छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज दिनभर राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता, कार्यदललाई छिटो प्रतिवेदन तयार गर्न सत्ता गठबन्धनको निर्देशन, मतपत्रमा उम्मेदवारी दिएकाको मात्रै निर्वाचन चिन्ह राखिने, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकप्रति राष्ट्रिय मानवअधिकार आयोगको आपत्ति, प्रचण्ड र बाबुरामबीच निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने सहमति, कर्मचारीहरुको नयाँ तलबमान एवम् ग्रेड स्वीकृत लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

 

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक अस्वीकृत गरेकी छन् ।राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न नागरिकता विधेयक आइतबार संसदमा फिर्ता पठाएकी हुन् ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देश सहित यो विधेयक सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ’ आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

संसदका दुबै सदनले पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्ने वा पुनर्विचारका लागि फिर्ता पठाउन सक्ने संवैधानिक व्यवस्था छ ।

कार्यदललाई छिटो प्रतिवेदन तयार गर्न सत्ता गठबन्धनको निर्देशन

सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठित कार्यदललाई छिटो प्रतिवेदन तयार गर्न निर्देशन दिएका छन ।

बालुवाटारमा आइतबार बसेको गठबन्धनको बैठकले केहिदिन अघि गठन गरिएको सिट बाँडफाँट व्यवस्थापन समितिलाई चाँडो भन्दा चाँडो कार्य सम्पन्न गर्न निर्देशन दिएको कांग्रेस नेता एवं सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

काठमाडौं उपत्यकाको फाल्ने स्थान बन्चरेडाँडामा बिभिन्न समस्या हुँदा फोहर उठ्न सकेको छैन । प्रमुख प्रतिपक्षी दलले पनि काठमाडौंको फोहर व्यवस्थापन गर्न सडक र संसदमार्फत सरकारको ध्यानाकर्षण गराउदै आएको छ । यसैबीच यता तीन सत्तारुढ दलले सदाका लागि फोहोर फ्याँक्न नदिने घोषणा गरेका छन् ।

सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका धादिङको धुनीबेंसी नगरपालिकास्थित संगठनहरुले बञ्चरेडाँडा अब सदाका लागि फोहोर फ्याँक्न नदिने घोषणा गरेका हुन् ।

उनीहरुले १७ वर्षदेखि काठसहितका नगरपालिकाको फोहोर धादिङ र नुवाकोटको सिमाना सिसडोल र पछिल्लो समय कुडुल्ले बञ्चरेडाँडामा अव्यवस्थित रुपमा फ्याँकिने गरेको पनि बताएका छन् ।

स्थानीयबासिन्दाको जनजीवन ज्यादै कष्टकर हुनुका साथै दीर्घ रोगले स्थानीयबासीहरु पीडित भइरहँदा पनि मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने फोहोरको उचित व्यवस्थापनमा महानगरसहित संघीय सरकारले चासो नदिएको उनीहरुले बताएका छन् ।

मतपत्रमा उम्मेदवारी दिएकाको मात्रै निर्वाचन चिन्ह राखिने

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेदवार नउठेको दलको चुनाव चिह्न मतपत्रमा नराखिने भएको छ ।

ललितपुरमा आज निर्वाचन आयोग र सम्पादकसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतपत्रमा उम्मेदवारी दिएकाको मात्रै निर्वाचन चिन्ह राखिने बताए ।

गत बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले तालमेल गरेका ठाउँमा उम्मेदवार नभएको दलको चिह्न मतपत्रमा राखिएको थियो । त्यसो गर्दा उम्मेदवार नभएको ठाउँमा मत खस्न गई बदर मतको संख्या बढेको पाइएको आयोगले जनाएको छ ।

यस्तै आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान गरेको छ । आयोगले मतदाता शिक्षाका कार्यक्रम‚ मतपत्र छपाइ, निर्वाचन सामाग्रीको खरीद लगायत काममा सो रकम खर्च हुने बताएको हो ।

आगामी निर्वाचनमा १० हजार ८ सय २५ मतदान स्थल र २२ हजार ५ सय मतदान केन्द्र रहने पनि आयोगले जनाएको छ ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकप्रति राष्ट्रिय मानवअधिकार आयोगको आपत्ति
राष्ट्रिय मानवअधिकार आयोगले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सशस्त्र द्वन्द्वकालमा भएका घटनालाई मानव अधिकारको उल्लंघन र गम्भीर मानव अधिकारको उल्लंघन रुपमा व्यख्या गर्न सुझाव दिएको छ ।

आयोगले आज ललितपुरमा पत्रकार सम्मेलनमार्फत बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन तथा सो ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा आयोगको धारणा सार्वजनिक गर्दै ऐन संशोधन गर्न बिभिन्न १२ सुझाव दिएको जनाएको हो ।

प्रचण्ड र बाबुरामबीच निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गरेर जाने सहमति
माओवादी केन्द्र र समाजवादी पार्टीबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एउटै घोषणा पत्र र एउटै चुनाव चिह्न प्रयोग गरेर जाने सहमति भएको छ ।

समाजवादी पार्र्टीका अध्यक्षद्धय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच र माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान भेटवार्तामा एउटै चुनाव चिह्न लिएर संयुक्त रुपमा जान दुबै दल सहमत भएका हुन् ।

आजको छलफल मौखिक समझदारीमा पुगिसकेको भोलिसम्म लिखित समझदारी बनाइने नेपाल समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

कर्मचारीहरुको नयाँ तलबमान एवम् ग्रेड स्वीकृत
सरकारले कर्मचारीहरुको नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।

त्यस्तै बैठकले भदौ ७ देखि ९ मा संयुक्त राष्ट्रसंघको आयोजनामा थाईल्याण्डमा हुने एक सम्मेलनमा सहभागी हुन राष्ट्रिय योजना आयोगका सचिवलाई स्वीकृति दिने निर्णय गरेको छ ।

गणपुरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित
गणपुरक संख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटसम्म स्थगित भएपछि ६९ जना सांसद उपस्थित नहुँदा प्रतिनिधिसभा मंगलबारसम्मका लागि स्थगित भएको हो ।

सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ माथि छलफल भएर निणयार्थ पेश गर्ने क्रममा गणपुरक संख्या नपुगेपछि साउन ३१ लागि बैठक स्थगित गरिएको हो ।

प्रतिनिधि सभाबाट बीमा विधेयक, २०७९ पारित भएको छ । आज बसेको बैठकले बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो ।

यस्तै सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ पारित गरेको छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले सो विधेयक पारितका लागि प्रस्तुत गर्नुभएको थियो ।

नेताहरुको ध्यान श्रीमतीलाई प्रधानमन्त्री बनाउनमा केन्द्रीत छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले श्रीमतीलाई प्रधानमन्त्री बनाउन नेताहरुको ध्यान केन्द्रीत भएको टिप्पणी गरेका छन्।

काठमाडौंमा आज राष्ट्रिय आर्थिक मासिकको १२ औं वार्षिकोत्सव समारोहमा अध्यक्ष ओलीले अहिले मुलुकमा देश बिकास गर्ने भन्दा पनि श्रीमतीलाई प्रधानमन्त्री बनाउने भिजन हावी भएको बताएका हुन ।

उनले आफुले घुँडा टेक्ने हो भने सरकार बनाउन कुनै गाह्राे नभएको भन्दै कसैको प्रधानमन्त्री हुने मोहले देशको भविष्यसंग खेलबाड गर्न नहुने बताए ।

प्रकाण्ड चीन प्रस्थान
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ चीन प्रस्थान गरेका छन्।

एयर चाइनाको सी ए ४३८ उडानबाट प्रकाण्ड आज दिउँसो चीनको छेन्दु प्रस्थान गरेकाे  स्रोत जनाएको छ ।

स्रोतका अनुसार प्रकाण्ड चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन प्रस्थान गरेका हुन् । ललितपुर जिल्ला अदालतबाट गत साउन १६ गते प्रकाण्ड विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ९ : ४१ बजे

बारम्बर किन उठ्छ बाँके र बर्दियालाई कर्णालीमा गाभ्ने बहस ?

सुर्खेत – गत शनिबार बाँकेको कोहलपुरमा आयोजित तेस्रो मुख्यमन्त्री कोहलपुर

शान्ति नभएसम्म चुनाव नहुने युक्रेनका विपक्षी नेताहरूको भनाइ

किएभ– युक्रेनी विपक्षी नेताहरू पेट्रो पोरोशेन्को र युलिया टिमोशेन्कोले बिहीबार

कुलमानबारे ऊर्जामन्त्रीले दिएको अभिव्यक्ति ढाँटछलपूर्ण : माधव सापकोटा

काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कुलमान घिसिङका

पृथ्वी राजमार्ग : कतै धमाधम काम, कतै धुलैधुलो (तस्बिरहरू)

काठमाडौं– देशका पश्चिमी क्षेत्रका जिल्ला र संघीय राजधानी काठमाडौंलाई जोड्ने

‘बेरुजुका सम्बन्धमा महालेखाको सुझाव कार्यान्वयन गर्नुपर्छ’

काठमाडौं – महालेखापरीक्षकको कार्यालयले लेखा परीक्षणका सम्बन्धमा औँल्याइएको विषय तथा