काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन् :
१. समानुसपातिकका लागि भदौ १० देखि दल दर्ता
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई भदौ १० गतेदेखि दल दर्ता गर्न सकिने जनाएको छ । आयोगले मंसिर ४ मा हुने निर्वाचनका लागि भदौ १० देखि १२ गतेसम्म दर्ताका लागि निवेदन पेस गर्नुपर्ने जनाएको हो ।
२. निर्वाचन पर्यवेक्षणका लागि निवेदन दिन आह्वान
निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि निवेदन दिन आह्वान गरेको छ । आयोगले मंसिर ४ गते हुने निर्वाचनका लागि राष्ट्रिय संस्थाहरूलाई पर्यवेक्षणका लागि आह्वान गरेको हो । पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूले १५ दिनभित्र आयोगमा पर्यवेक्षण अनुमतिका लागि आवेदन दिनुपर्ने आयोगले जनाएको छ ।
३. निर्वाचन सुरक्षाका १६ अर्ब माग
मंसिर ४ गते हुने आम निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले १५ अर्ब ९६ करोड रुपैयाँ माग गरेको छ । देशभरका २२ हजार ५३४ मतदान केन्द्रको सुरक्षाका लागि प्रहरीले ७१ हजार ६९३ सुरक्षाकर्मी परिचालन गर्ने जनाएको छ । यसबाहेक थप सुरक्षाका लागि प्रहरीले एक लाख २० हजार म्यादी प्रहरी भर्ना गर्ने जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले निर्वाचन सुरक्षार्थ खटिने प्रहरीको तलब भत्ता, खाना तथा खाजा खर्च र आवश्यक सवारीसाधन खरिद तथा भाडाका लागि आवश्यक बजेट माग गरिएको जानकारी दिए ।
४. नागरिकता विधेयकलाई राष्ट्रघाती भन्नेहरु पाखण्डी हुन् : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकलाई राष्ट्रघाती भनेर पाखण्डीपना देखाउनुबाहेक केही नभएको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले गलत उद्देश्यका निम्ति गलत ढंगले प्रचार गरिएको दाबी गरे । विधेयकको सारतत्व भनेको आमाबाबु दुवै नेपाली भएका नागरिकले नागरिकता पाउने कुरा भएकोले त्यसकारण यसलाई राष्ट्रघात भन्न नमिल्ने उनको भनाई छ ।
५. सत्ता गठबन्धनको शीर्ष नेताको बैठक आज पनि
पाँचदलीय सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक आज पनि बस्ने भएको छ । हिजो साँझ बसेको बैठक टुंगोमा पुग्न नसके पछि फेरी आज साँझ ५ बजेका लागि बैठक बोलाइएको हो । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सिट बाँडफाँटबारे छलफल गर्न शीर्ष नेताहरू छलफलमा बस्न लागेका हुन् । गठबन्धनले बनाएको कार्यदलले सिट बाँडफाँडको टुंगो लगाउन नसकेपछि केही दिनदेखि शीर्ष नेता छलफलमा जुटेका छन् ।
६. महाभियोग सिफारिस समितिको बैठक पनि बस्दै
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ । निलम्बित जबराविरुद्धको महाअभियोग सिफारिस समितिको आज तेस्रो बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजे बस्ने तयारी छ । हिजो बसेको सिफारिस समिति बैठकले जबरालाई यसै साता सफाइ पेश गर्न मौका दिने गरी कार्यतालिका तयार पारेको छ ।
७. बगलादेशका ऊर्जासचिवसहितको टोली काठमाडौँमा
भोलि हुने नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठकका लागि बंगलादेशका ऊर्जासचिव सहितको टोली काठमाडौं आइपुगेको छ । सचिवस्तरीय बैठकको तयारी स्वरुप आज दुई देशका ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्य समूहको बैठक बस्ने भएको छ । बंगलादेशले नेपालको सुनकोशी–३ जलविद्युत आयोजनामा लगानी गर्न इच्छा देखाएको छ । बंगलादेशले सोही विषयलाई प्रमुखताका साथ बैठकमा राख्ने तयारी गरेको जनाइएको छ ।
८. पछिल्लो २४ घण्टामा विपद्का ९ घटना
देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा नौ वटा विपद्का घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनामा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार बिपदको घटनाबाट ३ लाख ६५ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ ।
९.रुसको आक्रमणप्रति सचेत रहन नागरिकलाई यक्रेनको आग्रह
युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले युक्रेनको स्वतन्त्रता दिवसका अवसरमा रुसबाट हुन सक्ने सम्भावित आक्रमणप्रति सचेत रहन युक्रेनी सेना र सर्वसाधारणलाई अपील गरेका छन् । स्वतन्त्रता दिवसका क्रममा आक्रमण भए त्यसको कडा जवाफ दिने राष्ट्रपति जेलेन्स्कीकले चेतावनी दिएका छन् । सन् १९९१ मा सोभियत शासनबाट स्वतन्त्र भएको दिनलाई युक्रेनले स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।
१०. सिटी काराबाओ कप फुटबलको तेस्रो चरणमा
प्रिमियर लिग क्लब लेस्टर सिटी काराबाओ कप फुटबलको तेस्रो चरणमा प्रवेश गरेको छ । गए राति भएको खेलमा लिग टु क्लब स्टकपोर्टलाई पेनाल्टीमा ३–१ ले हराउँदै लेस्टरले तेस्रो चरणमा स्थान बनाएको हो । अर्को इंग्लिस क्लब एभर्टनले पनि तेस्रो चरणमा स्थान बनाएको छ । एभर्टनले फ्लिडउड टाउनलाई १–० ले पराजित गरेको हो ।
प्रतिक्रिया