भरतपुरका ज्येष्ठ पत्रकारलाई मासिक भत्ता दिन सुरु  | Khabarhub Khabarhub

भरतपुरका ज्येष्ठ पत्रकारलाई मासिक भत्ता दिन सुरु 


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर महानगरपालिकाको सहयोगमा ज्येष्ठ पत्रकारलाई मासिक भत्ता दिन सुरु गरिएको छ । महानगरले उपलब्ध गराएको रु २० लाखको अक्षयकोषबाट भत्ता दिन सुरु गरिएको हो ।

सो कोषमा नेपाल पत्रकार महासङ्घ चितवन शाखाले रु एक लाख थप गरी भत्ता वितरण थालिएको हो । कोषका लागि भरतपुर महानगरपालिकाले आज एक समारोहकाबीच रकम हस्तान्तरण गरेको छ । महानगर प्रमुख रेणु दाहालले महासङ्घका अध्यक्ष नारायण अधिकारीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन् ।

महासङ्घले कोषमा जम्मा गर्नुपर्ने रकमबाट गत वैशाखदेखि असारसम्म तीन महिनाको चार जना पत्रकारलाई मासिक रु चार हजारका दरले हुन आउने रु १२ हजार जनही वितरण गरिएको छ ।

योग्यता पुगेका एक जना नेपाल बाहिर रहेकाले पछि सो रकम हस्तान्तरण गरिने महासङ्घले जनाएको छ । महासङ्घ र महानगरपालिका मिलेर भरतपुर महानगर ज्येष्ठ पत्रकार निवृत्तिभरण कार्यान्वयन कार्यविधि २०७८ बनाई सो कार्यविधि अनुसार कोष स्थापना गरी प्राप्त व्याजबाट भत्ता वितरण सुरु गरिएको हो । कार्यविधि बनाएर काम अघि बढाएको महानगरले जनाएको छ ।
लाभग्राही पत्रकार थपिएसँगै स्वतः महानगर र महासङ्घले कोषमा रकम थप गर्ने गरी कार्यविधि बनाइएको छ । कोष सञ्चालनका लागि महासङ्घका पदाधिकारी र महानगरका कर्मचारी रहेको पाँच सदस्यीय सञ्चालक समिति रहेको छ ।

रकम हस्तान्तरण गर्दै प्रमुख दाहालले महासङ्घसँग सहकार्य विगतमा झैँ आगामी दिनमा पनि गर्दै जाने बताइन् । उमेर घटाउने र कोषलाई वृद्धि गर्दै लग्ने विषयमा महानगरले छलफल गर्ने उनको भनाइ छ । उनले नेपालमा नै पहिलो पटक पत्रकारिता क्षेत्रमा नमूना कार्य गरिएको बताइन् । महासङ्घले अघि बढाएको पत्रकार तालिम केन्द्रका लागि महानगरले दुई कट्ठा जमिन संरक्षणका लागि दिएको भन्दै उनले तालिम केन्द्रका लागि आवश्यक रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् ।

यससँगै लेखन वृत्ति, क्षमता अभि वृद्धिलगायतका कार्यमा महानगरले सहकार्य गर्ने उनको भनाइ छ । प्रमुख भएसँगै अघिल्लो कार्यकालमा पत्रकारिता क्षेत्रलाई प्रवर्द्धन हुने गरी विभिन्न कार्यक्रम अघि बढाएको उनले बताइन् । यस कार्यकालमा पनि महासङ्घका प्रस्तावलाई सम्बोधन गरिने उनले जानकारी दिइन्।

सोही अवसरमा उपप्रमुख चित्रसेन अधिकारीले नेपालमै महानगरले महासङ्घसँग सहकार्य गरेर अनुकरणीय काम अघि बढाएको बताए। यसबाट दुई संस्था बीचको सहकार्य थप मजबुत हुने उनको भनाइ छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले महानगरले सबै प्रक्रिया पूरा गरेर महासङ्घसँग सहकार्य गरी भत्ता वितरण कार्यका लागि कोषमा जम्मा हुने गरी रकम वितरण गरेको बताए । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सिर्जना अर्यालले देशमा नै नमूना काम यहाँको महासङ्घ र महानगरले गरेको भन्दै प्रशंसा गरे ।

महासङ्घका अध्यक्ष अधिकारीले संस्थागत रुपमा महासङ्घबाट आएका प्रस्ताव अहिलेसम्म फर्किनु नपरेको भन्दै अब अगाडि सारिएका आयोजनामा सहकार्य गरिदिन आग्रह गरे । सोही अवसरमा ६० वर्ष कटेका ज्येष्ठ पत्रकार रेसम वीरही, डिल्लीराम पोख्रेल, मोहन पोख्रेल र महेन्द्रराज श्रेष्ठलाई तीन महिनाको निवृत्तिभरण रकमबापत रु १२ हजारका दरले चेक हस्तान्तरण गरिएको थियो । निवृत्तिभरण रकम बुझेसँगै वीरहीले पत्रकारको योगदान हालसम्म राज्यले गर्न नसकेको बताए । यो कार्यको थालनी महत्त्वपूर्ण भएको उनको भनाइ थियो ।

भत्ता वितरण कार्यविधि अनुसार महिला, दलित, अपाङ्ग र अल्पसङ्ख्यकका लागि ५५ वर्ष र अन्यको हकमा ६० वर्ष कटेका र २० वर्ष पत्रकारिता गरेका पत्रकारलाई यो कोषबाट भत्ता वितरण गर्ने व्यवस्था रहेको छ ।

नेपाल सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता पाउन योग्य उमेर भएपछि यो कोषबाट भत्ता पाइने छैन । यससँगै नेपाल सरकारका कुनै पनि निकायका नियमित सुविधा लिनेलाई कोषमा समावेश गरिने छैन ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ७ : ०२ बजे

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– साताको पहिलो कारोबार दिन सुनको मूल्य घटेको छ ।

साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल पर्यटकको रोजाइमा

ताप्लेजुङ– विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा पछिल्लो समय आन्तरिक तथा

प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालको हितेन्द्रलाई सुझाव- बत्तीमुनि बसेर ‘बिजुली गयो’ भन्छन्, ध्यान दिएर काम गर्नुस्

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले

एनएलजी इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

काठमाडौं– एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ ।

कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

विराटनगर– कोशी प्रदेशसभाको बजेट अधिवेशन आज सुरु हुँदैछ । बैठक