महोत्तरी– करारका कर्मचारी हटाउने निर्णयविरुद्ध बर्दिबासका दलहरू एकजुट भएका छन् । कर्मचारी हटाउने निर्णय पूर्ण पूर्वाग्रही र अन्यायपूर्ण भएको भन्दै आज बसेको सर्वदलीय बैठकले पुन: स्थापनाको लागि माग गर्ने निर्णय गरेको हो ।
नगरभित्रका अस्थायी कर्मचारीहरूलाई हटाउने निर्णयको आलोचना भइरहेको बेला सर्वदलीय उक्त निर्णयलाई स्वागत गरिएको छ । अन्यायपूर्ण उक्त निर्णय अविलम्ब फिर्ता लिइ करारका कर्मचारीहरूलाई पूर्ववत् काममा फर्काउने वातावरण मिलाउन सबै दलले अनुरोध गरेका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एस, लोसपा लगायत दलहरूको बैठकले उद्योग वाणिज्य संघ बर्दिबास र खानेपानी तथा सरसफाइको रिक्त कार्यसमितिको विषयमा समेत ध्यानाकर्षण जनाएका छन् ।
खानेपानी र उद्योग वाणिज्य संघमा नेतृत्व गर्नेहरूनै जनप्रतिनिधिमा निर्वाचित भएका हुनाले विधिअनुसार कार्यसमिति बनाइ पूर्णता दिन संयुक्त अनुरोध गरिएको छ ।
वडा नम्बर १२ का जनप्रतिनिधि तथा वडाध्यक्ष रामकिशोर साहको हातपातको विषयमा समेत राजनीतिक दलहरूले चासो देखाएका छन् । कार्यकक्षमा नै प्रवेश गरी अध्यक्ष साहमाथि भएको साङ्घातिक हमलाप्रति निन्दा गर्दै दोषीलाई तुरुन्त कारवाही गर्न दलहरूले प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया