तनहुँ – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सरकारले ज्यादती गरेको टिप्पणी गरेका छन् ।
तनहुँस्थित आँखुबैरेनी गाउँपालिका पार्टी कमिटीको दोस्रो अधिवेशन उदघाटन तथा खबरदारीसभामा बोल्दै पुनले विभिन्न जिल्लामा घुमाएर सरकारले रास्वपासहित अरू दललाई तर्साउन लामिछानेलाई एकपछि अर्को जिल्लामा घुमाइरहेको बताएका हुन् ।
‘रवि लामिछानेमाथि छानबिन गर्ने कुरामा हाम्रो भन्नु केही छैन । तर कहिले पोखरा, कहिले भैरहवा, कहिले काठमाडौं, चितवन र कहिले पर्सा किन हिँडाएको हिँडायै गरिएको छ ? के अरू प्रतिपक्षी दललाई पनि तर्साउन खोजिएको हो ?’, उनले भने, ‘राज्यको नियन्त्रणमा रहेको व्यक्तिबाट सरकारले के खतरा देख्यो ? मध्यरातमा उठाएर मौलिक अधिकार, मानवअधिकार र सामान्य प्रक्रिया पनि पूरा नगरी किन चितवनबाट पोखरा लगियो ?’
पुनले लामिछानेलाई मध्यरातमा उठाएर चितवनबाट पोखरा लैजानुको कारणबारे सरकारले जवाफ दिनुपर्ने बताए । सहकारीका बचत हिनामिना भएका पीडितको रकम फिर्ता गराउन भन्दा पनि लामिछानेप्रति प्रतिशोध साँध्न सरकार तल्लीन रहेको पुनले दाबी गरे ।
सहकारी ठगी छानबिन गर्न गठित संसदीय समितिले दोषी औंल्याएका कांग्रेसका वरिष्ठ नेता र एमालेका सांसदलाई छानबिनको दायराबाहिर राखिएकामा पनि उनले सवाल उठाए । सत्ता गठबन्धनका दल र आफू निकटका व्यक्तिहरू विभिन्न काण्डमा मुछिँदा उनीहरूलाई छानबिनबाहिर राख्ने तथा विपक्षी दल वा सामान्य मानिसहरूमाथि मात्र कारबाही अघि बढाउने सरकारको नियतले कानून सबैका लागि बराबर हुनुपर्ने सिद्धान्त खण्डित भएको पुनले तर्क गरे ।
‘विपक्षी दलका नेतामाथि प्रशन उठ्नेबित्तिकै छानबिन गर्ने, अनि आफ्ना नेता र निकट मान्छेमाथि प्रश्न उठ्दा केही पनि गर्नु नपर्ने ! के यही हो लोकतन्त्र ? यही हो यो सरकारको सुशासनको मोडेल ?’, पुनले प्रश्न गरे ।
पुनले कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री लीलाबल्लब अधिकारीले मानव तस्करसँग मिलेर युवाहरूलाई विदेश लगेको खुलेपछि जापानको अध्यागमनले फिर्ता पठाएको प्रसंगको चर्चा गर्दै प्रहरीले १२ जनामाथि मुद्धा चलाउन सिफारिस गरेकामा अधिकारीबाहेक ११ जनालाई मात्र मुद्धा चलाइनुले सरकारको नियत स्पष्ट हुने बताए ।
‘जसले मान्छे लगेको छ, प्रधानमन्त्रीको दलको सांसद र नेता भएकाले उसलाई कुनै छानबिन र कारबाही गर्नुनपर्ने, जो गएको छ – उसमाथि चाहिँ कारबाही गर्ने यो कुन प्रकारको कानूनी शासन हो ?’, पुनले प्रश्न गरे ।
पुनले प्रधानमन्त्री केपी ओलीले भ्रष्ट र अनियमितताका विभिन्न काण्डमा मुछिएका मन्त्रीलाई दायाँबायाँ राखेर सुशासनको भाषण गर्न नसुहाउने टिप्पणी पनि गरे ।
‘एकातिर स्काउटको जग्गा भाडामा लिएर पैसा नतिर्ने मन्त्री छन् । अर्कातिर नक्कली भुटानी शरणार्थीदेखि अनियमितताका विभिन्न काण्डमा मुछिएकाहरू बसेका छन्’, पुनले भने, ‘बीचमा बसेर प्रधानमन्त्री भन्नुहुन्छ – भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ । भ्रष्टाचारीको मुख पनि हेर्दिनँ ।’
उनले वर्तमान सरकार स्वार्थ समूह र बिचौलियाले बनाएको तथा उसैले चलाइरहेको आफूहरूको आरोप सरकारका एकपछि अर्को व्यवहारहरूले पुष्टि गर्दै गएको बताए ।
सुशासन र भ्रष्टाचार निययन्त्रण तथा राज्य दोहनमा संलग्नमाथि कारबाही अघि बढिरहेका बेला नक्कली भुटानी शरणार्थीसँग सम्बन्धित एक व्यक्ति पक्राउ परेपछि छानबिनको सुई आफूहरूतिर सोझिने डरका कारण कांग्रेस–एमाले रातारात मिलेर सरकार बनाएको आरोप पुनले लगाए ।
‘स्वार्थ समूह र विचौलियाको स्वार्थ टकराएका कारण हामी सरकारबाट बाहिरिन पुग्यौं । त्यतिेबला यो कुरा हामीले भन्दा माओवादीले सरकार छाड्दाका पीडा व्यक्त गरेको भनियो । आज सरकारका गतिविधि र तथ्यहरूले नै भनिरहेको छ कि हामीले त्यतिबेला भनेका कुरा सही थिए’, पुनले भने ।
पुनले नक्कली भुटानी शरणार्थी प्रकरण, गिरिबन्धु टी स्टेट प्रकरण र बाँसबारीको सरकारी जग्गा हडपिएको जस्ता प्रकरण छानबिनका लागि तत्कालीन सरकारको पालामा खोलिएको फाइल ओली सरकारले बन्द गरेको आरोप लगाए । ‘ती प्रकरणहरूमा अघि बढेको छानबिन कहाँ पुगेको छ ?’, उनले भने ।
फरक प्रसंगमा उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला प्रहरी र राज्यका अरू निकायलाई आफू र आफ्नो दलका कोही नेता कुनै पनि अनियमितामा मुछिएको भए स्वतन्त्रतापूर्वक छानबिन गर्न सार्वजनिक रूपमै अपिल गरेको भन्दै वर्तमान प्रधानमन्त्री ओलीको त्यस्तो प्रतिबद्धता कतै सुन्न नपाइएको टिप्पणी गरे ।
ओलीमाथि कम्बोडियाको टेलिकम कम्पनीमा अर्बौं रुपैयाँ लगानी गरेको आरोप लागे पनि कुनै जवाफ नआएको उनको भनाइ थियो । ‘सार्वजनिक जीवनमा भएका मान्छेमाथि सार्वजनिक रुपमा टिप्पणीहरू हुन्छन् । प्रधानमन्त्रीले कम्बोडियामा लगानी गरेको आरोप लाग्यो । तर, त्यसबारे प्रधानमन्त्री स्वयं, उहाँको दल र सरकारका तर्फबाट प्रष्टीकरण दिनुपर्छ कि पर्दैन ?’, पुनले प्रश्न गरे ।
पुनले सरकारमा जाने विषयमा आफूहरूले ध्यान नदिएको भन्दै संसदको यो कार्यकालभर मिलेर सरकार चलाउन कांग्रेस–एमालेलाई आग्रह गरे । सरकारले राम्रो काम गर्दा आफूहरूको साथ रहने भन्दै उनले अहिलेकै कार्यशैलीलाई निरन्तरता दिए जनतामा गएर फण्डाफोर गर्ने बताए ।
‘हामीलाई सरकारबाहिर भएर केही छटपटी भएको छैन । कांग्रेस र एमालेले ०८४ सम्मै सरकार चलाउन् । हामी प्रतिपक्षमा बसेर सरकारलाई खबरदारी गर्छौं । राम्रो कामका लागि शुभेच्छा भए पनि सरकारले रामो काम गरेको छैन । आवश्यक पर्दा सडकमा गएर सरकारसँग जवाफ माग्छौं । विकृति र कूकृत्यहरूको भण्डाफोर गर्छौं’, पुनले भने ।
उनले जनमत सधैं एकै दलको नहुने कुराको संकेत हालै सम्पन्न स्थानीय निर्वाचनबाट प्रष्ट भएको भन्दै आगामी निर्वाचनमा आफ्नो दलतर्फ मतदाता आकर्षित हुने दाबी गरे ।
मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष र उदयपुरको बेलाका नगरपालिकाको एउटा वडामा गत उपनिर्वाचनमा चौथो भएको आफ्नो दलका उम्मेदवार हालै विजयी भएबाटै उक्त कुरा पुष्टि हुने तर्क पुनले गरे ।
प्रतिक्रिया