दिउँसो १ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

दिउँसो १ बजेसम्मका मुख्य १० समाचार


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो २४ घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउँसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्:

१. आगामी निर्वाचनमा १० अर्ब खर्च  हुने अनुमान
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान गरेको छ ।

आज ललितपुरमा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा आयोगले मतदाता शिक्षाका कार्यक्रम‚ मतपत्र छपाइ, निर्वाचन सामाग्रीको खरिद लगायत काममा उक्त रकम खर्च हुने बताएको हो ।

२. स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाउने उम्मेदवार बन्न पाउँदैन : आयोग 
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाउनेहरूलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार बन्न रोक लगाउने तयारी गरेको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाउनेहरूलाई आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार बन्न रोक लगाउने बताएका हुन्।

३. चुनावको प्रचार १५ दिन मात्रै गर्न पाइने गरी निर्देशिका जारी गरिने
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा १५ दिन मात्रै प्रचार गर्न पाउने गरी निर्देशिका जारी गर्ने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उम्मेदवारी दर्ता मतदानभन्दा ३९ दिनअघि नै हुने भए पनि प्रचारको समय घटाइने जानकारी दिएका हुन् । उम्मेदवारी मनोनयन दर्ता भए पनि बाँकी २४ दिनसम्म के–के गर्न पाइने हो भन्ने कुरा पनि आयोगले नै बताउने उनले बताए ।

४. नेता आडम्बरी र पाखण्डी नहोस् : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देशको हित र विकासका कुनै काम गर्न नसकेको आरोप लगाएका छन् ।

आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले विकासका धेरै कार्यक्रम ल्याए पनि वर्तमान सरकारले निरन्तरता दिन नसकेको आरोप लगाएका हुन्।

उनले यसअघिको एमाले सरकारले विभिन्न राजमार्ग, देशैभर ३ सय ९६ अस्पताल लगाएका विभिन्न आयोजनाको शिलान्यास गरे पनि वर्तमान सरकारले पैसा अभाव भएको भन्दै उक्त आयोजनालाई निरन्तरता दिन नचाहेको बताए ।

 ५. काठमाडौँको फोहर उठाउन सरकारको हुती छैन : योगेश भट्टराई
नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौँको फोहर उठाउन सरकारको हुती नभएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा भट्टराईले काठमाडौँमा फोहर नउठेको ७१ दिन हुँदा पनि प्रधानमन्त्रीले कुनै पहल नगरको र मन्त्रीहरू बेखबर रहेको भन्दै फोहर उठाउन सरकारको हुती नभएको बताएका हुन्।

उनले काठमाडौँमा फोहर नउठ्दा हैजा र झाडापखालाको महामारीको खतराका साथै उपत्यकाको सौन्दर्य नै गुम्ने खतरा भएकाले फोहर व्यवस्थापनको ठोस प्रस्ताव लिएर आउन काठमाडौँका मेयर बालेन्द्र शाहलाई सुझाव दिए।

६. देशैभरका नायव सुब्बाहरू आज पनि आन्दोलित 
देशैभरका नायव सुब्बाहरूले आज पनि आन्दोलित जारी राखेका छन् । कर्मचारीको वृत्ति विकासलगायत माग राख्दै  सिंहदरबारस्थित विभिन्न मन्त्रालय र तीनै तहका सरकार अन्तर्गत कार्यालयमा आज नासुहरूले  ‘काम गर्दा सधैँ नासु तर झार्नुपर्ने आँसु’ लेखेको प्लेकार्डसहित आन्दोलन गरिरहेका छन्  ।

 यस अघि पेन डाउन, बिदा बस्दै आएका थिए , नासु लगायत राजपत्र अनङ्कित कर्मचारीको वृत्ति विकासमा सरकारले ध्यान दिनुपर्ने माग रहेको निजामती कर्मचारी युनियनका उपमहासचिव इन्दु शर्माले जानकारी दिए ।

७. एक्स्काभेटर पुर्दा एक जनाको मृत्यु 
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ३ मा पर्ने झुम खोलामा पहिराले एक्स्काभेटर पुर्दा एक जनाको मृत्यु भएको छ  ।

जिँउ–जुफाल जोड्ने सडक निर्माण गर्ने क्रममा  आज बिहान एक्स्काभेटर पहिराले पुर्दा  चालक नेपालगन्ज उपमहानगरपालिका– १९ राँजा बस्ने ३० वर्षीय सुरज बसाल मगरको घटनास्थलमै मृत्यु भएको हो ।

८. पाकिस्तानमा बाढी र पहिरोमा परी १० जनाको मृत्यु  
पाकिस्तानमा मनसुनी वर्षासँगै आएको बाढी र पहिरोमा परी १० जनाको मृत्यु  भएको  छ ।

गएको २४ घण्टायता पाकिस्तानका विभिन्न स्थानमा भएको निरन्तरको वर्षा र बाढीमा परेर अरू २६ जना घाइते भएका यहाँका राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जानकारी दिएको हो ।

पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ ।

९. पोखरामा पहिलो संस्करणको राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता आयोजना हुने 
पोखरामा पहिलो संस्करणको राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रतियोगिता भदौ १२ देखि १९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता डेभिज स्कुनर क्लबमा आयोजना हुने  आज  आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

गण्डकी प्रदेशको सर्वाधिक पुरस्कार राशिको यस प्रतियोगिताले पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रबद्धर्नमा सहयोग पुर्‍याउने आयोजकले बताएको छ ।

१०. कर्णालीका उद्योगमन्त्री शाहीले लिए शपथ
कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीले पदभार सम्हालेका छन् ।

आइतबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसँग शाहीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । सो अवसरमा मुख्यमन्त्री जीवनबहादुर शाही पनि उपस्थित थिए ।

माओवादी केन्द्र कर्णाली प्रदेश सभा सदस्य शाहीलाई शुक्रबार मुख्यमन्त्री शाहीले मन्त्री नियुक्त गरेका थिए । गैरसंसद कार्चेन लामाको कार्यकाल ६ महिना पूरा भएपछि उद्योग मन्त्रालय खाली थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १ : ४२ बजे

इजरायल-हिज्बुल्लाह संघर्ष : सीमा क्षेत्रबाट लाखौं सर्वसाधारण विस्थापित

एजेन्सी – पश्चिम एसियाको इजरायल-लेबनान सीमा क्षेत्रबाट केही दिनभित्रै लाखौं

नेपाल र ओमान बीचको खेल वर्षाले रोकियो

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमान

नेपाल प्रहरीका १४३ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीले एकैपटक १४३ प्रहरी नायब उपरीक्षक (डीएसपी)

बालविवाहमा महान्यायाधिवक्ताको निर्देशन – ‘बहुमुद्दा नचलाउनू’

काठमाडौं – महान्यायाधिवक्ता कार्यालयले महिला र पुरुष दुवै जना नाबालक

फोहरको थुप्रोमा खानेकुरा बनाउने गरेको एलिनाज क्याफेलाई जरिवाना

काठमाडौं – फोहरको थुप्रोमा खानेकुरा बनाएको भेटिएपछि ललितपुरस्थित रोयल एलिनाज