आदिकवि भानुभक्त आचार्यको चर्चा कोलाकातामा | Khabarhub Khabarhub

आदिकवि भानुभक्त आचार्यको चर्चा कोलाकातामा


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलकाता – नेपाली भाषा तथा साहित्यको विकासमा आदिकवि भानुभक्त आचार्यले पुर्‍याएको योगदानलाई चिरस्थायी बनाउन भारतको पश्चिम बङ्गाल सरकारले स्थानीय हावडा सहर तथा त्यस वरपर क्षेत्रमा आदिकविको स्मरणमा शालिक स्थापनाका साथै भानुचोक घोषणाको गृहकार्य गरेको छ ।

कोलकातामा लामो समयदेखि बसोबास गर्ने नेपाली भाषा बोल्ने समुदायले आदिकविलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न गरेका प्रयासस्वरुप उक्त कार्य थालिएको हो । आदिकवि भानुभक्तको २०९ औँ जन्मजयन्तीको अवसरमा नेपाली जनकल्याण समिति (हावडा)को आयोजनामा हालै सम्पन्न कार्यक्रममा सहभागी भएका पश्चिम बङ्गालका समन्वयमन्त्री अरुप रायले आदिकवि नेपाली भाषाका अगुवा भएको बताउँदै कोलकातास्थित हावडा सहर तथा त्यस वरपर क्षेत्रलाई उनको स्मृतिमा नामकरण गरिने घोषणा गरे। आदिकविले रामायणको अनुवादका माध्यमबाट धार्मिक विषय, तत्कालीन नेपाली समाज चिनाउन भूमिका निर्वाह गरेको बताउँदै उनको पूर्णकदको मूर्ति निर्माण गर्ने प्रतिबद्धता व्यक्त सो अवसरमा व्यक्त गरियो ।

धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहुँको रम्घामा विसं १८७१ असार २९ गते भानुभक्तको जन्म भएको थियो । घाँसीको समाजसेवाको भावनाले कुवा बनाउने कार्ययोजनाबाट प्रभावित भानुलाई सो विषयले आदिकवि बन्न प्रेरित गरेको थियो । घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही नौलो कार्य गर्ने प्रेरणा पाएको भनाइ छ ।

राजा रामको आदर्शलाई जनमानसमा फैलाउने व्यक्ति पनि भानु नै हुन् । भाषा, साहित्य, संस्कृति, धर्म, दर्शनको राम्रो अध्ययन भएकाले उनले अनुवाद गरेको रामायण अहिलेसम्म पनि नेपाली जनजिब्रोमा उत्तिकै झुण्डिएको छ । उनलाई राष्ट्रिय विभूतिको सम्मानसमेत प्रदान गरिएको छ ।

नेपाली जनकल्याण समितिका अध्यक्ष बद्रीविक्रम थापाले आदिकवि भानुभक्त बहुआयामिक व्यक्तित्व भएको कुरा उनका समग्र रचनाले पुष्टि गरेको बताए । विगत २५ वर्षदेखि आदिकविको स्मरणमा यस क्षेत्रमा भानुको जन्मजयन्ती कार्यक्रम गर्ने गरिएको जानकारी उनले दिए।

सो समितिले बिहानी नामक वार्षिक साहित्यिक पत्रिका २३ वर्षदेखि भानुमा समर्पित गरेर प्रकाशन गर्दै आएको छ । अयोध्याका राजा दशरथको ज्येष्ठ सन्तानका रुपमा रामको जीवनीका सबै आयामलाई लिपिबद्ध गरिएको रामायण हिन्दू धर्मावलम्बीको ठूलो कृति मानिएको छ । त्यसका संस्कृत श्लोकलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर आदिकविले सरल नेपाली भाषामा लेखेको श्लोक अहिले पनि नेपाली समाजमा लोकिप्रय छ । विभिन्न स्थानमा पढाइ हुने गुरुकुलमा यसका श्लोकको सस्वर वाचन गरिन्छ। उनको कविताबाट तत्कालीन सामाजिक परिवेश, सांस्कृतिक परम्परा, मूल्यमान्यतालाई अध्ययन तथा गहन विश्लेषण गर्न सकिन्छ ।

