काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र लक्जमबर्गका उपप्रधानमन्त्री तथा विदेश एवं वैदेशिक व्यापारमन्त्री जेभियर बेटेलबीच मङ्गलबार लक्जमबर्गमा भेटवार्ता भएको छ ।
सन् २०१३ देखि २०२३ सम्म लक्जमबर्गका प्रधानमन्त्री पनि रहेका बेटेलसँग परराष्ट्रमन्त्री देउवाले लक्जमबर्ग सिटीस्थित बेटेलकै कार्यकक्षमा भेटघाट गरेकी हुन् ।
भेटवार्ता क्रममा नेपाल-लक्जमबर्ग सम्बन्धका विविध पक्षका साथै आपसी हित, साझा चासो र सहकार्यका बारेमा कुराकानी भएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जानकारी दिएको छ ।
भेटघाट अवसरमा नेपालको विकास प्राथमिकता तथा नेपाल र लक्जमबर्ग बीचको आर्थिक सहकार्यबारे दुई देशका मन्त्रीहरूले विचार आदानप्रदान गरेका थिए । वार्ता क्रममा विश्वव्यापी तापमानमा भइरहेको वृद्धि र त्यसबाट निम्तिएको जलवायु परिवर्तनको असरबारे पनि कुराकानी भएको थियो ।
जलवायु परिवर्तनको असरको चपेटामा परेको नेपालले अकल्पनीय क्षति व्यहोर्नु परिरहेकाले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि अपिल गरिएको पनि मन्त्री डा. देउवाले सो भेटका क्रममा जानकारी गराएकी थिइन् । उनले लक्जमबर्गलाई नेपालको विकास सहायतामा प्राथमिकतामा राख्न मन्त्री बेटेललाई अनुरोध पनि गरिन् ।
मन्त्री देउवाले नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन लागेकाले त्यसपछिको अवस्थामा नेपाललाई आर्थिक, प्राविधिक लगायतका क्षेत्रमा आवश्यक सहयोगका लागि पनि मन्त्री बेटेललाई आग्रह गरेकी बताइएको छ ।
नेपाल र लक्जमबर्गबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
प्रतिक्रिया