर्नेसँग सम्बन्धित छन् ।
प्रतिक्रिया