नोबल पुरस्कार विजेता रवीन्द्रनाथ टैगोरको जन्म पनि कोलकाताको जोडासाँकु भन्ने ठाउँमा सन् १८६१ मे ७ मा भएको थियो । विश्वविख्यात कवि, साहित्यकार, दार्शनिकका रुपमा परिचित टैगोर एशियाकै पहिलो नोबेल पुरस्कार विजेता हुन् । उनले साहित्य, सङ्गीत र चित्रकलामा विशेष ज्ञान राख्थे । उनको काव्यरचना गीताञ्जलिका लागि सन् १९१३ मा साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरियो । टैगोरको स्मरणमा पनि नेपालस्थित भारतीय दूतावासका साथै अन्य साहित्यकार र तीनका संस्थाले साहित्यिक कार्यक्रम आयोजना गर्ने गरेको पाइन्छ ।

साहित्यको प्रभावलाई कुनै पनि भूगोल तथा देशको सिमानाले खुम्चाउन सक्दैन । साहित्य, कला, सङ्गीतको शक्तिले मानवीय संवेदनालाई बुझ्ने, सिर्जनशीलता, ज्ञान, चेतना, विकास, समृद्धिका लागि प्रेरित गर्ने गर्दछ । विविधताले भरिएको नेपाली जाति समुदायको एकता, राष्ट्रिय पहिचान तथा नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान रहेकोले नेपाली भाषा बोल्ने सबैले उनको सम्मान गर्नुपर्ने तिलकराम पौडेलको धारणा छ । ऊर्जा विज्ञ उनी नेपाली मूलको भारतीय नागरिक हुन् । भानुभक्तको योगदानलाई फैलाउन महत्वपूर्ण कार्य युवाकवि मोतीराम भट्टले गरेको इतिहास पाइन्छ । करिब तीन लाख नेपाली कामको सिलसिलामा कोलकातामा बसोबास गर्ने गरेको अनुमान छ ।

नेपाली कला, साहित्य र नृत्यको प्रवद्र्धन गर्न क्रियाशील दिलीप थापा करिब तीन दशकदेखि सोही क्षेत्रमा बसोबास गर्छन् । नेपालीका साथै बङ्गालीलाई नृत्य सिकाउँदै आएका उनले नेपाली भाषीहरु विश्वका जुनसुकै स्थानमा भए पनि त्यहाँ भानुजयन्ती मनाउनुपर्नेमा जोड दिए । नेपाली भाषा तथा समुदायको उन्नयनमा क्रियाशील करिब दुई दर्जन जति सङ्घ संस्था कोलकातामा छन् ।

भारतको आसाम, मणिपुरलगायतका नेपाली भाषाभाषीको बीचमा भानुभक्तको महिमा ठूलो रहेको पाइन्छ । दार्जिलिङमा भानुभक्तको शालिक छ । त्यहाँ भानुजयन्तीलाई पर्वकै रुपमा मनाइन्छ । बर्मा, भुटानलगायत देशमा पनि भानुजयन्ती मनाइन्छ । नेपाली, अङ्ग्रेजी, बङ्गाली र हिन्दी भाषाका ज्ञाता आशा बराल उपाध्यायले विभिन्न जाति, भाषा, साहित्य र संस्कृतिले सजिएको नेपाललाई पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको भए पनि आदिकविले भाषा, साहित्य र संस्कृतिमार्फत सबै नेपालीलाई एकताबद्ध बनाउन भूमिका निर्वाह गरेको विचार व्यक्त गरे। आदिकविले मानिस जन्मेपछि समग्र समाजका लागि कुनै योगदान गर्नुपर्छ, नाम कृति छाडनुपर्छ भन्ने सन्देश दिएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ११ : १० बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा