काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी राष्ट्रपति उम्मेदवारीबारे अहिले नै चर्चा गर्नु हतार हुने बताएका छन् ।
मङ्गलबार ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पलाई सन् २०२८ को राष्ट्रपति निर्वाचनमा भान्स उम्मेदवार बने आफूले समर्थन गर्ने हो कि होइन भन्ने प्रश्न गरिएको थियो । रोचक कुरा, उक्त प्रश्न सोधिँदा भान्स ट्रम्पको ठीक पछाडि उभिएका थिए ।
जवाफमा ट्रम्पले भान्सलाई ‘अत्यन्त प्रतिभाशाली’ र ‘निकै असल व्यक्ति’ भन्दै प्रशंसा गरे। यद्यपि, अहिले नै भविष्यको राजनीतिबारे छलफल गर्ने उपयुक्त समय नभएको उनको भनाइ थियो ।
‘अहिले नै यसबारे कुरा गर्नु धेरै चाँडो हुन्छ । हामीले पहिले मध्यावधि निर्वाचन पार गर्नुपर्छ । त्यसपछि परिस्थिति कस्तो हुन्छ, हेर्नेछौँ,’ ट्रम्पले भने।
यसैबीच, उपराष्ट्रपति भान्सले पत्रकार मार्क हेल्परिनलाई दिएको अन्तर्वार्तामा आफूले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने वा नदिनेबारे निर्णय गरिनसकेको बताए।
यद्यपि, आफूले निर्वाचन लड्ने निर्णय गरेमा ट्रम्पले समर्थन गर्ने अपेक्षा रहेको उनले बताएका थिए ।














प्रतिक्रिया