काठमाडौँ : बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः
१. बाढीबाट प्रभावित स्थानीयलाई सुरक्षित स्थानतर्फ सार्न थालियो
अविरल वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेर बस्तीमा पसेपछि स्थानीयलाई सुरक्षित स्थानतर्फ सार्न थालिएको छ । नदीको बाँध फुटेर गाउँ पस्दा मानवीय क्षति नभएपनि अन्नपात नष्ट भएको राहत र उद्धारको काममा लागिरहेको प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले जानकारी दिए । आफू घटनास्थलमै रहेको र नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीले उद्धारको काम गरिरहेको प्रजिअ यादवले बताए । सप्तकोसी नदीको बाध फुट्दा पानीको बहाव आज बिहानबाट उदयपुर, सप्तरी र सुनसरीका बस्तीतर्फ पनि पसेको जनाइएको छ ।
२. सप्तकोशी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन निर्देशन
गृहमन्त्री बालकृष्ण खाँणले सप्तकोशी प्रभावितहरूको उद्धारलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । उनीहरूलाई प्रभावकारी रुपमा छिटो स्थानान्तरण गरी राहतको बन्दोबस्त गर्न गृहमन्त्री खाँणले सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । नदी नजिकैको बस्तीमा पसिसकेकोले नागरिकहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक एसपी सुवास बोहोराले जानकारी दिए ।
३. तुरिया खोलाको बाध फुट्दा सयौँ बिघा खेत डुबानमा
रूपन्देहीको तुरिया खोलाको बाध फुट्दा किसानको सयौँ बिघा खेत डुबानमा परेको छ । केही दिनदेखि परेको पानीका कारण पानीको सतह बढेपछि रोहिणी गाउँपालिका–५ को तुरिया बाँध फुटेको हो । बाँध बनेपछि हौसिएका किसानहरू धान खेती गरेका थिए । असार महिनामा निर्माण गरिएको बाँध एक महिना नबित्दै भत्केपछि उनीहरू अहिले निराश भएका छन् ।
४. नेपाल चीन सिद्धान्तप्रति दृढतापूर्वक रहने चिनियाँ राजदूतको विश्वास
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल चीन सिद्धान्तप्रतिको प्रतिबद्धतामा दृढतापूर्वक रहने विश्वास व्यक्त गरेका छन् । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले चीन र अमेरिकाबीच सम्बन्ध तनावको शिखरमा पुगेका बेला काठमाडौँस्थित चिनियाँ राजदूतले होउले आज विज्ञप्ति जारी गरी नेपालले लामो समयदेखि ‘ताइवान स्वतन्त्रता’ को मुद्दामा दृढतापूर्वक विरोध गरिरहेकोमा उच्च प्रशंसा गर्दै ताइवान मामिलामा नेपालको प्रतिवद्धता स्मरणगराएका हुन ।
५. ‘गठबन्धको सरकारले देशलाई संकटतर्फ धकेलिदियो’
नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको ५ दलीय गठबन्धको सरकारले एक वर्षको अवधिमा मुलुकलाई अगाडि बढाउनेतर्फ भन्दा पनि देशलाई संकटतर्फ धकेलेको आरोप लगाएका छन् । तुलसीपुरमा प्रेस चौतारी नेपाल दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनको महासचिव पोखरेलले सरकार पूर्णरुपमा असफल भएको भन्दै भ्रष्टाचार र महँगीले सिमा नाघेको पनि पनि आरोप लगाए । उनले यो गठबन्धनको सरकार बनेपछि राष्ट्रियहितका प्रश्नहरू कमजोर बनेको भन्दै जनताको विकास र समृद्धिको चाहना अवरोध भएको पनि बताए ।
६. मधेश प्रदेशले प्रहरी समायोजनको माग गर्दे सरकारविरुद्ध आन्दोलन गर्ने
मधेश प्रदेश सरकारले प्रहरी समायोजनमा संघीय सरकारले सहयोग नगरेको भन्दै श्रावणको २९ देखि संघीय सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । मधेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जनकपुरधाममा आज पत्रकार सम्मेलनको आयोजना गरी साउन २२ गते सरकारका प्रतिनिधि प्रदेश प्रमुख मार्फत सातदिने अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाउने र माग सम्बोधन नभए आठौं दिनदेखि सडक आन्दोलन थाल्ने जानकारी दिए ।
७. सोलार प्यानलको २२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो
नुवाकोटमा सोलार प्यानल आयोजनाबाट साढे २२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको छ । नेपाल विद्युत् प्राधिकरणले न विदुर नगरपालिका–१२ स्थित निर्माण गरिरहेको सोलार प्यानल आयोजनाबाट उत्पादित बिजुली हालै ग्रिडमा थपिएको हो । कफी एरिया २ मा राखिएको सोलार प्यानल आयोजनाबाट अहिले २२ मेगावाट क्षमताको सोलार प्यानलबाट बिजुली उत्पादन भइरहेको छ ।
८ .पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै विरोध प्रदर्शन
अनेरास्ववियु बागमती प्रदेश उपत्यका विशेष कमिटीले पेट्रोलियम पदार्थको र एलपी ग्यासको मूल्य घटाउन माग गर्दै विरोध प्रदर्शन गरेको छ । काठमाडौँको टेकुस्थित आयल निगममा पुगेर आज कालोपट्टी बाँधेर प्रदर्शन गर्दै कमिटीले ज्ञापनपत्रसमेत बुझाएको हो । पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा समायोजन हुँदा पनि नेपालमा मूल्य समायोजन नभएकोप्रति उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
९. संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटर्रेसले भोलि जापानको भ्रमणमा जाने
संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेस एसियाली देशहरूको भ्रमणमा जाने भएका छन् । महासचिव गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले सो भ्रमणका बारेमा जानकारी दिएका हुन् । प्रवक्ता डुजारिकले महासचिव गुटर्रेस भोलि जापानका लागि प्रस्थान गने छन् । जापानमा उनले हिरोसिमामा आयोजना हुने शान्ति स्मारक समारोहमा सहभागी हुने छन् ।
१०. पाकिस्तानद्वारा एसिया कप क्रिकेटका लागि टोली घोषणा
पाकिस्तानले एसिया कप क्रिकेटका लागि टोली घोषणा गरेको छ । पाकिस्तानले बाबर अजामको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । एसिया कप अगस्ट २७ बाट सुरु हुँदै छ । पाकिस्तान समूह ’ए’ मा रहेको छ । समूह ’ए’ मा साविक विजेता भारत, पाकिस्तान र छनोटबाट आउने एक टोली रहेका छन् । कुवेत, हङकङ, सिंगापुर र कुवेत मध्ये एक टोली यस समूहमा रहने छन् । प्रतियोगितामा ६ टोली सहभागी हुँदैछन् ।
प्रतिक्रिया