ललितपुर- पाटन मंगलबजार परिसरमा अवस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजन भित्रिने क्रम जारी छ । आज भदौ कृष्ण अष्टमी अर्थात् ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व भएसँगै भगवान्को दर्शन तथा पूजा एवं आराधनाका लागि भक्तजन पाटन पुगेका छन् ।
गए राति १ बजेदेखि दर्शनार्थीको चहलपहल मन्दिरमा रहेको मन्दिरका रेखदेखकर्ता भुवनबहादुर चित्रकारले बताए। उनले भने, “भक्तजन आउने क्रम जारी छ ।” भगवान् कृष्णको दर्शनका लागि एक पटकमा तीस महिला र सोही सङ्ख्यामा पुरुषलाई प्रवेशको व्यवस्था गरिएको चित्रकारले जानकारी दिए।
मध्यराति १२ बजे कृष्णको नित्य पूजा गरी मन्दिरको ढोका खोलेसँगै भक्तजनको प्रवेश गराइएको हो । मन्दिरका मूल पुजारी रुपनशर्मा राजोपाध्यायका अनुसार दर्शनार्थीले बिना झन्झट पूजाआजा गरिरहेका छन् । दर्शन गर्ने कार्य व्यवस्थित बनाउन स्वयंसेवक खटाइएको मङ्गल टोल सुधार सङ्घका अध्यक्ष किरणमान प्रधानले बताए।
कृष्ण मन्दिरभित्र मोबाइल तथा क्यामेरा लैजान निषेध गरिएको छ । कृष्ण भगवान्को उपासनामा दर्शनार्थीले भजन कीर्तन तथा नाचगानसमेत गरिरहेका छन् । महिला र पुरुषको छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया